थोपा–थोपा पानी जोगाएर तरकारी खेती
6-June-2018

जक्सन डटकम 
पोखरा, जेष्ठ २३

सविना श्रेष्ठ -
फर्पिङ, चुनदेवीको मुख्य सडकबाट लाग्ने ठाडो उकालोमा स–साना खुड्किला छन्।
खुड्किला उक्लिँदै जाँदा बाटैमा एउटा धारा आउँछ। यही धारामा साताको तीन दिनमध्ये एक दिन पानी भर्न आउँछिन्, कृषक ईन्दिरा आचार्य।
भुइँचालोले सबै धारा भत्काएपछि स्थानीयले हुमाने भन्ने ठाउँदेखि पानी ल्याएर नयाँ धारा बनाए। कुनै दिन बिहान पानी आउँछ, कुनै दिन बेलुका। हरेक घरले सातामा पालो गरेर पानी चलाउँछन्।
पिउने पानीदेखि ईन्दिराको दुई रोपनी खेतबारी पनि यसैले सिन्चित हुन्छ, तरकारी फलफूल हुर्किन्छ।
पानी अभावमा दुःखजेलो गरेरै भए पनि उनले खेतीबारी हुर्काएकी छन्। फर्सी, गोलभेँडा, बन्दा, काउली, काँक्रो, नास्पाती, सुन्तलालगायत तरकारी र फलफूल मौसम अनुसार फलिरहन्छन्। गाउँमा ईन्दिरा ‘अब्बल कृषक’ रुपमा चिनिन्छिन्।
तर ३५ वर्षअघि बिहे गरेर आउँदा इन्दिराले देखेको चुनदेवी यस्तो उर्वर थिएन।
‘यो त उजाड वस्ती थियो। मकै, भटमास र साग मात्र फलेका देखिन्थ्यो,’ ईन्दिराले सम्झिइन्, ‘खानकै दुःख थियो। मान्छेहरू अरू काममा व्यस्त हुन्थे। बारीमा भएका बाली पनि स्याहार्ने फुर्सद हुँदैन थियो।’
‘दुःखै दुःखले घेरिएका दिन थिए। मजदुरीमै दिन बित्थ्यो। तैपनि एक छाक टार्न मुश्किल हुन्थ्यो,’ उनले थपिन्।
ईन्दिरा चौध वर्षकी हुँदा बिहे भएको थियो। गरिबीको उत्कर्षमा गुज्रिरहेको दाम्पत्य जीवनका धेरै वर्ष सस्तो ज्यालामा पसिना बगाउँदै बितेको उनी बताउँछिन्।
गाँस–वास जोड्नकै निम्ति ईन्दिरा श्रीमान कर्ण बहादुरसँगै घर बनाउने र भारी बोक्ने काममा होमिइन्। घर बनाउने काम सधैं नहुने भएकाले बेलाबखत भाँडा माज्ने, लुगा धुने, खेत जोत्ने पनि गर्थिन्।
‘मेरो स्थिति देखेर साथीभाइ र आफन्तले गिज्याउलान् भनेर नजिकै पर्दिनँ थिएँ। अहिले त्यो स्थिति सम्झँदा विरक्त लाग्छ,’ उनले भनिन्।
दुःखै दुःखमा ईन्दिरा र कर्णबहादुरका पाँच सन्तान हुर्किए। छोराछोरी आफैं सम्हालिन थालेपछि उनले दक्षिणकालीमा काँक्रो र फर्सी बेच्ने पसल खोलिन्। कालीमाटीदेखि तरकारी ल्याउँथिन्। तर त्यो बेला त्यतातिर मान्छेको चाप एकदमै कम भएकाले बेच्नै मुश्किल परेको उनले सुनाइन्।
यसैबीच, नौ वर्षअघि उनको अप्ठ्यारोमा एक संस्थाले मल्हम लाइदियो। आशा नेपाल नामक संस्था चुनदेवीमा अस्थायी शौचालय र करेसाबारी सम्बन्धी तालिम र जनचेतना फैलाउने योजनासहित पुगेको थियो। यसले आफ्नो र अरू गाउँलेको पनि अवस्था सुधार्न मद्दत गरेको ईन्दिरा बताउँछिन्।
ईन्दिरासहित गाउँका २५ महिला एक समूह नै बनाएर संस्थासँग जोडिए। संस्थाले सबैको सीप, गाउँको हावापानी र माटो परीक्षण गर्ने निक्र्यौल गर्यौं। यसका निम्ति समूहका सबैलाई फर्सी, सिमी, बोडी, काउली, गोलभेँडा, लसुनलगायत तरकारी परीक्षण रुपमा रोप्न दियो।
