पटक–पटक किन डुब्छ डुंगा ?
10-September-2018


लेखनाथ, भदौ २५

काठमाडौंबाट ०७३ साउन २३ मा पोखरा घुम्न आएका ७ जना सवार डुंगा फेवातालमा पल्टिँदा प्रतीक श्रेष्ठ र एलिन केसीको मृत्यु भएको थियो । बिनालाइफ ज्याकेट डुंगा चढेका उनीहरूलाई हावाहुरीले हुत्यायो ।
४० वर्षअघि फेवातालमा एकैपटक १९ जनाको मृत्यु भएको थियो । घाँसदाउरा गर्न हिँडेका स्थानीय सवार डुंगा ०१८ सालमा पल्टिएर १९ को ज्यान गएको थियो । ०४३ सालमा वनभोज खाएर फर्कंदै गरेका १८ जनाको मृत्युको कारण डुंगा दुर्घटना नै भयो ।

०६१ मा डुंगा पल्टिएरै ६ जना सुरक्षाकर्मीले ज्यान गुमाए । ०७३ मा पनि पटकपटक गरेर ५ जनाको मृत्यु फेवातालमा डुंगा पल्टिएर भयो । शनिबार फेरि बेगनासतालमा डुंगा पल्टिएर ८ जनाले ज्यान गुमाए । पहिलेपहिले लाइफ ज्याकेट र मोटरबोटजस्ता सुरक्षा र उद्धारका साधन नहुँदा मानवीय क्षति धेरै हुने गरेका थिए तर अहिले ती सबै सुविधा भएर पनि दुर्घटना भइरहेपछि प्रश्न उब्जिन थालेको छ,  पटकपटक किन डुब्छ डुंगा ?

फागुनचैतमा हावाहुरी लाग्ने मौसम हो । त्यतिखेर हावाहुरीले ल्याउने छालले धेरै डुंगा पल्टाउँछन् । भदौ महिना त्यस्तो होइन । प्राकृतिक कारणबाहेक मानवीय कमिकमजोरीले डुंगा दुर्घटनामा बढी क्षति भएका छन् । बेगनासको डुंगा दुर्घटना लापरबाहीबाट भएको सरोकारवाला बताउँछन् । फेवाताल र बेगनासताल डुंगा व्यवसायी समितिले ५ वर्षअघिबाटै डुंगा चढ्नेलाई लाइफ ज्याकेट अनिवार्य गरेको छ ।

सानो डुंगामा ५ जनाभन्दा बढी चढाउन मिल्दैन । शनिबार दुवै नियम लागू भएन । स्थानीय कमलराज कँडेलको डुंगामा १० जना मानिस, चामलको बोरा र सिलिन्डर राखेर पारि लगियो । कँडेलले आफ्नै घरमा तीजको दर खाने कार्यक्रममा जान चेलिबेटीलाई डुंगा चढाएर पठाएका थिए । उनकै विवेकले त्यसो गरे या अरू नै कारण थियो भन्ने खुल्न सकेको छैन ।

उक्त डुंगाकै पछिपछि एक्लै अर्को डुंगा चलाएर गएका उनी आँखै अगाडि दुर्घटना देखेपछि बेहोस छन् । उनको पोखराको चरक मेमोरियलको आईसीयूमा उपचार भइरहेको छ । उनको होस खुलेपछि धेरै कुरा खुल्ला ।डुंगा दुर्घटनामा परेर जीवितै उद्धार गरिएकी सपना खनाललाई आधार मान्दा डुंगामा एक मात्र युवा पुरुष थिए, रवि खनाल । उनैको जिम्मा लगाएर डुंगा पठाइएको थियो तर रवि पोख्त डुंगा चालक होइनन् । बेगनासताल डुंगा व्यवसायी समिति मातहतकै डुंगामा १० जना हालेर लैजाँदै गर्दा समितिका मान्छेले खबरदारी गरेको देखिँदैन ।

लाइफ ज्याकेट पनि दिएर पठाएनन् । जब कि तालकै छेउमा समितिको काउन्टर छ र रेखदेख गर्ने कर्मचारी पनि । पर्यटकलाई ५ जना मात्रै र लाइफ ज्याकेट अनिवार्य गर्ने समितिले डुंगा धनीका आफन्तलाई किन त्यो नियम लागू गरेनन् रु पर्यटक चढ्दा मात्रै होइन, अरू बेला पनि दुर्घटना निम्तिन सक्छ भन्ने हेक्का समिति कर्मचारीलाई किन भएन ? समितिले क्युबाहिरको डुंगा लगेको भनेर उम्कन मिल्छ कि मिल्दैन ?

