“नेपालमा महिला धेरै स्वतन्त्र”
14-June-2018


जक्सन डटकम
पोखरा, जेष्ठ ३१ 
सरर्र बाइक हाँकिरहेका किशोरी र बजारमा खुलेआम सपिङ गरिरहेका महिला देख्दा पाकिस्तानकी ताजिन बारी एकैचोटि खुसी र आश्चर्यमा परिन् । उनको देशमा यस्तो विरलै हुन्छ रे । ‘नेपाल पनि पाकिस्तानजस्तै पितृसत्तात्मक देश हो भन्ने सुनेकी थिएँ,’ पहिलो पटक नेपाल आएकी ताजिनले भनिन्, ‘तर, यहाँ महिलालाई धेरै स्वतन्त्रता रहेछ । हाम्रोमा यस्तो स्वतन्त्रता पटक्कै छैन ।’

ताजिन फिल्ममेकर हुन् । डकुमेन्ट्री बनाउँछिन् । यो क्षेत्रमा लागेको आठ वर्षपछि उनी पहिलो पटक फिचर फिल्म बनाउन लागेकी छन् । यसका लागि उनलाई सल्लाह–सुझाव चाहिएको रहेछ । त्यसकै खोजीमा नेपालसम्म आइपुगेकी हुन् । ‘पहिलो पटक फिक्सनमा काम गर्दै छु,’ उनले भनिन्, ‘स्क्रिप्ट विस्तार गर्न सपोर्ट चाहिएको थियो । यहाँ आएर भनेजस्तै भइरहेको छ ।’ काठमाडौंका ‘डकस्कुल’ र ‘लुम’ नामक संस्थाले फेलोसिप दिएकाले उनी नेपाल आएकी हुन् ।

‘फिक्सन डेभलप्मेन्ट प्रोग्राम र विमेन इन सिनेमा फेलोसिप’ कार्यक्रमका लागि आवेदन दिएका दक्षिण एसियाका ४० मध्ये सात फिल्म छानिएको डकस्कुलका संस्थापक क्षितिज अधिराजले जानकारी दिए । तीमध्ये पाकिस्तानकी ताजिन, श्रीलंकाकी अनिला एसके, भारतकी त्रिवेणी राई र उन्नी विजयन तथा नेपालका सचिन घिमिरेसँगै पासाङ दावा शेर्पाका फिल्म छानिएका थिए ।

‘सबै ठाउँका मान्छे उस्तै हुँदा रहेछन्,’ ताजिनले भनिन्, ‘भारत–पाकिस्तानको त्यत्रो विवाद हुँदा पनि जब मैले त्रिवेणी र उन्नीलाई भेटेँ, हामीबीच सौहार्दपूर्ण सम्बन्ध रह्यो ।’

यो टोलीलाई इटालीका जिओभानी राबियानो, नेदरल्यान्ड्सकी जोलिन लार्मान, डकस्कुलका क्षितिज र महिला अधिकारकर्मी डा। रेणु राजभण्डारी अधिकारीले परामर्श दिएका थिए । ‘विश्वका फिल्मकर्मीबीच सम्बन्ध स्थापना गर्न र एकता निर्माणका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुन्छन्,’ ताजिनले भनिन्, ‘हामीकहाँ फिल्ममा धेरै सेन्सरसिप हुन्छ । फिल्मकर्मीको बलियो नेटवर्क बने सत्तालाई घचघच्याउन बल पुग्थ्यो कि † हामी लबिइङ गर्न सक्थ्यौं कि १’

पाकिस्तानी फिल्म उद्योग निकै सानो रहेको उनले अवगत गराइन् । सन् १९८० को दशकमा राष्ट्रपति मोहम्मद जिया–उल–हक अर्थात् जनरल जियाको पालामा फिल्म र समग्र कला क्षेत्रमाथि हस्तक्षेप भएकाले कला बजार सुकेको उनले बताइन् । ‘त्यो घटनाबाट ब्युँतिन हामीलाई धेरै गाह्रो पर्यो,’ उनले भनिन्, ‘सातआठ वर्षयता अलि सुधार भएको छ ।’ युवाहरू फिल्म क्षेत्रमा आउने क्रम बढिरहे पनि बलिउडको नक्कल गर्ने चलन यथावत् रहेकोमा उनले चिन्ता देखाइन् ।

फिल्मलाई पेसा बनाउन गाह्रै पर्ने अवस्था रहेकाले आफूले अर्कै व्यवसाय गरिदेओस् भनी परिवारले चाहनु स्वाभाविक रहेको ताजिनको भनाइ छ । महिलालाई प्राविधिक काममा विश्वास नगर्ने र नयाँ कन्सेप्ट सुनाउँदा आश्चर्य मान्ने प्रवृत्ति उनले धेरै झेलेकी रहिछन् । ‘पुरुषले राम्रो गर्छन् भन्ने आमविश्वास छ,’ उनले सुनाइन्, ‘हामीलाई परिपक्व नठान्ने चलन छ । अभिनेत्रीलाई सानोतिनो वा कमजोर भूमिकामा राख्नु पाकिस्तानी मेनस्ट्रिम फिल्मको स्वभाव हो ।’

ताजिनलाई नेपाली फिल्म क्षेत्रबारे जानकारी छैन । अब भने सोधीखोजी गर्न थालेको बताइन् । ‘यहाँ बसुन्जेल केही नेपाली फिल्म हेर्छु,’ उनले भनिन्, ‘यही प्रोग्रामका लागि फेरि नेपाल आउँदै छु, त्यतिन्जेल धेरै थाहा भइसक्छ होला ।’

महिला, श्रमिक, आतंकवाद, राजनीति, धर्मलगायत विषयमा उनले २० भन्दा बढी डकुमेन्ट्री बनाइसकेकी छन् । अनलाइन रिलिज गरिएकाले पाकिस्तानले सेन्सरसिप गर्न पाएन । आगामी फिल्ममा भने पक्का लफडा हुने उनलाई थाहा छ ।

गत वर्ष ताजिनले बेलायती मिडिया ‘द गार्जियन’ का लागि बनाएको ‘कन्दिल’ डकुमेन्ट्री आइतबार थापाथलीस्थित लुमको कार्यालयमा देखाइएको थियो । उक्त डकुमेन्ट्रीमा कन्दिल बलुच नामकी पाकिस्तानी युवतीको कथा छ जो सामाजिक रूढिवादविरुद्ध लडेकी हुन्छे । ‘उनी अनलाइन भिडियोमार्फत आवाज उठाउँथिन्,’ ताजिनले भनिन्, ‘आफ्नै भाइले उनको हत्या गरिदियो । हामीले कन्दिलको परिवार र अन्यसँग कुरा गरेर उनीबारे डकुमेन्ट्री बनाएका थियौं ।’

नन–फिक्सन विधामा सक्रिय रहे पनि उनी अब फिक्सनमार्फत वकालत गर्न खोज्दै छिन् । टेलिभिजन पत्रकारिताबाट करिअर सुरु गरेकी उनी फिल्मलाई समाज परिवर्तनको सशक्त माध्यम मान्छिन् ।

सोत: कान्तिपुर

Write a Comment