काखमा बच्चा च्यापेर कामको खोजिमा भारत जाने महिलाको लर्को
18-November-2018


नेपालगन्ज, मङ्सिर २ 
नेपालगन्ज — काखे बच्चा च्यापेका गंगा र सिर्जना गुरुङ केही हतारमा देखिन्छन् । कामको खोजीमा भारततर्फ लागेका उनीहरूलाई साथीसंगी छुट्ने डर पनि छ । त्यसैले नेपालगन्ज सीमा पार गर्न हतारो गरिरहेका छन् ।

चाडपर्व मनाएर हिउँदे खेतीपाती सकेपछि कर्णाली प्रदेशको दैलेख, भैरवगण गाउँपालिका ७ का गंगा र सिर्जना श्रीमान्हरूसँगै कामको खोजीमा भारततर्फ लागेका हुन् ।
भारतको सिमला पुग्न उनीहरू शनिबार नेपालगन्ज नाका भएर रुपैडिहा आइपुगे । ‘खेतीपाती सकियो - घरमा बसेर के गर्नु रु गाउँमा केही काम पाइँदैन,’ नेपाल–भारत सीमा दशगजा पार गर्ने क्रममा ४० वर्षीया गंगाले भनिन्, ‘काम पाइए गरौंला ।

नपाए श्रीमान्लाई खाना पकाएर सहयोग गर्न छँदै छ ।’उनका श्रीमान् रामबहादुर यसअघि पनि मजदुरी गर्न भारतको सिमला पुग्ने गरेका थिए । सानो बच्चासहित श्रीमतीलाई घरमा एक्लै छोड्न मनले नमानेपछि सँगै भारततर्फ लैजान थालेको रामबहादुरले सुनाए । ‘यता चिसो बढेको छ । उता सिमलामा जाडो छल्न पनि हुन्छ ।

पाई भने सानोतिनो काम पनि गर्छे,’ उनले भने, ‘चिसोमा बच्चालाई एक्लै छोड्न मन मानेन, त्यसैले सँगै लान थालेको हो ।’ यसअघि पनि उनले गंगालाई मजदुरीका लागि भारत लिएर गएको सुनाए । ‘गाउँमा काम नपाएपछि के गर्ने, जानै परो,’ उनले सुनाए ।भारत जानुको कारणबारे सिर्जना र गंगाका तर्क उस्तै छन् ।

‘श्रीमान् टेकबहादुर बरोबर भारत आउजाउ गरिरहन्छन् । त्यसैले काम खोज्न भारत जानु मेरा लागि नौलो होइन,’ सिर्जनाले भनिन्, ‘वर्षमा दुईरतीनपल्ट भारत जान्छौं । दसैंतिहार जस्ता पर्व सकिएकाले कामको खोजीमा सिमला जान थालेको हो । चिसो सकिएपछि घर फर्किन्छौं ।’दैलेखकी गंगा र सिर्जनामात्रै होइन, कर्णाली प्रदेशका सर्वसाधारण यतिखेर धमाधम कामको खोजीमा भारत पसिरहेका छन् ।

नेपाल–भारत सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार दैनिक ७र८ सय नेपाली भारततर्फ गइरहेका छन् । काखमा बच्चा च्यापेर भारत जाने महिलाको संख्या पनि उस्तै छ । दसैंरतिहार सकिएलगत्तै भारत जाने नेपालीको संख्या बढेको प्रहरीको भनाइ छ । ‘हाल नेपाल फर्किनेभन्दा जानेको संख्या बढी छ । महिला, बालबालिका र सबैजसो उमेरका नेपाली कामको खोजीमा भारत पसिरहेका छन्,’ सीमास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सई शिव वलीले भने, ‘हाल सीमामा भारत जाने नेपालीको भीडभाड छ ।’

भारत जानेहरूको संख्या बढेपछि गाउँहरू फेरि रित्तिन थालेका छन् । शुक्रबारमात्रै कर्णाली प्रदेश सुर्खेतको सहारे क्षेत्रका ८० भन्दा बढी नेपाली एकैसाथ कामको खोजीमा भारततर्फ लागेको सीमास्थित प्रहरीले जनाएको छ ।कर्णाली प्रदेशका कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, रुकुमका बढीजसो युवा कामको खोजीमा भारततर्फ जाने गरेका छन् ।

त्यस्तै ५ नम्बर प्रदेशका बर्दिया, बाँकेलगायत युवाहरू पनि कामको खोजीमा भारत पसिरहेका छन् । भारत जाने अधिकांश युवा भारतको कालापहाड, चण्डीगढ, सिमला, गुजरात, दिल्ली, पन्जावलगायत सहरमा कामखोज्न जान्छन् ।
(कान्तिपुरमा प्रकाशित)

Write a Comment

Events
Random Picks