'प्रसाद' : प्रसाद होइन अभिशाप
19-December-2018

पोखरा, पुस ४
दुर्गा कार्की -

सबै महिलामा आमा बन्ने प्रकट वा अप्रकट चाहना हुन्छ। तर कुनै महिलाले एउटा बच्चाका लागि के केसम्म गर्न सक्छे ?
लोग्नेबाट बच्चा नभएको हो भने (नकारात्मक भएरै सोच्ने हो भने पनि) खुसुक्क अरू कसैको पेट बोक्न सक्छे,
अर्काको बच्चा चोरेर मातृत्वको भोक मेट्न खोज्छे,
वा अरू अनेक उपाय गर्छे, जो मार्मिक समाचारका रूपमा हाम्रासामु आइरहन्छन्।
तर कुनै पनि महिलाले कसैले जबरजस्ती घाँटी अँट्ठ्याएर, मुख थुनेर, हातगोडा थिचेर हेपाइ, अपमान, अहंकार र क्रुरताको चरम् उत्कर्षमा पुगेपछि स्खलन गरेको फोहोरी वीर्यलाई 'प्रसाद'को रुपमा स्वीकार्ली ?
प्रिय महिला पाठक, मलाई क्षमा गर्दै तपाईँ एक्कैछिन आफूलाई त्यस्ती महिलाका रूपमा कल्पना गर्न सक्नुहुन्छ ?
***
पत्रकार सुशील पौडेलको लेखाइ र दिनेश राउतको निर्देशन रहेको ुप्रसादु को ट्रेलर हेर्दैखेरी मलाई फिल्म हेर्नासाथ गजब प्रशंसा गरेर एउटा समीक्षा धस्काइदिन्छु भन्ने लागेको थियो।
शुरूमै फिल्म हेरिहाल्ने अनुकूल परिहालेन। तर पहिलोपोष्टमा ऋषिकेश दाहालको समीक्षा पढेपछि फिल्म हेर्न जाने हुटहुटी हरायो। भैगो भनेर बसेकी थिएँ, एउटा शुभचिन्तकबाट हार्नै नसक्ने गरी प्रस्ताव आयो र हिँडेँ।
एकदमै इमान्दार भएर भन्छु, अन्तिमका केही दृश्य र संवादहरूमा फिल्म नराम्रोसित नचुकेको भए म 'प्रसाद'को प्रशंसै गरेर लेख्ने थिएँ।
नेपाली फिल्म शुरूदेखि नै बलिउडको धारमा बग्यो। अपवादलाई छाडेर त्यसले सधैँ  महावली, महाधनी, महाधर्मात्मा, महापापी र महाप्रेमीहरूको कथा भन्छ। हेर्दा असम्भव लागे पनि त्यस्ता कथाहरूले मान्छेको मनका नजाने कुन कुन ग्रन्थीहरूलाई तुष्टि दिन्छन्, मान्छे भुवन केसी वा राजेश हमाल वा अरू हिरो (वा हिरोइन) को छविले आफूलाई उजिल्याउन खोज्छ।
र अर्को धार, जो नीर शाहको बासुदेवसितै जन्मेर मरूँ मरूँ हुँदै हुर्किँदैछ (र अब चाहिँ नमर्ने टुङ्गोमा पुगेको छ), यो धारले टुल्के, हाकु काले र बाबुरामहरूको कथा बोल्छ। चिम्सा आँखा पुरेर हाँस्नेहरू र चुस्स दारी पालेकाहरूको कथा बोल्छ। यी कथाहरूमा आफ्नोपनको तिक्खर स्वाद र सुवास भेटिन्छ। र थाहै नपाईकन दयाहाङ राई मेरो स्कूलको साथी जनक गुरुङ बन्छ, खगेन्द्र लामिछाने भर्तु दाइ बन्छन् र रिचा शर्मा म आफैँ बन्छु।
र यस्ता फिल्महरूलाई फुर्क्याइनुपर्छ, उचिलिनुपर्छ। 'प्रसाद' जस्तो मसला न ससलाको फिल्ममा दोस्रो हप्तासम्म पनि हलमा खचाखच मान्छे देख्नु मेरो लागि कम्ती खुसीको कुरा थिएन। भीडले भनिरहेको थियो-  हामीलाई हामीजसरी नै बाँच्ने, हामीजसरी नै बोल्ने र रुने हाँस्ने मान्छेको कथा मनपर्छ।
