अनुभूति : यसरी छिरेँ सिंहदरबारभित्र
1-August-2018

रेम बिक 

बैशाखको महिना सकिन करिब एक हप्ता बाँकी थियो । हपहप्ती गर्मीको दिन । शितल खोज्दै दाजु नेत्र गुरुङ, मित्र रोहन नेपाली र म पोखरा नजिकैको ‘लभ्ली हिल’ पुगेका थियौँ । फोनको घण्टी बज्यो । 

फोन काठमाण्डौबाट आएको थियो । नचिनेको मोबाइल नम्बरबाट । 

‘हेलो’, मैले भने । 

‘भाइ, म नबिन सुब्बा’ । उताबाट नरम आवाज आयो । 

अकस्मात म झस्किँए । कारण, नसोँचेको र नचिताएको मानिसको फोन आएको थियो । ‘मलाई चिन्यौ ?’ नबिन दाइले सोधे । मैले नचिन्ने कुरै थिएन । 

‘नुमाफुङ’, ‘दलन’, ‘गुडबाइ काठमाण्डौँ’ जस्ता फिल्महरुबाट नबिन सुब्बा अन्तराष्ट्रिय जगतमै चिनिएको नाम । फिल्म मेकिङ, फिल्म एक्टिङ जस्ता विषयमा मिडियामा आईरहने उनका विचारहरुको म फलोअर थिएँ र हुँ । नबिन सुब्बासँग फिल्ममा काम गर्न चल्तिकै कलाकारहरुले पनि सपना देख्छन् । अनि म उनको विचार र बोल्ने शैलीको फ्यान । अनि त्यस्ता मान्छेलाई मैले नचिन्ने कुरै थिएन । 

‘हजुर दाइ, नमस्कार’, मैले अभिभावदन गरेँ । उनले पनि अभिभादन फर्काए । र, भने–‘भाइको समय के कस्तो छ । मैले सिँहदरबारको दोस्रो सिजन निर्देशन गर्दैछु । एउटा रोल छ । भाइले समय मिलाएर खेल्नुप¥यो ।’ अब मैले नाई भन्ने कुरै थिएन । उनले भने–‘हामी एउटा सिच्यूयशन सहितको डाइलग पठाउँछौँ अनि भाइले त्यसलाई अभिनयमा उतारेर भिडियो बनाएर पठाउनुप¥यो ।’

मैले भने–‘हस्, हुन्छ दाइ ।’

त्यसपछि मित्र रोहन नेपाली र म लाग्यौँ, जक्शन डटकमतर्फ । जक्शन डटकम मित्रद्वय भुपालकुमार गुरुङ र अरुण गिरीले संचालन गर्दै आएका छन् । भिडियो खिचेर पठाउने सबैभन्दा उत्तम स्थान जक्शन डटकम नै थियो । मैले फोन गरे, अरुण गिरीलाई । 

उनले भने–‘तुरुन्त आउनुस्’ । 

केहि पहिला  : 

नबिन दाइको फोन आउन भन्दा करिब डेढ महिनै अगाडि हो शायद । अभिनेत्री सृजना सुब्बाले फोन गरेकी थिईन् मलाई । उनी सिंहदरबार २ को ‘कास्टिङ डिरेक्टर’ । उनीसँग पनि औपचारिक चिनजान थिएन । यद्यपी उनले मलाई फोनमा ‘एउटा कलाकार चाहियो र हजुरसँग कोहि सम्पर्कमा छन् भने प्लिज भनिदिनुप¥यो’ भनेर भनेकी थिईन् । र, मैले पनि केहि समयसम्म उनले भनेअनुसारको कलाकारको खोजी गरेँ । र, मैले त्यस्तो खालको कलाकार पाइन । 

पछि एकचोटी सृजनाले फेरि फोन गरेकी थिईन् । तर त्यतिबेला मैले भने–‘सरि, सृजना जी मैले हजुरले भनेजस्तो कलाकार पाइन ।’

उनीहरुले यस्तो कलाकार खोजिरहेका थिए जो सुनार समुदायको होस् । हेर्दा स्मार्ट, डाक्टरी पढेको र राजनीतिक नेतृत्वमा आईसकेको होस् । यस्तो खाले चरित्रलाई न्याय गर्न सक्ने कलाकार खोजिदिन सृजनाले मलाई भनेकी थिईन् । 

खासमा भएको के रहेछ भने अभिनेता माओत्से गुरुङ दाइलाई अलिक पहिल्यै सृजना सुब्बाले यस्तै खाले चरित्र खोज्न सहयोग मागेकी रहिछन् । अनि माओत्से दाइले त्यो बेलामा मेरो नम्बर दिएका रहेछन् । 

शुरुमा सृजनाले मलाई कलाकार बन्नका लागि भन्दा पनि कलाकार खोजिदिनका लागि अपील गरेकी थिईन् । सुनार समुदायकै दुई तीनजना कलाकार साथीहरुलाई मैले सो चरित्रमा अभिनय गर्नका लागि पनि प्रस्ताव राखेको थिएँ । तर उनीहरु पनि आफ्नै काममा व्यस्त बने । 

अनि फेरि सृजना सुब्बाले माओत्से दाइलाई फोन गरिछन् । ‘त्यो रेम भन्ने हजुरले नम्बर दिएको मान्छेले त कलाकार खोज्नै सकेनन् । के गर्ने होला ?’

