जहाँ जहाँ जाम, त्यहाँ त्यहाँ सीताराम
12-December-2018

चन्द्र काफ्ले
काठमाडौँ, मंसिर २७

जब सीताराम हाछेथूको प्रसंग चल्छ, ट्राफिक युनिफर्म लगाएका व्यक्तिको स्वरूप आँखाअगाडि आउँछ।
हरेक दिन बिहान ६ देखि राति ९ बजेसम्म युनिफर्म लगाएर काठमाडौंका सडकमा सिठ्ठी फुकिरहेका भेटिने यी ट्राफिक इन्स्पेक्टर यही मंसिर दोस्रो साता पहिलोपटक सादा पोसाकमा देखा परे।
२०४६ पुस १० गते नेपाल प्रहरीमा प्रवेश गरेका हाछेथूले २०७५ मंसिर ६ गते अवकाश पाएका हुन्। यो २९ वर्षमा धेरै प्रहरी आए-गए, सीतारामजस्ता विरलै छन्, जसले आफ्नो छाप छाडे- जहाँ जहाँ जाम, त्यहाँ त्यहाँ सीताराम।


उमेरले पाँच दशक पार गरेका उनै सीतारामसँग अवकाशपछि हामीले उनको सेवा अनुभवबारे अन्तरंग कुराकानी गर्यौं।
भक्तपुरको रैथाने नेवार परिवारमा जन्मेका हुन् उनी। पुर्ख्यौली जग्गा-जमिन प्रशस्तै थियो। पैसाको कमी थिएन। उनी अल्लारे भएर डुलिहिँड्थे। अध्ययनमा कहिल्यै रूचि भएन। एसएलसी जसोतसो पास गरे। त्यसपछि सानोठिमी क्याम्पस भर्ना भए। नियमित कलेज भने गएनन्। आइएमा अंग्रेजीमा फेल भए। पछि बल्लतल्ल पार गरे।
‘त्यो बेला मजति हाउडे त हाम्रो टोलमै कोही थिएन। त्यस्तो मान्छे पुलिस होला भनेर कसले सोचोस् म आफैंलाई भने पुलिस हुने रहर थिएन। बरू बाबुबाजेकै व्यवसाय धान्छु भन्ने सोचेको थिएँ,' सीतारामले आफ्नो विगत सम्झँदै भने, 'मान्छेले सोचेजस्तो कहाँ हुँदो रहेछ र?'
एउटा घटनाले सीतारामको जीवन अन्तै मोडिदियो।
२०४५ सालको भुइँचालो। तत्कालीन राजा वीरेन्द्र भुइँचालोको क्षति निरीक्षण गर्न भक्तपुर आएका थिए। स्थानीयको भीड लाग्यो। गाउँका प्रधानपञ्च, वडाध्यक्षदेखि ठूलाबडाको बाक्लै भीड थियो। भीडमा हाछेथू पनि थिए।
भीड अनियन्त्रित हुँदै गयो। पन्छाउन कसैको जोड चलेन। खाकी वर्दी लगाएका एक प्रहरी जवान हातमा कालो लठ्ठी बोकेर आइपुगे। मुखमा सिठ्ठी च्यापेका थिए। उनले भुइँमा दुईपटक लठ्ठी ट्याकट्याक बजारे। दुईपटकै सिठ्ठी सुइइँय फुके। एकाएक भीड शान्त भयो।
केही बेरअघिसम्म तँछाडमछाड गरिरहेकाहरू सिठ्ठी र लठ्ठीको भरमा शान्त भएको देखेपछि सीताराम सोच्नमग्न भए।