आफ्नो भाषा शैलीमा आफ्ना कथा भन्न जानेका दिन मात्र हामी आफूले चाहेजसरी संसारसित चिनिन सक्छौँ। त्यसैले ‘अर्ग्यानिक‘ नेपाली कथाहरू मेरा कमजोरी हुन्। मलाई ‘प्रसाद’ को ट्रेलरले लोभ्याउनुको कारण पनि यही हो।
'प्रसाद' हेरिरहँदा जब रमेशको भूमिकामा रहेका निश्चल बस्नेतले नारायणीको कोठाको ढोका ढ्याम्म लगाए, मेरो मुटु थर्रर काँप्यो।
खचाखच हलका सबैको नै त्यसैगरी काँप्यो होला।
'आज थकाइ लागेको छ के' वा 'मुड छैन' वा 'उहाँले थाहा पाउनु भयो भने, भो...' लाई ढिपीले जितेर होइन, रक्सी र सितनको स्वादमा बहकिएर पनि होइन, बकाइदा ढोकामा चुकुल ठोकेर, मुख थुनेर, हातगोडा बटारेर बलात्कार गर्यो।
अकस्मात् आफैँ घुम्न पुगेको सिलाइ मसिनको पाङ्ग्राको प्वालबिचबाट नारायणीका आँखाका तीरतीरै बगेका आँशु देख्दा मलाई आजभन्दा ४ महिनापहिले उखुबारीमा अर्धनग्न, मृत फेला परेकी निर्मला पन्तको याद आयो।
निर्मला बाँच्न पाइनन्। आफ्ना बलात्कारी र हत्याराको रहस्य उनले आफूसँगै लिएर गइन्। बाँकी रहेको रहस्यको बाटो केही मान्छेले जानाजान पुरिदिए। देश अझै पनि सडकमा उर्लिएर सरकारसँग निर्मलाको बलात्कारी र हत्याराको हुलिया मागिरहेको छ।
नारायणीलाई रमेशले मारेन। शायद धेरै बलात्कारीलाई लाग्छ, यिनले के नै नाप्छन् ररु शायद त्यसैले धेरै महिलाहरूको मन मारिए पनि ज्यान जोगिएको छ।
र नारायणीले पनि केही नापिन। उजुर गरिन। र रमेश(हरू)को चाहना फेरि पनि पूरा भयो। उजुर त के, नारायणीले आफू बलात्कृत भएको कुरा लामो समयसम्म आफ्नै   लोग्नेलाई समेत भनिन। किन भनिन ?श्रीमतीलाई अर्काले बलात्कार गरेको कारण श्रीमानले डिभोर्स गरेर हिँडेको समाचार गाऊँबाट आउँदाआउँदैको बाबुरामलाई कसैले सुनाइदिएको सुनेर।
र कुनै अपराधबोधबिना, डरभरबिना रमेश नारायणीको कोठामा आइरह्यो, उसलाई बाटो छेकेर धम्क्याइरह्यो, अझै पनि नारायणी चूपै बसिरही।
हिन्दी फिल्म ‘पार्च्ड’ मा निःसन्तान दम्पत्तिको एउटा यस्तै कथा छ, जहाँ लज्जोको भूमिकामा रहेकी राधिका अप्टेले आफूबाट सन्तान हुन नसकेकोमा अनेक दुर्व्यवहार   खप्नु पर्छ।  
एकदिन साथीबाट आफ्नो लोग्नेको पनि कमी हुनसक्छ भन्ने सुन्छे र ऊ त्यही साथीका साथ लागेर कुनै अपरिचित पुरुषका अगाडि पुग्छे।  
