शंकाको सुविधामा छन् आलोचक
10-November-2018

  • अब पार्टीले चढ्ने राजनीतिक सगरमाथा मुश्कीलजस्तो देखिन्छ तर असम्भव भने छैन । 

  • बेसक्याम्पमा रहँदा रहँदै नागरिकबाट जुन विश्वासको हात र साथ प्राप्त भएको छ, यो नै पार्टीको लागि अक्सिजन हो । 

महेश भण्डारी 

मैले यसअघि कवि गोपालप्रसाद रिमालका काव्य चित्रलाई सम्झेको थिएँ । आफ्नो जीवनको प्रथम राजनीतिक सम्बोधनमा कवि रिमाललाई यसरी सम्झँनुको कारण बिम्बात्मक छ । जसरी विवेकशील साझालाई संकेत गर्दै यी ‘अनुभवविहीनहरुले के राजनीति गर्लान् र खोई ?!’ भनेर होच्याउने काम भयो गएको चुनावमा, त्यसरी नै कवि रिमालका कवितालाई कविता नै नमान्ने जमात् नेपाली बाङ्गमयमा उल्लेख्य थियो कुनै बेला । 

समीक्षकहरुको ठूलो भीड उनलाई कमजोर साबित गर्न हात धोएर लागी परेको थियो । उनका कवितालाई व्यंग्य गर्दै त्यो बेलाका स्वनामधन्य समीक्षकहरुले सार्वजनिक रुपमै भने – ‘रिमालका कविता बाँसुरीका बेसुरा धूनहरु हुन् !’ तर उनी अवाक् भएनन्, उनी रोकिएनन्, उनले फर्केर उनीहरुलाई हेर्दा पनि हेरेनन्, सुन्दा पनि सुनेनन् । किनकी रिमाललाई सबैभन्दा ठूलो विश्वास आफ्नै कवितामा थियो, आफ्नै विचारमा थियो । ती कविता र विश्वास यति शक्तिशाली थिए कि आज कैयन् वर्षपछि पनि गण्डकी प्रदेशको म युवा कविताको देश पोखराबाट आफ्नो पहिलो राजनीनिक सम्बोधनमा कवि रिमाललाई सप्रेम सम्झीरहेछु र भनिरहेछु– जतिसुकै जिस्काऊ वा होच्याऊ, तिमीहरु लेण्डुपजस्तै लिलीपुट हौ । 

अबको राजनीतिक यात्राको अगुवाई गर्ने शिर्ष विचार र व्यवहार भनेको विवेकशील साझाको मंच हो । देश बेची खानेहरुलाई अविश्वसनीय लाग्छ, तर विवेकशील साझा नै अन्तिम विश्वास हो । एक हल गोरु र दुहुने गाईलाई पुँजीवादी गधासँग विनिमय गर्ने डेमोक्र्याटहरुलाई अकल्पनीय लाग्छ तर विवेकशील साझा सबैभन्दा वैज्ञानिक कल्पना हो । अठारौँ शताब्दीको ‘म नै राज्य हुँ’ श्लोकबाट प्रभावित राता मान्छेहरुलाई अद्भूत लाग्छ तर विवेकशील साझा एक यस्तो शक्क्ती हो जसले आफ्नै जीवन कालमा देश बनाउँने सपना र सामथ्र्य दुवै राख्छ । 

विवेकशील साझाको यात्रा शेर्पाको जस्तै यात्रा हो । यो यात्रा अहिले बेसक्याम्पमा छ । आरोहण अगाडि केही शंकाको सुविधामा छन् आलोचकहरु । तर, बेसक्याम्पमा रहँदा रहँदै नागरिकबाट जुन विश्वासको हात र साथ प्राप्त भएको छ, यो नै पार्टीको लागि अक्सिजन हो । समतामूलक सहभागीताको झोला र कल्याणकारी लोकतन्त्रको लौरीका साथमा अब पार्टीले चढ्ने राजनीतिक सगरमाथा मुश्कीलजस्तो देखिन्छ तर असम्भव भने छैन । देखिनु र वास्तवमै हुनुबीच जुन फरक छ त्यो रेखा अब हामीले तय गर्ने प्रादेशिक र स्थानिय संगठनले चाँडै नै कोर्ने छ । 