‘त्यो सिठ्ठीको पावर देखेर म छक्क परेँ। एउटा सिठ्ठीमा पनि त्यति धेरै शक्ति हुँदो रहेछ। त्यही बेला मैले निर्णय गरेँ, म पनि त्यस्तै सिठ्ठी फुकेर सबैलाई मिलाएर राख्ने पुलिस हुन्छु,' उनले भने।
कराँतेका ब्राउन बेल्ट हाछेथू २०४६ सालमा प्रहरीमा भर्ती भए। उनलाई बन्दुक बोक्ने रहर थिएन। सिठ्ठीसँगै मोह थियो। तालिम सकेर असईका रूपमा भक्तपुर ट्राफिक प्रमुखमा खटिए।
त्यति बेला खासै धेरै सवारी हुन्थेन। जाम त आक्कल झुक्कल मात्र। त्यो समय भक्तपुर, सल्लाघारीमा खटेर ड्युटी गरेको क्षण उनलाई अझै सम्झना छ। उनले ट्राफिक युनिफर्म लगाएर सडकमा सिठ्ठी के फुकेका थिए, पाँच सय मिटर पर गुडिरहेको बडेमानको ट्रक ठाउँको ठाउँ घ्याच्च रोकियो।
'त्यो दिन फेरि सिठ्ठीको शक्तिले मलाई हुरूक्कै बनायो,' उनले भने।
चार वर्षको भक्तपुर बसाइले उनलाई धेरै कुरा सिकायो। जिम्मेवारी पनि, अनुशासन पनि।
उनले भक्तपुरमा ड्युटी सम्हाल्दा आक्कलझुक्कल मात्र गाडी गुड्ने ठाउँमा किन चाहियो ट्राफिक भन्ने धारणा थियो। उनले नै त्यहाँ ट्राफिकको महत्व बुझाए।
एकदिन ठिमीमा सवारी दुर्घटना भयो। सडक पूरै जाम। एक घन्टा बित्दा पनि सडक खुलेन। ट्राफिक आएपछि मात्र आवागमन खुल्यो।
'ट्राफिकको सिठ्ठीमा ठूलो शक्ति हुन्छ। यसले ठूलाबडा, धनी, गरिब केही छुट्याउँदैन,' उनले भने, 'सबैलाई समेट्छ।’
जागिरको सुरुआतदेखि अवकाशसम्म २९ वर्ष ट्राफिक प्रहरीमै बिताउने हाछेथू एक्ला प्रहरी हुन्। उनले २४ जना ट्राफिक प्रमुखसँग काम गरे। आफ्नो जागिर क्रममा दुई वर्ष मात्र काठमाडौं उपत्यकाबाहिर बिताए। बाँकी समय यहीँका सडक, गल्लीहरू उनको कर्मथलो बन्यो।
पूर्व आइजिपी उपेन्द्रकान्त अर्याल डिआइजीका रूपमा ट्राफिक प्रमुख भएर आउँदा हाछेथूको सरूवाको कुरा उठेको थियो। पछि अर्यालले नै ट्राफिक सेवामा हाछेथू चाहिने रहेछ भनेर सरूवा गरेनन्।
प्रहरी संगठनले नै ट्राफिकबाट हटाउन नचाहेका हाछेथूले पनि आफ्नो ड्युटीभन्दा बढी कसैलाई प्राथमिकता दिएनन्। परिवारलाई पनि दिएनन्।
'मलाई सडकमा निस्केर काम गर्न जति आनन्द अरू केहीमा आउँदैन। सवारी आवागमन सजिलो बनाएको दिन संसारै जितेजस्तो हुन्छ,' उनले भने, 'सायद त्यही भएर मलाई धेरैले ड्युटीमा युनिफर्म लगाएको मात्र देखेका छन्। ससुरालीमा दसैंको टीका थाप्न जाँदा पनि युनिफर्ममै हुन्छु।'