सलले मुख ढाकेर उत्तानो परेकी लज्जोलाई ‘वीर्यदान’ गर्नुअघि जब त्यो पुरुषले उसको पाऊ छोएर उसलाई ढोग्छ, आश्चर्य, र आफैँप्रतिको दया र प्रेमभावले लज्जोका आँसु बग्न थाल्छन्। आफ्नो हिंस्रक लोग्नेबाट कहिल्यै मायाले नछोइएकी उसका आँखा त्यो परपुरुषले देखाएको सदाशयताले सन्तान प्राप्तिको कर्मभरि बगिरहन्छन्।  
गर्भ रहेको थाहा पाएपछि उसले खुसी भएर जब लोग्नेलाई सुनाउँछे, ऊ रिसले आगो हुन्छ र उसलाई कुटपिट गर्न थाल्छ।
‘पार्च्ड’ बहुप्रशंसित फिल्म हो। त्यसले फिल्मका तमाम कलात्मक मागहरू पूरा गरेको छ र सबभन्दा ठूलो कुरा त्यो स्पष्ट विचारले भरिएको छ। त्यसले भन्छ, महिलाको भावना र आत्मसम्मानमा चोट पुर्याउने व्यक्ति लोग्ने होस् वा छोरो, नराम्रोसित त्यागिन्छ। फिल्म चर्चित र प्रशंसित किन भयो भने अहिलेको भारतमा यो विचार र विद्रोह फैलिनु आवश्यक छ। अर्थात्, फिल्मले युग-चेतनालाई बोक्यो।
‘प्रसाद’ ले फिल्मका धेरै कलात्मक मागहरू पूरा गरेको छ। नेपाली समाजमा पाँच दशकभन्दा अघिदेखि उठिरहेको जातपातको भेदभावलाई त छोयो, तर त्यसलाई पनि सैद्धान्तिक तवरले सम्याउन सकेन। मुख्य कुरा, यसले महिलाले कसरी सोच्छन् भन्ने कुरा बुझ्न सकेन, अगाडि बढ्नुपर्ने विचारलाई बाटो दिने त कुरै छोडौँ। प्रसादले नेपाली समाजको युग-चेतनालाई बुझ्न र सम्मान गर्न सकेन।
नारायणीले 'त्यत्रो पढेलेखेकी' छ। गाउँको हुनेखाने वडा अध्यक्षकी छोरी गाउँकै 'दमाई' बाबुराम परियारले मशिनमा लुगा खुटेको लुकिचोरी हेर्दाहेर्दै माया लाएर गाऊँ छोडेर भागेकी छ।
उसको प्रेम झुक्किएर बसेको प्रेम हैन। बाबुरामको टोपी उसले जानाजान तानेकी हो। बिहे भएर एउटै ओच्छ्यानमा सुत्दा समेत लोग्नेले शरीरमा हात लग्दा 'शर्म लाउँदैन क्याहो ...' भन्ने मान्छे ऊ यौनको भोकले बाबुरामलाई जिस्काउन गएकी झनै हैन। ऊ प्रेममा परेकी हैन, उसले बकाइदा, जानीजानी बाबुरामलाई प्रेम गरेकी हो।
र उसको प्रेम चानेचुने हैन। ऊ आफैँ पनि चानेचुने हैन। यसअर्थमा ऊ विद्रोह चेत भएकी एउटी आँटिली, बलियी, मायाको स्पर्श र हिंस्रक आक्रमणको भेद खुट्याउन सक्ने महिला हो। दर्शकहरूले उसलाई यसै भनेर चिन्छन्, कम्तीमा फिल्मको आधाउधीसम्म।
उता गाऊँ नै छोड्नुपर्ने हुन सक्छ भन्ने जान्दाजान्दै पनि क्षेत्रीकी छोरी 'उडाउन' सक्ने बाबुराम पनि चानेचुने हैन। उसलाई जाँड खाँदा निराशामै भए पनि 'जातैले पाएको' भन्ने लाग्न हुँदैनथ्यो। यदि त्यस्तो लाग्न हुन्थ्यो भने उसले त्यति राम्री, पढेलेखेकी क्षेत्रीकी छोरी 'उडाउने' हिम्मत गर्न सक्दैनथ्यो।
