उपन्यासकार सरस्वती प्रतीक्षाको काठमाडौं हेराई: काठमाडौं कागजको बाघ जस्तो
25-June-2018


जक्सन डटकम 
पोखरा, असार ११ 
साहित्य जगतमा सरस्वती प्रतीक्षाको नाम अग्लै छ । साहित्यमा मोफसल छैन भन्ने मान्यता राख्ने सरस्वती कविता हुँदै उपन्यास लेखनमा हाम फालेकी छन् । ‘यद्यपि प्रश्नहरु’, ‘विम्बहरुको कठघरा’, ‘बागी सारङ्गी’ कविता संग्रह निकालिसकेकी सरस्वतीको पहिलो उपन्यास ‘नथिया’ यसै साता बजारमा आउँदैछ । यसै सन्दर्भमा उनीसँग शुक्रबारकर्मी मनोज घर्तीमगरले गरेको संवाद । 

धेरै लेखकको डेब्यु उपन्यास आफ्नै कथामा आधारित हुन्छ, ‘नथिया’मा तपाईंको कथा भेटिन्छ ?
भेटिँदैन । उपन्यास लेख्छु भन्ने सोच आउँदा आफू र आफ्नो परिवेशको कथा लेख्न सजिलो हुन्छ, जुन जहिले लेख्दा ’नि हुन्छ भन्ने सोच आयो । पहिलो ठोस काम अलि रिस्क लिएर गरौं भन्ने लागेर मैले वादी जातिमाथि उपन्यास लेखेकी हुँ । 

तपाईंको यो उपन्यास स्वान्त सुखाय हो कि बजारमुखी ? 
दुवै होइन । स्वान्त सुखाय र बजारमुखी साहित्यभन्दा पर पनि धेरै कुराहरु हुन्छन् । आफ्नै सुखको लागि लेख्ने थिएँ भने जति पनि सजिला विषयमा लेख्न सक्थेँ । किन जोखिम मोलेर यस्तो संवेदनशील विषयमाथि कलम चलाउनुपथ्र्यो र १ बजारमुखी होऊँ भने बिकाउ अन्य विषयहरु पनि थुप्रै थिए, म त्यता जान सक्थेँ । यो पिछडिएको जातिको अस्तित्व र अहंसँग जोडिएको लेखन हो । सांस्कृतिक लेखनको एक हिस्सा हो । त्यसका लागि म स्वयं वादी बस्तीमा गएँ । उनीहरुका अनुभव र अनुभूतिहरुको गहिराइभित्र छिर्ने प्रयास गरेँ । 

भनेपछि यो सामाजिक यथार्थवादी उपन्यास हो ? 
सामाजिक यथार्थवादी भन्दिनँ । यथार्थको धेरै नजिक भने छ । यसलाई मैले पोयटिक रियालिज्ममा आधारित किताब भनेको छु । सामाजिक यथार्थवादमा लेखक यथार्थ कुरा यथार्थ रुपमै जस्ताको तस्तै पस्कनु पर्ने बाध्यताले बाँधिएको हुन्छ । पोयटिक रियालिज्ममा भने लेखकसँग पूर्णतः आर्टिस्टिक फ्रिडम हुन्छ । त्यहाँ यथार्थ र विपरीत यथार्थको फ्युजन हुन्छ । पोयटिक रियालिज्मले उठाउने तल्लो वर्गको कथासँग मेरो कथा पनि मेल खान्छ तर यसका प्रणेताले अपनाएझैं मुख्य नायक वा नायिकाको आत्महत्या वा दुखद् निधन अर्थात् समग्रमा स्याडिस्टिक टोनसँग भने मेरो लेखनको मान्यताको टोन मेल खाँदैन ।

कविता र उपन्यास लेख्दा के फरक छ ?
कविता प्रायसजो एकै सिटिङमा लेख्ने गरिन्छ । पछि त्यसलाई रिराइटिङ गर्छौं, त्यो बेग्लै कुरा हो तर उपन्यासमा त्यो सम्भव छैन । यसमा छुट्टै खालको धैर्यता, लगाव, लगन बोकेर एउटै कुरासँग निरन्तर जोडिरहनुपर्छ । निरन्तर डुब्न अनि डुबिरहन पर्छ । कवितामा एउटा लहरलाई समाते पुग्छ । आख्यानमा लहर माथि लहर समाइराख्न जरुरी हुन्छ । 

तपाईं कवितामा धेरै विम्ब प्रयोग गर्नुहुन्छ, त्यसलाई क्लिष्ट भन्नेहरु पनि छन् । उपन्यास क्लिष्ट होला कि सरल ?
कविता र उपन्यासका पाठक फरक हुन्छन् । केही पाठक भने कविता र उपन्यास दुवैका साझा पाठक पनि हुन्छन् । कविता लेख्दा नै खास पाठकहरुका लागि लक्षित हुन्छ तर प्रयोगात्मक उपन्यासबाहेक अन्य उपन्यास आम पाठकका लागि लेखिन्छ । यो किताब लेख्दै गर्दा आम पाठकको रुचिलाई ध्यानमा राखेरै लेखिएको छ । 

