कल्लु नेपालीको मूर्ति व्यवसाय: माटो र काठपछि कङ्क्रिटका मूर्ति
13-November-2018


जक्सन डटकम
घोराही,कात्तिक २७   
कल्लु नेपालीका दाङलगायत आसपासका रुकुम, रोल्पा, प्यूठान र सल्यानका अधिकांश मन्दिरमा बनाएका मूर्ति छन् । उनी आफैँ पनि शिवका भक्त हुन् । सोही कारण उनले शिवका थरिथरिका मूर्ति बनाउँदै आएका छन् । 

दाङ, घोराही उपमहानगरपालिका–१४ बसपार्क निवासी कल्लु नेपाली हिन्दू धर्मसँग सम्बन्धित सबै प्रकारका भगवान्का मूर्ति बनाउन सिपालु छन् । उनले दुर्गा, काली, सरस्वती, वनदेवी, विष्णु, गणेश र बुद्धका मूर्ति पनि बनाउँदै आएका छन् । त्यस्तै जीवजनावर र मान्छेका मूर्ति बनाउन पनि उनी खप्पिस भइसकेका छन् । कहिले पनि विद्यालयको ढोका नटेकेका नेपाली अक्षर चिन्दैनन् ।

उनले देवीदेवताका मूर्ति ४० वर्षदेखि बनाउँदै आएका छन् । उनी आफँ हिसाब लगाउछन्, “अहिलेसम्म चार हजारभन्दा बढी मूर्ति बनाइसकेँ हुँला ।” उनलाई मूर्ति बनाउन धेरै मेहनत खर्चिनुपर्छ । एउटा मूर्ति बनाउन कम्तीमा रु तीन हजार बढी रकम खर्च हुन्छ तर आम्दानी भने उति धेरै हुँदैन । उनी सुनाउछन्, “एउटा मूर्तिलाई रु पाँच हजारदेखि रु १५ हजारसम्म भन्ने गरेको छु ।

त्यही पनि मूर्ति किन्न आउने धेरै मोलमोलाइ गर्छन् । मूर्तिलाई भनेअनुसारको मूल्य दिँदैनन् ।” नेपालीले मूर्ति बनाएर आएको रकमबाटै घरव्यवहार चलाउने गरेका छन् । सानैदेखि मूर्ति बनाउँदै आएका नेपाली अहिले ६१ वर्ष पुगे अर्थात् विसं २०१४ मा भारतको कानपुरमा उनको जन्म भएको थियो । उनी कानपुरबाट २०१८ सालमा घर फए । घर फर्किएपछि उनले बुबासँगै घोराहीमा घर बनाउनेदेखि मूर्ति बनाउनेलगायत विभिन्न काम गर्न थाले ।

उनको पुरानो घर घोराही– १३ सेवारमा थियो । बाल्यकाल भारतमा बिते पनि पछि उनले बुबासँगै पुरानो घर सेवार फर्केर मूर्ति बनाउने कला सिके । “घोराहीको मुख्य केन्द्रमा रहेको बालमन्दिर स्कूल हामी बाबु छोराले बनाएका हौँ”, उनी सम्झन्छन् । “स्कूल बनाउँदा मैले बुबालाई गाह्रो लगाउन सहयोग गरेको थिएँ ।” त्यो समयमा गरिएको त्यो ठूलो काम भएकाले नेपालीका लागि त्यो काम अहिले पनि सम्झना र गर्वका रुपमा रहेको छ । 

घर बनाउन सक्ने भए पनि नेपालीले आफ्नो मुख्य पेशा मूर्तिकलालाई बनाएका छन् । नेपालीले एक वर्षका अवधिमा चार पाँच सय मूर्ति बनाएर बिक्री गर्ने गरेका छन् । त्यही मूर्ति बेचबिखन गरेरै घर चलाउने गरिएको उनी बताउछन् । उनले भने, “ मैले बनाएका मूर्ति दाङसँगै विदेशसमेत पुगेका छन् ।” 

नेपालीका अनुसार उनले बनाएका मूर्तिमध्ये घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहको मुख्य मन्दिरमा बनाइएको बराहको मूर्ति, मसिनामा रहेको गणेश मन्दिरको गणेश मूर्ति, घोराहीको लखन थापा उद्यानको शहीद लखन थापाको तथा मालपोत र नापी कार्यालयका मूर्ति प्रसिद्ध छन् । 

पछिल्लो समय उनी मूर्ति बनाएर बेच्नेभन्दा पनि मागअनुसार मूर्ति बनाउने गरेको सुनाउछन् । “पछिल्लो समय मूर्ति किन्ने मानिसको सङ्ख्या घट्दै गएको छ, मन्दिरमा राख्नका लागि मात्र किन्न आउने गरेका छन्”, उनले भने, “त्यसैले पछिल्लो समय कमै मूर्ति बनाउने गर्दै आएको छु ।” उनका अनुसार चाडपर्वका समयमा धेरै मूर्ति बनाउने आदेश आउने गरे पनि अन्य समयमा खासै बिक्री हुँदैन ।

शुरुका दिनमा माटो र काठबाट विभिन्न देवीदेवताको मूर्ति बनाउने गरेका नेपालीले पछिल्लो समय कङ्क्रिटबाट मूर्ति बनाउने गरेका छन् । माटो र काठबाट बनेको भन्दा बढी कङ्क्रिटबाट बनेका मूर्ति टिकाउ हुने र बिक्री हुने भएकाले केही वर्षदेखि माटो र काठबाट मूर्ति बनाउने काम छाडेको उनको भनाइ छ । 

कङ्क्रिटका मूर्ति बनाउन उनी सिमेन्ट, बालुवा, गिट्टी, छडलगायत सामग्रीको प्रयोग गर्छन् । उनका अनुसार पछिल्लो समय घोराहीमा केही व्यक्तिले आफ्ना दिवङ्गत आफन्तको मूर्तिसमेत बनाउन आदेश दिएका छन् । आफ्नो पुख्र्यौली पेशाका रुपमा रहेको मूर्ति बनाउने पेशाले अहिले आफूलाई जिउन सहयोग पुर्याएको नेपालीको भनाइ छ । उनी एक्लै मूर्ति बनाउछन् । ॐ मूर्तिकला केन्द्रका प्रोपाइटर उनी आफ्नो मूर्ति बनाउने पेशा आर्थिक आम्दानीसँगै आफ्नो धर्म संरक्षणका लागि सानो प्रयास भएको बताउछन् । (रासस)

Write a Comment

Events
Random Picks