त्यो बेला ईन्दिरालाई पहिलो पटक आफ्नो करेसाबारीप्रति आशा जागेको थियो।
‘जीवन कष्टकर थियो। करेसाबारी पनि लथालिंग। यसैबाट पैसा कमाउन सकिन्छ भन्ने सोचले सबभन्दा बढी मै उत्साहित थिएँ,’ ईन्दिराले पुराना दिन सम्झिँदै भनिन्।
उनी विरुवा लिएर उनी घर आइन्। आफूले जानेअनुसार रोपिन्। राम्रै उम्रिए। फल पनि लागे। तीमध्ये सबभन्दा फस्टाएको थियो, गोलभेँडा।
‘ठूला–ठूला दाना लागेका थिए। लोभैलाग्दा। मैले प्रतिकिलो ३५ रुपैयाँमा बेचेकी थिएँ। ३५ सय रूपैयाँ त त्यसैबाट कमाएँ,’ उनले भनिन्, ‘सुरूमा फलेजस्ता भरिला, ठूला, राता गोलभेँडा पछि कहिल्यै फलेनन्।’
परीक्षणमै राम्रो सफलता पाएपछि ईन्दिरालाई कृषि क्षेत्रमा लाग्ने ऊर्जा मिल्यो। संस्थाले पनि उनैलाई समूहको नेतृत्व जिम्मेवारी थपिदियो।
ईन्दिराको समूहले कुन सिजनमा कुन तरकारी लगाउने, विषादी र झोल मल कसरी बनाउने, गोठे मल सुधार लगायत विषयमा तालिम पायो।
यसपछि भने मकै र भटामास मात्र फल्ने गाउँमा हरिया, राता, पहेँला, तरकारी–फलफूल लहराउन थाले।
‘कहिल्यै सोचेको पनि थिइनँ, यो उजाड वस्तीमा यस्तरी तरकारी–फलफूल लहलह होला भनेर,’ ईन्दिराले भनिन्।
ईन्दिराले करेसाबारीमा आफ्ना हात खियाइरहँदा श्रीमान कर्णबहादुरले सघाउँथे। बिरूवा रोप्न खेत खनिदिन्थे। रोपेको विरुवामा पानी हालिदिन्थे।
उनीहरूले मिलेर काँक्रो, काउली, फर्सी, सुन्तला, नास्पाती, आरू रोपे। ती सबै फलेर लटरम्म भएको कर्णबहादुरले भने देख्न पाएनन्।
सँगै मिलेर रोपेका तरकारी–फलफूलका चिचिला मात्रै लाग्दै थिए, कर्णबहादुर संसारबाट बिदा भए।
आफन्तको बिहेका निम्ति तरकारी किन्न चुनदेवीबाट दक्षिणकाली पुगेका कर्णबहादुर फर्केनन्। बाटैमा हृदयघातका कारण उनको मृत्यु भयो।
ईन्दिराको काँधमा ठूलो बोझ थपियो तर धर्मराइनन्।
श्रीमानको यादसँगै तरकारी–फलफूल हुर्काइरहिन्। फलाइरहिन्। आज पनि हरेक दिन करेसाबारी नपुगी उनलाई सन्तोक हुन्न।
‘बारी नपुगी त दिन नै खल्लो हुन्छ,’ उनले भनिन्, ‘त्यहाँ फलेका तरकारी–फलफूल देखेरै आनन्द लाग्छ।’
अचेल ईन्दिरा तरकारी–फलफूल फलाएर बेच्ने मात्र गर्दिनन्। नौ वर्षको अनुभव सँगालेकी उनी कृषिमा चासो राख्नेलाई तालिम पनि दिन्छिन्।
तर चुनदेवीमा कृषि सहज छैन।
‘यहाँ सबभन्दा ठूलो समस्या पानी अभाव हो,’ उनले भनिन्, ‘यसैले पानी सदुपयोग गर्न हरेक पटक सचेत हुनुपर्छ।’
यसको उदाहरण उनको आँगनमा देख्न सकिन्छ।
घरायसी काममा प्रयोग गरेको पानी खेर जान नदिन उनले विभिन्न उपाय लगाएकी छन्। भाँडा माज्ने ठाउँमा पाइप जोडेकी छन्। त्यो पाइपलाई अलि तल खनिएको खाल्डोसम्म पुर्याएकी छन्। त्यसबाट भाँडा माझेको पानी बग्दै खाल्डोमा जम्मा हुन्छ।
यता लुगा धोएको पानी जम्मा हुने अर्कै खाल्डो छ। यो भने घरभन्दा अलि पर करेसाबारीमा छ। खाल्डोमा बाहिरसम्मै प्लास्टिक राखेकी छन्।