रमेशले 'टेलरु भन्दा उसलाई झनक्क रिस उठ्न सक्नुपर्थ्यो। रिस नउठे मनमा हल्का भएपनि लाग्नुपर्थ्यो, किनकी केटाकेटी छँदाको बाबुराम र वयस्क बाबुरामबीचमा फरक छ, फरक हुनुपर्छ।
तर उसलाई रिस उठेन, 'जातैले पाएको' भन्ने लाग्न पनि छोडेन। त्यतिसम्म भैगो।
जब नारायणीको गर्भको 'छाउरो' आफ्नै साथी रमेशको रहेछ भन्ने बाबुरामले थाहा पायो, उसलाई 'लाटो रिस' उठ्यो। फलामको डण्डी बोकेर ऊ रमेशलाई कुट्न गयो, फुटेको टाउको बोकेर पुलिसकोमा गएन।
ऊ किन गएन पुलिसकोमारु एउटा दर्शकले सोध्न पाउने कि नपाउने ?
उत्तर आउला- अरे यार, यो फिल्म हो।  
हो, फिल्म हो र त यसमा स्वतन्त्रता छ। हामी नम्रता श्रेष्ठको देब्रे गालामा मुसाको डल्लो झुण्ड्याइदिन सक्छौँ, वाग्लुङको गाऊँमा नेपाल टेलिकमको टावरले राम्ररी काम नगरेको बनाउन सक्छौँ भने हाम्रो कलम र निर्देशकीय कौशलले नारायणीलाई आफूमाथि भएको त्यस्तो निकृष्ट अपराधका विरुद्ध बोलाउन किन सक्दैन ? रमेशलाई झ्यालखानामा कोच्न किन सक्दैन ?
फिल्म हेर्न आएका ती तमाम बाबुआमा, जो दिनहुँ समाचारमा आउने बलात्कारका घटनादेखि त्रसित भएर आँखाबाट एकछिन छोरी ओझेल पर्दा समेत झस्कन्छन्, तिनले चलचित्रको के सार लिएर घर जानेरु यही कि बलात्कारीलाई भगवानले सजाँयसजाय दिन्छन्, पुलिसलाई भन्न पर्दैन ?
बलात्कार हुनुमा कुनै पनि पीडितको दोष हुँदैन। बेइज्जत हुनुपर्ने, लाज र शरमले झुक्नुपर्ने त अपराधीले हो, पीडितले होइन भन्ने चेतना बिस्तारै भएपनि मान्छेको दिमागमा पस्दै छ।
हातहातमा मोबाइल र थोरैतिनो सही, ईन्टरनेटको पहुँचले पीडित वा उसको परिवारले लुकाउनै चाह्यो भने पनि कसै न कसैले मिडियासम्म कुरा पुर्याइदिइहाल्छ।
निर्मलाको घटना भएयताको तीन महिनामा दैनिक सरदर छ जनाभन्दा बढीको बलात्कार भएको उजुरी परेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। बलात्कारको प्रयासको उजुरी पर्ने क्रम पनि बढ्दो छ।
भलै तथ्याङ्क आङ जिरिङ्ग गराइदिने खालको छ, तर कमसेकम यी कुरा बाहिर त आएका छन्, गुपचुप त छैनन् भनेर चित्त बुझाउने ठाऊँ पनि छ।
र बलात्कारलगायत महिला हिंसाका घटनालाई कम गर्न जरैदेखिका कारण पहिल्याउन र तिनलाई सम्बोधन गर्न जति जरुरी छ, उत्तिकै दण्डहीनताको अन्त्य गर्न पनि जरुरी छ। र दण्डहीनता अन्त्य गर्ने पहिलो खुट्किलो यस्ता घटनाको उजुरी तत्कालै गर्ने हो।
आजको समयमा पनि बलात्कारजस्तो जघन्य अपराधको कुरामा 'सहन सके देख्न पाइन्छ', 'भगवानले हेर्छन्' जस्तो पाराको सन्देश दिनु बलात्कारको सामान्यीकरण गरेको मात्र नभई दण्डहीनताको पक्षमा उभिएको भनेर हामीले भन्न किन नपाउने ?
