भिड भन्दा फरक 'हरि'
7-June-2018

जक्सन डटकम  

पोखरा, जेष्ठ २४

चलचित्र कस्तो बन्नुपर्छ भन्ने प्रश्नमा सबैको जवाफ रहन्छ– राम्रो । तर, कस्तो चलचित्र राम्रो भन्नेमा प्रत्येक व्यक्तिका फरक विचार आउँछन् । जे होस् राम्रो चलचित्रले दर्शकको मन छुनुपर्छ । नेपाली चलचित्र उद्योगमा अहिले कमेडी बिकिरहेको छ । जसोजसो पण्डित बाजे उसैउसै स्वाहा १ दर्शक कमेडीमा झुम्मिए । चलचित्र त्यस्तै बन्न–बनाउन थालिए । कमेडीका अग्रज पुस्तादेखि नयाँ पुस्ता पनि हसाउने चलचित्रमै आकर्षित भए । अधिकांश निदेर्शक–निर्माता हाँस्यप्रधान चलचित्र निर्माणकै केन्द्रित भैरहेका बेला गएको शुक्रबारबाट चलचित्र ‘हरि’ बजारमा आयो । 

नेपाली चलचित्र उद्योगका लागि नयाँ प्रयोग बोकेर आएको सिनेमा हो ‘हरि’ । १ घण्टा ४६ मिनेट लामो चलचित्र एउटै पात्रको वरिपरि घुम्छ ।

पैसा लुटपाट र हत्या चलचित्रको द्वन्द्व देखिए पनि असली द्वन्द्व भने मुख्य चरित्रको आन्तरिक द्वन्द्व हो । मनको कुण्ठा सहजै बाहिर निस्किन नपाउँदा त्यसले लिने रुप र परिणाम चलचित्रको मुख्य कथा हो । 

चलचित्रमा मुख्य पात्र विपीन कार्की छन् । चलचित्रमा आक्कल–झुक्कल देखिने सुनिता श्रेष्ठ ठकुरी, कमलमणि नेपाल, थिन्ले ल्हमुबाहेक बाँकी अधिकांश समय विपीनले होल्ड गर्छन् । 

फोर फादरको कथा बोकेको ‘हरि’ मा विपीनले जिजुबाजेदेखि पनातीसम्मको चार पुस्ते चरित्र निर्वाह गरेका छन् । समाजमा रहेका चरित्रलाई टिपेर त्यसमा प्राणभर्ने विपीन चलचित्र ‘हरि’ मा पनि चरित्रलाई न्याय गर्न सफल छन् ।

रामहरि, कृष्णहरि, शिवहरि र विष्णुहरि उनले निभाएका चरित्र हुन् । एकै छिनमा एउटै चरित्रलाई आमाका रुपमा लिँदा होस् या त्यही पात्रसँग रोमान्स गर्दा होस्, उनको अभिनयमा खोट लगाउन सकिँदैन । ‘छड्के’ को विन्दू देखि ‘हरि’ को विष्णुहरि सम्म आइपुग्दा उनले आफूलाई गरेको प्रयोगमा सफल हुँदै आएका छन् । 

चलचित्रको हावा एउटा बेगलिएर बगिरहेका बेला त्यसलाई धक्का दिने प्रयास गरेका छन् निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङले । व्यवसायभन्दा पनि दर्शकलाई फरक स्वाद चखाउनु पर्छ र चलचित्र उद्योगमा नयाँ जग बसाउनुपर्छ भन्ने सोच निर्देशकद्वयको देखिन्छ । 

रोमान्स, आइटम, कमेडी र लोकेसन देखाएर दर्शकलाई भुल्याइरहेका बेला अचानक फरक कथा शैली र प्रस्तुति बोकेर उनीहरु आएका छन् । 

चलचित्र हेर्दा एउटै व्यक्तिमा कथा घुमेको छ । फाइनान्स र घर तथा बाटोको सामान्य लोकेशनमा चलचित्र खिचिए पनि त्यसमा निर्देशक केसी र गुरुङ तथा अभिनेता विपीनको मेहनत देखिन्छ । साउन्ड र लाइटमा अब्बल देखिएको चलचित्र कलर द्वन्द्वमा पनि उत्कृष्ट देखिएको छ । 

न्यारेशन कथा बाचनको एउटा प्रचलित शैली हो । तर नेपाली चलचित्रमा देखिने त्यसको भद्धा प्रयोगबाट चलचित्र बचेको छ । 

अन्तरक्रियात्मक कथा बाचनले चलचित्रको कथा भन्दै जान्छ । जीवन दर्शन, भोगाइ, यथार्थ, सत्य, पीडा अनि विगत अन्तरक्रियात्मक शैलीबाटै प्रस्टिँदै जान्छ । कथा भन्ने यो शैलीलाई व्यावसायिकतासँग जोड्ने प्रयास निर्देशकको छ । 

प्रणामीका नाममा विगत दोहोरिन नदिने प्रयासले दबिएको इच्छा, प्यास, मोह र बासनाको विष्फोटलाई चलचित्रले रचनात्मक शैलीमा भन्ने प्रयास गरेको छ । 

दर्शक कमेडीमा भुलिएका बेला ‘हरि’ निर्माण गरिनु आफैंमा चुनौती हो । त्यसमा पनि यसलाई व्यावसायिकतासँग जोडिनु अर्को चुनौती हो । रमाइलो गर्न हलसम्म पुग्नेका लागि नराम्रो तर चलचित्र बुझ्नेहरुका लागि राम्रो चलचित्र हो ‘हरि’ । 

सुरुदेखि अन्तिमसम्म एक्लै आफ्नो कथा भन्ने विष्णुहरिले अहिलेका बक्सअफिसका अब्बल चलचित्रका दर्शकलाई १ घण्टा ४६ मिनेट बाँधेर नराख्न सक्छ । कथाभन्दा पनि रमाइलो र चलचित्र फगत मनोरञ्जनमात्रै मान्ने दर्शकलाई ‘हरि’ले बाँध्न सक्तैन । चलचित्रको कथा भन्ने विद्यमान शैली र व्यापारको फर्मुलाबाट चलचित्र टाढा छ । यही नै ‘हरि’को मुख्य चुनौती हो । 

 

Write a Comment

Events
Random Picks