‘प्लास्टिक नराखी पानी अडिएन। त्यहीभएर यो उपाय लाएको,’ उनले भनिन्, ‘हामीले लुगा धुने यहीँ हो। पानी खेर जाँदैन, सबै यहाँ जम्मा हुन्छ।’
उनका अनुसार खाल्डोमा पानी भरिएपछि त्यसमा गहुँत मिसाइन्छ। चार–पाँच दिनपछि मात्रै बारीमा प्रयोग गरिन्छ। साबुनको फिँज भएकाले चाँडै हाल्दा विरुवामा असर पर्ने उनी बताउँछिन्।
‘४–५ दिनपछि घामको तापले गर्दा फिँज माथि आउँछ र तर पर्न थाल्छ,’ उनले भनिन्, ‘अनि बल्ल पाइप लगाएर बारीमा लगाउँदा राम्रो पानी मात्र विरुवासम्म पुग्छ।’
‘अहिलेको अहिल्यै हाल्यो भने विरूवा ओइलाउँछन्। केही दिनपछि हाल्दा यही पानी औषधि बन्छ। विरूवालाई असर गर्ने किरा पनि भगाउँछ,’ उनले भनिन्।
ईन्दिराको दैनिकी विरुवासँग मात्र होइन, बाख्रा र कुखुरासँग पनि जोडिएको छ। यिनकै मलमूत्र उनी बोटविरुवामा प्रयोग गर्छिन्।
उनी झोल मल पनि बनाउँछिन्। गहुँत, तितेपाती, नुन, बाबरी लगायत मिसाएर बनाइएको एक लिटर झोल मलमा दुई लिटर पानी मिसाएर बोटविरुवामा हाल्न पर्ने उनी बताउँछिन्। धेरै हालेमा विरुवालाई असर गर्छ।
श्रीमानले बीचमै छाडेर गए पनि ईन्दिराको यो काममा उनको बाँकी परिवारले साथ दिएको छ।
उनकी कान्छी बुहारी दक्षिणकाली बजारसम्म पुगेर बेच्छिन्।
‘अहिले पसल पनि ठूलो भएको छ। धेरै खाले तरकारी बेच्छौं,’ इन्दिराले सुनाइन्, ‘कमाइ पनि बढेको छ। घरमै किन्न आउनेहरू पनि धेरै छन्।’
तर तरकारी खेतीमा सधैं फाइदा नहुने ईन्दिरा बताउँछिन्। यसमा जोखिम हुन्छ।
‘कहिले बोटविरुवाको रोगव्याध त कहिले प्रकृतिको हमला। जोगाउन मुश्किल हुन्छ नि,’ उनले भनिन्।
उनले आफ्नो अनुभव सुनाइन्।
सुरुमै गोलेभेँडाले दिएको सफलताका कारण उनको मन यसैमा बसेछ। करिब ४ वर्ष अघिसम्म बारीमा गोलभेँडा कहिल्यै नटुट्ने। एकपटकको फलिसक्दा अर्को विरुवा निस्किसक्ने।
बेमौसमी तरकारी फलाउने विधिअनुसार प्लास्टिकले छोपेर उनी गोलभेँडा फलाउँथिन्। तर ४ वर्षअघि आएको आँधीबेहरीले सबै मासिदियो।
‘त्यसपछि त्यसरी गोलभेँडा फलाइनँ,’ उनले भनिन्।
अर्को नबिर्सने सम्झना हो ‘बन्दा’।
उनले बारीमा मिहिनेत गरेर बन्दा फलाएकी थिइन्। राम्रो फस्टायो। उनको मात्र होइन, छरछिमेकमा पनि बन्दा राम्रो फस्टायो।
‘धेरैतिर भएकाले मेरो बारीको बन्दा बिकेन,’ अनुभव सुनाउँदै भनिन्, ‘दक्षिणकालीमा बिकेन, कालिमाटी लग्दा पनि बिकेन। दुई रूपैयाँ किलोमा दिदाँ पनि भएन।’
त्यो चालीस किलो बन्दा उनले मल बनाइदिइन्।
उनले हास्ँदै भनिन्, ‘त्यसपछि मेरो बारीमा बन्दा फलाइनँ।’
यस्तै अनुभवले उनको कृषि ज्ञान निखारिँदै गएको छ।
भन्छिन्, ‘नपरेसम्म थाहा हुन्न। अनुभव र सिक्ने चाहना भए जान्दै गइने हो। नौ वर्षअघि मलाई कुन विरुवा कसरी रोप्ने भन्ने थाहा थिएन। आज अरूलाई सिकाउन सक्ने भएकी छु।’

Write a Comment

Events
Random Picks