न्याय माग्दा बन्दुकको नाल
16-September-2018


जक्सन डटकम
काठमाडौँ  भदौ ३१

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमासँगै यतिबेला ९ अधिकारकर्मी महिला पनि आफ्नो परिवार र कामकाज छोडेर राजधानीमा छन् । यी तिनै महिला हुन् जो अहोरात्र नखटिएका भए कञ्चनपुर घटना उतिबेलै सेलाउन सक्थ्यो ।

शव भेटिएकै दिन साउन ११ गते कञ्चनपुरका कांग्रेस, पूर्वमाओवादी र पूर्वएमालेका तीन पुरुष प्रतिनिधिको रोहवरमा कागज गराएर प्रहरीले निर्मलाको सद्गत गर्न खोजेको थियो । यिनै महिलाले यसमा कुनै राजनीतिक निर्णय हुन नसक्ने भन्दै पुरुषहरूको सहमतिविरुद्ध आन्दोलन सुरु गरेपछि त्यस दिन शव जलाउन रोकिएको थियो । आन्दोलनको केन्द्रमा थिइन् ३२ वर्षीया लक्ष्मी मल्ल । पुरुषहरूले गरेको कागजमा निर्मलाको हत्या भएको मात्र लेखिएको थियो, उसले उनलाई साह्रै बिझायो ।

‘योनीबाट रगतसमेत बगेकाले बलात्कार पनि लेख्नुपर्ने माग हाम्रो थियो, तर तीनमध्येका एक प्रतिनिधिले डाक्टरको रिपोर्ट नआई लेख्न मिल्दैन भने,’ लक्ष्मी भन्छिन्, ‘त्यसो हो भने हत्याचाहिँ डाक्टरको रिपोर्ट नआई कसरी लेख्न मिल्छ भनेर म कराएँ । निर्मलाले आत्महत्या पनि त गरेको हुन सक्छ नि भनें ।’

कागजमा बलात्कार छुटाउने निर्णयले महिला मात्रै होइन, युवा पनि तातेपछि प्रहरीले निर्मलाको शव उठाउन सकेन । यसरी शव जलाउने निर्णय बिथोलिएकामा प्रहरी निकै क्रुद्ध भयो ।‘त्यसपछि हामीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार भयो, यति हुँदा पनि मैले भाइहरूलाई आवेशमा नआउन सम्झाइरहेकी थिएँ,’ लक्ष्मी भन्छिन्, ‘यसलाई पठायो भने सबै शान्त हुन्छ भनेर एक प्रहरीले मलाई त्यहाँबाट जबरजस्ती हटाउन खोजे । तर, म साँझ नपरी निस्किनँ ।’

‘भोलिपल्ट त बिहानै नगरपालिकाको फोहोर फाल्ने ट्याक्टरमा शव हालेर लाने तयारी भएको रहेछ, त्यो सुनेपछि म हुर्रिंदै अस्पताल पुगें,’ लक्ष्मी भन्छिन्, ‘त्यहाँ निर्मलाका बुबा यज्ञराज बेहोस अवस्थामा थिए । आमाको पनि बेहाल थियो । त्यसै बेला मामा भन्दै तीर्थराज भण्डारी भन्ने मान्छे आएर शव बुझ्ने तरखर गर्दै रहेछन् । त्यो देख्दा मेरो पारो चढेर आयो । कस्तो खालको मामा तपाईं भनेर तीर्थराजलाई हप्काएँ ।’

लक्ष्मीका अनुसार मामा पछि हट्न मानेनन् । ‘त्यसपछि प्रहरीले माइकिङ गर्दै हामीलाई घर फर्किन आदेश गर्यो, नटेरे बल प्रयोग गर्ने चेतावनी पनि दियो,’ उनी भन्छिन्, ‘हिजोजस्तै कुटपिट गर्ला भनेर अरू भागे, मचाहिँ कुटे पनि कुटोस् भनेर बसिरहें ।’

त्यस दिन पनि प्रहरीले शव उठाउन सकेन । १३ गते पनि यसरी नै प्रतिकार गर्न खोज्दा लक्ष्मी प्रहरीको आक्रोशमा परिन् ।

‘यसलाई ठीक नपारेसम्म झमेला भई नै रहन्छ, हाल् यसलाई भित्र भन्दै एक सई मेरो अघिल्तिर आए । उनले मलाई बन्दुकको नालैनालले पुट्ठा र ढाडमा हिर्काए,’ लक्ष्मी भन्छिन्, ‘दुखाइले म भुतुक्कै भएँ तर पनि भाग्न मन लागेन । हान् जति हान्छस् हान्, गोली नै हाने पनि खान तयार छु तर मेरी बहिनीको शव उठाउन दिन्नँ भनेर चिच्याएँ । उनले फेरि हिर्काए ।’

त्यसै बेला केही पत्रकार आइपुगे । ‘त्यसपछि चाहिँ त्यो सईले यसलाई पक्रेर लैजा भनेर महिला प्रहरीलाई अह्राए,’ लक्ष्मीले भनिन्, ‘भित्र बबिता बम हिरासतमा रहिछन्, मलाई पनि त्यहीँ लगेर थुनिदिए ।’

