छोटा लुगा र बलात्कारको सम्बन्ध
19-November-2018


जीवन क्षेत्री
- भरतपुरस्थित डबलीमा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीको पुस्तक ‘न्याय’मा केन्द्रित भएर चलेको डेढ घण्टाको विमर्श टुंगिनै आँटेको थियो। बलात्कार र दण्डहीनताको प्रसंगमा कार्कीले भनिन्ः पीडितलाई न्याय दिलाउनु पर्छ। तर एउटा कुरा के भने महिलाले पनि राम्रोसँग लुगा लगाएर तथा सजग भएर हिंड्नुपर्छ।

दर्शक दीर्घाबाट तत्काल त्यसको प्रतिकार भयोः यो त हाम्रो पितृसत्तात्मक समाजका ती पुरुषको जस्तो जवाफ भयो, जसले बलात्कारका लागि महिलालाई दोषी ठहर्यायाउँछन्। जब नवजात शिशुदेखि वयोवृद्ध महिलासम्म बलात्कारको शिकार भइराखेका छन् भने बलात्कारलाई महिलाको लुगासित कसरी जोड्न सकिन्छ ?

यो विवादमा बलात्कार र यौनजन्य हिंसाबारे अहिले चलिरहेको बहसको एउटा महत्वपूर्ण पाटो प्रतिविम्बित हुन्छ। बलात्कार जघन्य अपराध हो भन्नेमा एकमत हुँदा हुँदै पनि त्यसको कारण के हो र त्यसलाई रोक्न के गर्नु उचित र प्रभावकारी हुन्छ भन्नेमा स्वभावतः अनेक मत छन्।

उसो त यो अहिले संसारभर तीव्र बहस र विवाद चलिरहेको विषय हो। तर हामीकहाँ बाँकी विषयहरुजस्तै यसमा पनि बहसले सतही र छिपछिपे चरित्र ग्रहण गरेको छ। केही समय अगाडि एक मन्त्रीले पुँजीवादका कारण बलात्कार बढेको बताएका थिए। अझै अगाडि एक महिला सांसदले बाम सरकारलाई असफल पार्न बलात्कारका मुद्दा बाहिर ल्याइएको बताएकी थिइन्। बढ्दो बलात्कार र दण्डहीनताविरुद्ध सडकमा निस्कने प्रदर्शनकारीलाई सरकारले आफ्नो अस्तित्वमाथि आक्रमण गरेको आरोप लगाउने गरेको छ।

यस्ता तर्कले यो विषयमा नभई नहुने गम्भीर बहस र विमर्शहरु ओझेलमा परेका छन्। बलात्कार र महिलाको पहिरनको सम्बन्ध के होरु यो प्रश्नको उत्तरमा छोटा कपडाको प्रसंग ल्याएर पक्ष वा विपक्षमा तर्कवितर्क गर्नु अगाडि अहिलेको समाजमा प्रचलित पहिरनहरुको विकास कसरी भयो, तिनले लैंगिक विशिष्टता कसरी पाए र तिनको सांस्कृतिक पक्ष कसरी विकास भयो भन्ने विषयहरुमा घोत्लिनु जरुरी छ। अनि बल्ल यो बहसले सही दिशा पक्रिन सक्छ।

मेरो विचारमा पहिरनको कुरा त बलात्कार वा यौन हिंसाको प्रसंगमा मात्रै नभई समग्रतामा हाम्रो लैंगिक तहीकरणको विषयसँग जोडिनु जरुरी छ। र यो प्रयोजनका लागि मिनिस्कर्ट जस्ता लुगाको भन्दा साडीको उदाहरण धेरै सान्दर्भिक छ।

महिला र पुरुषले लगाउने अनेक थरी लुगामध्ये धेरैमा केही भिन्नता हुँदाहुँदै पनि समानताहरु पनि हुन्छन्। टिसर्ट, कमिज, सुरुवाल र पाइन्टजस्ता केही लुगाहरुले त अब साझा प्रयोगका कारण आफ्नो लैंगिक पहिचान गुमाइसकेका छन्। तर साडी यस्तो कपडा हो जसलाई पुरुषले दैनिक जीवनमा लगाउने कल्पना पनि गर्न सकिंदैन। फलस्वरूप यो वस्त्र लिंग विशेषको पहिचानका रुपमा स्थापित भएको छ। आखिर किन त ?

