जरामा जीवनको कला भर्दै मीनबहादुर
28-September-2018


जक्सन डटकम
कास्की,असोज १२
पोखरा महानगरपालिका–१७ रातो पैह्राको बाटो छेउमै मीनबहादुर राना मगरका विभिन्न कलाकृतिले सजिएको एउटा प्रदर्शनी कक्ष (शोरुम) छ । शोरुममा प्रायः देखिन्छ, मीन रानाको रुखका जरामा कला भर्ने कामको व्यस्तता । एकोहोरो सिर्जनशीलतामा रमाउने राना भारतीय सेनाका सेवानिवृत्त हुन् । चापाकोटका बुबा हर्कबहादुर राना र आमा डम्बरकुमारी रानाका सन्तान मीनको बसोबास अहिले भने घारीपाटन हो । विसं। २०१८ मा जन्मिएका उनी सिर्जनात्मक कलामा निकै रमाउछन् । 

उनी १३ वर्षको उमेरमै दाजुसँग भारत पुगे । खै किन पढ्न अनुकूल मिलेन । सत्र वर्षका उमेरमा उनी भारतीय सेनामा भर्ना भए । “पाँच कक्षा पढेँ कि पढिन थाहा पाइन, तर भर्ती हुँदा पाँच कक्षा उत्तीर्णको प्रमाणपत्र पेश गरेको हुँ,” पढाइबारे हाँस्दै उनले यथार्थ खोले । 

सेवाको १७ वर्षमै भारतीय सेनाबाट निवृत्त भएपछि उनी नेपाल आए । त्यसपछिको दैनिकी भने के गरौँ र कसो गरौँ हुन थाल्यो । समयको सदुपयोग पनि गर्नु थियो । अर्कातर्फ श्रीमती र चार सन्तानको शिक्षा, दीक्षा पालनपोषणका लागि आर्थिक अवस्थालाई मजबुत बनाउनु पनि थियो । महँगीको जमाना उपदानको मात्रै भरले थेग्न गाह्रो थियो । त्यसैले कुनै पेशा व्यवसाय समात्नु उनको बाध्यता थियो । के व्यवसाय गर्ने निधो भने गर्न सकेका थिएनन् । मनमस्तिष्कमा कला मडारिरहेको थियो तर उनले आफ्नो क्षमताको पहिचान भने गर्न सकेका थिएनन् । यसै बेचैन थिए उनी। 

पन्ध्र वर्षअघि रातोपैह्रोको सामुदायिक वनमा गोडानी गरियो । वनमाराले वनलाई घेरेको थियो । वनमारा निकालेर एकै ठाउँमा थुपारियो । मीनका आँखा वनमाराका जरामा परे । उनका आँखाले विभिन्न आकृति देख्न थाल्यो । चरा, मान्छे, कहिँकतै खुट्टा नभएको मान्छेको आकृति जस्तो, कतै हात नभए जस्तो, एउटा अमूर्त आकृति जरामा देखिन थाल्यो । उनले सँगालेर घर ल्याए, घोरिएर हेरे, जति हेर्यो उति गजब लाग्न थाल्यो । भित्रभित्र भएको सिर्जनशील कलाले उनका आँखा तिखारिरहेको थियो, आँखा झिम्कन मान्दैनथे । अनि प्राकृतिक रुपमै ती कलाकृति सजाउन थाले । कहिँकतै रुखका जरा देख्यो कि घरमा ल्याउने र हेर्ने, कुनै न कुनै आकृति भेटिन्थ्यो, त्यसै रमाउँथ्यो उनको मन । यसरी जरा सङ्कलन गर्दै जाँदा व्यावसायिक रुपमै यस पेशालाई अघि बढाउने उनको सोच बन्यो । उनले ‘मोर्डन आर्ट ग्यालरी’ बाट कला व्यवसायलाई अगाडि बढाए । 

कति विदेशी कलाप्रेमीले कुनै रङगविनाको कलाआकृति मन पराउँथे भने त कतिले क्रृत्रिम सुन्दरता खोज्ने गर्थे । काम गर्दै जाँदा कलाप्रेमी ग्राहकको मनोविज्ञान पनि उनले बुझ्दै गए । अनि उनले जुक्ति निकाल्दै त्यही आकृतिमा अलिअलि रङगरोगन थपेर क्रृत्रिम रुपमा केही सजिसजाउ गरेर आकर्षक बनाउन थाले । जस्तो खोज्न आउँछन्, त्यस्तै कलाकृति तयार गरेर बेच्नु उनको दैनिकी बन्यो । 

विगत १५ वर्षदेखि उनको दैनिकी यसरी नै बितिरहेको छ । झण्डै १०० कला आकृति उनको ‘मोर्डन आर्ट ग्यालरी’ मा देख्न सकिन्छ । रु ५० देखि चार लाखसम्म उनका कलाको मूल्य छ । उनले चरा, विभिन्न धर्म संस्कार, मृत्यु संस्कारका चित्राकृति, विभिन्न जातजातिको संस्कृति, जनावरका आकृति, देवीदेवताका मुर्तिलगायत मागअनुसारका सम्पूर्ण मूर्ति बनाउँदै आएका छन् । सिक्न चाहनेका लागि गुरु बन्न पनि उनी तयार छन्, तर सिक्न खोज्ने नेपाली मन भने भेटेका छैनन् । बरु विदेशी पर्यटक आएर उनलाई गुरु बनाइसकेका छन् । हालसम्म उनी १५ जना विदेशीका कला सिकाउने गुरु बनिसकेका छन् । केही समयअघि महिलाहरुलार्ई चरा बनाउने तालीम दिएका थिए । 

“नेपाली बढी कृत्रिमतामा ढालेको खोज्छन् तर विदेशीले प्राकृतिक आकृति मन पराउँछन्,” उनले भने, “नेपालीलाई आफ्नो कला संस्कृतिप्रति त्यति रुचि बढ्न सकेको छैन ।” आजकाल उनको व्यस्तता दिनदिनै बढिरहेको छ । उनले तार, फोम, कागज, खरानी, फेबिकोल, झारपात, काठको धुलो, रङ्ग, कुखुराको प्वाँखलगायत सामग्रीको प्रयोगले विभिन्न सुन्दर मूर्ति एवं कलाकृति बनाउँदै आएका छन् । आगामी दिनमा नेपालका आदिवासी जनजातिको संस्कृतिलाई कलामार्फत विभिन्न जातजातिको संस्कृतिको प्रचारप्रसार गर्ने उनको सोच छ । विदेशीले पनि नेपाली संस्कृतिका कला रुचाएपछि उनको सोच पनि यतातिर बढ्दै गएको छ । (रासस)

Write a Comment

Events
Random Picks