बुढेसकालमा एक्लो ज्यान
21-December-2018


पोखरा, पुस ६
अर्जुन राजवंशी -

तीन छोरा, चार छोरी र नातिनातिना गरी १५ जनाको परिवार छ, धनबहादुर गुरुङ, ८१ को । तर एक साता बिरामी भएर थलिँदा पनि साथ दिने कोही भएन । तीन दिनसम्म तातोपानीको भरमा बसे । अहिले अलिक सन्चो भएकाले जाउलो पकाएर खाँदैछन् ।

गुरुङ ५ महिनादेखि झापाको बेलडाँगी– ३ सेक्टर ‘ए’–वान छाप्रो नम्बर ११३ मा एक्लै बस्दै आएका छन् । छोराछोरी, नातिनातिना अमेरिकामा छन् । पत्नी दिलमायाको ०६४ मा निधन भइसक्यो ।

बेलडाँगी–३ सेक्टर ‘डी’–टू छाप्रा नम्बर १०८ का पूर्णबहादुर लिम्बू, ८६ पनि एक्लै छन् । बायाँ आँखाले काम गर्दैन, दायाँ आँखा चस्माको सहाराले अलिअलि देख्छन् । खुट्टा दुखेर हिँड्न सक्दैनन् । वृद्ध शरीर सीधा उभिन सक्दैनन् । दमको रोग छ । खुट्टाको औषधी नियमित खानुपर्छ । तर दुई वर्षयता आफ्नै असक्त र वृद्ध शरीरकै सहारा लिनुको विकल्प छैन ।

लिम्बूका तीन छोरी भुटानमा छन् । जेठी पत्नी रोहरीमाया भुटानमै बितिन्, माइली सुकमाया १५ वर्षअघि बेलडाँगी शिविरमा । कान्छी सोमकुमारी पनि दुई वर्षअघि बिदावारी भइन् । शिविरमा उनको आफन्त भन्ने कोही छैन ।

जंगबहादुर खड्का, ८०, ९तस्बिरमा० आफैँ गरेर खान सक्ने अवस्थामा छैनन् । तर उनले मानसिक सन्तुलन गुमाएकी ६७ वर्षीया पत्नी कृष्णमायालाई पाल्नु परिरहेको छ । बेलडाँगी ३ ‘डी’–टू छाप्रो नम्बर १०९ मा बस्दै आएका खड्का दम्पती निस्सन्तान हुन् । जंगबहादुरका दाजु शुरवीर शिविरमा रहुन्जेल उनलाई कुनै समस्या थिएन । तर दाजु दुई छोरा, तीन छोरीसहित अमेरिका गएपछि खड्का दम्पती कैयौँ रात भोकभोकै हुन्छन् ।

समस्या सुनाउँछन्, “श्रीमतीको मानसिक अवस्था ठीक छैन । दिउँसो चिच्याइरहन्छिन्, राती हाँसिरहन्छिन् । मलाई रिंगटा लाग्छ । ग्यास्ट्रिक छ । चिसोमा दम बढेर ओछ्यानबाट उठ्न गाह्रो हुन्छ । तर आफैँले नगरे गरिदिने कोही छैन ।”

झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविरमा करिब २ सय ५० वृद्धवृद्धा एक्लो जिन्दगी बिताउन बाध्य छन् । ठूलो संख्यामा शरणार्थी तेस्रो देश पुनर्वास भएपछि शिविरमा वृद्धवृद्धा एक्लिएका हुन् । शिविरमा रहेका अधिकांश वृद्धवृद्धा स्वदेश फर्किने अडानमा छन् । तर उनीहरुको मागप्रति कुनै शुभ संकेत देखिँदैन ।

जन्मभूमिबाट लखेटिएको पीडामा २७ वर्ष बिताएका भुटानी शरणार्थी परिवारबाट समेत एक्लिएका छन् । अझ, सन् २०१९ जुनपछि विश्व खाद्य कार्यक्रम ९डब्लूएफपी० ले खाद्य सहायता पूर्ण रुपमा बन्द गर्ने घोषणाले उनीहरुमा तनाव थपिएको छ ।

बेलडाँगी– २ सेक्टर ‘जी’–वान छाप्रो नम्बर ४१ का दुर्जधन गुरुङ, ७७, का पनि चार छोरा, चार छोरी र नातिनातिना गरी १६ जनाको परिवार छ । तर विडम्बना १ घरभित्र र बाहिर गर्न पनि लौराको सहारा लिनु परिरहेका गुरुङ एक्लै दिन कटाउन बाध्य छन् । गुरुङकी पत्नी रणमाया, दुई छोरा र तीन छोरी भुटानमा छन् भने दुई छोरा र एक छोरी अमेरिकामा ।