यस विषयमा फेसन विज्ञहरुका मत अनेक होलान् तर मेरो विचारमा साडी सर्वस्वीकार्य हुन नसक्नुको कारण सरल छः यसको डिजाइन नै व्यक्तिलाई छरितो हुन नदिने गरी गरिएको छ। सम्भवतः आम प्रयोगमा रहेका पहिरनहरुमध्ये हिल चप्पलपछि सबैभन्दा असुविधाजनक वस्त्र नै यही हो।

उसो भए यस्तो असुविधाजनक पहिरन कसरी महिलाको बन्न गयो होलारु किन पुरुषका लागि उत्तिकै असुविधाजनक पहिरन विकास भएन होलारु यो प्रश्नको जवाफ खोज्न मानव जातिको उद्भवको प्रक्रियामा जानुपर्छ। जंगलमा सँगै विकसित भएका अन्य प्राणीहरु झैं मान्छे पनि दौडधुप गरेर शिकार गर्दै तथा अरु शिकारीबाट बच्दै विकसित भएको प्रजाति हो। त्यसैले लाखौं वर्ष अगाडिका हाम्रा पुर्खा या रौंले छोपिएको शरीर लिएर नाँगै दौडन्थे, या त महिला र पुरुषले समान किसिमले जन्तुहरुको छाला वा त्यस्तै लुगाजन्य सामाग्रीहरुले आङ ढाक्थे।

थप र सुविधाजनक लुगाहरुको आविष्कार हुँदै जाँदा मानिसको छालामा सीमित भागबाहेक अन्यत्रको रौं लोप हुँदै गयो र लुगा शरीरको अभिन्न अंगजस्तै भयो। बिस्तारै विकसित हुँदै गरेका लज्जा र मर्यादाका अवधारणहरुमा पहिरनले मुख्य भूमिका खेल्न थाल्यो। त्यो विकासक्रम मानिसको सामाजिक जीवनका बाँकी हिस्साहरुसित जेलिएर अघि बढ्यो।

फलस्वरुप पहिरन मानिसको शरीर ढाक्ने वस्तुमा सीमित रहेन। यसले व्यक्तिको मान–प्रतिष्ठा र शान–शौकात मात्रै नभई उसको संस्कृति र पहिचानलाई समेत प्रतिनिधित्व गर्ने भयो। त्यस क्रममा धनी र गरीबको पहिरन छुट्टियो, शासक र शासितहरुको पहिरन छुट्टिँदै गयो। र छुट्टियो महिला र पुरुषको पहिरन पनि।

लिंगीय हिसाबले हेर्दा जुन समाज मातृसत्तात्मक बने, तिनमा विकसित पहिरन प्रणालीबारे म जानकार छैन। तर जहाँ पितृसत्ता हावी भयो, त्यहाँ महिलाहरुको भूमिकासँगै पहिरन पुरुषको भन्दा धेरै नै फरक हुँदै गयो। परिवारभित्रको कार्य विभाजनमा घरभित्रको काम महिलाको भागमा पारिंदै गयो भने घर बाहिरको खास गरी आय आर्जनको काममा पुरुषले प्राथमिकता पाउँदै गए। पैसा वा धनको महत्व बढ्दै गर्दा पुरुषले गर्ने कामको महत्व र मुल्य बढ्दै गयो र परिवारभित्रको निर्णय प्रक्रिया बिस्तारै पुरुषको एकाधिकारतिर तानिंदै गयो। सामाजिक संरचनाहरुमा पुरुष हावी हुँदै गए।

त्यसको एउटा प्रभाव के भयो भने समाजका तर्फबाट जे जति मुल्य–मान्यता विकसित भएका भनियो, तिनले पुरुषको सुविधा, चाहना र स्वार्थमा आकार ग्रहण गरे। जस्तो कि सौन्दर्यको मानक कुनै ‘सुन्दर’ मानिएकी युवतीलाई मानियो, युवकलाई मानिएन। परिणामः सुन्दरताको परिभाषा दिने निर्णायक ठाउँमा पुरुषका आँखा परे र महिलाका आँखामा के सुन्दर हुन्छ भन्ने प्रश्न उठाइएन।