माओत्से दाइले भनेछन्–‘ए बाब्बै, हैन उहि कलाकार हो त अनि । त्यहि भएर पो मैले नम्बर दिएको । अहिले सम्म पनि फाइनल भएको छैन ।’

अनि फेरि सृजनाले मलाई फोन गरिन्–‘रेम जी हजुरले सिंहदरबार सिजन दुईका लागि दुई महिना समय छुट्याउनुपर्ने भो ।’

त्यति नै बेला मेरो व्यापारको सिजन शुरु भएको थियो । म अलिक दोधारमा परेँ । खासै क्लियर कुरा गरिन । 

त्यसपछि :  

अब नबिन दाइ आफै फोन गरेपछि मैले नाइ भन्न सक्ने कुरै थिएन । त्यसपछि जक्शन डटकम गएँ । ‘सिंहदरबार सिजन २’ कै एशोसियट डाइरेक्टर राजेश बिश्वकर्मा सरले मेरो मेलमा डाइलग र सिच्यूएशन पठाइसकेका थिए । 

त्यसपछि जक्शन डटकममै बसेर मैले डाइलग कण्ठ गरेर क्यामेराको अगाडि बोल्न बसेँ । मित्रद्वय अरुण गिरी र रोहन नेपाली सिनेम्याटोग्राफर र डाइरेक्टरको रुपमा क्यामेरा पछाडि तम्तयार थिए । 

‘अहिलेको अवस्थामा हामीले सरकार छाडेर प्रतिपक्षमा बस्नु नै बुद्धिमानी हुनेछ । त्यसैले मैले भनेको मानौँ । यदि सरकारमै बसिरहने हो भने हामी पनि पुरानै पार्टीहरुजस्तै हुनेछौँ । बरु प्रतिपक्षमा रह्यौँ भने सरकारका गलत कामको विरोध गर्दै जनतामाझ अझै बढि लोकप्रिय हुनेछौँ । अबको चारवर्षपछि सरकारको नेतृत्व गर्ने हो भने अहिले हामीले सरकारबाट बाहिरिनै पर्छ ।’

एउटा सानो दलको नेतृत्व पंक्तिमा रहेको चरित्र हुन्छ विज्ञान सुनार । र, उसले आफ्नो पार्टी कार्यालयमा आफ्ना पार्टी प्रतिनीधिहरुमाझ बैठकमा बोल्ने डाइलगलाई मैले यतैबाट मेल गरेर पठाईदिँए । 

उता काठमाण्डौमा सिँहदरबारको लागि वर्कशप शुरु भैसकेको थियो । मेरो भिडियो सबैले एकै साथ हेरेछन् । अनि त्यसपछि राजेश सरले फोन गरे, ‘तपाई भोली नै काठमाण्डौ आउनुप¥यो ।’

अब काठमाण्डौ जानैपर्ने भो । यता कामहरु चलिरहेकै थिए । तैपनि सबैकुरा मिलाएर म हिँडे काठमाण्डौ । 

मैतिदेवीको सेतोपुल छेवैमा रहेको ‘शुभ मिडिया प्रालि’मा वर्कशप हुँदैथियो । जाना साथै वर्कशपमा छिँरे । अफिसको माथिल्लो तल्लामा गएर कम्पनीसँग सम्झौता गरेँ । 

त्यसको ३ दिनपछि सुटिङ शुरु भयो । पहिलो दिनमै मेरो सेड्युल थियो । यसभन्दा अगाडि मैले नेपथ्य र नाइके भन्ने फिल्ममा अभिनय गरिसकेको थिएँ । थुप्रै म्यूजिक भिडियोहरुमा पनि देखिएको थिएँ । तर नबिन सुब्बाको अगाडि अभिनय गर्नुपर्दा थोरै नर्भस थिएँ । ‘के भन्लान्, कसो भन्लान् ?’ भन्ने मनमा थियो । 

गौरी दिदी । मैले बाल्यकालदेखि नै फिल्ममा देख्दै आएकी राम्री ‘हिरोनी’सँग डाइलग बोल्नुपर्ने थियो । वर्कशपमा बस्दा आफ्नो चरित्रको बारेमा राम्रैसँग बुझेको थिएँ । सेटमा टेक लिनभन्दा अगाडि नबिन दाइले फेरि चरित्र, डाइलग र सिच्युएशसनको बारेमा विस्तृतमा सम्झाए । अनि टेक लिए । 

‘एक्सन’, नबिन दाइले भने । पहिलो टेक मै ओके भयो । खुशी लाग्यो । गौरी दिदी पनि को–एक्टरलाई खुब सहयोग गर्ने खालकी । उहाँबाट पनि मैले धेरै कुरा सिक्ने मौका पाएँ । सिंहदरबारबाटै प्रमोद अग्रहरी मिल्ने मित्र बने । अरु थुप्रै अग्रज र सहकर्मी कलाकारहरु पनि उत्तिकै सहयोगी । निर्देशन टोली, प्राविधिक टोली र निर्माण नियन्त्रक टोली पनि उस्तै सहयोगी । पोखराकै प्रकाश घिमिरे दाइ त झन् सहयोगी । हरेकचोटी मलाई हौसला प्रदान गरिरहने । दाइसँगको किस्सा त झन् बढि छन् । कुनै दिन विस्तारमै लेखुँला । 

सिंहदरबारको निर्माणमा सहयोग गर्ने यूएसएड, सर्च फर कमन ग्राउण्ड, शुभ मिडिया प्रालि, सिंहदरबार २ का सम्पूर्ण युनिट, मलाई सँधै साथ र सहयोग गर्ने अनि मैले चाहेको कुरा पुरा होस् भन्दै सोहि अनुसारको वातावरण बनाउने जीवनसंगीनि अकृजा पोखरेल र सम्पूर्ण सुभेच्छुकहरुलाई म धन्यबाद दिन चाहन्छु । 

Write a Comment

Events
Random Picks