समितिको कमजोरी छँदै थियो, १० जना लाइफ ज्याकेटबिना यात्रा गर्नु यात्रुको पनि कमजोरी देखियो । डुंगा दुर्घटनामा परेकी सपनाको माइती तालपारि बेगनास हो । उनी डुंगा र तालसँग बढी परिचित थिइन् । उनका श्रीमान् रवि, छोराहरू शिव र शंकर उतिसारो जानकार होइनन् । बेगनासका धेरैको आफ्नै डुंगा छ । उनीहरूले यातायातको साधनका रूपमा डुंगा प्रयोग गर्छन् ।

तालमा पर्यटक ओसारेर आयआर्जन पनि । सांसद खगराज अधिकारी बेगनासकै हुन् । गाउँमा पुग्न मोटरबाटो नभएको पनि होइन । शनिबार पाहुनाले मोटरबाटोको प्रयोग गर्न नचाहेको देखियो । सपनाका अनुसार डुंगाबाट गए थोरै हिँड्नुपर्ने र मोटरबाटो गए धेरै हिँड्नुपर्ने भएर उनीहरूले डुंगा रोजेका थिए । उनका श्रीमान्को जिद्दीपना दुर्घटनाको अर्को कारण थियो । उनले चढ्ने बेलामै आफू नजाने ढिट गरेकी थिइन् । किनारबाट अलि पर पुगेपछि नै ‘फर्कौं’ भनेकी थिइन् । नेपाली सेना श्रीमान्ले ‘केही हुन्न, मरे सबै सँगै मर्ने हो’ भनेको उनलाई सम्झना छ ।

डुंगामा सवारले सम्भावित दुर्घटनाबारे कुनै आकलन नगरेको देखिन्छ । उनका अनुसार डुंगा चुहिने थियो । डुंगाबाट पानी निकाल्न सानो कटौरा राखिएको थियो । डुंगा चुहिनु नै दुर्घटनाको कारण बन्यो । डुंगाधनीले डुंगाको मर्मतसम्भारमा ध्यान नदिनु पनि कमजोरीका रूपमा देखिएको छ ।

नहुनु दुर्घटना भइहाल्यो, त्यसपछिको उद्धारमा झन् चरम कमजोरी देखियो । फेवातालमा ‘रेस्क्यु टावर’ स्थापना गरिएको छ । सशस्त्र प्रहरीको टोलीले चौबिसै घण्टा पहरा दिन्छन् । सुविधायुक्त मोटरबोट छ । तालिमप्राप्त उद्धार टोली छ । त्यति हुँदाहुँदै पनि फेवातालमा डुबेर मान्छे मर्न रोकिएको छैन ।

बेगनासतालमा यी कुनै छैनन् । भएको एउटा मोटरबोट पेट्रोल रित्तै गरेर राखिएको थियो । डुंगा पल्टिएको आधा घण्टासम्म यात्रुले बाँच्ने संघर्ष गरिरहे । त्यतिखेरसम्म परपरसम्मबाट उद्धारमा कोही आएनन् । आधा घण्टापछि धन्न दिलकुमारी जलारी र उनका छोरा कुमार आएर सपना र निशा पौडेललाई बचाउन सफल भए ।

सपना र निशा ताल किनारमा आएपछि बल्ल सपनाले एक महिलाको मोबाइल मागेर आमा कमला अधिकारीलाई फोन गरेकी थिइन् । कमलाले नै प्रहरीलाई खबर गरेकी हुन् । सपनाले जनाएअनुसार दुर्घटनाबारे समितिलाई बताउँदा उद्धारमा जाने तयारी गर्नै ढिला भएको थियो ।

जिल्ला प्रहरीका नायब उपरीक्षक एवं बेगनासकै रवीन्द्र गुरुङ धेरै कमीकमजोरीको तालमेलले डुंगा दुर्घटना भएको बताउँछन् । लाइफ ज्याकेट नलैजानेजस्तो सानो कमजोरीले ठूलो मानवीय क्षति भएको उनको ठहर छ ।प्रशासनले लाइफ ज्याकेट अनिवार्य गरे पनि अनुगमन गर्न सकेको छैन । नियम लागू गर्ने तर अनुगमन नगर्ने भएकाले दुर्घटना निम्तिने गरेको छ । अनुगमन संयन्त्र बलियो नहुँदा हुने दुर्घटनाले पर्यटकीय नगरीकै छविमा आँच पुर्याएको छ । पटकपटक दुर्घटनाको खबर सुन्दा पनि चेत नफिर्ने यात्रु छँदै छन् ।

६ को शव भेटियो
बेगनासतालमा शनिबार डुंगा डुबेर बेपत्ता भएका ६ जनाकै शव आइतबार दिउँसो फेला परेको छ । घटनास्थल नजिकै उनीहरूको शव भेटिएको प्रहरीले जनाएको छ ।आफन्तकामा तीजको दर खाने कार्यक्रममा सहभागी हुन जाने क्रममा १० सवार डुंगा डुबेको थियो । डुंगा डुबेपछि शनिबारै उपचार क्रममा दुईको मृत्यु भएको थियो ।

डुंगा डुब्दा नवलपुर गैंडाकोटका ३२ वर्षीय रवि खनाल, उनका ८ र ७ वर्षका छोरा शंकर र शिव, तनहुँको भीमाद ९४ का ४ वर्षीय रञ्जित गैरे, पोखरा९३१ बेगनासका ५ वर्षीय प्राचीन पौडेल र पोखरा नयाँ बसपार्ककी १८ वर्षीया मनीषा बजगार्इं बेपत्ता थिए । आइतबार दिउँसो उनीहरूको शव फेला परेको हो ।

साभार : कान्तिपुर

 

Write a Comment

Events
Random Picks