त्यसैबीच पुरुषले सम्पत्तिमाथि हक जमाउन थाले भने महिलाका लागि कथित सौन्दर्य थप्ने  वहानामा गहना अनिवार्य मान्न थालियो। कति समाजमा त कालान्तरमा सिंगो महिला व्यक्ति नै पुरुष र समाजको समेत गहना गनिन थाले र व्यक्ति, परिवार वा समाजको प्रतिष्ठा महिलाको कथित ‘इज्जत’मा लगेर जोडियो। केही समाजले महिलालाई यस्तो कमजोर र संवेदनशील वस्तु तुल्याए कि उसको ‘इज्जत’ जोगाउन मुख नछोपी बाहिर निस्कनै नमिल्ने भयो। महिलालाई धेरथोर उपभोग्य वस्तुको दर्जामा राख्ने पुरुषहरुको संख्या अहिले संसारभर र खास गरी दक्षिण एसियामा ठूलो छ।

यसरी विकसित अवधारणाहरुले मानिसको दैनिक जीवनलाई मात्रै सम्बोधन गरेनन्, हिंसा र बलात्कारजस्ता असामान्य अवस्थाहरुप्रति समेत समाजको धारणा निर्धारण गरे। अहिले पनि बलात्कारपछि पीडितलाई कति अवस्थामा विवाहित पीडकसित समेत बिहे गरिदिने अभ्यास संसारका धेरै ठाउँमा छ। पाकिस्तानका धेरै ठाउँमा कसैको हत्या भयो भने बदलामा मर्ने मानिसको परिवारको वयस्क वा वृद्ध सदस्यसित हत्याराका बालिका वा किशोरी छोरीहरुको बिहे गरिदिने चलन छ।

त्यसबाहेक सौन्दर्य भनेको महिलामै हुनुपर्छ र उचाइ र गोरोपन लगायत सौन्दर्यका मानकहरु यी यी हुन् भनेर जब समाजको ठूलो हिस्सामा खास मान्यताहरु स्थापित भए, सौन्दर्य उत्पादनका अनगिन्ती उपायहरु बजारमा आउन थाले। त्यस्तो मान्यतालाई बल दिने कला–साहित्यको विश्वव्यापी विकास र सुचना–प्रविधिको अपूर्व विकासपछि अहिले त्यस खालको बजारले विश्वव्यापी रुपमा भीमकाय आकार ग्रहण गरिसकेको छ।

यी विकासक्रमका कारण कालान्तरमा के भयो भने पुरुषभन्दा ऐतिहासिक रुपमै आर्थिक रुपमा पिछडिएका महिलाहरु सामाजिक–सांस्कृतिक रुपमा पनि निकै भिन्न हुन थाले। राजनीतिक वृत्तमा यसको असर देखिन धेरै समय लागेन। फलस्वरुप लोकतान्त्रिक व्यवस्थाका जननी मानिने पश्चिमा देशहरुमा समेत पुरुषले पाइसकेको मताधिकार महिलासम्म पुग्न शताब्दीयौंको समय लाग्यो। राजनीति र सत्ताको होडमा महिलाभन्दा पुरुष कता हो कता अगाडि पुगे। समाजको भुईतहदेखि राज्यसत्तासम्म लैंगिक तहीकरण स्थापित हुँदै गयो।

यस्तो असमान र विषम परिस्थितिबीच विभिन्न लहरहरुमा संसारका विभिन्न ठाउँमा नारीवादी आन्दोलनहरु उठे। ती सशक्त भए र उपलब्धिहरु हासिल पनि गरे। तर अपेक्षाकृत रुपमा निरन्तर उपलब्धिहरु चाहिं हात लाग्न सकेनन्। कारणः शताब्दीयौंदेखि संसारभर अर्थोपार्जनका साधनहरुमा पुरुषको जुन पकड विकसित भएको थियो, त्यो सहजै खस्किनेवाला थिएन। फलस्वरुप भारत र नेपालजस्ता ढिलो गरी लोकतन्त्र आएका देशहरुका पहिला चुनावमै महिलाले पुरुषले समान मताधिकार पाए पनि समाजको समग्र लैंगिक तहीकरणमा त्यसले खासै बदलाव ल्याउन सकेन।

