ज्ञानुबाबाले जन्माएकी भलिबलकी रोलमोडल
4-October-2018


काठमाडौँ, असोज १८ 
रेखा शाही- सुन्दर नगरी पोखरा र भलिबलबीच अन्योन्याश्रित सम्बन्ध छ । किनभने तालै तालको सुन्दर सहरको ताज पाएको पोखराले त्यति नै उत्कृष्ट खेल्ने भलिबल खेलाडीलाई जन्माएको छ । भलिबलका लागि उर्वरभूमिको पहिचान बनाएको पोखराले धेरै खेलाडीलाईं जन्मायो ।

तर, दुर्भाग्य नै भन्नुपर्छ, केहीले मात्र निरन्तरता दिन सके । अनवरत निरन्तरतामा आउने एउटै नाम हो— मञ्जु गुरुङ । जसले आफ्नो जीवनको झन्डै दुई दशक भलिबलमा समर्पण गरिसकेकी छन् । मञ्जुको त्यो अटुट यात्रा अझै जारी छ । 

डेढ वर्षअघि नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको छ । त्यसपछि नेपालमा भलिबलका गतिविधि निकै फस्टाएका पनि छन् । नेपाली राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय सहभागिता पनि बाक्लिँदै गएको छ । तर, त्यो पुरुष टोलीको हकमा मात्र लागु भएको छ । महिला टोली त्यसबाट बञ्चित छ ।

राष्ट्रिय खेलको मान्यता पाएपछि महिला टोलीले झन् कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन । “मोफसलका प्रतियोगिता मात्र बढेका छन्,” मञ्जुले भनिन् “राष्ट्रिय टोलीका सबै खेलाडी प्रतियोगिता नहुँदा चिन्तित छौँ । आफ्नो क्षमता समेत देखाउन पाएका छैनौं । मैले लामो समय भलिबलमा बिताइसकेको छु । अहिलेको टिम वरियता र उपाधिको हिसाबले पनि निकै राम्रो छ । तर सम्बन्धित निकायले वास्ता गर्दैन, दुःख लाग्छ ।” 

मोफसलका प्रतियोगिताको संख्या थपिएका कारण व्यस्तता बढे पनि त्यसले खेलाडीलाई न आर्थिक रुपमा राहत दिएको छ न त प्रतिभा निखार्ने काम नै गरेको छ । जितका लागि मात्र मैदान उत्रिन्छन् महिला भलिबल खेलाडी । यस्तै समस्याका कारण कतिपय खेलाडी पलायन भइसकेका छन् । तर, मञ्जु यस्तो खेलाडी हुन्, जसले कहिल्यै आफूलाई भलिबलबाट टाढा राख्न सकिनन् ।

नौ वर्षको उमेरदेखि भलिबल खेल्न थालेकी मञ्जुले २८ वसन्त पार गरिसकेकी छन् । तर, भलिबलप्रतिको मोहभंग भएको छैन । कास्कीको माछापुच्छ«ेमा जन्मिएकी मञ्जुलाई उचाइ दिएको हो— ज्ञानुबाबा स्कुलले । कक्षा १ देखि दाजुसँगै छात्रावासमा बस्न थालेकी मञ्जुलाई भलिबलमा खासै रुची थिएन । स्कुलका दिदीहरुले भलिबल खेल्दा मञ्जुको काम बल समात्ने हुन्थ्यो । दिदीहरुको लहलहैमा लागेर भलिबल खेल्न थालेकी मञ्जुलाई दाइको हौसला र गुरुको मायाले थप हौस्यायो । 

मञ्जुले कक्षा ४ मा पढ्दा पहिलो पटक जिल्लास्तरीय भलिबल प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । तर, उनले उक्त प्रतियोगिता आफ्नो कास्की जिल्लाबाट खेल्न पाइनन् । छिमेकी जिल्ला स्याङ्जाबाट सहभागी हुनुपर्ने बाध्यता आइलाग्यो । त्यो पललाई सम्झिँदै उनले भनिन्, “त्यतिबेला कास्कीमा दिदीहरु निकै राम्रो खेल्थे । म भर्खर खेल्न सिकेकोले टोलीमा पर्न सकिन । त्यसपछि छनोट नभएका खेलाडीलाई स्याङ्जाले खेल्न दिने भएपछि रहर पूरा गर्न स्याङ्जाबाट खेल्यौं ।”

कास्कीको टोलीमा नपरे पनि खेल्ने रहर पूरा गर्न मञ्जु स्याङ्जाबाटै भए पनि खेलिन् । एकपछि अर्को प्रतियोगितामा मञ्जुले आफूलाई प्रमाणित गर्दै गइन् । घरेलु र जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी मञ्जुले १६ वर्षमै राष्ट्रिय टोलीमा स्थान बनाउने सफलता पाइन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । निरन्तर राष्ट्रिय टोलीबाट खेल्दै आइरहेकी छन् । 

