म बाँदर र मेरो क्यामेरा!
19-August-2015

Avash Karmacharya

Every Monkey with a DSLR thinks s/he is a Photographer”.

सामाजिक सञ्जाललमा निकै प्रसिद्ध यस भनाईको गहिराईलाई बुझ्नकै लागि मैले पनि दुई वर्षअघि एउटा डिएसएलआर क्यामेरा चलाउने जमर्को गरे। म पनि उही बाँदरको भीड़मा रमाउन चाहन्थेँ।

करियरको पछिल्ला वर्षहरू मिडियामा बिताएको हुनाले, मेरो संगत कयौ फोटोग्राफरसँग भए, ती मध्ये कयौ नजिकको साथी बन्न पुगे। आजको यथार्थलाई क्यामेराले एउटा महत्वपूर्ण इतिहासको रूपमा प्रस्तुत गर्ने क्षमता देखेर म फोटोग्राफी छविकला तर्फ सधै आकर्षित थिए।

दुई वर्ष अघि मेरो हातमा परेको कालो अनि चिटिक्क परेको त्यो डिएसएलआर क्यामेरा मेरा लागि कालो अक्षर भैसी बराबर मात्र थियो। त्यतीबेला मलाई क्यामेराको कुनै टेक्निकल ज्ञान थिएन। अध्ययन पनि गरेको थिइन। तर मलाई जसरी भएपनि क्यामेरा चलाएर हजारौं बाँदरको भीडमा उभिनु थियो।

भनिन्छ कुनैपनि सम्बन्धको शुरूआत अनौठो, रमाइलो, अपरिचित र परिश्रमी हुन्छ, चाहे त्यो परिवारसँगको होस, मित्रताबीच वा प्रेम नै किन नहोस्। त्यस्तै मेरो र क्यामेराबीचको सम्बन्धको शुरुवात पनि त्यस्तै थियो-एक अर्कासँग अपरिचित, एक अर्का प्रति कौतुहलता, जिज्ञासा, दृढ़ता र प्रेम।

बिहान नौ बजेदेखि साँझ पाँचबजेसम्मको जागिरे जीवन सकाउँथे अनि क्यामेरालाई साथमा लिएर घन्टौसम्म काठमाडौं र पाटन दरवारमा डेटिङ जान्थे। हरेक साँझ क्यामेरासँग गफ गर्दै सयौंको भीडलाई नजीकबाट चियाउँथे र कैद गर्थे अनगिन्ती मुस्कानहरू, उदाशीनताहरू, भाग दौड़हरु अनि पीड़ाहरू।

लगभग एक वर्ष लाग्यो हामीलाई एक अर्काको कमी कमजोरी र विशेषता बुझ्न र आत्मसाथ गर्न। त्यसपछि यो सम्बन्ध अझै प्रघाढ बन्दै गयो।

मेरो क्यामेराले कयौ कुरा सिकाएको छ। सबैभन्दा महत्वपूर्ण कुरा-यो हस्याङ फस्याङ, र भाग दौड़ प्रतियोगिताको बीच एकछिन रोकिएर दर्शक बन्न र जीवनका अनेकौ अध्यायहरू पढ्न उसले सिकाएको छ।

उसले मलाई भिन्न-भिन्न रंगहरूको सुन्दरतालाई सम्मान गर्न सिकाएको छ। मलाई उसले सडकसँग नाता जोडिदिएको छ। यही क्यामेराले गर्दा म आज सडकलाइ एउटा जीवन्त संग्राहलय र शक्तिशाली रंगमंचको रूपमा देख्छु जहाँ दिनहुँ प्रत्येक पात्रहरू सिंगल टेकमा सशक्त अभिनय गरीरहेका छन्।

मलाई मेरो क्यामेराले अनागिन्ती अपरिचित अनुहारसँग बेनामी सम्बन्ध गासिदिएको छ। कयौं शब्दहिन् अभिव्यक्तिहरुलाई कैद गरेको छ। हामीले कयौ पटक हाम्रो पात्रसँग पलभरको भलाकुशारीबीच नयाँ साइनो गासेका छौ।

हामी दुईले यी अढाई वर्षमा घाम, शीत, हिलो, धुलो, हुरी, बर्षा, सूर्योदय र सूर्यास्तलाई एक अर्काको आँखाबाट हेर्ने र बुझ्ने प्रयत्न गरेका छौ। मलाई मेरो क्यामेराले मेरो वरपर कै चिर परिचित गल्ली-कुना-चोक र सडकलाई एउटा नयाँ दृष्टिले हेर्न सिकाएको छ। मलाई अन्धकार बीचको उज्यालो हेर्न र शून्यताको बोलहरू सुन्न सिकाएको छ। मलाई उसले धैर्यताका पाठहरु पढाएको छ.

करिब दुई वर्ष पछि आज हामी एक अर्काको पूरक जस्तै बन्यौ। सँगै हिड्छौ र प्रत्येक दिन एउटा नयाँ कुरा सिक्छौ। म कमर्सियल फोटोग्राफर होईन र यो सम्बन्ध केही महँगो पनि छ तर हाम्रो सम्बन्ध एउटा परिवारको जस्तै हो जहाँ खर्च त हुन्छ तर कमर्सियल लेखा-जोखा हुँदैन।

मलाई धेरैले कयौ पटक सोधेका छन, ‘के पाउँछस् क्यामेरा भिरेर, हल्लेर, फोटो खिचेर।’ म बारम्बार उही जवाफ दोहोह्राऊँछु ‘ख़ुसी, आत्मशान्ति, आत्मसन्तुष्टी।’

सुन्दा अनौठो लाग्ला हजूरहरुलाई म मेरो क्यामेरासँग अनेकौ बात मार्छु, मनका कयौ भावहरू पोख्छु र उसको निःशब्द अभिव्यक्ति नजिकबाट पढ्छु। दुई वर्ष अघि मैले कहिले सोचेको थिईनँ यो बाँदर जीवन यती आनन्ददायी हुन्छ भनेर।

 

Events
Random Picks