नेपथ्य नायिका
11-September-2015

मग्न नाचिरहेकी ती युवतीले ठ्याक्कै मेरो ध्यान खिचिन्। भीड छिचोल्दै म अलिक अगाडि बढ्थेँ र खै किन हो फेरि त्यहीँ फर्केर आइपुग्थेँ। उनका हरेक गतिविधि मेरा निम्ति रुचिकर हुन थाले। म यन्त्रवत् उनकै छेउछाउ अडिन पुगेँ। दुई हजारभन्दा बढी दर्शक अटाएको न्यूयोर्कको त्यो भव्य हलमा नेपथ्य जोडतोडसाथ आफूलाई प्रस्तुत गरिरहेको थियो।

कार्यक्रम प्रोड्युसरका नाताले कन्सर्टमा मेरो पहिलो काम सबै प्राविधिक कुराको अवस्था जाँच्नु हुन्छ। त्यसपछि ठ्याक्कै समयमा कार्यक्रम सुरु गर्न सबै कुराको टुंगो लागिसकेको हुनुपर्छ। एक घन्टाअघि पर्दामा देखिने टाइमर शून्यमा आउनु र स्टेजमा आवाज बज्न थाल्नुमा हामी एक निमेषको अन्तर पार्दैनौं।

त्यसनिम्ति म ब्याकस्टेजमै बसेको हुन्छु, जहाँबाट कलाकारहरु सबैलाई समयमै स्टेजमा पठाउने काम गरिन्छ। एक हिसाबले त्यसपछि मेरो निम्ति शो 'टेक अफ' गरेजस्तो हुन्छ। त्यसपछि नेपथ्यका अमृत र उसका कलाकारको जिम्मामा सम्पूर्ण कुरा जान्छ। यसरी शो गर्दा–गर्दा टिम एकदमै टाइट भइसकेको छ। उनीहरु पोख्त छन्। त्यही भएर स्टेजमा त्यसपछि के होला भन्ने कुराको पीर मलाई रहँदैन।

यसरी कलाकारको जिम्मामा छाडेपछि दर्शकको घेराभित्र पस्दा मजा लाग्न थाल्छ। हलभित्र पसेर हरेक कुनामा पुग्ने कोशिस गर्छु। अगाडिदेखि पछाडिसम्म सबैतिर गएर नियाल्छु। चाहेको ठाउँमा जतासुकै जानसक्ने सहुलियत पाएकाले थरिथरिका दर्शक र तिनका प्रतिक्रिया नियाल्ने हुटहुटी मलाई जाग्छ।

कुनै पनि हलमा दुई हजार दर्शक छन् भन्नुको अर्थ नै दुई हजार मन र दुई हजार दिमागको जमघट हो। ती सबैले कसरी व्यवहार गरिरहेका छन् भनेर देखेकै आधारमा कार्यक्रम मूल्यांकन गर्न सजिलो हुन्छ।

म्यानहटनको कार्यक्रममा पनि म सधैंजस्तै क्यामरा लिएर सबैतिर पुग्दै फोटो खिच्दै गरिरहेको थिएँ। विभिन्न कोणबाट स्टेजको र नाचिरहेका–उफ्रिरहेका दर्शकको फोटो संकलन गरेर राख्ने गरेको छु।

यसरी दर्शक भीड छिचोल्दै अगाडि बढिरहेकै बेला ती युवतीले मेरो ध्यान कब्जामा लिन पुगेकी थिइन्। त्यहाँ देखिएको कुनै कुराले मलाई नौलो अनुभूति गराएको थियो। उनी उभिएकी थिइन्। तर, उनको टाउकामा अक्सिजनको पाइप बेरेर नाकतिर लगिएको थियो।

फर्किएर आएर फेरि उनलाई नियालिरहेको भए पनि गीतमै डुबेकी उनको ध्यान ममा परेको थिएन। यता, म चाहिँ एकटकले हेरिरहेको थिएँ। विस्तारै नजिकै गएँ र …के भएको?' भनेर सोधेँ। उनले …यो अक्सिजनको पाइप हो' भनिन्।

यसो छेउमा हेरेँ, त्यहाँ ह्विलचियर थियो। अक्सिजनको सिलिन्डर पनि भुइँमै राखिएको थियो। यो सबका बाबजुद उनी उभिएर नाचिरहेकी थिइन्।

मलाई त्यो दृश्य देख्नेबित्तिकै केही समयअघि असाध्यै प्रभाव पारेको एउटा अंग्रेजी सिनेमा …फल्ट इन आवर स्टार्स' को सम्झना भयो। त्यसमा हेजल ग्रेस नामका एक पात्र छिन्, जसले ठ्याक्कै यसैगरी अक्सिजन लगाएरै जीवनलाई विभिन्न गतिविधिले सिँगार्छिन्।