चार अन्तर्राष्ट्रिय प्रतियोगिता
दुई दशक भलिबलमा जीवन बिताएकी मञ्जुले अहिलेसम्म चार अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेकी छन् । दक्षिण एसियामा महिला भलिबलका धेरै प्रतियोगिताहरु हुँदैनन् । भए पनि बिभिन्न बहानामा नेपालले सहभागिता जनाउँदैन । त्यसको पछिल्लो उदाहरण इन्डोनेसियामा सम्पन्न १८औं एशियाली खेलकूद प्रतियोगिता हो । उनले भनिन्, “अन्तर्राष्ट्रिय खेल निकै लामो समयपछि आयोजना हुन्छ । मैले खेल्न थालेको २० वर्ष हुन लाग्यो । अहिलेसम्म ४ वटा मात्र प्रतियोगितामा सहभागी हुन पाएको छु । त्यही भएर खेलको स्तरमा सुधार हुँदैन ।” 

२००६ सालमा श्रीलंकामा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) मा मञ्जुले राष्ट्रिय टोलीबाट डेब्यू गरिन् । मञ्जुको पहिलो अन्तर्राष्ट्रिय खेल अनुभव त्यही हो । त्यसपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उनले झण्डै दश वर्ष कुनुपर्यो । सन् २०१६ मा भारतमा सम्पन्न १२औं साग प्रतियोगिता खेलिन् । त्यसबाहेक मञ्जुले माल्दिभ्समा भएको सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता र नेपालमै सम्पन्न आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलिन् ।

त्यसबाहेक मञ्जुसँग राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छैन । दक्षिण एसियामा नेपाली खेलाडीको प्रदर्शन राम्रो छ । तर उचित एक्सपोजर नहुँदा आफ्नो क्षमता देखाउन नपाएको मञ्जुको गुनासो छ । “घरेलु प्रतियोगितामा एउटै प्रतिस्पर्धी हुन्छ । उपाधि जित्ने टोली पनि त्यही हुन्छ । सबै एउटै हुँदा कहिले त दिक्क पनि लाग्छ,” उनले भनिन् । 

माल्दिभ्स भ्रमण 
लामो समयसम्म खेल्दा पनि आफ्नो लयलाई कायमै राख्न सफल मञ्जुले नेपालमा मात्र होइन, माल्दिभ्समा गएर पनि भलिबल खेलिन् । त्यसको समन्वय मिलाइदिए त्रिभुवन आर्मी क्लबका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले । पहिलो सहभागितामा आफ्नो छाप छाड्न सफल मञ्जु पुनः दुई पटक माल्दिभ्स गएर त्यहाँको स्थानीय लिगमा आफ्नो प्रतिभा देखाइन् । माल्दिभ्समा मात्र होइन, मञ्जु भलिबल खेल्नकै लागि हङकङ पनि पुगेकी छन् । 
स्पोर्टस् अवार्डले दिलाएको रोजगारी
खेलेर बाँच्न सक्ने अवस्था नरहेको भन्दै धेरै खेलाडी पलायन भइसकेका छन् । विभागीय क्लबमा रहेका खेलाडीसमेत जागिर छाडेर विदेश भासिने क्रम अहिले पनि कायमै छ । तर, मञ्जुले खेलेकै कारण रोजगारी पाएकी छन्– लुम्बिनी विकास बैंकमा । जसका कारण उनलाई खेलमा निरन्तरता दिन पनि सहज भएको छ । २०६५ सालमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको अवार्डमा मञ्जु पिपुल्स च्वाइस विधाको मनोनयनमा परेकी हुन् ।

समर्थकको मायाका कारण उनले अवार्ड हात पारिन् । अवार्ड जितेपछि मञ्जुलाई सम्मानस्वरुप बैंकले रोजगारी दियो । अहिले पनि उनी त्यहीँ कार्यरत छिन् । मोफसलमा हुने प्रतियोगिता खेल्न बैंकले मञ्जुलाई बिदा मिलाइदिने गरेको छ । जसका कारण उनलार्ई खेल करियर अघि बढाउन सहयोग पुगेको छ ।