कसैले चाहे पनि, नचाहे पनि अहिलेको समाजमा विकसित भएको ‘ड्रेस कोड’ लगायतका हाम्रा सामाजिक(सांस्कृतिक मानकहरु यही पृष्ठभूमिमा निर्माण भएको हुन्। यो विस्तृत पृष्ठभुमिमा अहिलेको समाजमा महिला र पुरुषका लागि अभ्यासमा आएका पहिरनहरुबारे टिप्पणी गर्नु उचित हुन्छ। तत्काल चलेका वादविवादको दायराबाट अलि माथि उठेर हेर्ने हो भने मेरो विचारमा अहिले आम रुपमा पुरुषहरुका लागि प्रचलित जति पहिरन छन्, सीमित अपवादबाहेक धेरै जसो महिलाका लागि समेत उपयुक्त हुने खालका छन्। महिलाका लागि भनेर विकसित धेरै पहिरनहरु अब लोप भएर गए पनि फरक नपर्ने खालका छन्।

अब स्वभाविक प्रश्न उठ्छः पुरुषको भन्दा फरक हुँदैमा महिलाको पहिरन कसरी खराब वा कमजोर भयोरु कुन पहिरन राम्रो भन्नेमा किन चल्तीका पुरुष पोशाकको मानक लिनेरु त्यो आफैंमा पुरुषवादी सोच प्रणाली भएन र ?

कस्तो पहिरन राम्रो भनेर कहिल्यै नसिद्धिने बहस गर्न सकिन्छ तर मेरा लागि त्यो पहिरन राम्रो हो जसले व्यक्तिलाई अधिकतम आराम र सुविधा दिन्छ। उसो भए जसलाई साडी वा हिल चप्पलले अधिकतम आराम दिन्छ, उसका लागि त्यही उत्कृष्ट पहिरन किन नहुने ?

यथार्थ के हो भने साडीजस्ता लुगाहरु बसिरहुन्जेल आरामजन्य हुन सक्छन्, हिल चप्पलजस्ता पहिरन खोलेर बसुन्जेल आरामजन्य हुन सक्छन्। तर मानिसको जीवन सधैंभर बसेर बित्दैन। उसलाई कतिखेर हतार परेर हस्याङफस्याङ गर्दै लम्किनुपर्छ वा कताबाट खतरा आउँछ र भाग्नुपर्छ सधैं हेक्का राख्न समेत सम्भव हुँदैन। त्यसै कारणले आपतकालीन अवस्थामा शरीरका सबै अंगलाई तत्काल चनाखो बनाउने जिम्मा लिएको ‘एड्रेनल ग्लाण्ड’ नामको एउटा अंग नै मानिसलगायतका प्राणीहरुमा विकसित भएको हुन्छ। समाज विकसित भएर जहाँ पुगे पनि जीवनमा त्यस्ता अवस्थाहरु आउँछन् जहाँ मानिस चल्तापुर्जा हुनैपर्छ।

आन्दोलनको भीडमा पुलिसले बर्साउने लठ्ठी वा मेलामा मच्चिने भागदौडबाट बच्न होस् वा अकस्मात सडकमा आइपुगेको साँढेबाट भाग्न होस्, मातेर आक्रमण गर्न आएको पति वा छिमेकीमाथि जाइलाग्न होस् वा सम्भावित बलात्कारीको प्रतिकार गर्न होस्, यी सबै अवस्थामा व्यक्ति कुन पहिरनमा छ भन्ने कुराले धेरै फरक पार्छ। पुरुषकै कुरा गर्ने हो भने पनि विपतको अवस्थामा कछाड वा धोती लगाएको छ भने त्यसले व्यक्तिलाई आफ्नो प्रतिरक्षा गर्न गाह्रो बनाउँछ।