साहित्यमा मोफसल छैन भन्ने मान्छे तपाईंको उपन्यासले त्यो पुष्टि गर्छ ? 
यसअघि प्रकाशित मेरा आफ्नै कविता सङ्ग्रहहरुले नै त्यो कुराको पुिष्ट गरिसकेका छन् । मोफसलमा बसेर लेख्ने लेखक भनेर ती किताबहरु छायाँमा परे भन्ने लाग्दैन । कुनै जमाना थियो, काठमाडौं बाघ जस्तो थियो र त्यो देखेर मोफसल तर्सनु पथ्र्यो । लेखक बन्नलाई काठमाडौं नगइनहुने वा काठमाडौंका पत्र–पत्रिकामा आफ्नो रचना नछापी नहुने बाध्यता थियो । हेर्दाहेर्दै काठमाडौं चिडियाखानाको बाघजस्तो बन्यो । पछिल्लो चरणमा त झन् कागजको बाघको स्थितिमा छ काठमाडौं । कागजको बाघसँग मोफसल तर्सने दिन अब शेष रहेन । 

‘नथिया’ उपन्यास लेखनका प्रशववेदना के हुन् ? 
देहव्यापारको चित्र उतार्न कपडा मात्र उतारेर पुग्दैन, चरित्रहरुको नाङ्गोपनलाई उतार्न जरुरी हुन्छ, जुन एकदमै जटिल हुन्छ । कथासँग जोडिएका पात्र आफैँमा जटिल छन् । रहस्यात्मक कथाका पत्रपत्र छन् । ती पत्रहरु कति खोलेर देखाउने र कति नदेखाउने भन्ने बडो चुनौती थियो । आफू बाँचिरहेको परिवेशभन्दा फरक कुरा लेखेकी छु । ती पात्रहरुको लवाइखवाइ, बाँच्ने तरिका अजिब थिए । पात्रहरुलाई न्याय गर्न आफू त्यही पात्र बनेर डुब्न जरुरी थियो । त्यो डुबाई अलि डरलाग्दो थियो । 

धेरै सोधखोज गरेर लेख्नु भएको छ उपन्यास । यसलाई अनुसन्धानमूलक किताब भन्न मिल्छ ?
अनुसन्धानको क्रममा मैले झन्डै ३०÷३५ जना वादी महिलासँग गहिरो कुरा गरेँ । तीमध्ये जुन कथा मलाई सबभन्दा फरक, रोचक र डरलाग्दो लाग्यो, त्यही कथा रोजेँ । यो २०३५–३६ देखि २०४७–४८ सम्मको कथा हो । जतिबेला वादी महिलाहरु खुल्लमखुल्ला देहव्यापार गर्थे । दाङको पृष्ठभूमिमा लेखिएको कथा हो । ९५ प्रतिशत घटना एउटी वादी महिलाको जस्ताको तस्तै भोगाइ हो । यस अर्थमा यो अनुसन्धानमूलक कृति नै हो । 

नेपाली उपन्यास लेखनमा परम्परावादी धार छ । जस्तै सपना देखेको, फ्ल्यासब्याक सिस्टमको टेक्निक प्रयोग गरिन्छ । तपाईको राइटिङ टेक्निक कस्तो हो ?
ठ्याक्कै यही एउटै टेक्निक हो त कसरी भन्नु रु लेखकले कथा कसरी भन्छ रु कथाको बुनोट कसरी गर्छ भन्ने कुरा लेखकपिच्छे फरकफरक हुन्छ । मैले यसलाई पोयटिक रियालिज्म मार्फत् पस्कने प्रयास गरेकी छु । मेरो आफ्नै कवि व्यक्तित्व उपन्यासमा आओस् तर उपन्यासकार व्यक्तित्वमाथि कवि व्यक्तित्व हावी नहोस् भन्ने कुरामा सचेत भएर काम गरेँ । यसमा फ्ल्यासब्याक पनि छ । वादी जाति माथिको आधिकारिक किताब बनोस् बन्ने ध्येयले इटालिकमा केही नोट किपिङ टेक्निक पनि अपनाएकी छु । 