देश सम्झ्यो, मन दुखेर आउँछ । चारै तीर भयाबह स्थिती छ । दुई तिहाईको बहुमत प्राप्त सरकार निरीह छ । संघियता बिरोधी स्वर सरकारी माइकबाटै बाहिर आएको छ । एउटा बलात्कारी र हत्यारा समात्नको लागि सरकारलाई ३ महिना १० दिनको समय थोरै भईराखेको छ । देश नैतिक, आर्थिक र आत्मीक डुबानमा पर्दैछ । यसबीच गोपाल योन्जनको गीत जस्तै बाँचने (र बचाउने दुवै) रहरजस्तै ‘फेरी’ भएर आएको छ– विवेकशील साझा ।

रिमाललाई आरोपीहरुले लगाएको आरोपझैँ विवेकशील साझा बाँसुरीको बेसुरा धून होइन । बरु विवेकशील साझा बिग्रेको राजनीतिक सूर वर्तमानमा नै मिलाउन चाहन्छ । यो देश आफ्नै जीवनकालमा बनाएरै छाड्ने अठोटका साथ पूर्व मेचीदेखि पश्चिम कर्णालीसम्म्को संगठन बिस्तारमा छ । संगठनमा आवद्ध अगुवाहरुको अनुहारमा देखिएको जुन कान्ति, बचनमा देखिएको जुन दम र कर्ममा देखिएको जुन फरक शैली छ, हो त्यही कान्ति, त्यही दम र त्यही शैलीले अब करामत गर्छ । हेरफेर गर्छ, गराउँछ । यात्रा अब रोकिन्न, रोक्न दिँदैन । 

विवेकशील साझाको सवारी भरपर्दो विकल्प हो । यसअघि यात्रारत नागरिकले राजनीतिक राजमार्गमा विकल्प पाएनन् । बिग्रेकै र भत्केकै सवारी साधानमध्ये एउटा रोज्नु पर्ने, चालक सहचालक र व्यवस्थपकको झूटो बोलीलाई विश्वास गर्नु पर्ने र दुःखदायी यात्रा गर्नु पर्ने बाध्यता थियो । गन्तव्यमा पुग्नु त परै जाओस् यात्रा गन्तव्यको दिशातर्फ समेत थिएन । अब विवेकशील साझाको सवारीले यात्रालाई सुल्टो बनाउने छ । देशलाई सही गन्तव्यमा पुर्याउने छ । 

अहिलेसम्म हामीले देशभर गरेका खुल्ला नागरिक सम्बोधनमा भएको उपस्थिती, साथ र प्रतिक्रियाले विवेकशील साझाप्रति जनताको ठूलो आशा र विश्वासलाई पुष्टी गरिसकेको छ । त्यो आशा र विश्वासलाई जोगाएर आमागी चुनावमा विवेकशील साझालाई पहिलो पार्टीको रुपमा स्थापित गराउने दिशामा सबै प्रदेशका संगठनहरु अगाडि बढिसकेका छन् ।  

आम नागरिककले सबै स्वादलाई चाखी सक्नु भयो । विश्वास पटक पटक गर्नु भयो । आशा पटक पटक गर्नु भयो । कहिले अल्पमतको विश्वास दिनु भयो । केही होला कि भन्नु भो । कहिले बहुमतको विश्वास दिनु भयो । अब त केही होला कि भन्नु भो । नपुगेर प्रचण्ड बहुमतकै विश्वास दिनु भयो । अब त पक्कै केही होला भन्नु भयो । तर हात लाग्यो शून्य ! सबै विश्वास र आशा धूलो बनेर उडि गयो । 