अब एउटा गम्भीर कुरा सोचौंः हामीभन्दा दुई पुस्ता अगाडिसम्म कछाड लगाउने बाजेहरु र गुन्यु लगाउने बज्यैहरुका पहिरनको छरितोपनमा खासै फरक थिएन। बाजेहरुको भोटो र बज्यैहरुको चोलीमा पनि त्यति ठूलो अन्तर थिएन। तर यही दुई पुस्ताको बीचमा महिलाहरुको पहिरनमा आएको विविधता चक्कर लाग्दो छ। यसबीच साडी र मिनिस्कर्ट लगाउने प्रचलन महिलाहरुमा जति गहिरियो, त्यसको हाराहारीमा वा त्योभन्दा पनि बढी सुरुवाल र पाइन्ट लगाउने बानी पनि बस्यो।

मेरो विचारमा महिलाले सुरुवाल वा पाइन्ट लगाउने दिशातिर जति परिवर्तन भयो, त्यो सकारात्मक र प्रगतिशील परिवर्तन हो। त्यसको कुनै गम्भीर सैद्धान्तिक कारण छैन तर त्यो परिवर्तनको पछाडि व्यक्तिको सुविधा र छरितोपनमा आधारित छनोटको भूमिका छ। त्यो पहिरनमा महिलाहरु खेलकुददेखि नारा–जुलुससम्म पुरुषसित दाँजिएर वा ऊभन्दा अगाडि जान सक्छन्। घोडा चढ्न वा मोटरसाइकल चलाउन सक्छन्। खतरा आइलागेको अवस्थामा भाग्न वा मुक्का र लात प्रहार गर्न सक्छन्। यीमध्ये कुनै पनि काम गर्न हिल चप्पल, साडी र मिनिस्कर्टले सघाउँदैनन्।

यति चर्चापछि हामी शुरुमा उल्लिखित बहसतिर फर्कन सक्छौं।
त्यो बहसको एउटा पक्ष भन्छः बलात्कार भनेको पीडकको हिंस्रक मनोवृत्तिको उपज हो। त्यसमा पीडितको पहिरन वा केहीलाई पनि दोष दिनु भनेको पीडकलाई आंशिक रुपमा भए पनि उन्मुक्ति दिनु हो। बलात्कार रोक्ने हो भने पीडकको मनोवृत्ति बदलिनुपर्छ। महिलाले आफूले चाहेको जस्तो पनि पहिरन लगाउन पाउनुपर्छ।

यो तर्कको एउटा समस्या के हो भने यसले महिला स्वतन्त्रताको मानक मानेको ‘जस्तो पहिरन पनि लगाउन पाउने’ अधिकारको अन्तर्वस्तुमा यो जाँदैन। साडी र चुरा किन महिलाले मात्रै लगाउन थालेरु नङ र ओठ किन महिलाले मात्रै रंगाउन थाले ? लामो कपाल किन महिलाको पहिचान बन्यो ? जिन्सको पाइन्ट डिजाइन गर्दा किन पुरुषको खुल्ला र महिलाको टिमिक्क छालामा टाँसिएको बनाइयोरु मिनिस्कर्ट किन महिलाका लागि मात्रै बनाएर मार्केटिङ गरियोरु हिल जुत्ता–चप्पल किन अहिले पनि महिलाको मात्र पहिरन मानिन्छरु श्रृंगार र गहना किन महिलाका लागि अनिवार्य मानिन्छरु सौन्दर्यको मानक निर्धारण गर्न किन पुरुषका आँखाले मात्रै अधिकार पाउँछन्र'

यी प्रश्नको इमान्दार उत्तर खोज्ने हो भने पहिरन स्वतन्त्रताको तर्कमा रहेका विरोधाभासहरु आफैं खुल्छन्। त्यसमा सौन्दर्यसम्बन्धी मुल्य–मान्यताहरु कसरी विकास भए र तिनलाई बजारले कसरी प्रभावित गर्यायो भन्ने प्रश्नको उत्तर जोडेपछि महिलाको पहिरन निर्धारण गर्न पुगेको पितृसत्ता–बजार गठजोडको चरित्र प्रस्ट देख्न सकिन्छ।

