पूर्वलडाकुको बन्दुकदेखि सुईसम्मको यात्रा
31-May-2018

जक्सन डटकम 
पोखरा, जेष्ठ १७ 
पहिला बन्दुक बोकेका उनका हातले अहिले बिरामीको उपचार गर्छन्। परिवर्तनका लागि भन्दै सशस्त्र द्वन्द्वमा सहभागी भएकी र अरूलाई गोली हान्न पनि पछि नपरेकी उनी अहिले सुई र औषधिका ट्याब्लेटलाई नियमित हतियार बनाउँदैछिन्।
मोरङमा जन्मिएकी ३४ वर्षीया मेनुका दाहाल अहिले झापाको बुद्धशान्ति गाउँपालिकास्थित शान्तिनगर स्वास्थ्य चौकीकी प्रमुख छिन्। तर यो भूमिका र स्थानसम्म आइपुग्न उनले जीवनमा धेरै सङ्घर्ष र आफैँसँग अन्तर्सङ्घर्ष गर्नुपर्यो।
उनी भन्छिन्, विगत सम्झँदा दुःख लाग्छ।
-स्वेच्छिक अवकाश रोजेका माओवादी लडाकुहरू
उन्नाइस वर्षको उमेरमा क्रान्तिु र जनमुक्तिु का कुराले उनलाई लट्ठ्यायो। त्यतिखेर देशमा सशस्त्र द्वन्द्व चल्दै थियो र उनी माओवादी बनिन्। एक वर्षमै बन्दुक बोकेर २०६१ सालदेखि उनी माओवादी लडाकुका रूपमा विभिन्न स्थानमा आक्रमण गर्न गइन्। रक्तपात र मृत्यु नजिकैबाट देखिन्।
नयाँ सङ्घर्ष
समयले कोल्टे फेर्यो, शान्तिसम्झौता भयो।
क्यान्टोन्मेन्टमा हुँदा प्लाटुन कमान्डर बनेकी मेनुकाको सहकर्मी प्रकाश अधिकारीसँग सैनिक पोसाकमै बिहे भयो। तर परिवर्तनको मोहमा पढाइ छोडेकी मेनुका दाहालको आफ्नै जीवनमा परिवर्तन आवश्यक भयो। उनले स्वेच्छिक अवकाश लिइन्।
त्यसपछि सुरु भयो उनको जीवनमा नयाँ सङ्घर्ष। भविष्यको चिन्ताले राम्रो सीपको आवश्यकता महसुस भयो। उनी स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्) को प्राविधिक शिक्षा लिन थालिन्।
छोरी जन्मेको १२ दिनमै पहिलो वर्षको परीक्षा दिनुपर्यो। रक्तस्राव हुँदा पनि उनले हिम्मत हारिनन्।
अरूलाई परीक्षा कसरी पास गर्ने भन्ने चिन्ता हुन्थ्यो। मलाई चाहिँ सुत्केरी भएपछि परीक्षा भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो।


जागिर
तेस्रो वर्षको परीक्षामा उत्तीर्ण भएपछि उनले प्राविधिक खरदारको पदका लागि लोकसेवा आयोगको परीक्षा दिन तयारी थालिन्। यता घरपरिवार र सानी छोरी, उता भविष्यको चिन्ता। मेनुका भन्छिन्, त्यो बेला मलाई एकदमै गाह्रो भयो। सानो छोरी थिइन्।
लोकसेवा आयोगको परीक्षामा उत्तीर्ण हुन त्यति सजिलो मानिँदैन। तर उनले नाम निकालिन्। धनकुटामा खटिएको नौ महिनामै एक तह माथि प्राविधिक सुब्बाको परीक्षाको तयारी थालेको उनी बताउँछिन्। त्यसमा पनि उनी उत्तीर्ण भइन्। सरकारले उनलाई सोलुखुम्बु पठायो। सोही पदमा सरुवा भएर हाल उनी झापामा कार्यरत छिन्।
आफ्ना दिदीबहिनी र श्रीमान्को सहयोगविना यो अवस्थामा आइपुग्न असम्भव थियो भन्ने उनलाई लाग्छ।
अनुभव
द्वन्द्वकालमा बन्दुक बोकेर लड्न गएको अनुभव सुनाउँदै उनले भनिन्, यिनै हात हुन् बन्दुक बोक्ने पनि।
के कुराले उनलाई स्वास्थ्य सेवामा तान्यो त ?
झापाको सुरुङ्गा तथा इलाका प्रहरी कार्यालय अनारमनीमा आक्रमण गर्दा घाइते भएका माओवादी लडाकुहरूलाई बचाएको उनले सुनाइन्। त्यही अनुभव र सम्झना जीवनको त्यो मोडमा निर्णायक भइदिए।
उनी भन्छिन्, घाइते साथीहरूको सेवा गर्ने मौका पाएकोले स्वास्थ्य क्षेत्रमै जाने इच्छा जागेर आयो। त्यसपछि स्वास्थ्य क्षेत्रको प्राविधिक शिक्षा लिन सुरु गरेँ।
भिन्नता
व्यावहारिक र व्यावसायिक अनुभव बटुल्दै गर्दा पढाइका बारेमा भने उनमा केही पछुतो छ कि भन्ने सङ्केत भेटिन्छ।
उनी भन्छिन्, त्यतिबेला नियमित कलेज गएको भए, आज म यो भन्दा माथि उठ्थेँ होला।
पहिला र अहिलेको उनको जीवनमा कस्तो भिन्नता छ त ?
उनी भन्छिन्, पहिला म एउटा राजनीतिक दलकी सैनिक थिएँ, अहिले म जनताकी सेविका भएकी छु। फरक त्यत्ति हो।

 

Write a Comment