उनीसँग युनिफर्म मात्र ५४ जोर छन्। आज लगाएको युनिफर्म भोलिपल्ट दोहोर्याएर लगाउँदैनन्। हरेक दिन धोएर, आइरन गरेको युनिफर्म लगाएर ड्युटीमा निस्कन्छन्। उनले आफ्नो पहिरन धुन आफ्नै खर्चमा सहयोगी राखेका थिए।
उनी सितिमिति विदा पनि बसेनन्। वर्षको दुई दिन बिस्केट जात्रामा मात्र विदा लिन्छन्। बिरामी पनि विरलै भए। पत्थरीको अपरेसन गर्दा पनि एकदिन अस्पताल बसेर भोलिपल्टै ड्युटी सुरू गरेको उनी सम्झन्छन्।
यति मात्र होइन, आफ्नो जागिर अवधिभर उनी श्रीमतीलाई लिएर जम्मा चार ठाउँ घुम्न गए। पोखरा र मनकामना दुई दिन, सिन्धुपाल्चोकको तातोपानी एक दिन, सौराहा एक दिन र छोराहरूसहित पलाञ्चोक भगवती एक दिन।
त्यस्तै, श्रीमतीसँग हलमा गएर अहिलेसम्म जम्मा तीनवटा फिल्म हेरेको उनी बताउँछन्– छक्कापञ्जा, जब तक है जान र सञ्जु।
'श्रीमती नरिसाउने भएर मात्र होला, अहिलेसम्म झगडा परेको छैन। उनी मेरो काम र व्यस्तता बुझ्छिन्। परिवारलाई समय दिन नसक्दा पनि कहिल्यै गुनासो गरिनन्,' उनले भने, 'मैले आफ्नो काममा परिवारको भरपुर सहयोग पाएँ। नपाएको भए यस्तरी काम गर्न कसरी सकिन्थ्यो ?'
उनी आफ्नो घर पनि साताको एकचोटि मात्र जान्थे। सजिलोका लागि कार्यक्षेत्र नजिकै डेरा लिएका थिए। घरै नआउने बानीले एकचोटि 'हाछेथूले त बाहिर केटी राखेको छु भनेर कसैले श्रीमती बिजुलाई सुनाइदिएछ। बिजुले उनलाई डाकेर सोधिहालिन्।
‘उहाँलाई सोधेपछि सबै क्लियर भइहाल्यो,' सरकारी सेवामा रहेकी बिजुले भनिन्।
सीताराम र बिजुले प्रेम विवाह गरेका हुन्।
सीतारामको हाउडे स्वभाव देखेर फुपाजु गोपालकृष्ण श्रेष्ठले सानोठिमी क्याम्पसको पुस्तकालयमा काम लगाइदिएका थिए। त्यही बेला बिजु साइन्स ल्याबमा काम गर्न आइन्।
‘पहिलो हेराइमै उसलाई देखेर मख्खै परेँ,’ उनले भने, ‘हेर्दा नेवार केटी रैछ। आहा१ कति राम्री लाग्यो। आफ्नै जात, त्यो पनि यति राम्री भएपछि लभ पर्नलाई अरू के चाहियो ?’
उनी बिजुको हात माग्न उनको घर गए। दाइसँग कुराकानी भयो। उनले उमेर सोधे।
'२१ वर्ष,' सीतारामले भने।
'बच्चै रहेछौ, बिहे गर्ने उमेर भएको छैन,' दाइले जवाफ दिए।
फेरि सोधे, 'कति पढेका छौ ?'
'आइए'
दाइले चित्त बुझाएनन्। भने, 'अझै पढ्नू, दुई-तीन वर्षपछि हेरौंला।’
सीतारामले त्यसपछि बिन्ती गर्दै भनेछन्, 'जाँड रक्सी केही खान्नँ। हाम्रो बिहे गराइदिनुस्।'
दाइले तै मानेनन्।
केही सीप नचलेपछि दुवैले भागीबिहे गरे- २०४४ फागुन ७ गते।
सीतारामको घरमा त कुनै समस्या भएन, बिजुलाई भने माइत जान प्रतिबन्ध भयो। एक वर्षसम्म माइतीका कसैले बोलाएनन्। उनी पनि गइनन्।
त्यति बेलासम्म सीतारामलाई बिजुको पढाइ र उमेरधरि थाहा थिएन। ‘मैले बिएस्सी सकेको थिएँ। उमेर पनि उहाँ मभन्दा दुई वर्ष कान्छो हुनुहुँदो रहेछ, मैले पनि पछि थाहा पाएँ,’ जल तथा मौसम विज्ञान विभागकी उपसचिव बिजुले भनिन्।
उनीहरूका छोरा र छोरी छन्। काममा व्यस्त सीतारामले कुनै पनि दिन छोराछोरीलाई हात समातेर स्कुल लगेनन्। होमवर्क सिकाएनन्। यहाँसम्म कि, बिरामी हुँदा अस्पताल लग्नधरि भ्याएनन्। यी सबै जिम्मेवारी बिजुले एक्लै सम्हालिन्।
'पढेलेखेकी, बुझ्झकी श्रीमती बिहे गरे सबै कुरा सहज हुँदो रहेछ,' सीतारामले भने, 'मलाई हाउडेबाट मान्छे बनाउनमा उसको ठूलो हात छ।’
पारिवारिक जिम्मेवारी बिजुले सम्हाल्दिएकैले दिनरात ड्युटीमा खटिन सजिलो भएको उनी बताउँछन्।


