पहिरनमा अल्झिएको पहिचान
3-June-2018

जुना थापा 

एकदिन स्कुलमा पिरियड खाली हुँदा ल्यापटपमा कान्तिपुर टेलिभिजनमा आउने इट्स माइ शो युट्युवमार्फत् हेर्दै थिएँ, जसको कार्यक्रम सञ्ंचालक थिए सुरजसिं ठकुरी । त्यस एपिसोडका अतिथिहरु ठकुरीकै पूर्व सहकार्यक्रम प्रस्तोताहरु पूर्वमिस नेपाल द्धय माल्भिका सुब्बा र प्रीति सिटौला अनि सरिता ज्ञवाली थिए । उनीहरुको कुराकानी निकै रमाइलो मान्दै हेरिरहेकी थिएँ, त्यसैबेला एकजना पुरुष सहकर्मी आइपुग्नु भो र मसँगै कार्यक्रम हेर्न थाल्नुभो अनि हेरेको दुई मिनेट नहुँदै यस्तो कमेन्ट गर्नुभयो । हेर ती महिलाहरु अर्धनग्न बसेका, कार्यक्रम चलाउनेलाई निकै मजा भइरहेको होला । त्यो कार्यक्रम हेरेर के सिक्न     सकेँ तपसिलमै रहे तर उक्त कार्यक्रमकै माध्यमबाट मानिसहरुको सोचलाई चिन्ने अवसर भने पक्कै प्राप्त भयो । विशेषगरी अतिथिहरु माल्भिका सुब्बाले घाँटी र पाखुरको भाग देखिने टिसर्ट र आधाभन्दा बढी तिघ्रा छोपिने स्कर्ट , प्रीति सिटौलाले घुँडासम्म आउने र तिघ्रा भने देखिने वानपिस र सरिता ज्ञवालीले शरीरका सबै भाग छोपिने कपडा लगाएकी थिइन् । कुनै पनि व्यक्तिले वा अझ भनैँ सेलिब्रेटीले के बोले, के गरे, बोलेका कुराले समाजमा के प्रभाव पार्यो, उनीहरु को हुन्, समाजप्रति उनीहरुको के दायित्व छ भन्ने कुरा नबुझी बाहिरी आवरण र परिधानका आधारमा महिलालाई यस्तो असभ्य कमेन्टहरु गर्दा यस्तो लाग्यो कि एक्काइसौँ शताब्दीका शिक्षित र बौद्धिक वर्गमा गनिने उहाँ बौद्धिकताको खोक्रो खोल ओढी बस्नुभएको छ र खोलभित्रको दुनियाँ त अझै पनि उही र उस्तै रहेछ जहाँ  भने महिलालाई अझै पनि आफ्नो ढड्गले बाँच्नेभन्दा पनि अरुको इच्छाअनुसार बाँच्नुपर्ने मान्यता राख्दछ । भन्न त आफ्नो तर्फबाट जवाफसँगै उहाँको गलत सोचबारे बुझाउने कोसिस पनि गरेँ तर उहाँ मेरो कुरा सुन्न समेत चाहनुभएन विशेषगरि समाज परिवर्तनका सम्बाहकको रुपमा स्थापित उहाँजस्तो मानिसको सोचको घेरा त यति साँघुरो रहेछ भने अन्य मानिसको त अझ कुन तहमा होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

मैले आफैले पनि अनुभव गरेको कुरा पनि हो कि प्रायजसो पुरुष वा महिला मित्रकै मुखबाट सुनिन्छ, कि आहा, सारीमा नारी कति सुन्दर अनि सुशील । हुन त झट्ट हेर्दा महिलालाई सारी लगाउँदा राम्रो पनि देखिन्छ र यत्तिकै भनिएको पनि होइन होला, विश्वमा नै महिलालाई सबैभन्दन सेक्सी देखाउने पहिरन सारी हो भनेर । तर के महिला सधैँ कसैलाई सुन्दर, सेक्सी, सुशील, चरित्रवान्, पतिव्रता सावित गर्नकै लागि भएपनि अरुको रोजाइको पहिरन लगाउनुपर्ने हो र त्यसो, त सारी लगाएरै पनि आफ्नो कर्तब्य भुलेर हिँडेका र छाडा भनिने कपडा लगाएकाहरु ऋाफ्नो कर्तव्य र जिम्मेवारी नभुली हिँडेका उदाहरण पनि हाम्रो समाजमा प्रशस्त देखिएकै छन् । यसो भन्नुको अर्थ यो होइन कि सारी नराम्रो पहिरन हो, यो लगाउनै हुँदैन, भल्गर र आधुनिक देखिने पहिरन लगाउनुुपर्छ । जुनसुकै पहिरनमा मेरो आपत्ति होइन । कुनै व्यक्ति आधुनिक, अनुशासित र सभ्य हुन पहिरन मुख्य आधार होइन उसको जीवन, जगत र समाजलाई हेर्ने सोच, दृष्टिकोण र उसले गर्ने कामले आधुनिकता र सभ्यताको परिचय दिने हो तर यहाँ त महिलाले लगाउने परिधानका आधारमा उसप्रतिको मनगढन्ते दृष्टिकोण बनाइ आफ्नै तरिकाले व्याख्या गरिन्छ न कि उसको गुण, व्यवहार, काम र सोचको केही महत्त्व राख्दैन ।