उनका अनुसार हिरासतमा गर्मी कम गर्न एउटा टेबल फ्यान राखिएको थियो । ‘केहीबेरपछि एउटा हवल्दार आएर मुद्दा शाखामा चाहियो भनेर त्यो फ्यान लग्यो, बाहिर खाएको कुटाइ अनि उकुसमुकुस गर्मीले गर्दा म त बेहोस भएछु,’ लक्ष्मी भन्छिन्, ‘पुरुष हिरासतमा थुनिएका केही भाइहरूले यो देखेछन् । अनि तिनले तिमी पनि महिला नै हौ बहिनी, उहाँको अनुहारमा पानी छम्किदेऊ न भनेर बबितालाई आग्रह गरेछन् ।’

‘बबिताले पानी छम्केको एक घण्टाजतिमा मेरो होस खुलेछ,’ उनी भन्छिन्, ‘त्यसपछि म धेरैबेर रोएर बसिरहें ।’

‘राम्रो काम गर्दा यस्तै हो दिदी कहिलेकाहीँ’ भन्दै हिरासतका युवाले उनलाई सम्झाए । रात पर्न सुरु भइसकेको थियो । लक्ष्मीलाई आफ्नो बच्चाको सम्झनाले पोल्न थाल्यो । उनले आफू हिरासतमा पर्ने कारणै नभएको भन्दै कम्तीमा बच्चासँग कुरा गर्न दिनुस् भन्दै मोबाइल नम्बर हवल्दारलाई टिपाइन् । ‘तपाईंलाई बच्चाको मायै छैन, भएको भए आन्दोलनमा आउनुहुन्थ्यो भनेर उल्टै हप्कायो,’ लक्ष्मी भन्छिन्, ‘बबितालाई भने ऊ फुपू तिर्खा लाग्यो कि भनेर सोधिरहन्थ्यो ।’

राति साढे १०:३० मा लक्ष्मीलाई अब हल्ला गर्दिनँ भन्ने वाचाका साथ प्रहरीले निकाले । बन्दुकको नालले जीउमा चोटसमेत लागेकाले उनी सोझै अस्पताल पुगिन् । बाहिर भने मामा भन्ने तीर्थराजले बिहान साढे आठ बजे निर्मलाको शव बुझेर जलाउने भनी कागज गरिसकेका रहेछन् ।

‘मलाई चिच्याएर त्यो अन्यायका विरुद्ध कराउँजस्तो भएको थियो,’ उनले भनिन्, ‘फेरि साथीहरू थप आन्दोलित होलान् र प्रहरीले उनीहरूलाई फेरि बेस्सरी भकुर्ला भनेर चुपै लागिरहें ।’

हातमा ब्यान्डेज गराएर उनी राति अबेर घर फिरिन् । बिहान उठ्न नपाउँदै एक पत्रकारले म्यासेज पठाए, ‘दिदी, निर्मलाको शव त बिहानै घाट लगिसकेछन् ।’ सहमतिविपरीत झिसमिसेमै निर्मलाको सद्गत गर्न लगिएको खबरले उनी झन् आहत भइन् र घाटतिर लागिन् ।

महाकाली नदीको किनारमा बिहान साढे ७ बजे उनी पुग्दा निर्मलाको शरीर दनदनी बलिरहेको थियो ।

‘चिता अगाडि बसेर निर्मलाका बुबा रोइरहनुभएको थियो । आफूलाई मामा दाबी गर्ने तीर्थराजचाहिँ केही भएको छैन जसरी बसिरहेका थिए,’ लक्ष्मी भन्छिन्, ‘त्यसबाहेक त्यहाँ मलामीका रूपमा सयौं प्रहरी मात्रै थिए ।’

‘त्यतिबेला मलाई आफू पराजित भएको र देशमा न्याय मरेको अनुभव भयो,’ उनले भनिन्, ‘यसरी अपराधी नै पत्ता नलगाई भएभरको प्रमाण नष्ट पारिएको घटनाले उनलाई मात्रै पिरोलेको थिएन, सारा दिदीबहिनीलाई रुवाएको थियो ।’ शव जलाए पनि हत्यारा पत्ता लगाउनुपर्ने माग राखेर लक्ष्मीहरू आन्दोलनमा उत्रिए । त्यसक्रममा उनीहरूले धेरैपटक अश्रुग्यास र लाठीचार्जको सामना गरे । एक किशोरको ज्यानै गयो भने २० जना गम्भीर घाइते भए ।

‘तर पनि अपराधीको अझै अत्तोपत्तो छैन,’ लक्ष्मी भन्छिन्, ‘अति भएपछि हामीले कञ्चनपुर छाड्यौं, अब निर्मलालाई न्याय नदिएसम्म घर फर्किन्नौं ।’

साभार : कान्तिपुर

Write a Comment

Events
Random Picks