मोफसलका खेल बाध्यता
पछिल्लो समय मोफसलमा महिला भलिबलका प्रतियोगिता बढेका छन् । तर, त्यस्ता प्रतियोगिताले न खेलाडीको खेलस्तरमा सुधार आएको छ न त नयाँ खेलाडी उत्पादनमै सहयोग गरेको छ । त्यस्ता प्रतियोगिताले उपलब्ध खेलाडीहरुको व्यस्तता त बढाएको छ तर स्तर उकास्न नसकेको मञ्जुको बझाइ छ । मञ्जुले थपिन्, “बाटोबाट खेलाडी उठाएर टिम बनाइन्छ । त्यस्ता प्रकृतिका प्रतियोगिताले खेलाडीलाई व्यस्त त बनाएको छ तर खेल स्तरमा भने सुधार हुन सकेको छैन ।

उपाधि जित्ने टोली प्राःय एउटै हुन्छ । खेलाडी सबै उनै । सबैको खेल्ने तरिका थाहा हुन्छ । केही नयाँ टेक्निक हुँदैन । खाली समय व्यतीत गर्ने काममात्र भएको छ ।”घरेलु प्रतियोगितामा पनि पछिल्लो समय विदेशी खेलाडी ल्याउने चलन बढेको छ ।

त्यसबाट भने स्थानीय खेलाडीलाई केही फाइदा पुगेको मञ्जु बताउँछिन् । “एउटै खेलाडी अर्थात् एउटै टिम हुँदा रमाइलोका लागि खेल्ने मात्र हुन्छ । त्यसबाट केही सिक्न पाइँदैन । आजभोलि विदेशी खेलाडी ल्याउने चलन आइरहेको छ । विदेशी खेलाडीबाट भने केही सिक्न पाइन्छ,” उनले भनिन् ।

एसियाड सपना अधुरो
हरेक खेलाडीको लक्ष्य भनेकै ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने हुन्छ । तर, यस्तो प्रतियोगिता खेल्ने सपना सपनामै सीमित हुँदा खेलाडीलाई पीडा हुनु स्वाभाविक हो । एसियाली खेलकुद खेल्न नपाउँदा यस्तै पीडा भयो मञ्जुलाई पनि । नेपालले आर्थिक कारण देखाउँदै इन्डोनेसियामा सम्पन्न १८औ एसियाली खेलकुदमा महिला भलिबल टोलीलाई समावेश गराएन ।

विशेषतः खेल जीवनको उत्तराद्र्धमा रहेकी मञ्जुलाई त्यही कुराले पीडा दिएको छ । एउटा सपना खेर गएको मञ्जु बताउँछिन् । उनको भनाइ छ, “एसियाली खेलकुदमा सहभागी हुने सपना नै थियो । तर, पूरा हुन सकेन । यस्ता कुराले मलाई मात्र होइन, सबै खेलाडीलाई निराश बनाउँछ ।”

विभागको प्रस्ताव अस्वीकार 
राम्रो प्रदर्शन गर्ने खेलाडीलाई विभागीय क्लबले अनुबन्ध गर्नु नौलो कुरा होइन । मञ्जुलाई पनि त्यस्तो प्रस्ताव आएको थियो । तर मञ्जुले पश्चिमाञ्चल टोली छोडिनन् । जसबाट उनको पहिचान बन्यो । त्यो टोलीविरुद्ध खेल्न नपरोस् भनेर मन्जुले विभागको प्रस्तावलाई अस्वीकार गरिन् । रोलमोडलको पहिचान बनाइसकेकी मञ्जुले भलिबल सुरु गर्दा विभागका एपिएफ र आर्मीको टोली बनेका थिएन् । “टोली बनाउने क्रममा प्रस्ताव आए, तर मलाई आकर्षित गरेन” उनले भनिन्, “मलाई पश्चिमाञ्चल नै प्यारो लाग्यो । ”

सन्यास योजना 
भलिबल खेलेर नाम र दाम पनि कमाएकी मञ्जु दुई दशक लामो खेल जीवन टुंग्याउने योजनामा छिन् । मञ्जु एउटा ठूलो प्रतियोगिता खेलेर सक्रिय खेल जीवनबाट बिदा लिने योजनामा छिन् । त्यसका लागि नेपालमै हुने भनिएको १३औ साग उपयुक्त प्रतियोगिता हो । “बहिनीहरुसँग खेल्दा मञ्जु बूढी भइसकी भन्छन्, नराम्रो लाग्छ । अब उपयुक्त समयको पखाईमा छु,” मञ्जुले भनिन् ,“१३ औ सागपछि सोच्ने निर्णय गरेको छु । आफूभन्दा सिनीयर दिदीहरु पनि खेलिरहनु भएको छ । तर कहिलेकाहीँ खेलमा राम्रो गर्न नसक्दा बूढी भई भन्छन्, नराम्रो लाग्छ । तर, सकेसम्म खेल्नेछु ।”

साभार : बाह्रखरी

 

Write a Comment