छोरा नभएर के भो ?
1-June-2018

जक्सन डटकम 
पोखरा, जेष्ठ १८ 

अनिता लामा  -

सुकेधाराको नमबुद्ध गुरूङ्ग सेवा समिति गुम्बाभित्रको एक ठूलो कोठामा लस्करै बसेका छन् दिवंगत कृष्ण बहादुर गुरूङ्गका तीन छोरीहरू सूर्य, रत्न र सरज तथा साथमा ९२ वर्षिया आमा कृष्ण कुमारी।

श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्न आगन्तुकको बाक्लो आवतजावत भइरहेकै छ। शोकको समय बिर्साइदिएको छ आगन्तुकहरूको भेट तथा कुराकानीले। कोठाको एउटा भित्ता बौद्ध परम्परा अनुसार दिवंगत कृष्ण बहादुर गुरूङको तस्वीर र मृतकको स्मरणमा गरिने पूजाका साधनहरूले सजाईएको छ।

आगन्तुकहरू ९१ वर्षिया आमाप्रति श्रद्धा र सहानुभूति एकैपटक खन्याउँछन्, छोरीहरूप्रति समवेदना व्यक्त गर्छन्। शोकाकुल परिवार र आगन्तुकका लागि अलग अलग म्याट्रेस अलि पर छुट्याएर ओच्छ्याईएको छैन। त्यसो त बौद्ध परम्परा, संस्कृति केही लचिलो पनि छ। त्यसैले पनि त्यहाँ कसैले कसैलाई छोइएला जसरी कुनै छोइछिटो र वारपारको परिस्थिति छैन।

धार्मिक रूपमा छोरीले दागबत्ति दिनुहुन्न र काजकर्म गर्नुहुन्न भनेर हिन्दु धर्म समुदायभित्र बहुसंख्यक रूपमा स्थापित संस्कृति अनुसार प्रायः छोरीहरू आफ्ना आमा, बाबु वा अभिभावकहरूको निधनमा शोक प्रकट गर्ने परम्परागत संस्कृतिभित्र घुलन हुने अवसरबाट समेत च्यूत हुनपरिरहेको छ। छोरा नभएको कारणले वा छोरा नाबालक भएको कारणले हुर्केको छोरी भएपनि सट्टा ब्राम्हण राखि काजकर्म गराउने गरेको प्रचलन देखिरहेकै कुरा हो। यद्यपी परिवर्तनका घामले समाजलाई छुँदै गएको र कतिपय छोरीहरू आफै यो गलत संस्कार तोड्न अग्रसर हुँदै गएको पनि देखिरहेकै छौं। 

कृष्ण बहादुर गुरूङ्ग भूतपूर्व सेना। उच्च मनोबलका साथ जीवनको ९१ औं बसन्त पूरा गरिसक्दा पनि कुनै असहज तथा अशक्त पीडाबाट छटपटिनु परेको समय गुजार्नु परेन, यस हिसाबले भन्नुपर्दा वहाँको यो लोकबाट महाप्रस्थान गर्ने समय सहज भइदियो। शोककर्ममा बसेका छोरीहरू सम्झने गर्छन्( बाबाले हामी छोरीहरूलाई उचित शिक्षादिक्षा दिनु र हरेक अवसरहरूमा लाग्न उत्प्रेरित गर्नु नै हाम्रो लागि सबैभन्दा मूल्यवान कुरा भयो। नुवाकोट, लच्याङ गाविस भौगोलिक रूपमा जिल्लाको एक विकट गाउँ हो। त्यो बेलाको विकट भूगोलमा जन्मनुभएका कृष्ण बहादुर गुरूङ्गले आफ्नो सरकारी सेवासँगसँगै काठमाडौमा आवासको व्यवस्थापन र छोरीहरूको शिक्षादिक्षाका लागि गर्नुभएको प्रयत्न एवं शिक्षाको लागि गाउँठाउँमा गर्नुभएको प्रेरणादायक कार्य आज यी छोरीहरूलाई स्मरणीय मात्र छैन, जीवनका आगे लक्ष्यहरूलाई सशक्तका साथ बुवाको सोच अनुसार अगाडि वढाउन पथप्रदर्शक पनि बनेका छन्।

कृष्ण बहादुर गुरूङ्गले लच्याङमै आफ्नै मेहेनतले स्कूल खोल्नुभई गाउँका सबै छोराछोरीहरूसँगै आफ्ना छोरीहरूलाई पनि त्यहीँ शिक्षाको प्रारम्भ गरिदिनुभयो। अहिले पनि उक्त स्कूल श्री न्हिर्गु प्राथमिक विद्यालयको रूपमा अस्तित्वमा छ। त्यसपछि सेवाको सीलसीलामा सर्लाही पुग्नुहुँदा सर्लाहीमै केही जग्गाजमिन जोड्नुभई त्यहाँको मूर्तियामा पनि श्री मुक्तेश्वर निमावि खोल्नुभयो र केही वर्षको सर्लाही बसाईमा छोरीहरूलाई पनि त्यही विद्यालयमा शिक्षादिक्षा दिलाउनु भयो। शिक्षाको साथमा देशभित्रको फरक भूगोल, फरक संस्कृतिसँग पनि आफ्ना सन्तानलाई परिचित गराउनुहुँदै सँधै स्वाबलम्बी र आत्मनिर्भर बन्नुपर्छ भन्ने सचेतना दिइरहनुभयो।