भगवानले सजाय दिने भए कानुन किन चाहिन्थ्योरु पुलिस किन चाहिन्थ्यो ? जसरी पनि रमेश पात्रलाई सजाय नै दिलाउनु रहेछ त पुलिससम्म पुर्याइदिएको भए निर्देशकको के जान्थ्योरु फेरि यो त निर्मलाको केसमा जसरी चार महिनासम्म खोज्दा पनि पत्ता नलाग्ने अपराधी पनि त थिएन।
यहाँनेर 'बलात्कारी पात्रलाई सजाय दिनेतिर नलागी पेटमा भएको बच्चा जन्मन र बाँच्न पाउनु पर्छ भन्ने अधिकारका लागि उनी लड्छिन्' भनेर फिल्मको समीक्षा गर्नु् कुन दृष्टिकोणबाट 'लड्नु' हो ? त्यसो भए छोरीको अपराधीले सजाय पाओस् भनेर निर्मलाकी आमाजस्ती सामान्य पानीपुरी बेचेर गुजारा चलाउने एकल महिला घरि बालुवाटार घरि कन्चनपुर धाउनु के होरु आत्मसमर्पण ?
'लडाँइ' सत्यका लागि हुन्छ, निष्ठाका लागि हुन्छ, आफ्नो आस्था र विश्वासको स्थापनाको लागि हुन्छ। चूपचाप अन्याय सहेर बस्नुलाई 'लडाँइ' देख्ने समीक्षाले हाम्रो समाजमा भएको न्यायिक चेतको कस्तो हैसियत बोलिरहेको छ ?
यो त बलात्कारीका अगाडि एउटी पीडितले सरासर घुँडा टेक्नु हो। अथवा हदै भए बच्चाको लोभमा एउटी आमाले विद्रोहचेत गुमाउनु हो। यसलाई 'लडाँइ' भनेर 'जस्टिफाई' गर्न खोज्नु केटाकेटीपन हो, मुर्खता हो।
फिल्म 'प्रसाद' त यहाँनेर मात्र होइन, ठाउँठाऊँमा चिप्लिएको छ।
जस्तै, फिल्ममा लोग्नेलाई बच्चा राख्न मनाउँदै गर्दा नारायणीले भन्छे, 'बीउको हक बीउमा मात्रै सीमित हुन्छ, फलमा हुँदैन र फलको हक किसानसँग हुन्छ।'  
जति सुन्दर यो संवाद बिनाप्रसङ्ग सुन्दा लाग्छ, त्यति नै अमिल्दो भर्खरै मात्र बलात्कारलाई चूपचाप सहेकी पात्रको मुखबाट सुनिन्छ। बीउको हक बीउमा मात्रै सीमित नहोस्, आफ्नो खेतमा कहिले, कतिखेर, कुन बीउ रोप्ने भनेर निर्णय गर्ने अधिकार किसानलाई पनि होस् भनेर नै संसारभरि गर्भपतनको अधिकारका लागि आन्दोलन भएका हुन्।
यही सिद्दान्तलाई मनन गरेर नै करिब ३ दशकको निरन्तर सङ्घर्षपछि नेपालले २०५९ सालमा मुलुकी ऐनमा ११ औँ संशोधन गरी सामान्य अवस्थामा १२ हप्ता र बलात्कार वा हाडनाता करणीको हकमा १८ हप्तासम्मको गर्भलाई त्याग्न पाउने गरी कानुनी मान्यता दिएको हो।