सिनेमामा उनलाई फोक्सोको क्यान्सर हुन्छ। अक्सिजनको सहारामा बाँचिरहेकी हुन्छिन्।

ठ्याक्कै उस्तै अवस्था देखेपछि अघिल्तिर नाचिरहेकी यी युवतीलाई पनि मैले जिज्ञासावश नजिकै गएर …तपाईंलाई के भएको? यो कुन रोग हो?' भनेर सोधेँ।

मेरो संग्रहमा रहने यिनको तस्बिरका निम्ति पनि नाम जान्नु जरुरी थियो। कन्सर्टले पूरै माहोल तताएको बेला त्यहाँ दोहोरो कुरा त्यति राम्रोसँग हुन सक्दैन थियो। उनले बुझिनन्। मैले 'नाम के हो?' भनेर सोध्दै उनलाई मेरो फोन दिएँ। पाउनेबित्तिकै उनले केही सेकेन्डभित्रै नाम, इमेल ठेगाना र लागेको रोग फररर लेखिहालिन्।

'प्रशा तुलाधर।

स्केलेरो डर्मा, पल्मोनरी फाइब्रोसिस् र पल्मोनरी आर्टेरिल हाइपरटेन्सन।'

ती रोगबारे मलाई केही थाहा थिएन।

 

 

मैले थप केही फोटो खिचेर अघि बढ्न खोजेँ। तर, म त घरिघरि घुम्दै त्यही ठाउँमा पुग्न थालेँछु। यिनले के के गर्छिन् भन्नेप्रति मलाई असाध्यै रुचि बढ्दै गइरहेको थियो। किनभने मैले बुझेअनुसार अक्सिजन लिएरै हिँड्ने मान्छेको फोक्सो असाध्यै कमजोर हुन्छ। उनीहरुले हलचल पनि गर्नु हुँदैन। त्यसमाथि सँगै ह्विलचियर छ भनेपछि त उनी यसरी उभिइरहन पनि नमिल्नुपर्ने हो।

पछि त हेर्दाहेर्दै उनी यति उत्साहित हुन थालिन् कि उभिएर मात्रै पनि उनलाई पुगिरहेको थिएन। चिच्याउन पो थालिन्। म अचम्म मानेर हेरिरहेको थिएँ। उनी भने मलाई थप अचम्म पारिरहेकी थिइन्। यसरी अक्सिजन लिइरहेकी युवती अब त उफ्रिन र नाच्न पनि सुरु गरिन्। चिच्याउनु त छँदै थियो।

उनी घरि उठ्थिन्। नाच्न खोज्थिन्। फेरि थामिन्थिन्। ह्विलचियरमा बस्थिन् र फेरि उठ्थिन्। घरि खोक्थिन्, घरि उफ्रिन्थिन्।

एक हिसाबले म यस्तो बिरामी मान्छेलाई यति खुसी पार्न सकेकोमा दंग परिरहेको थिएँ भने अर्को हिसाबले उनको स्वास्थ्यलाई लिएर चिन्ता पनि लाग्न थाल्यो। यो निश्चित रुपमा उनले गर्न नहुने काम गरिरहेकी छन् भन्ने पनि म भित्रको सामान्य ज्ञानले झक्झक्याइरहेको थियो।

यसरी आफ्नो कन्सर्टमा सरिक एउटा रोचक पात्रको गतिविधि नियाल्दा नियाल्दै कार्यक्रम सकियो।

कार्यक्रम सकिएपछि सेक्युरिटीले हल खाली गराउँदै थियो। उनीहरुलाई पनि पठाउने काम भइरहेको थियो। मलाई कता कता मनमा के लाग्यो, प्रशाको नजिकै पुगेँ र 'बहिनी तपाईंलाई अमृत दाइसँग भेट्ने मन छ?' भनेर सोधेँ।

उनले त एक्कासि अनुहार उज्यालो बनाइन्। अनुहारमा चम्किलो उत्साह देखिने गरी मान्छे दंग पर्छन् नि, हो त्यसैगरी उनले 'पाएदेखि भेट्छु नि दाइ' भनिन्। मैले एकछिन बस्न लगाएँ र सेक्युरिटीसँग सोधेँ।

'उहाँलाई कृपया ब्याकस्टेजमा ल्याइदिन सक्नुहुन्छ?'