उनी ट्राफिक प्रहरीमा 'सेलेब्रेटी' जस्ता छन्। सवारी व्यवस्थापन निम्ति नयाँ नयाँ योजना र तरिका प्रयोगमा ल्याएको भन्दै चर्चामा आइरहन्छन्। उनले ललितपुरको मंगलबजार र नागपोखरी–नक्साल सडक एकतर्फी बनाए। भद्रकालीदेखि सुन्धारा सडकको बीचमा पहिले बस बिसौनी थियो। गाडी चढ्न सडक पार गरेर जानुपर्ने। सडककै बीचमा ओर्लनुपर्ने। पटक-पटक दुर्घटना भएपछि उनले डोजर ल्याएर भत्काइदिए। नगरपालिकाले कारबाहीको धम्की नै दियो।
'नगरपालिकाको अनुमतिविना किन भत्काएको भन्दै कारबाही गर्ने भनेपछि मैले 'राम्रो काम गर्न सोध्नुपर्दैन' भन्ने जवाफ दिएँ। विज्ञानराज शर्मा डिआइजी हुनुहुन्थ्यो। उहाँले 'आत्तिनुपर्दैन, म छु' भनेर हौसला बढाउनुभयो,’ हाछेथूले भने।
ट्राफिक प्रमुखका रूपमा गणेश राई आएपछि उनकै सल्लाहमा नेपालमा पहिलोपटक ‘मापसे कारबाही’ लागू भएको थियो। उनले यो 'आइडिया' जापानबाट ल्याएका हुन्। प्रशिक्षणका लागि जापान जाँदा उनले त्यहाँ मापसे कारबाहीबारे थाहा पाएका थिए। नेपाल फर्किएपछि लागू गराए।
बालुवा, गिट्टीजस्ता निर्माण सामग्री बोकेर हिँड्ने सवारी त्रिपालले छोप्नुपर्ने नियम पनि सुरू गराए। त्यस्ता सवारीबाट बालुवा र माटो आँखामा परेर एउटा मोटरसाइकल दुर्घटना भएपछि यो नियम लागू गराएको उनी सम्झन्छन्।
सीताराम प्रविधिमा जानकार छन्। उनले ट्राफिक सेवालाई अत्याधुनिक बनाउने प्रयास गरिरहे। यही क्रममा २०४९ सालदेखि क्यामरा प्रयोग गरेर दुर्घटना र ट्राफिक नियम उल्लंघनको तस्बिर खिच्न थालेका थिए। २०५९ सालदेखि भिडियो पनि खिच्न थाले। प्रविधिको विकाससँगै २०७३ बाट ड्रोनदेखि ३६० डिग्रीको क्यामरा र गोप्रोसमेत प्रयोग गर्न थाले।
उनले आफू चढ्ने गाडीमा समेत क्यामरा राखेका थिए। ललितपुरका विभिन्न स्थानमा जडान गरिएका सिसिटिभी उनी कार्यालयमै बसेर र मोबाइलबाटै निगरानी गर्थे।
हालसम्म उनले ट्राफिक जनचेतनासम्बन्धी तीनवटा भिडियो निर्माण गरेका छन्। सातवटा ट्राफिक जनचेतना श्रव्यदृश्यमा काम गरेका छन्। ट्राफिक एप्सको श्रेय पनि उनैलाई जान्छ।
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दबाट युवा पुरस्कार, पूर्वयुवराज पारसबाट उत्कृष्ट ट्राफिक पुरस्कार, पूर्वराजा ज्ञानेन्द्रबाट गोरखा दक्षिणबाहु, राष्ट्रपतिबाट प्रबल जनसेवा पदकसहित १ सय २९ वटाभन्दा पुरस्कारबाट उनी सम्मानित छन्।
‘प्रहरी संगठनले मेरो कामको राम्रो मूल्यांकन गरेको छ। सरुवा, बढुवाका लागि भनसुन गर्न म कहिल्यै कहीँ धाउनुपरेन। संगठनले जहाँ खटायो, त्यहाँ गएर इमानदारीपूर्वक काम गरेँ,’ उनले भने,‘मलाई जहाँ ट्राफिक समस्या हुन्छ, त्यहाँ गएर काम गर्न रमाइलो लाग्छ।’
उनले आफू मातहतका प्रहरी कर्मचारीलाई कहिल्यै ‘तँ’ नभनेको र लुगा धुन वा जुत्ता पालिस गर्न पनि नलगाएको दाबी गरे। उनी खाना पनि सधैं प्रहरी जवानहरूसँगै मेसमा खान्छन्। अहिलेसम्म डिस्को र दोहोरी नछिरेका उनी घरभित्र मात्र रक्सी खाने गरेको बताउँछन्।
‘म घरबाहिर कहिल्यै पिउँदिनँ। घरभित्र कहिलेकाहीँ एक पेग मात्र,’ उनले भने, 'दरबारमार्गमा त्यत्रो बस्दा पनि म डिस्को र दोहोरी कहिल्यै गइनँ।’
आफ्नो प्रहरी सेवाका क्रममा पथलैयामा बस्दाको एउटा घटना उनलाई अविस्मरणीय लाग्छ।
भक्तपुरमा चार वर्ष बसेर पथलैया गएका उनलाई इन्चार्जको जिम्मेवारी दिइएको थियो। त्यहाँ उनले ट्राफिक व्यवस्थापनदेखि मुद्दा फाँटको काम पनि हेर्नुपर्थ्यो।
‘म पथलैयामा भएकै बेला फोन आयो- फलानो नम्बरको बसमा एकजोडी श्रीमान-श्रीमतीले डलर ल्याउँदैछन्,’ उनले विस्तार लगाए, 'खबर पाउनेबित्तिकै मैले त्यो नम्बरको बस रोकेँ। त्यहाँ धेरै जोडी श्रीमान-श्रीमती थिए। अभियुक्त ठम्याउन मुश्किल भयो। सबैको अनुहार हेर्दै जाँदा एक जना मान्छेले मलाई हेरेर आँखा झुकायो। मलाई शंका लाग्यो। उसैलाई लिएर गएँ। बाँकीलाई छाडिदिएँ।'
त्यो जोडीले सुरूमा 'होइन' भन्यो। खानतलासी गर्दा झोला, शरीर कहीँ पनि डलर भेटिएन। अलि केरकार गर्दै जेल पठाउने धम्की दिएपछि उनीहरूले शरीरमा लुकाएको कबुल गरे। त्यो पनि मलद्वारमा छिराएका रहेछन्।
'औषधि खुवाएर बाथरूममा लगी भएभरको डलर निकालेँ। सिमराका इन्स्पेक्टरलाई बोलाएर जिम्मा लगाएँ,' उनले भने, 'त्यो बेला मैले हजार रूपैयाँ पुरस्कार पाएँ।' पुरस्कार मात्र १२९ वटा पाएका उनको जीवनमा त्यो पहिलो पुरस्कार थियो।


