जीवन जानेर नसकिने कुरा रहेछ.....
8-August-2018


पोखरा, साउन २३
अनिता लामा -
उस्तै छ कचिडे, अलिअलि चिसो फेरि घामले छुनेबित्तिकै हप्प तातो । वरिपरि हरिया पहाडको थुम्काथुम्कीमा कतै जस्ताको छानो टल्किएर पोखिएको उत्तेजक उज्यालो त कतै बन्दै गरेका र बनिसकेका छिटफुट घरहरूको अग्लाईले खस्रो र पुड्को अनुभूत गरिरहेको छ पहाड।

अलिकति खोँच तर श्रद्धा र भावनाको चुली अग्लिएर नाचीरहेछ कचिडे। सुप्रसिद्ध प्रेरणादायी साहित्यकार झमक घिमिरेको जन्मस्थान र बासस्थान धनकुटाको कचिडेमा झमक घिमिरे साहित्य कला प्रतिष्ठानको बैठक बस्नुअघि कवि के।जि। सुब्बाको अभिव्यक्ति याद आउँछ – हामी जस्तो शारिरीक सबलता यदि हुँदो हो त संसार ख्वाप्पै निल्थिन् । त्यति धेरै तीक्ष्ण चेतना र स्मरणशक्तिले भरिएको छ झमक ।

‘जीवन काँडा कि फूल’ बहुचर्चित र लोकप्रिय कृतिका लेखक झमक घिमिरेले मदन पुरस्कार प्राप्त गरेपछि एक बेला केही हुल मान्छेहरूको मिथ्या कुराहरू धिमा धिमा स्वरमा सलबलाएको थियो – के यो कृति उनि आफैले लेखिन् रु के यो कृतिले पाएको पुरस्कार हो वा सहानुभूतिले जितेको त्यो समय १रु

अलि फरक कुराकानीको मुडमा थियौं हामी, झमकले लेखिन् – जीवन काँडा कि फूल फरक परिवेश र फरक पात्रको कथा हो । तर मेरो लेखन सहानुभूति दर्शाएर उठेको होइन । जीवन जानेर नसकिने कुरा रहेछ, हिजो एक खालको संघर्ष थियो, आज अर्कै खालको संघर्ष छ । आफ्नो संघर्षको सत्यकथा लेख्न पनि अरूकै सहारा खोज्ने वा लेखाउन लगाउने हिजो पनि मैले देखेको थिएँ आज त झनै चर्को भाउ छ यसरी लेख्नेहरूको ।
जीवन काँडा कि फूल एक समयको संघर्षको कथा हो, बाँच्न अभिप्रेरित गर्ने प्रेरणाको कथा हो । झमक जस्तै आवाजबिहीनहरूलाई आवाजको प्राण भरिदिने कथा हो तर झमकलाई यत्तिले सन्तुष्ट दिइरहेको छैन । एक संघर्षशील समयको चेतनाको वेग थियो त्यो जीवन काँडा कि फूल।

समयको घण्टीले झमकलाई सुप्रसिद्ध मात्र होइन, संसारका अद्भूत आश्चर्य प्रतिभाशाली व्यक्तिमा पनि परिचित गरायो  र जसजससँग संघर्ष, द्वन्द्व थियो, ति सबै पात्रपात्राहरूको जिम्मेवार व्यक्तित्व, समाजको एक आदर्श र आदरणीय व्यक्तित्वमा स्थानान्तरण गरायो।

त्यही स्थानान्तरणसँगै भएको सामाजिक रूपान्तरणबाट आज झमक घिमिरे वरिपरिको समाज मात्र होइन, पूरै देश, अन्तरदेश रूपान्तरित छ र शारिरीक दुर्बलतासँग दिमागी अब्बलताको ढक तराजु चलाउने कोशीस गर्दैनन् झमकलाई बुझ्नेहरू । त्यसैले म उनलाई प्राय सोध्ने गर्छु जीवन काँडा कि फूलको परिणाम यस्तै सोचेकी थियौ कि थिएनौ रु

उनको सदैव यही सरल उत्तर आउँछ – परिणाम सोचेर लेख्दिन । तर जे परिणाम आउँछ, अफशोच र आश्चर्य दुवै गर्दिन । हामीकहाँ कमजोर र सशक्त भनेर सत्य भन्न सक्ने क्षमतावान व्यक्तित्वहरूको कुनै कमी छैन ।

जीवन काँडा कि फूलले संघर्षमै छाडेको झमकबाट पाठकहरू त्यसपछिको श्रृङ्खला कथा चाहन्छ, अर्थात् अर्को नयाँ सृजना चाहन्छ भन्ने सन्दर्भमा उनि भन्छिन् – पाठकहरूलाई माग गर्ने अधिकार छ, तर झमकलाई थप परिस्कृत, परिमार्जित हुन पनि समय चाहिन्छ ता कि अझ धेरै स्तरीय र राम्रो लेख्न सकोस्, सँधै उस्तै कथा दोहोरिँदैन जीवनमा। त्यसैले पर्खौं समय आएपछि जन्मिन्छ नै । खालि छापिनका लागि र लेख्नका लागि मात्रै लेखिनु हुँदैन ।