अझै व्यवहारिक तहमा झर्दा, मेरो विचारमा विगतदेखि नै हाम्रा समाजहरुमा लैंगिक न्याय हुन्थ्यो भने महिला र पुरुषको पहिरनमा यति ठूलो खाडल कहिल्यै पनि विकसित हुन पाउने थिएन। जुन पोशाक छरितो र सुविधाजनक हुन्थ्यो, त्यो लगाउन दुवै थरी प्रतिस्पर्धा गर्थे। मेरो विचारमा त्यो अवस्थामा महिला न पुरुष, कसैले पनि मिनिस्कर्टलाई आफ्नो अधिकारको मानक सम्झँदैनथे। यदि कुनै खास अवस्थामा त्यो कपडा आरामदायी वा सुविधाजनक हुने रहेछ भने त्यो अवस्थामा पुरुष र महिला दुवैले त्यसलाई लगाउन सक्थे।

अन्तमा दुई सान्दर्भिक प्रसंग। एक, बलात्कार विषयको बहसले गहिराइ नभेटी सतहमा कति छलाङ मारेको छ भन्ने एउटा उदाहरण हेरौं। एक दैनिकमा एक दिन छापिएको लेखको आशय यस्तो थियोः किशोरी र युवतीहरुलाई आत्मरक्षाको तालिम दिनु गलत हो किनकि बलात्कारको उपचार त्यो हैन। बरु त्यसको सट्टा पुरुषहरुको मानसिकता परिवर्तन गर्नुपर्छ।

यथार्थको धरातलबाट पर कतै आकाशमा तैरिरहेको यो रुढ नारीवादी तर्कअनुसार सत्यको एउटै सपाट पाटो मात्रै हुन्छ। पुरुषको मानसिकता बदल्नुपर्छ भन्नेमा विवाद छैन तर सँगसँगै महिलाको सशक्तिकरण गर्नुको विकल्प छैन। सानैदेखि  छोरालाई खेलकुदमा पठाउँदा छोरीलाई भान्सामा बन्धक बनाउने हाम्रो समाजमा सशक्तिकरणको मानसिक पाटो मात्रै छैन, शारीरिक पाटो पनि छ। शरीर र मस्तिष्क दुवैको तन्दुरुस्ती र प्रतिरक्षात्मक क्षमता बढाउने कुनै पनि अवसरबाट महिलाहरु वञ्चित गरिनु हुँदैन।

कुनै कोरा सैद्धान्तिक तर्कको बचाउका लागि छोरीहरुलाई शारीरिक रुपमा चुस्त र सबल नबनाऊ भन्ने यस्ता अडानको कुनै तुक छैन।दुई, बलात्कार र यौन हिंसा सीमित मानिसहरुको विकृत मानसिकताका उपज हुन् कि हाम्रो सिंगो सामाजिक संरचनाका अपेक्षित परिणाम हुन् भन्ने विषयमा लेखक तथा अभियन्ता राधा पौडेलको मत यहाँ उल्लेख्य छ।

डबलीकै अघिल्लो कार्यक्रममा पौडेलले व्याख्या गरेकी थिइन्ः व्यक्ति रातारात बलात्कारी बन्ने हैन। बलात्कारको जड कारण समाजका कायम असमान शक्ति सम्बन्ध हो। हामीले गर्ने बच्चाहरुको लालनपालन नै कस्तो छ भने हामीले छोरालाई केराउको गेडा झैं बढ्दै जाँदा फैलँदै जान सिकाउँछौं भने छोरीलाई उमेर बढेसँगै मरिच झैं चाउरिंदै जान सिकाउँछौं। बच्चाहरुको लालनपालनमा गरिने यो विभेद लैंगिक विभेद र हिंसाको जड हो।