सम्बृद्धि र विकास मतले ल्याउने चिज रहेनछ, मनले ल्याउने चिज रहेछ । विचारले मात्रै केही हुँदो रहेनछ । व्यवहार ठीक हुनु पर्दो रहेछ । यो चेतनाको विकास आम नागरिकमाझ भई सकेको छ । पटक पटक धोका पाउनुको रहस्यको गहिराईमा देशले डुबुल्की मारी सक्यो । अब यी सबै प्रकारका डुबानबाट बचाएर देशलाई विकास र सम्बृद्धिको दिशा दिने मुख्य दायित्व विवेकशील साझा पार्टीको हो । 

दुई तिहाई बहुमत पाएर के गर्ने ? हाम्रो प्रधानमन्त्रीको दैनिक कार्यतालिका मागेर हेरौँ त । सुत्ने समयबाहेक अरु सबै समय कार्यकर्ताको भेटघाट गर्दा गर्दै र कार्यकर्ताले नै आयोजना गरेका कार्यक्रममा पुगेर खादा र माला लगाउँदा लगाउँदैमा बित्छ । कार्यकर्ताबाट, कार्यकर्ताको लागि कार्यकर्ताद्वारा गर्ने व्यवस्था बन्यो लोकतन्त्र । देशको कार्यकारी प्रमुखको कार्यकर्ताकेन्द्रीत सेड्युलले देश सम्बृद्ध बन्नेवाला छैन । अहिले त उहाँको बोलीमा पनि कुनै दम देखिदैन । जे जे गर्छु भन्नु भएको थियो, ती सबै उहाँ र उहाँको पार्टीले गरी पुर्याउन फेरि ५ पटक उहाँलाई नै सत्तामा पुर्याउने हो भने पनि समय अवधी थोरै हुने वाला निश्चित छ । 

हेर्दा हेर्दै आज दश पन्ध्र वर्षमा सिंगापुर कहाँ पुग्यो ? कुनै बेला देश बन्नको लागि चाहिने पूर्वाधार नै छैन, आवश्यक जनसंख्या नै छैन, अर्थतन्त्र नै छैन भनेर शंका गरिएको राष्ट्र आज विश्वको महत्वपूर्ण आर्थिक हब बनेको छ । स्वयम् माओ होइन, देङ स्याओ पिङलाई समेत आलोचनात्मक समर्थन गर्ने चीन राष्ट्र आज सि जिन पिङको यात्रामा छ र अबको केही वर्षमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने नजिकको होडमा छ । 

हामी भ्रष्टाचारको आरोप खेपेका मन्त्रीहरु र गैर जिम्मेवार विभागीय प्रमुखहरुको झुण्डले भरिएको सरकारबाट सम्बृद्धि र विकासको भीख मागिरहेका छौ । यो उल्टो यात्रा हो । हामी सुल्टाउन चाहन्छौँ । जसरी हिगेलको विचार पढेपछि एक विचारकलाई हिगेलको टाउको तल र खुट्टा माथी लाग्यो । समयको आवश्यकता अनुसार ती विचारकले त्यसलाई सुल्ट्याएर टाउको माथी र खुट्टा तल राखेर आवश्यकीय विचार र व्यवहार दिए, त्यही विचारले वर्ष, दशक, शताब्दीमात्रै होइन, सिंगो सहश्राब्दी नै विश्व राजनीतिमा प्रभाव पार्यो । 

समयले देशमा त्यसरी नै अहिलेको उल्टो यात्रालाई सुल्टो पार्ने युग पुरुष खोजिरहेछ । यो एउटा महाभिनिष्क्रमण हो । नयाँ सिद्धार्थहरुलाई कठीन लाग्छ । तर असम्भव छैन । पुराना सुद्दोधनहरुलाई डरलाग्दो लाग्छ यात्रा । तर एकमात्र भरलाग्दो पनि यही हो । सम्भव छ देशको रुपान्तरण, हाम्रै पालामा । 


(विवेकशील साझा पार्टीका गण्डकी संयोजक महेश भण्डारीले २०७५ कात्तिक १० गते सोहि पार्टीको गण्डकी संयोजक घोषणा कार्यक्रममा गरेको सम्बोधनको सम्पादित दोस्रो तथा अन्तिम अंश ।) 

सम्बोधनको सम्पादित पहिलो अंश : http://jukson.com/news/article/_13271

Write a Comment

Events
Random Picks