यहाँसम्म पढ्दै गर्दा तपाईलाई लाग्यो होला कि यस्तो जाबो सेतिनो करामा पनि के लेखेकी होला भनेर । हाम्रो कुराकानीभन्दा बढी वादविवाद भनौँ यहाँसम्म पुग्यो र उहाँ बोल्न थाल्नुभो, नेपालमा महिला बलात्कृत हुनुमा महिलाहरुकै यस्तै छोटाछोटा कपडा लगाएर अरुलाइ उत्तेजित बनाउने हर्कतले हो रे । अहिलेको समयमा उहाँजत्तिको शिक्षित मानिसको मुखबाट अरु कसैको नीच र घटिया सोचको दोष महिलामाथि लगाउने वाक्यहरु मेरा लागि आपत्तिको विषय थियो ।यस्तो साँघुरो दायरमा जीवन देख्ने मानिसहरु कति होलान् जो मलाई गलत लाग्छन् र कतिपय ठाउँमा यस्तो सोच राख्नेमा  पुरुष मात्र होइन महिलाहरु पनि प्रशस्त मात्रामा भेटिन्छन् र अझ बढी दुख लाग्छ ।उहाँ त समाजको एक प्रतिनिधि मात्र हो । उहाँलाई त जति भने नि उहाँको सोच परिवर्तन गर्न त असम्भव प्राय थियो तर मेरा मनमा उथलपुथल भएका कुराहरु नलेखिरहन पनि सकिन र केवल आत्मसन्तुष्टिका लागि मात्र भए पनि ।
साँच्चि नै महिलाको बाहिरी आवरण र  परिधान नै बलात्कारजस्तो जघन्य अपराधको आधार हा भने विश्वका थुप्रै देश अझ भनौँ युरोपतिर त महिलाहरु छोटाछोटा कपडा मात्र होइन, टुपिसमात्र सजिएर पनि हिँडेका हुन्छन् । अझ कतिपय देशमा त के महिला, के पुरुष, एउटै तलाउमा सबैजना पूराका पूर निर्वस्त्र भएर नुहाउँछन् रे तर त्यस्ता देशहरुमा त बलात्कार र यौनहिंसा शून्य प्राय पाइन्छ , किन त , तपाइँ हाम्रो सोचअनुसार त सबैभन्दा बढी अझ भनौँ हरेक महिला बलात्कृत हुनुपर्ने होइन र, किन तिनीहरु संयमित छन् र किन हाम्रो देशमा मानिसहरु यौनमा संयमित छैनन् । एउटा नीच व्यक्तिले गरेको कुकृत्र्यको दोषारोपण निर्दोषलाई लगाएर कस्तो सभ्यता र संस्कृतिको परिचय दिन खोजेका हौँ ? 
 


एकैछिनका लागि भए पनि मेरा सहकर्मी साथीको भनाइअनुसार अरुलाई उत्तेजित हुने कपडा लगाएर नै महिलाहरु बलात्कृत भएका हुन् रे तर यहाँ त ७०।८० वर्षका यौनिकताको कुनै मतलव नभएका र पूराका पूरा शरीर ढाकेर कपडा लगाएर मृत्युलाई पर्खिबसेका वृद्धाहरु तथा यौन, यौवन, जीवनजगत् र फेसनबारे पटक्कै चेतना नभएका अबोध साना ५।१० महिनाका शिशु बालिकाहरु पनि ती गिद्धे नजर भएकाको शिकार बनेका छन् के ती बृद्धा र बालिकाले उहाँले भनेझैँ उत्तेजित हुने कपडा वा तिघ्रा, साप्रा र क्लिभेज देखाउँदै हिँडेका थिए  त , पक्कै होइन ।

कसैले लगाउने खुला र छोटा कपडा लगाउनुको अर्थ यो होइन कि म कसैलाई मनोरञ्जन प्रदान गर्दैछु वा मेरो शरीर सबैको साझा हो, यसमा खेल्न जुनसुकै बेला जोकोहीलाई अनुमति छ । खासमा कपडा भन्ने कुरा आफूलाई मन पर्ने, लगाउँदा सहज हुने , खुसी र  आत्मविश्वास बढ्ने एवं आफ्नो व्यक्तित्व विकासमा निखारता ल्याउनका लागि हो । जसलाई जे सजिलो हुन्छ त्यही लगाउन पाउनु उसको नैसर्गिक अधिकार पनि हो । त्यसैले कसैले लगाएको बाहिरी परिधानका आधारमा त्यस व्यक्तिको चरित्र र नैतिकतामा शड्का गरि आफू अनुकुल दृष्टिकोण बनाएर कुनै एक घटिया व्यक्तिले गरेको बलात्कारजस्ता कुकार्यको दोष महिलालाई लगाउनु हाम्रो पितृसत्तात्मक  सोचको उपज हो । जबसम्म हामी कुनै महिलाले जीवनमा गरेको सड्घर्ष, काम , सिर्जना, त्याग र योगदानको मूल्याड्कनभन्दा उसले लगाएको, खाएको, हिँडेको कुरामा अड्किएर साघुँरो घेरामा बस्छौँ , तबसम्म कानुनका बाक्ला किताबमा महिला सशक्तिकरण र हकअधिकारका नाराले जति नै कोरिए पनि समस्या जहाँको त्यहीँ हुनेछ । समाज परिवर्तन र रुपान्तरणकका नीति नियमहरु किताबका पानामा भन्दा पहिले हाम्रो दिमागका पानाहरु सकरात्मक सोचले भरिन आवश्यक छ ।

 

Write a Comment

Events
Random Picks