त्यसभन्दा अघि बलात्कार वा जेसुकै कारण होस्, गर्भपतन गर्नु भ्रुणहत्या गर्नु थियो, र भ्रुणहत्या गर्नु हत्यासरह। आजभन्दा १६ वर्षअघि पेटको गर्भ तुहाएर 'पाप' गरेका कतिपय महिलाहरू गर्भपतन कानुनी भएको लामो समयसम्म पनि जेलका चिसा छिँडीहरूमा सजाय काटिरहेका थिए।
सन् २०१४ मा गर्भपतनको स्थितिसम्बन्धी भएको एउटा अध्ययनले एक वर्षभित्र ३ लाख २३ हजार महिलाले गर्भपतन गरेको देखाएको थियो। भलै यीमध्ये बलात्कारको घम्साघम्सीबाट उछिट्टिएर खेतमा परेको बीउ कति थियो भनेर छुट्याएको तथ्याङ्क होला नहोला, तर यसले बिनाशंका के पुष्टि गर्छ भने रोपिएका सबै बीउको माया आमालाई हुन्छ नै भन्ने हुँदैन।
अथवा भए नै पनि मायाको पोकोलाई एकातिर थन्क्याएर महिलाहरू अरु विभिन्न कुरालाई आफ्नो प्राथमिकताक्रममा माथि राखेर आमा बन्नबाट जोगिन्छन्। गर्भपतन महिलाकै स्वास्थ्यको लागि पनि उत्तम उपाय होइन, अरु केही नहुँदाको विकल्प मात्र हो तर सामान्य मान्छेले पनि आकलन गर्न सक्छ, वैधानिक र सहज गर्भपतनको विकल्प छँदाछँदै बलात्कारको बीउबाट आमा बन्ने रहर कसलाई होला ररु
तर समाजमा अपवाद हुन्छन्। यदि नारायणीलाई अपवाद नै मान्ने हो भने पनि प्रश्न गर्ने ठाऊँ धेरै छन्।
बलात्कारको वीर्य बाध्यता हुन सक्छ। बलात्कारीको पो दोष, वीर्यको के गल्तीरु त्यो वीर्यबाट उम्रने जीवनको के दोष पनि भन्न सकिन्छ। तर त्यो कुनै पनि विकल्प उपलब्ध नभएका अवस्थामा मात्र स्वीकार्य हुनसक्छ।
उदाहरणका लागि अंग्रेजी फिल्म 'रुम'मा एउटा अपहरणकारीले जोयको भूमिकामा रहेकी ब्रि लार्सनलाई सात वर्षदेखि एउटा कोठामा थुनेर बलात्कार गर्छ। त्यसबाट एउटा छोरा जन्मिन्छ, जसलाई जोयले आफूलाई भन्दा धेरै माया गर्छे। मातृवात्सल्यको त्यो कथा हेर्दा कहिँ कतै 'अड' वा अपाच्य लाग्दैन।
लोग्नेले टेस्टट्युब बेबीका लागि दिनरात दुख गरेर पैसा जोहो गरेको थाहा पाउँदा नारायणीका आँखाबाट खुसीका आँसु बग्नुपर्ने हो। उसले पतिलाई घ्वामलङ्ग अँगालो हालेर भन्नुपर्ने हो, “जाऊँ, अहिल्यै गएर फाल्दिहालौँ यो...पैसा जसोतसो गरेर तिरौँला पछि....”
तर नारायणीले भन्छे, “टेस्ट्युब बेबी पनि अर्कैको वीर्यबाट बन्ने हो, यो पनि अर्कैको वीर्यको कोख हो, के फरक पर्यो त ?”