“के गर्नु, नियति नै यस्तै भएपछि दुस्ख भयो कहाँ भन्न पाइन्छ र रु” गुरुङ भन्छन्, “आफ्नै देशको शासकले खेदायो । आधा परिवार उतै छुट्यो । दुई हातले समातेर तीन सन्तानलाई ल्याएको थिएँ । उनीहरु पनि अमेरिका गए । म बाँकी जिन्दगी बिताउँदै छु ।”

गुरुङको दुस्खसुखमा साथ दिने छिमेकी रुक्मिणी न्यौपाने, ८४, पनि तीन वर्षदेखि एक्लै छिन् । सेक्टर ‘जी’–वान छाप्रा नम्बर ९६ मा बसोबास गर्ने उनका श्रीमान् र छोराछोरी अमेरिकामा छन् । “श्रीमान्, छोराछोरी सबै अमेरिका गए । म एक्लै यो छाप्रोमुनि छु । बुढेसकालमा सकी–नसकी गरी खाँदैछु,” उनी भन्छिन्, “मलाई मेरै परिवार भएको ठाउँमा पुर्याइदेऊ भनिरहेकी छु । कसैले कुरा सुन्दैनन् ।”

बेलडाँगी–३ सेक्टर ‘ए’–वान छाप्रा नम्बर ६ की मनमाया राई, ८३, का छोराछोरी छैनन्, आफन्त, इष्टमित्र सबै अमेरिका गए । शारीरिक रुपमा निकै कमजोर भइसकेकी राई आफ्नै खानाका लागि चुलो बाल्न सक्ने अवस्थामा छैनन् ।

पत्नी, दुई छोरा, ५ छोरी र नातिनातिना सबै सँगै हुँदा लीलाधर आचार्य, ७२, लाई शरणार्थी बन्नुपरे पनि धेरै पीडा कम हुन्थ्यो । तिनै छोराछोरीको शरणमा पर्नुपर्ने बेला तीन वर्षयता पराइ देशमा एक्लै भएका छन् । पत्नी चन्द्रमाया, छोराछोरी, नातिनातिनासहित परिवारका १९ सदस्य अमेरिकामा छन् । बेलडाँगी–२ सेक्टर ‘ए’–फोर हट नं. ९५र९६ मा रहेका उनी भुटान फर्किने आशमा एक्लै भए पनि शिविर छाडेका छैनन् ।

सन् १९९१ पछि पूर्वी नेपालको झापा र मोरङका शिविरमा बसोबास गर्दै आएका भुटानी शरणार्थीको कथा–व्यथा अझै उस्तै छ । जंगलभित्र बनाइएका छाप्रामा बस्ने उनीहरुका दुस्खका कथा सुनिदिनेहरु टाढा भएका छन् । मर्दा छोराको हातबाट दागबत्ती नपाएको बुबाको चिता र आफू जिउँदै भए पनि बुबाको चितामा दागबत्ती दिन नपाएका छोराको पीडाले शरणार्थी शिविरमा थप सन्नाटा छाएको छ ।

यूएनएचसीआरको तथ्यांकअनुसार १ लाख १३ हजारभन्दा बढी शरणार्थी तेस्रो देश पुनर्वास भएका छन् । उनीहरु अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्क, नर्वे, बेलायत र नेदरल्यान्ड्स पुगेका छन् । मोरङको पथरी–शनिश्चरे शिविर र झापाको बेलडाँगी शिविरमा गरी ६ हजार ६ सय भुटानी शरणार्थी रहेको यूएनएचसीआरले जनाएको छ । शिविरमा एक हजार ६ सय शरणार्थी भने दर्ताविहीन छन् ।

शिविरमा सबैभन्दा बढी एकल वृद्धवृद्धाको समस्या गम्भीर बन्दै गएको बेलडाँगी शिविर व्यवस्थापन समितिका सचिव टीकाराम रसाइली बताउँछन् । एकल वृद्धवृद्धाको दीर्घकालीन समाधानका लागि शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग ९यूएनएचसीआर० सँग पहल गरिरहे पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।

“एकल वृद्धवृद्धा लगातारजसो बिरामी परिरहन्छन् । त्यस्तो बेला हामीले नै उनीहरुको स्याहारसुसार गरिदिनुपर्छ । औषधी किनेर ल्याइदिने कोही छैन । उनीहरुसँग पैसा पनि हुँदैन,” रसाइली भन्छन्, “शरणार्थीसँगै चन्दा मागेर औषधोपचार गर्नुपरेको छ । एकल वृद्धवृद्धाको निधन हुँदा शव उठाउने कोही आफन्त भेटिँदैनन् ।”

 

Write a Comment

Events
Random Picks