महिलाहरुको त्यसरी चाउरिने प्रक्रिया तब उत्कर्षमा पुग्छ जब किशोरीलाई महिनावारी बार्न बाध्य पारिन्छ। आमाले महिनावारी बारेको हेरेर महिला पुरुषभन्दा बिटुलो वा तल्लो वर्गको हुनेरहेछ भन्ने सैद्धान्तिक छाप परेका बालबालिका जब हुर्कंदै जान्छन्, ती मुल्य मान्यताको व्यवहारिक असर देखिन्छ। किशोरले आत्मविश्वासपूर्वक शिर उठाएर बाँच्न सिक्छ भने किशोरी चरम हीनता र ग्लानिबोधसहित महिनावारी बारेर आफ्नो नीच सामाजिक–सांस्कृतिक अवस्थितिलाई व्यवहारतः स्वीकार्न अभ्यस्त हुन्छे।

त्यही असमान शक्ति सम्बन्धमा टेकेर किशोर बिस्तारै विभिन्न उमेर समुहका महिलाहरुलाई जिस्काउने, छेडखानी गर्ने, छुने, आदि व्यवहारमा अभ्यस्त हुन थाल्छ। आफू बलियो वा उच्च लिंगीय समुहको भन्ने उसको मान्यतालाई दैनन्दिनका सयौं घटनाले थप बल दिन्छन्। त्यस्तैमध्ये केही, जसले सानैदेखि भान्सा र सरसफाइलगायतका कामहरु महिलाका मात्रै हुन् भनेर घरमा आमा वा दिदीबहिनीलाई कज्याएर आफू खाली आदेश दिने भूमिकामा बस्छन् उनीहरुले महिला र पुरूषको अस्तित्वलाई नै फरक किसिमले हेर्न सिक्छन्। तिनको प्रयास र अभ्यास नै महिलामाथि हैकम जमाउनु र सेवा लिनुहुन्छ। त्यस्तामध्ये केहीमा त्यो गलत मानसिकता आपराधिकस्तरमा पुग्छ र उनीहरु बलात्कार गर्ने अवस्थामा पुग्छन्।

त्यसैले पितृसत्ताको यो सिंगो संरचना नहल्लाएसम्म बलात्कारजस्ता अपराध रोकिँदैनन् भन्ने पौडेलको मत छ। त्यो संरचना भत्काउने पहिलो कदम महिनावारी बार्ने अभ्यास पूर्ण रूपमा बन्द गर्नु हो भनेर उनले सशक्त पैरवी गर्दै आएकी छन्।

छोटो लुगा र बलात्कारको प्रसंग आउनासाथ दुईबीच सम्बन्ध छ वा छैन भनेर गरिने बहसले महिलाका लागि छोटो लुगासहितको पुरूषको भन्दा बेग्लै पहिरन अभ्यासमा ल्याउने समाजको पितृसत्तात्मक संरचनाबारे केही बोल्दैन।

युगौंदेखि स्थापित मान्यताहरु, जसका आधारमा हामी तर्कवितर्क गर्छौं, तिनलाई खोतलेर कहिलेकाहीं हामी उभिएको धरातल नै गलत त छैन भनेर पनि प्रश्न गर्नु अहिलेको आवश्यकता हो। बलात्कारजन्य अपराधहरु रोक्न पुरुषका मानसिकता परिवर्तन गर्नुपर्छ भन्नेमा विमति छैन तर सानोतिनो प्रयास र मेहनतले छोटो समयमा त्यो काम हुनेवाला छैन।

जबसम्म सबै पुरुषमा बलात्कारी मनोवृत्ति शुन्य हुने आदर्श अवस्थासम्म पुगिंदैन तबसम्म एउटा मात्रै बलात्कार रोक्न सक्ने कुस्तीको तालिम पनि उल्लेख्य उपलब्धि हो। अपराध नहुँदैको सुरक्षा र भएपछिको न्याय त्यसरी नै महत्वपूर्ण अरु पक्षहरु हुन्।

दीर्घकालमा चाहिं हाम्रो प्राथमिकता समाजको समग्र लैंगिक तहीकरणसित जुध्ने हुनुपर्छ। त्यसको एउटै उपाय अर्थोपार्जनका माध्यमहरुको न्यायोचित वितरणमार्फत हुने दुई लिंगबीचको समानतापूर्ण शक्ति सम्बन्ध मात्रै हो।

साभार : सेतोपाटी

 

Write a Comment

Events
Random Picks