विदेशीले किन पढ्नुपर्ने ओलीको भाषण ?
5-December-2018


पोखरा, मंसिर १९
मनोज सत्याल - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निमन्त्रणामा नेपाल आएकी म्यान्मारकी स्टेट काउन्सिलर आङ साङ सू कीलाई आफ्नै भाषणको संगालो ‘माई भिजन’ किताब हस्ताक्षरसहित उपहार दिए।
आइतबार सम्पन्न एसिया प्यासिफिक समिटमा आएका अन्य पाहुनालाई पनि ओलीले आफ्ना ४५ भाषणको उही संकलन थमाए।
ओलीले विदेशी पाहुनाहरूलाई आफ्नो भाषण उपहार दिनु कति उपयुक्त थियो भन्ने प्रश्न यतिबेला कूटनीतिक वृत्तमा उठेको छ।
विदेशी पाहुना, अझ राष्ट्रप्रमुख र सरकार प्रमुखलाई उपहार दिनु कूटनीतिको एउटा हिस्सा हो। यस्तो महत्वपूर्ण भेटघाटमा दिइने उपहारलाई सम्बन्धित व्यक्ति र राष्ट्रको सोचको प्रतिविम्बका रूपमा लिइन्छ। त्यही भएर उपहार दिँदा आफ्नो देशको सांस्कृतिक र ऐतिहासिक महत्व झल्किएको हुनुपर्छ भन्ने मान्यता छ।
यसलाई प्रस्टसँग बुझ्न केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उदाहरण हेरौं।
२०४४ सालमा राजा वीरेन्द्रले चीन भ्रमणमा जाँदा संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित ‘कलाकार अरनिको’ किताब चिनियाँ राष्ट्रपतिलाई उपहार दिएका थिए।
नेपालबाट चीन गएका अरनिकोका कलाकृतिले दुई देशलाई सांस्कृतिक रूपमा जोडेको छ। चीनको राजधानी बेइजिङलगायत अन्य सहरमा समेत अरनिकोले बनाएका थुप्रै कलाकृति छन्। यस्तो पृष्ठभूमिमा राजा वीरेन्द्रले दिएको किताबले नेपाल र चीनको सांस्कृतिक सम्बन्ध उजागर गरेको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा रुस भ्रमण गर्दा राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘भागवत् गीता’ उपहार दिए। मोदीका समर्थकले सस्तो तर ज्ञानवर्द्धक किताब दिएको भन्दै तारिफ गरे। धर्मनिरपेक्ष राष्ट्रका प्रधानमन्त्रीले हिन्दु ग्रन्थ उपहार दिएको भन्दै उनको विरोध पनि भयो।
उता, जर्मन चान्सलर एन्जेला मर्केल रुसी राष्ट्रपति पुटिनलाई हरेक वर्ष जर्मन बियर पठाउँछिन्। पुटिन जर्मन बियर मन पराउँछन्। उनी पनि मर्केललाई पोलेको माछा (स्मोक्ड फिस) पठाउँछन्।
युरोपमा पुटिन र मर्केलबीच ‘राम्रो’ सम्बन्ध छ। पुटिनलाई फकाउन र थर्काउन मर्केल माहिर छिन्। पुटिन पनि बेलाबेला मर्केललाई कूटनीतिक शैलीमा डर देखाउँछन्।
उनले मर्केललाई तर्साउन सन् २००७ मा रुसको सोचीमा भएको बैठकमै आफ्नो कुकुर कोनीलाई डाकेका थिए। मर्केल कुकुरसँग डराउँछिन् भन्ने उनलाई थाहा थियो। त्यही थाहा पाएर मर्केलमाथि मानसिक दबाब सिर्जना गर्न उनले कुकुर डाकेका हुन् भन्दै जर्मन मिडियाले खुबै आलोचना गरेका थिए। पुटिनले भने कुकुरसँग मर्केलको डरबारे अनभिज्ञता प्रकट गर्दै माफी मागे।
सन् २००९ मा तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले रुसी समकक्षी सेर्गेइ लाभरोभलाई रातो रङको ‘रिसेट बटन’ उपहार दिएकी थिइन्। त्यसको अर्थ थियो- अमेरिका रुससँगको सम्बन्ध नयाँ ढंगबाट अघि बढाउन चाहन्छ।
सरकार तथा राष्ट्रप्रमुख स्तरमा भएका उपहार आदानप्रदानका यस्ता अनेक उदाहरण छन्।
प्रधानमन्त्री ओलीले विदेशी पाहुनाका निम्ति छानेको उपहारले भने न नेपालको सांस्कृतिक महत्व दर्शाउँछ, न दुई देशको सम्बन्ध। ती राजनीतिक भाषणहरूको संगालोले ओलीको व्यक्तिगत बखानबाहेक केही गर्दैन। राष्ट्रिय स्तरमा समेत प्रसंगहिन बनिसकेका ती भाषणले अन्तर्राष्ट्रिय बौद्धिक बहसमा कुनै इँटा थप्दैन।
उपहार पाउने पाहुनाले ओलीको सम्मान गर्दै उनको किताब कार्यकक्षमा सजाएरै राखे भने पनि त्यो उनको व्यक्तिगत बढाइ मात्र भयो, त्यसमा नेपालको राष्ट्रिय पहिचान कतै झल्किएन।
नेपालको परराष्ट्र मन्त्रालय सम्हालिसकेका प्रकाशशरण महत आफूले कहिल्यै कसैबाट भाषणको किताब उपहार नपाएको बताउँछन्।
'प्रधानमन्त्री ओलीले विदेशी पाहुनालाई दिएको उपहारले म आश्चर्यमा परेँ। उहाँले उत्तर कोरियालगायत देशमा कम्युनिष्ट नेताहरूले आफ्नो भाषण बाँडेको देखेर सायद बाँड्नुपर्छ भन्ठान्नुभयो होला,’ महत भन्छन्, ‘कम्युनिष्टहरु मोटा मोटा भाषणका किताब उपहार दिन्थे। उहाँले त्यसैको सिको गर्नुभयो।’
