दिनहुँ तरकारी बेच्ने लक्ष्मीे छोराको साथ चाहन्छिन्
17-September-2018

जक्सन डटकम
बलेवा, बागलुङ, असोज १

बागलुङ नगरपालिकाको तित्याङकी ५५ वर्षीय लक्ष्मी किसानको दैनिकी डोकोमा तरकारी बोकेर बजार झरेपछि शुरु हुन्छ । यो दैनिकी उनले २५ वर्षदेखि गरिरहेकी छन् । बिहान र बेलुकी गरी कम्तीमा दुई डोका तरकारी लिएर बजारमा पुग्ने किसानले साहुको पैसा बुझाएर आउने नाफाबाट जीवन धानिरहेकी छन् । 

बिहान उज्यालो हुँदानहुँदै बागलुङ बजार पुगेर तरकारी पसल, होटल तथा व्यक्तिका घरघरमा तरकारी बेच्छिन् उनी । बिहानको खेप ८ बजेभित्र सकेपछि उनी फर्केर घरको काम भ्याउँछिन् । दिउँसो २ बजेपछि फेरि दोस्रो खेप तरकारी तयार हुन्छ । त्यो सकेपछि बेलुकी घरको नियमित काममा लाग्नुपर्छ उनलाई ।

यस्तै काम गरेर उनले चार सन्तान हुर्काएकी छन् । आफूले पढ्न लेख्न नपाएपनि छोराछोरीलाई पढाउन सफल भएको उनी बताउँछिन् । “राम्रो गर्न नसकेपनि छोराछोरीलाई नराम्रो गरेकी छैन, डोकोमा तरकारी बेचेर कमाएको पैसाले खाने लाउनेदेखि पढाएर पनि केही बचत गरेकी छु,” उनले भनिन् । तीन छोरी र एक छोरालाई डोकोमा हालेर बेचेकै तरकारीले हुर्काएकी हुन् उनले ।

बीस वर्षअघि श्रीमान् बितेको थियो । श्रीमान् छँदा पनि उनले यसरी नै दुःख गरेकी थिइन् । श्रीमान्बाट साथ र सहयोग नपाएकाले उनलाई कमाएर परिवार पाल्नुपर्ने भयो । डोके आम्दानीबाटै उनले तीन छोरीको विवाह खर्च पनि जुटाइन् । उनले भनिन् – “छोरीको विवाह गर्दा केही खर्च भयो तर, मैले यो पेशाबाटै पु¥याएँ ।

ठूला साहुको ठूलै ऋण हुन्छ रे, मैले अहिलेसम्म कसैको एक रुपैयाँ पनि खाएको छैन ।” डोकोभरि तरकारी लगेर बेचेपछि घर फर्कंदा उनले सबैको पैसा तिर्छिन् र बचेको मात्र खर्च गर्छिन् । केही समयदेखि बागलुङ नगरपालिका–३ स्थित मिर्मिरे कृषि सहकारी संस्थाले उनको पैसा बचत पनि गरिदिएको छ ।

बिरामी हुँदा उपचार खर्च हुन्छ र मौकामा खर्च गर्न पाइन्छ भनेर खाता खोलेको उनले सुनाइन् । सहकारीका सदस्यहरुले गाउँभरि तरकारी खेती गरेका छन् । उनीहरुको तरकारी कृषि फार्मबाटै बिक्री समेत हुन्छ । किसानले बाँकी तरकारी डोकोमा बोकेर बजारका घर–घरमा लैजाने गरेकी हुन् । उनले हरेक दिन कम्तीमा १०० केजी तरकारी बिक्री गर्ने गर्छिन् । साग, काउली, बन्दागोभी, केराउ, गोलभेडा लगायतका तरकारी बिक्री गर्ने उनको दिनचर्या नै हो । 

“नियमित आएर तरकारी टिप्ने काममा पनि साथ र सहयोग गरेर डोकोमा लैजान्छिन्, खुद्रा मूल्यभन्दा केही सस्तो दिएर पठाउने गरेको छु,” सहकारीका अध्यक्ष गंगाबहादुर थापाले भने । त्यही कमिसनबाट उनले आफ्नो दैनिकी धानिरहेकी छिन् । किसानका अनुसार प्रतिकेजी १० रुपैयाँसम्म नाफा निकाल्न सक्दा दैनिक एक हजार रुपैयाँसम्म कमाइ हुन्छ । 

अत्यधिक मदिरा सेवनले श्रीमान् बितेका हुन् । “विदेश जान खोजेको छोरोलाई पनि कृषि कर्म गर्न भनेकी छु,” किसानले भनिन् । खेती गर्न गाउँमै जग्गा भाडामा लिन पनि पाइने भएपछि छोरा दीपकले आमाको पेशालाई साथ दिने योजना बनाएको उनी सुनाउँछिन् । बजारको समस्या नभएकाले र राम्रै आम्दानी हुने भएकाले छोरोलाई खेतीपातीमा प्रेरित गरेकी हुन् उनले ।

मासिक ३० हजार रुपैयाँसम्म कमाइआएका उनी छोरोले साथ दिए ५० हजार कमाउने आशा छिन् । उनले भनिन् – “उमेरले काम गर्न नसक्ने अवस्था भैसकेकी छु तर, छोरोले साथ दिए अझै मासिक ५० हजारसम्म कमाउन सक्छु ।” गाउँसम्म मोटरबाटो बनेको छ । जिपमा राखेर बजार पठाउन सकिए अझै धेरै तरकारी बिक्री हुनसक्छ । एकै खेपमा एकसय केजीसम्म लगेर खपत गर्ने बजार आफूले देखेको उनी बताउँछिन् । 

पछिल्लो समय बागलुङ बजारमा तरकारीको चर्को अभाव छ । स्थानीय उत्पादनले मात्रै बजारको माग नधान्ने भएकाले बाहिरी बजारबाट समेत तरकारी आयात हुने गरेको छ । लामो समय बागलुङको ट्राफिक चोकमा तरकारी ब्यापार गरेर बसेका टुकनाथ शर्मा भन्छन् – “स्थानीय बजारको तरकारीले नपुगेर बाहिरबाट ल्याएर बेच्ने गरेको छु ।”

उनका अनुसार तराईबाट बढी तरकारी आयात हुन्छ । सानो तरकारी पसल राखेर बसेका शर्माको अनुभवमा उपभोक्ताले स्थानीय उत्पादन बढी रुचाउने गरेका छन् । शर्मा भने – “तरकारी खोज्न आउनेहरुले लोकल तरकारी बढी खोज्छन् तर, हाम्रोमा लोकल तरकारीले मात्रै दैनिक ब्यापार धान्दैन ।” 

तरकारीको बजार राम्रो रहेको भए पनि एकाध युवाबाहेक कृषिजन्य उत्पादनको कारोबारमा लाग्ने जनशक्तिको अभाव छ । रेमिट्यान्स भित्र्याउने जिल्लाहरुको सूचीमा आउने बागलुङका अधिकाँश युवा रोजगारीको सिलसिलामा तेस्रो मुलुकहरुमा रहेका छन् । (रासस)

Write a Comment

Events
Random Picks