त्यस्तै, २०५५ सालतिर काठमाडौंमा भएको एउटा घटना पनि सधैं सम्झन्छन्।
बालाजुको एउटा विवाह समारोहमा तत्कालीन राजा वीरेन्द्र सपरिवार आउने कार्यक्रम थियो। समारोह स्थलमा राजा वीरेन्द्रबाहेक अरूको सवारी प्रवेश गर्न नदिनू भन्ने माथिबाट आदेश आयो।
‘कार्यक्रममा ज्ञानेन्द्र सरकारसहित दीपेन्द्र, पारस लगायत आउने कुरा थियो। शाहीकालमा उनीहरूको गाडी कसले रोक्नेरु’ उनले विगत सम्झँदै भने, ‘म कालिमाटीको इन्चार्ज भएकाले त्यसको जिम्मा मलाई दिइएको थियो। माथिको आदेशअनुसार मैले राजा वीरेन्द्रको गाडीलाई समारोहस्थलमा प्रवेश गराएँ। पछिपछि आएका ज्ञानेन्द्रको गाडी रोकेँ।'
ज्ञानेन्द्रले उनलाई बोलाएर सोधे, ‘किन गाडी रोकेको ?’
हाछेथूले जवाफ दिए, ‘सरकार, ठाउँको कमीले माथिबाट वीरेन्द्र सरकारको मात्र गाडी छिराउन दिनू भन्ने आदेश छ।’
ज्ञानेन्द्रले टाउको हल्लाए र हाछेथूले भनेबमोजिम दाहिनेतर्फ पार्किङ गराए।
यो घटनापछि बालाजुका तत्कालीन इन्चार्जले उनलाई भनेका थिए, 'मैले त आज जागिर गयो भन्ठानेको।'
उनले आफू सरूवा भएर गएको ठाउँमा ट्राफिक प्रहरीको भौतिक पूर्वाधार निर्माणमा पनि योगदान गरेका छन्।
२०५४ सालतिर कालिमाटी ट्राफिक प्रमुख थिए। त्यहाँ बस्ने ठाउँ थिएन। कालिमाटी प्रहरी वृत्तको एउटा कुनामा अफिस थियो। सीतारामले स्थानीयसँग सहकार्य गरेर कार्यालय भवन बनाउने निर्णय गरे। काम थालेको ६ महिनामै भवन तयार भयो।