लाग्छ, यतिखेर दर्शकले करिब डेढ घण्टादेखि चिनेकी स्वाभिमानी नारायणी बोलिरहेकी छैन, उसको शरीरभित्र घुसेर महिला संवेदनशीलतालाई कत्ति पनि नबुझेको कुनै संवेदनाहीन पुरूष बोलिरहेको छ। किनभने कुनै पनि महिलालाई अरु विकल्प छँदाँछँदैँ बलात्कारको बीउ बोक्ने रहर हुँदैन।
त्यतिमात्र होइन, फिल्मले दलित समुदायमाथि पनि पर्याप्त न्याय गर्न सकेको छैन। फिल्ममा घरिघरी आइरहने जातले पाएको, गु गन्हाउँछ, जात जनाउँछ जस्ता संवाद जातीय छुवाछुतको अलिकति पनि चेत भएका मान्छेको मनमा च्वास्स बिझ्छन्।
'समाजको वास्तविकता बुझ्नको लागि' भन्ने हो भने ठिकै छ, तर त्यसप्रति बाबुरामले कुनै आपत्ति नजनाउनु, बाबुरामलाई दलित भएकै कारण सोझो, लरतरो देखाइनुले प्रसाद 'सम्पूर्ण दलित समुदायले एक पटक हेर्नुपर्ने' चलचित्र कसरी बन्यो, प्रश्न गर्नै पर्दैन, सोझै ठडिन्छ।
जसरी संविधानमा छुवाछूत विरुद्धको मौलिक हक राख्तैमा देशबाट छुवाछूत निर्मूल हुँदैन, त्यसैगरी फिल्मको पात्र दलित देखाइँदैमा कुनै पनि चलचित्र 'सम्पूर्ण दलित समुदायले एक पटक हेर्नुपर्ने' चलचित्र बन्दैन भन्ने कुरा फिल्म लेखक, निर्माता, निर्देशकलगायत समीक्षकहरूले पनि बुझ्न जरुरी छ।
एक अन्तरवार्तामा निर्देशकले दर्शकलाई दिमाग र आँखाले भन्दा पनि चलचित्रलाई मनले हेरिदिन अनुरोध गरेका रहेछन्।
तर सत्य त यो हो कि चलचित्र बनाउन मन मात्र भएर पुग्दैन। पूँजी, व्यवस्थापन लगायत सबैभन्दा ठूलो कुरा दिमाग र आँखा चाहिन्छ।
दिमाग भनेको कला हो, कलालाई पस्कने सीप हो। आँखा भनेको दृष्टिकोण हो, हेराइ हो। कुनै पनि विषयलाई निर्देशकले कसरी हेरेको छ र उसले त्यसलाई दर्शकसामू कसरी पस्कन्छ भन्ने कुराले नै फिल्मलाई स्वाद दिन्छ, मिठास दिन्छ। नत्र दैनिक जीवनमा देखिभोगिरहेका कुरा हेर्न पैसा तिरेर कोही किन हलमा जान्छ ?
संयोग (र विरोधाभास) के भइदियो भने राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायमा महिला हिंसा विरुद्ध १६ दिने अभियान मनाइँदै गर्दा नेपाली दर्शकले हलसम्म पुगेर हेर्नलाई एउटा मौलिक कथा भेट्टाए, जसले बलात्कारजस्तो अति निकृष्ट महिला हिंसाको घटनामा चुपचाप बसेमा त्यस्तालाई भगवानले सजाय दिन्छन् भन्ने प्रकृतिको सन्देश बोकेको थियो।
त्यति मात्र होइन, अत्यन्तै असहज तरिकाले मातृत्वको पछ्यौरी ओढाएर एउटी महिलालाई बलात्कारीको वीर्यलाई 'प्रसाद'को रुपमा ग्रहण गर्न लगाएर 'लैङ्गिक हिंसा र दुर्व्यवहारः छैन हामीलाई स्वीकार' भन्ने राष्ट्रिय नाराको निकै नमीठो मजाक उडाएको थियो।  
भलै म चलचित्रमा सेन्सरको विपक्षी हुँ, तर प्रसाद हेरिरहँदा लाग्यो, 'एफ् वर्ड' र अरु धेरै फोहोरी नेपाली शब्दलाई पचाउन नसकेर 'बीप' गर्न लगाउने र त्यति गर्दा पनि 'ए' सर्टफिकेट दिने सेन्सर बोर्डले बलात्कारलाई 'प्रसाद'को रुपमा ग्रहण गर्न लगाएको चलचित्र कसरी पचायो ?