कसैले कुनै खास विषयमा महत्वपूर्ण किताब लेखेको छ भने त्यस्तो किताब उपहार दिँदा अर्थपूर्ण हुने उनले बताए। ‘भाषणको किताब उपहार दिनुको के अर्थ ?' उनको प्रश्न छ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई भने भाषणको किताब उपहार दिनु उचित भएको तर्क गर्छन्।
‘किताब लेख्नेहरूले आफ्नै किताब उपहार दिनु सामान्य हो,’ भट्टराईले भने, ‘प्रधानमन्त्रीको 'माई भिजन' देश चिनाउने किताब हो। उहाँका उद्देश्य र कार्यक्रम यसमा समावेश छन्। यसले नेपालको अठोट बुझाउँछ।’
महत भने भट्टराईको तर्कसँग सहमत छैनन्।
‘कामका आधारमा कसैलाई त्यो व्यक्तिको किताब पढ्न पाए हुन्थ्यो भन्ने अनुभूति नभएसम्म बाँड्नुको अर्थ छैन,’ महतले भने, ‘यस्ता किताब रद्दीको टोकरीमा फालिनेबाहेक केही हुन्न।’
नेपालभित्रै पनि भाषणको किताब उपहार दिने चलन अहिलेसम्म नभएको उनले बताए। साहित्यिक व्यक्तित्व भएर पनि बिपी कोइरालाले कहिल्यै किताब उपहार नदिएको उनले सम्झे।
भट्टराई भने उपहारको विषयमा कुनै ‘हार्ड एन्ड फास्ट’ नियम नरहेको तर्क गर्छन्।
‘मेरो किताब छ भने म दिन्छु,’ भट्टराईले भने, ‘लेख्नेले दिनु असाध्यै राम्रो कुरा हो।’
पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र सुशील कोइरालाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईको पनि यस्तै धारणा छ। उनी आफूले लेखेको किताब उपहार दिनुलाई सामान्य ठान्छन्। 
‘उहाँहरूको (देउवा र कोइराला) भाषण संकलन थिएन,’ उनले भने, ‘सुशील कोइरालाको निधनपछि मैले उहाँले अन्तर्राष्ट्रिय मञ्चमा दिएका सम्बोधन संकलन गरेको छु। म त्यही संकलन केहीलाई उपहार दिने गरेको छु।’
दुई प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई उपहार दिँदा लिने व्यक्तिको धार्मिक संवेदनशीलता भने ख्याल राख्ने गरिएको बताउँछन्।
‘मुसलमानलाई हामी हिन्दु देवीदेवताको मूर्ति उपहार सकेसम्म दिँदैनौं,’ उनले भने, ‘बुद्धका मूर्ति र काष्ठकला उपहार दिने गरेका छौं।’
अध्ययनशील नेताका रूपमा चिनिने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई आफूले सयौं पुस्तक उपहार पाए पनि अहिलेसम्म कसैले भाषणको किताब उपहार नदिएको बताउँछन्।
‘मैले धेरै किताब उपहार पाएको छु, म त्यसमै खुसी पनि हुन्छु,’ उनले भने, ‘तर कसैले भाषणको किताब अहिलेसम्म दिएका छैनन्।’
आफ्नै भाषण संकलन गरेर किताब छपाउने र बाँड्ने विषय कल्पनै गर्न नसक्ने उनले टिप्पणी गरे। ‘हामी आफूलाई राजा, महाराजा, बादशाह सोच्न थाल्यौं भने अर्कै कुरा,’ पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘लोकतान्त्रिक प्रणालीमा यस्तो भाषण वितरण गरेको थाहा छैन। सायद मेरो अज्ञानता पनि हुन सक्छ।’
विगतमा राजा, महाराजा र शासकहरूले आफ्नो स्तुति गानको पुस्तक लेखाएर उपहार दिने गरेको उनी बताउँछन्। ‘राजा महेन्द्रले स्तुति लेखाएर बुकलेट निकालेर बाँडेका थिए,’ भट्टराईले सम्झे, ‘राजाले बाहेक अरूले भाषण बाँडेको थाहा छैन।’
उनी विदेशी पाहुनालाई देशको विविध पक्षबारे जानकारी गराउने र विशेषता झल्काउने खालका उपहार दिने गरेको बताउँछन्। ‘आँखीझ्यालहरू हाम्रा कला हुन्। विदेशीले रुचिपूर्वक लिन्छन्,’ भट्टराईले भने, ‘बुद्धका मूर्ति पनि दिने गरिएको छ।’
भाषणको किताब बाँड्नुलाई उनले 'हाँस्यास्पद' भनी टिप्पणी गरे।
‘प्रधानमन्त्रीले सांस्कृतिक, राजनीतिक विषयका गहन किताब प्रकाशन गरेर वितरण गरेको भए हुन्थ्यो,’ उनले भने, 'सत्तामा रहेका व्यक्तिले आफ्नै भाषण संकलन र वितरण गर्नु कति उपयुक्त हो भन्ने प्रश्न जरुर उठ्छ।’
‘आफ्नै भाषण त के दिनु हो ? लोकतन्त्र र निर्वाचित सरकार प्रमुखले यस्तो गरेको थाहा छैन,’ पूर्व प्रधानमन्त्री भट्टराईले हाँस्दै भने।

साभार : सेतोपाटी

Write a Comment

Events
Random Picks