व्यवस्था फेरियो, अवस्था फेरिएन
31-October-2018

महेश भण्डारी

एक जुगमा एक दिन एक फेर आउँछ
उलट पुलट उथल पुथल हेरफेर ल्याउँछ ।

श्रद्धेय कवि गोपाल प्रसाद रिमालका यी हरफलाई सुरुमै सम्झेँ । कवि रिमालले यो कविता लेखेका वर्षौँ भयो । यसबीच व्यवस्था फेरियो, अवस्था फेरिएन । हामीले चाहेको उलट पुटल होइन, उथल पुथल पनि होइन तर फेर फेर चाहिँ अवश्य हो । हेरफेर हाम्रो संस्कार, शैली र व्यवहारमा आवश्यक छ । अहिलेसम्म भएका राजनीतिक उथल पुथल र उलट पुलटप्रति हाम्रो श्रद्धा छ । तर जसरी देश चलिरहेको छ, जसरी राज्यसत्तालाई कार्यकर्ताको पालन पोषण गर्ने कारखाना बनाइएको छ, देश बनाउने ईच्छाशक्तिमा जुन शून्यता छ, स्वाभिमानमा जुन गिरावट आएको छ– हेरफेर यहीँनेर जरुरी छ । 

हामीले भनिरहेको रुपान्तरण नै यही हो । यो पानी तताउँदा बन्ने बाफ वा बाफ चिस्याउँदा बन्ने पानी होइन । यो त दूध जमाउँदा बन्ने दही र दही मोथेर निस्कने घिउ हो । न घिउलाई दही बनाउन सकिन्छ फेरि, न दहीलाई दूध बनाउन सकिन्छ । यो रुप र सार दुवैमा हुने परिवर्तन हो । पानी र बाफजस्तै परिवर्तनको युग सकियो । दही र घिऊ जस्तै रुपान्तरण अबको आवश्यकता हो । विवेकशील साझाको परिकल्पना त्यसैका खातिर हो । 

त्यो गोरेटोमा विवेकशील साझाको गण्डकी प्रदेशको संयोजकको भूमिकामा यसरी उभिँदा अत्यन्तै खुशी छु । यतिखेर मलाई लागेको खुशी सविशेष छ । यो फरक खुशी हो । यसको महत्व र घनत्व भिन्न छ, यसको गहिराई र तिब्रता सघन छ । देश र समाजको रुपान्तरणको लागि राजनीति नै गर्ने हुटहुटी र बचनबद्धताका साथ राजनीतिक रुपमा प्रस्तुत भइरहँदा मलाई यस पल प्राप्त खुशी, ‘खुशीहरुको पनि खुशी’ हो । यो खुशीलाई म आफ्ना शब्दमार्फत् व्यक्त गर्न सक्दिनँ । 


गण्डकी प्रदेशलाई विशेष महत्वका साथ लिने गरिन्छ । यसको चिनारी राष्ट्रियमात्रै होइन, अन्तराष्ट्रिय छ । पदयात्रा, पहाड र हिमालसम्बन्धी विश्वमा जति पनि पुस्तक लेखिएका छन्, त्यसमा एउटै शब्द ‘अन्नपूर्ण’ छुट्यो भने सारा पुस्तक फेल खान्छन् । उत्तरी कोरलाबाट सुरु भएर गोर्खा र लमजुङ्गका हिमाली खर्क र त्यहाँको तिब्बती संस्कृतिहुँदै आठ तालको पहाडी उपत्यका छिचोल्दै नवलपुरको समथर सुस्तासम्म फैलेको गण्डकी प्रदेशले लोभलाग्दो विराटतालाई पुष्टी गर्छ । १ सय ३० थरी धानका प्रजाती त कास्कीमा मात्रै पाइन्छन् । जैविक विविधता र कृषीजन्य उत्पादनमा गण्डकी प्रदेश विशाल छ । देवी पार्वती जन्मेको ठाउँ पाङ्गदेखि देवता विष्णुको मन्दीर मुक्तिनाथ यसै प्रदेशमा छन् । नेपालभर उत्पादन हुने हाइड्रोको कुल ५० प्रतिशत क्षमता यही प्रदेशबाट उत्पादन हुन्छ । यति ठूलो उर्जा र विविधता, त्यो पनि साँस्कृति, धार्मिक र प्राकृतिक हिसाबले– यो एउटा चमत्कार हो । प्रकृतिले गण्डकी प्रदेशलाई स्वर्ग बनायो । त्यससँगै, यहाँका प्रतिभाहरुले यस क्षेत्रलाई विश्वसामू चिनाउनमा महत्वपूर्ण भूमिका खेले । 

यतिखेर बागलुङ्गका करन केसी पोखरा रंगशालामा पीपीएल खेलिरहेका छन् । उनले खेल्दै गर्दा उनीसँगै मैदानमा उभिएको विकेट र विकेट पछिल्तिरको पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे हिमालको तस्वीर देश विदेशमा भाइरल भई रहेका छन् । त्यसरी नै यस क्षेत्रलाई अनिल गुरुङ्गले फुटबलमार्फत् दिएको चिनारी सर्वविदितै छ । आदिकवि देखि युगकवि हुँदै राष्ट्रकविसम्म यसै क्षेत्रमा जन्मिए । उनीहरुलाई सम्झीँदा हाम्रो छाती गर्वले फुल्छ । तर, यस क्षेत्रलाई गर्वका साथ चिनाउने राजनीतिज्ञ एउटा पनि जन्मेन । 