त्यहाँ कस्तो लैङ्गिक सामाजिक चेत भएका मान्छे बस्छन्, तिनले के हेर्छन्, के देख्छन् र के सेन्सर गर्छन् प्रश्न गर्नुपर्ने बेला आएको छ।
यो महाभारत लेख्नुको उद्देश्य हरेक चलचित्रले केही न केही सन्देश दिनैपर्छ भन्ने होइन। म त चलचित्रमा ‘ठाडो सन्देश’को विपक्षी नै हुँ। हरेक महिला पात्रलाई बलियै पात्रको रुपमा उतार्नुपर्छ भन्ने पनि होइन। तर कमसेकम पात्रपति न्याय गर्नुपर्यो। अन्टसन्ट बक्नु भएन।  
मलाई दुःख लागेको केमा मात्र हो भने यति मीठो लोकल कथा, त्यति अब्बल अभिनय र पत्रकार जस्तो सामाजिक मुद्दाहरूलाई सामान्य मान्छेभन्दा फरक दृष्टिकोणले हेर्न सक्ने ुक्रूु भएको फिल्मले ख्रिसिक्क बनाउने मात्र होइन कि हलबाटै अहिल्यै निस्केर गइहालौँ झैँ जुरुकजुरुक पार्ने सार बोक्नुले हो।
यी विषयहरू जति मौलिक हुन् उति नै संवेदनशील पनि हुन्। 'छक्का पन्जा'मा हाँस्नै मात्र भनेर जाने मान्छेले त अर्धचेतन मनमा भएपनि केही न केही बोकेर घर फर्किएको हुन्छ भने यो त मौलिक कथावस्तुमा 'सिरियस' मान्छेले बनाएको 'सिरियस' फिल्म हो।
तर बलात्कारको गर्भलाई भगवानको प्रसाद जस्तो गहिरो आस्था र अर्थ बोकेको बिम्बसँग तुलना गरिदिएर फिल्मले थाहै नपाई बलात्कारीलाई भगवानको रुपमा उभ्याइदिएको छ।
कुनै अविवाहित युवती बलात्कृत भएमा बलात्कारीको जिम्मा लाएर पठाउनु यदि गलत हो भने कुनै बलात्कारीको वीर्यलाई 'प्रसाद'को रुपमा दर्शकलाई बाँड्नु 'पापै' होइन र ?
अन्त्यमा ...,
पहिलो कुरा, धरतीमा उम्रने, उब्जने, जन्म लिने वा उत्पादन गरिने जति सबै कुरा प्रसादको रुपमा चढ्दैनन्। परम्परा र धार्मिक मान्यतामा अड्ने हो भने प्रसादको रुपमा चढ्नको लागि चोखो हुनुपर्छ, शुद्ध हुनुपर्छ,भलै के चोखो के बिटुलो भन्नेमा बहस हुन सक्ला। तर एउटा बलात्कारीको हेपाइ, अपमान, अहंकार र बर्बरताको फोहोरी लिङ्गबाट झरेको वीर्य कसरी चोखो, शुद्ध हुन सक्छ ?
पुरुषको वीर्य महिलाको अण्ड जस्तै बीउ मात्र हो, यसलाई प्रसाद नबनाऊँ। बलात्कारको बीउलाई 'प्रसाद' भन्ने धृष्टता त झन् गर्दै नगरौँ। बलात्कारलाई 'प्रसाद'को रुपमा मातृत्वको मन्दिरमा लगेर चढाउनु भनेको 'पाप' गर्नु हो। समाजलाई त्यस्तो 'पाप'को भारी नबोकाऊँ।

साभार : सेतोपाटी

 

Write a Comment

Events
Random Picks