आज मूर्तियामा सो विद्यालय माध्यमिक स्तरको भइसकेको छ। पछि पनि वहाँले मूर्तियामै गुम्बा बनाउनुभएको छ। जीवनमा छोरा जन्मिएन भनेर कहिल्यै पनि गुनासो नगर्नुभएको र छोरी नै छोरी जन्मिएको कारणले हिनताबोध कुनै पनि समयमा नगर्नुभएको आमा कृष्णकुमारी बताउनुहुन्छ। हामीलाई हाम्रा दाजुभाइ भएनन् भन्ने कुरा कहिल्यै बोध भएन, किनभने बुवाले सबै नेपाली छोराहरूलाई नै दाजुभाई देख्नु भन्नुहुन्थ्यो। आज छोरीहरु बुबाको यो अभिव्यक्तिलाई हौसलाका साथ सम्झिने गर्छन्। बाबाले जे सुकै काम आफै गर्नुपर्छ भन्नुहुन्थ्यो र वहाँ आफै विभिन्न भाँडावर्तन बनाउनुहुन्थ्यो, मादली, खैंचडी, मुर्चुङ्गा, विनायो आफै बनाउनुहुन्थ्यो, अहिले पनि त्यस्ता धेरै सामानहरू घरमा सुरक्षित छ। वहाँ घरैमा तान लगाएर राडी बुन्नुहुन्थ्यो, पस्मिना बुन्नुहुन्थ्यो, फूर्सद कहिल्यै खेर फाल्नुहुन्थेन – छोरीहरू क्रमशः बाबाको विषयमा बताएर थाक्दैनन्। 

यसरी समयले दिने हरेक चुनौति र अवसरहरुसँग लड्न हौसला दिइरहने, सामाजिक, सांस्कृतिक, राजनीतिक सचेतनामा आफू जस्तै आफ्ना सन्ततिहरूलाई पनि भिजाइरहने कृष्ण बहादुर गुरूङ्गका छोरीहरू आफैमा एउटा त्यो हौसलाको परिणाम हो जसले आज आ–आफ्नो क्षेत्रको अब्बल योग्यता पनि देखाइरहेका छन् र तिनै बुबाको शवमा दागबत्ति दिए र शोकमा बुबाको काजकर्म गरिरहेका छन्।

जेठी छोरी सूर्य गुरूङ्ग खगेन्द्र नवजीवन गृह, जोरपाटीका प्रमुख हुन्, माइली छोरी रत्न गुरूङ्ग पूर्व सभासद्, महिला अधिकारकर्मी, राजनीतिकर्मी तथा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य हुन् भने कान्छी छोरी सरज गुरूङ्ग युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, भैरहवाका एसोसिएट प्रोफेसर हुन्। सन्तानहरू सफल हुनका लागि उचित शिक्षा मात्र भएर पुग्दैन, उचित संस्कार, उचित भावना सहितको उचित अभिभावकत्व उचित समयभित्रै दिनुपर्दछ। यी सबल दिदीबहिनीहरूबाट हामी यी कुराहरू लिनसक्छौं। सबै क्षेत्रमा महिला समानता हामीले चाहेका हौं तर चाहनालाई आफ्नै कामद्वारा, व्यवहारद्वारा पनि पुष्टि गर्नसक्नुपर्दछ।

ऊ जमानामा मेट्रिक पास गर्नुभएका कृष्ण बहादुर गुरूङ्गले सेनाको सेवाबाट निवृत हुने समयमा राजदरवारभित्र निजी सचिवालयको उपसचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो र २०४५ सालबाट त्यो जिम्मेवारीबाट अवकाश हुनुभएपछि भने वहाँको सामाजिक सक्रियता र लेखनकलामा वढी समय व्यतित गर्नुभयो। वहाँले लेख्नुभएको लोकसंस्कृति झल्काउने थुप्रै कविताहरू, परम्परागत भजनसंस्कृति भएको भजनगीतहरू, कथाउपन्यासहरू वहाँकै सुन्दर अक्षरमा थुप्रा लगाएर राख्नुभएको छ। जो यो पंक्तिकार स्वयंलाई वहाँले धेरैपटक देखाउनुभएको छ, वाचन गरि सुनाउनुभएको छ। मैले यी लेखनका विषय छोरीहरूका सामु फेरि राखें र अनुरोध गरें बाबाको यी रचनाहरू अब भने जसरी नि छापियोस्। छोरीहरूबाट तुरून्तै प्रतिवद्धता भयो – अब हामी त्यही काममा लाग्नेछौं।

बाबा पनि छोरा मान्छे हो, तर छोरीप्रतिको नजर वहाँको कहिल्यै पनि पुरूष प्रधानताको आँखाबाट भएन। यही सत्कर्म हामी सबैले बाँड्न सकौं। छुत–अछुत, छोरा–छोरी भन्ने भेद आफैबाट शुरु हुन्छ, त्यसैले आफैबाट अन्त्य गरौं। हामीलाई जन्माउने र हामीलाई शिक्षा, चेतना, कर्म सबै दिने त्यही बुबाको मृत्यु हुँदा गरिने मृत्युसंस्कार हामीले नै गर्ने हो।

यहाँ छोरा वा छोरी हुनुको कुनै भेद गर्न जरूरी नै छैन। यी तीन दिदीबहिनीको यही भावनामा भावना मिलाउँदै उठें र जाँदाजाँदै दिदीबहिनीहरूबाट यो पनि जानकारी गराइदिनु भनें– हामीले सात दिनमै ९जेठ १८ गते० बाबाको काजकर्म सकाउँदैछौं त्यसैले हामीलाई सम्झनुहुने, समवेदना प्रकट गर्नुहुने, बाबालाई श्रद्धाञ्जली अर्पण गर्नुहुने सबैलाई हामी सबैको तर्फबाट धन्यवाद भन्दिनु है। अब भन्नुहोस् छोरा नभएर केही भो रु

Write a Comment

Events
Random Picks