महिला साहित्यकारहरूको उपस्थिति असाध्यै बलियो बन्दै गएकोमा निकै खुशी व्यक्त गर्छिन् । संख्यामा मात्र होइन, उनिहरूले दिएको कृति पनि गह्रौ भएको र त्यसले पाठकहरूलाई समेत निकै उत्साहित  बनाएकोमा सन्तोष व्यक्त गर्छिन् तर आजकल लेखनको दिशा केही फरक भएकोमा थोरै गुनासो पनि छ उनको ।

केवल लेख्नकै लागि र अनावश्यक चर्चाकै लागि मात्रै लेखिएको छ केही कृतिहरु । त्यस्तै गरि धेरैले आफ्नो व्यक्तिगत कुराहरूलाई लेखेर साहित्यकार भन्नु मिल्छ कि मिल्दैन रु अहिलेको यी लेखनहरूमा प्रायः व्यक्तिका मनोगत कुराहरू हुन्छन्, झमक भन्छिन् ।

साँच्चै झमकको कुरा सुनिरहँदा आजकल दिनहुँ लोकार्पण भइरहने कृतिहरूमा प्रायः आत्मकथाहरू हुन्छन् । जीवनका कथा सबैको आ–आफ्नै हुन्छ, तर ति आत्मकथाहरू सही सत्यतामा भन्दा पनि आफैलाई सबैभन्दा असल, गुणी, चमत्कारिक तत्व भएको देवत्व जसरी आफैमा मपाइत्व पहिरीएको हुन्छ । लेखक र साहित्यकार हुन कतिवटा कृति वा लेख, आलेख प्रकाशन गरिएको हुनुपर्छ वा कति हज्जार शब्द सृजना गरेको हुनुपछ वा प्रकाशित शब्दाकृतिहरू कति मननीय, पठनीय र लोकप्रिय छन् वा कति शुभचिन्तक, फलोवरहरू तिनका अघिपछि हुनुपर्छ त्यसको कुनै मापदण्ड, लेखाजोखा त अवश्य छैन तर प्रकाशक, पत्रकार र साहित्य बजारमा टिकीरहेका वरिष्ठहरूसँगको पहुँच एवं प्रचारको बजार खोला जसरी बग्नुपर्छ, त्यसैमा बिजेता बनेकालाई पुरस्कार, सम्मान, वरिष्ठको प्रमाणपत्रको लस्कर लाग्छ ।

शायद साहित्य बजारको अहिलेको यही रौनकसँग झमकको केही निराशाहरू थिए र बारम्बार लेखिरहे कापीमा – मलाई त जीवन काँडा कि फूल मेरो रहर र खुशीले होइन, समयले लेखायो । अहिले त रहरले लेखिँदो रहेछ । लेख्नका लागि लेखिने रहेछ ।

अब त युवामय समय ढल्कँदो भयो विवाह नगर्ने रु प्रेमका प्रस्तावहरू त आए होलान् नि रु मेरो प्रश्नमा ठूलो हाँसो सहित आयो उनको उत्तर – कहाँ ढल्कँदो हुनु यार, म त युवा नै छु । विवाहको प्रस्तावहरू त आउँछन् तर आएर के गर्ने रु मेरा शर्तहरू कसैलाई प्रिय हुँदैन भने मलाई पनि त्यो प्रिय हुँदैन । अनि व्यवहारिक ढङ्गले विवाह उचित पनि लागेन । अब जे हुन्छ समय अनुसार हुन्छ ।

करिब ४, ५ वटा पुस्तक, डायरी र कापी कलमका बीच मुस्कुराइरहेकी झमक यतिबेला भूगोल, विभिन्न विचार दर्शन, अन्तरदेशीय सम्बन्धको विषयमा अध्ययन गर्न रूचि भएकोले अध्ययन गरिरहेकी र केही नयाँ आख्यानका पुस्तकहरू पनि पढ्दै गरेकी बताईन् ।

हामी बीचको कुराकानी समापन गर्दै थियौं झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाई आइपुग्नुभयो । प्रतिष्ठानका संरक्षक झमकले कपिमा ३ वटा लाम्चो गोलो बनाईन्, दिप प्रज्ज्वलनको संकेत सहित बैठक उद्घाटन भएको ताली पड्कीयो ।

मैले नेपाल सरकारले काठमाडौको गोठाटारमा झमक घिमिरेको सम्मानमा दिएको १२ आना जग्गामा झमक घिमिरे आवास निर्माण गर्नका लागि नेपाल सरकारबाटै टेण्डर आव्हान भएको र आवास निर्माणको प्रारम्भिक चरणमा प्रवेश गरिसकेको बताइरहँदा पुलकित बैठकमा कवि मुकुन्द प्रयासको क्यामेरा फ्ल्यास उत्साहले प्लिक प्लिक हुँदै थियो।

एउटा उपलब्धीमूलक बैठक सकेर धनकुटाको पहाडबाट झर्दै गर्दा अध्यक्ष गोपाल गुरागाईज्यूले भन्नुभएको बचन मनभरि पोतियो – झमकको कारण धनकुटा कृतज्ञ छ, यो कृतज्ञता धनकुटामै झमक ग्राम बनाएर तिर्नुपर्दछ आउने पुस्तालाई ।

Write a Comment

Events
Random Picks