‘नथिया’ लेख्ने आइडिया कसरी आयो ? 
‘नथिया’को मानसिक गर्भाधान दश वर्ष अगाडि नै भएको हो । २०६४, भदौ महिनाको एक साँझ टेलिभिजनका स्क्रिनहरुले सिंहदरबार अगाडि अर्धनग्न भएर निकालिएको वादी महिलाहरुको जुलुसको समाचार देखाएका थिए । लाजको परम्परागत परिभाषामाथि धावा बोल्दै जबरजस्ती सिहंदरबारको गेटमा उक्लिन लागिरहेका एक हुल अर्धनग्न वादी महिलालाई देखेर म स्तब्ध भएकी थिएँ । त्यतिबेला ती वादी महिलाहरुको रनाहा र पीडाले बेस्कन छोइएकी थिएँ । कुनै दिन मैले आख्यान लेखेँ भने मेरो पहिलो आख्यान वादी महिलाहरुको कथामाथि हुनेछ भनेर त्यतिबेलै निर्णय गरेकी थिएँ । निर्णय लिएको लगभग पाँच वर्षपछि त्यही ठाउँमा गएर अध्ययन गरेँ । अध्ययन गरेको लगभग पाँच वर्षपछि उपन्यास सकाएँ ।
 
अध्ययनका सिलसिलामा के भोग्नुभो ?
वादी महिला तथा पुरुषहरु सबैसँग ऐठन, सबैसँग दुःख भरपुर थिए । बच्चादेखि वृद्धासम्म सबैलाई औडाहामा देख्थेँ । देहव्यापार गर्ने जात भनेर समाजले लगाइदिएको ठप्पासँग पौँठेजोरी गर्नु र दुख्नु । पछिल्लो पुस्ता साक्षर भए पनि मानसिक रुपमा प्रताडित नै पाएँ । मलाई उनीहरुको कथा सुन्दा अत्यास लागेको थियो । हामीले यताबाट अनुमान गरे भन्दा धेरै फरक खालको भोगाइका कथा तिनीहरुले सुनाए । वादीका कथा सुन्न म दाङ, बाँके, बर्दिया र कैलालीका विभिन्न वादी बस्तीहरुमा पुगे । स्थलगत अनुसन्धान गरेँ । 

किताब बजारमा आउनुअघि लेखक र किताबबारे हंगामा हुने, किताब बजारमा आएपछि फुस्सा भएका घटना धेरै छन् । तपाईंको किताबमा यस्तो हुँदैन भन्ने विश्वास कति छ ? 
अब आफ्नो किताब बारेमा आफैँले कसरी भन्ने रु यो त मैले भन्दा पनि पाठकहरुले भन्ने कुरा हो । अन्य थुप्रै किताबहरु जस्तै हात्ती आयो, हात्ती आयो फुस्सा भने जस्तो हुन्छ वा हुँदैन, त्यो त समयले बताउनेछ । तर लेखकको रुपमा म एक प्रकारले ढुक्क छु । लेख्दै गर्दा भने म सधैं तनाव र बेचैनीमा रहेँ । विषयवस्तु र पात्रहरु नै यस्ता थिए कि तिनले चैनसँग बस्नै दिँदैनथे । म आफैँलाई मनपर्ने किताब लेख्न सक्छु कि सक्दिनँ भन्ने भय पनि अन्तस्करणमा कतै लुकेर बसेको थियो । लेखिसकेपछि जब पहिलो पाठकको रुपमा आफ्नै पाण्डुलिपि पढेँ– त्यसले अपार सन्तुष्टि दियो । मेरो सन्तुष्टि पाठकहरुको सन्तुष्टि बन्छ कि बन्दैन, त्यो त अब छिटै थाहा लागिहाल्छ । 

लेखक हुन एकदम गाह्रो छ र पाठक हुन एकदम सजिलो । तपाईंको अनुभव के छ ?
न पाठक हुन सजिलो छ, न लेखक हुन नै । पाठकलाई पनि बजारमा १० थरी किताब आउँछन् । पढ्न मन लाग्छ । किन्यो, पढ्यो, राम्रो लागेन भने अर्को किन्यो । तनाव छ नि १ लेखकको वर्षौंको मिहिनेत हुन्छ लेखनमा । बजारमा किताब आएपछि कसैले फ्याट्टै यो झुर छ भन्छन् । कतिले त तारिफ पनि गर्छन् । यी दुवै पचाउन सक्ने खुबी नभएको लेखक छ भने त झन् बर्बादै हुन्छ । त्यसैले दुवै हुन गाह्रो छ । 

पहिले अर्कै प्रकाशकसँग अनुबन्ध भएर पछि अर्को प्रकाशनबाट किताब निकाल्नु भयो नि, किन ?
मौखिक रुपमा मात्रै कुरा भएको थियो । कुनै लिखित सम्झौता भएको थिएन । लेख्दै गर्दा कुनै प्रकाशन हाउससँग लिखित रुपमा अनुबन्ध भइसकेकी थिइनँ । लेखिसकेपछि पहिलोपटक बुकहिलसँगै लिखित रुपमै अनुबन्ध भएकी हुँ । मुख्य कुरा, अब लेखकले पनि प्रकाशकसँग प्रोफेसनल्ली डिल गर्ने समय आइसकेको छ । आफूलाई जताबाट किताब प्रकाशन गराउँदा सहज र फाइदा हुन्छ, त्यतैबाट प्रकाशन गर्ने त हो नि !
 

Write a Comment

Events
Random Picks