त्यो ट्राफिक प्रहरीकै पहिलो र नमूना कार्यालय थियो।
कालिमाटीबाट कोटेश्वर सरुवा भएका उनले त्यहाँ पनि उस्तै अवस्था देखे। आफ्नो घर नभएकाले १५ जना जवान एउटा झ्याल नभएको गोदाममा बस्न बाध्य थिए।
'पहिला कालिमाटीमा भवन बनाएको अनुभव थियो। तर, त्यहाँ जग्गा थिएन। हामीले एयरपोर्टसँग कुरा गर्यौं। बग्गीखानाबाट पनि समन्वय भयो। हामीलाई तीन रोपनी जग्गा उपलब्ध गराइयो,' उनले भने, 'भवन निर्माण समिति बनाएर स्थानीयसँग सहयोग माग्यौं। त्यो बाटो भएर आउने इँटाका हरेक गाडीसँग ५ देखि १० वटा इँटा र बालुवाका गाडीसँग ३ देखि १० साबेल बलुवा माग्न थाल्यौं। सुरूमा हामीले डिपोहरूसँग मात्र मागेका थियौं। स्थानीयले खुसी भएर आफूले किनेकोबाट पनि हामीलाई सहयोग गर्न थाले।'


यो क्रमलाई उनले दरबारमार्गमा पनि निरन्तरता दिए। दरबारमार्गको अवस्था झनै नाजुक थियो। डोरीले ढोका बाँधेर शौचालय जानुपर्थ्यो। त्यहाँ पनि स्थानीय सहयोगमा ६५ लाखमा भवन निर्माण भयो। त्यो ६५ लाख पनि ज्याला र सामान खरिद मात्र हो। बालुवा, गिट्टी र ट्राफिकको श्रमदान जोडिएको छैन।
सातदोबाटोमा १० आना जग्गामा बनाएको चारतले भवनमा त भ्यूटावर पनि छ। सातदोबाटो वरपर क्षेत्रमा आगलागीजस्ता घटना भए भ्यूटावरबाट सजिलै देख्न सकिन्छ।
अहोरात्र ट्राफिक सेवामा खटिएका सीताराम अवकाशपछिको दिनचर्या वनवासजस्तै लागेको बताउँछन्।
'घरमा एक्लै हुन्छु। श्रीमती र छोराछोरी अफिस जान्छन्, कुरा गर्ने साथी पनि कोही हुँदैनन्,' उनले भने।
यो वनवासमा उनी ट्राफिक युनिफर्मबाट भने बाहिर निस्केका छन्। अवकाशलगत्तै १७ जोर सुट सिलाए। अचेल दिनहुँ नयाँ आवरणमा देखिन थालेका छन्।
'लामो समय सँगै काम गरेका सहकर्मीहरू पनि मुश्किलले चिन्छन्,' उनले भने।
अवकाशलगत्तै श्रीमतीलाई लिएर मनकामना दर्शन गर्न गए। अब फुर्सतको समय भक्तपुरका सबैजसो विद्यालय पुगेर सडक अनुशासनको ज्ञान बाड्ने उनको योजना छ।
‘मेरो जीवनै ट्राफिक क्षेत्रमा बित्यो,’ उनले भने, ‘अब यो क्षेत्र छाडेर अरू काम गर्न सक्दिनँ। बरु नयाँ तरिकाले आममानिसको हित हुने काम गर्नुपर्छ। कुनै न कुनै रूपमा सडक र सवारीसँगै जोडिने योजनामा छु।'

 साभार : सेतोपाटी

 

Write a Comment

Events
Random Picks