आदिकवि भानुभक्तको यो भूमिमा ‘आदि राजनीतिज्ञ’ किन अहिलेसम्म जन्मेन ? युग कवि लेखनाथ पौड्यालको यस क्षेत्रमा युग राजनीतिज्ञ खोई ? राष्ट्रकवि माधव घिमिरेले पौरख चलाएको यस क्षेत्रमा राष्ट्र राजनीतिज्ञ को हो ? उत्तर छैन हामीसँग । कास्की र लमजुङ्गको श्री ३ को श्रीपेच पहिरेर राजनीति सुरु गरेका जंगबहादुर राणा देखि तारानाथ रानाभाट हुँदै रामचन्द्र पौडेल र सशांक कोइरालासम्मका नेताले गण्डकी प्रदेशका जनतालाई कुनै गर्व दिन सकेनन् । कास्कीको नेपथ्य ब्याण्ड लण्डनको वीम्ब्ली स्टाडियममा प्रस्तुत हुँदा १२ हजार नेपलीले हात हातमा नेपाली झण्डा लिएर आफ्नो छाती गर्वले फुलाउँदै एकै स्वरमा ‘जय नेपाल’ भन्छन् । तर, गण्डकी प्रदेशका निर्वाचन क्षेत्रलाई प्रयोग गरेर विभिन्न पार्टीको नेतृत्वमा पुगेका हाम्रा नेता विदेश जाँदा त्यहाँका नेपालीले कालो झण्डा देखाएर विरोध गर्न परेको छ । यो वाध्यता कताबाट आयो ? एकफेर सोचौँ त । 

गण्डकी प्रदेशमा प्रकृति अपार छ, प्रतिभा अनेक छ तर सबैले गर्व गर्न सक्ने राजनीतिक नेतृत्व एउटा पनि छैन । त्यो अभावलाई अब विवेकशील साझा पार्टीले पुरा गर्छ । नेपाल युवाहरुको देश हो । अबका युवाहरु गोलबद्ध हुने मंच र मोर्चा भनेकै विवेकशील साझाको मंच हो । युवाहरु आफ्नै जीवनमा यो देश बदल्न चाहन्छन् । त्यो चाहनालाई समेट्न र सम्बोधन गर्न विवेकशील साझा सक्षम छ ।  


राजनीतिप्रति युवाहरुको आकर्षण घट्दै गयो । कारण, राजनीतिलाई अग्रजहरुले फोहोरी खेल बनाई दिए । राजनीतिलाई धर्मजस्तै आस्थाको विषय बनाईयो । राजनीति एउटा हिन्दूको छोरा जन्मिएपछि ऊ पनि स्वतः हिन्दू भएजस्तै ‘आँफै हुने चिज’ होईन । राजनीति त ‘गर्ने चिज’ हो । हजुरबालाई जुन पार्टीको झण्डा ओढाएर दाहसंस्कार गराइयो, नातीले पनि त्यही पार्टीको झण्डा हल्लाएर हिड्नै पर्छ भन्ने मान्यतालाई कुनै पनि राजनीतिक सिद्धान्तले मान्दैन । तर, हामी त्यही गरिरहेका छौँ । 

राजनीति आस्थाको विषय हो भनियो । तर यो आस्था होएन, यो त विचार हो । हजुरबुबालाई ठीक लागेको विचार नातीलाई ठीक लाग्छ भन्ने कहाँ हुन्छ ? रुपान्तरण आवश्यक छ । अबको युवा रुपान्तरित हुनु जरुरी छ । उनीहरुले राजनीति गर्नु जरुरी छ । युग बदल्नु छ । तर, सुरुवात् आँफैबाट गर्नु पर्छ । गलत राजनीतिले फोहोर बनाएको देशलाई कुचो लगाएर सफा गर्न फोहोरकै माझमा पस्नु पर्छ । त्यो पनि पटुका कसेर र कुचो हातमा लिएर । अनि बल्ल सफा हुन्छ । बाहिर बसेर फोहोरलाई गाली गरेर सफा हुँदैन । अँध्यारोलाई जति गाली गरेपनि उज्यालो हुँदैन । टुकी बाल्नै पर्छ । हिम्मत गर्नै पर्छ, कम्मर कस्नै पर्छ । म त सफा छु, स्मार्ट भएर बाहिरै बस्छु भनी रह्यो भने त्यो फोहोर कसले सफा गर्दिन्छ ? त्यो अँध्यारो कसले हटाई दिन्छ ? कसैले गर्दैन । आँफै कस्सिने हो । हामी आँफै लागी पर्ने हो । आफ्नै कालमा देशलाई सुन्दर बनाई छाड्ने हो । आउनुस् हातेमालो गरौँ । विवेकशील साझा पार्टी सबै सुन्दर मनहरुलाई सहकार्यको लागि आह्वान् गर्दछ ।  

(विवेकशील साझा पार्टीका गण्डकी सँयोजक महेश भण्डारीले सोहि पार्टीको गण्डकी सँयोजक घोषणा कार्यक्रममा गरेको सम्बोधनको सम्पादित पहिलो अंश ।) 

Write a Comment

Events
Random Picks