सेक्युरिटीले 'तपाईं जिम्मा लिनुहुन्छ भने म भित्र ल्याइदिन्छु' भने। विदेशतिर चल्तीको सभागृहमा ब्याकस्टेज प्रवेश अलिक कडा हुन्छ र सेक्युरिटी पनि पूर्ण व्यावसायिक हुन्छन्। जे होस् मैले जिम्मा लिएपछि र्‍याम्प हुँदै उनलाई ह्विलचियरमा पछाडितर्फ लगियो। ब्याकस्टेजमा पुगेपछि मैले अमृतलाई बोलाएर उनको भेट गराइदिएँ। भेट्दाखेरी उनी यति खुसी भइन् कि म दंग परेर हेरिरहेँ।

त्यतिखेर उनका भनाइले मलाई एकदमै मन छोयो।

अमृतसँग कुरा गर्ने क्रममा उनले 'दाइको कन्सर्ट अब फेरि मैले हेर्ने मौका पाउँछु कि पाउँदिन' भनेकी थिइन्। उनले आफ्नो अनिश्चित जीवनतर्फ इंगित गरिरहेकी थिइन्।

कुरा गर्दागर्दै उनले एकठाउँमा 'नेपाललाई मेरो एकदमै माया सुनाइदिनु होला' भनिन्। यसो भनिरहँदा वरिपरिका सबै असाध्यै भावुक देखिए। बाँकीको जीवन उनी फेरि नेपाल जान नसक्ने अवस्था र देशप्रतिको भावना थियो त्यहाँ।

त्यसपछि उनी गइन्।

प्रायः जहिले पनि कन्सर्ट सकिएपछि मान्छे भेट्ने र विभिन्न औपचारिकता निभाउने काम भइरहेको हुन्छ। नाँइ भन्न नसकिने मान्छेलाई बेलाबेला ब्याकस्टेज लैजानु परिरहेको हुन्छ। बेलाबेला म अमृतका पुराना साथी भेट्छु र उनीहरुलाई पनि लगेर भेट गराइदिन्छु। आयोजकका मान्छेले पनि भेट्न खोजिरहेका हुन्छन्। हामीले जतिसुकै थोरै मान्छे छनौट गरे पनि ब्याकस्टेजमा भेट्नेहरु भइरहेकै हुन्छन्।

तर, त्यसदिन धेरै पछि अमृतले यस्तो बेला विरलै व्यक्त गर्ने खुशी मलाई सुनाए। 'तिमीले उससँग मलाई भेटाइदिएकोमा धन्यवाद है,' उनी भनिरहेका थिए।

कार्यक्रम सकिएपछि म त्यसका यादलाई दिमागमा राखिरहँदिन। यसपटक भने अचम्म भयो। हलबाट निस्केर म्यानहटनकै होटलमा पुग्दा पनि उनकै सम्झना आइरह्यो। अघि आँखाले देखेको दृश्य अहिले दिमागमा नाचिरहेको थियो।

भोलिपल्ट म न्यूयोर्कबाट एक आफन्त भेट्न ट्रेनमा न्यूजर्सी गइरहेको थिएँ। मोबाइलमा यसो फेसबुक चलाएको इनबक्समा एउटा म्यासेज आएको रहेछ। लेखिएको थियो :

'थ्यांक यु सो मच दाइ फर गिभिंग मि एन वन्डरफुल अपरच्युनिटी टु मिट अमृत दाइ। आइ लर्न्ट अ लट फ्रम हिम। थ्यांक यु फर बिइंग काइन्ड टु मी। इट वाज वन अफ द ग्रेटेस्ट नाइट एभर। म्युजिकले पेन हटाउन धेरै हेल्प गर्छ। अक्सिजन र ह्विलचियर छेउमै रहे पनि हिजो त्यो क्षणभरि मैले आफूलाई असाध्यै साधारण मान्छे महशुस गरिरहेँ। एकदम रमाइलो भयो। धेरै धेरै माया। मुरी मुरी धन्यवाद।'

मलाई यो अर्को अचम्म भइरहेको थियो। उनको बारेमा त मैले सबैथोक सोधेको थिएँ। तर, मेरो बारेमा जानकारी नै नलिएकी उनले कसरी फेसबुकसम्म फेला पारिन्? तत्कालका निम्ति मैले उनलाई धन्यवाद दिएँ र अघिल्लो बेलुकी उनी नाचेको र अमृतसँग बसेर खिचिएका केही तस्बिर पठाइदिएँ।

उनकी दिदीले नेपथ्यको फेसबुक पेजमार्फत् मेरो नाम पत्ता लगाएर दिएकी रहिछन्।

अघिल्लो बेलुकी कार्यक्रममा उनी श्रीमान् र दिदीसँग आएकी रहिछन्।

मलाई उनको रोगबारे अझ विस्तारमा जान्न मन लाग्यो। उनको पहिलो रोग शरीरमा भएको तन्तुसँग सम्बन्धित रहेछ। दोश्रो भनेको हाम्रो फोक्सोभित्र जुन हावा भर्नुपर्ने ठाउँ हुन्छ त्यो ठाउँमा फाइबर उम्रिँदा उत्पन्न हुने समस्या थियो। अर्थात् अक्सिजन पस्ने ठाउँ टालिँदै जाने। तेश्रो अर्थात् पल्मोनरी हाइपोटेन्सन भनेको चाहिँ थुप्रै काममा संलग्न रहनुपर्ने फोक्सो नै कमजोर भइसकेपछि मुटुको चालमा पार्ने प्रभाव रहेछ।

मैले एकपटक फेरि उनलाई म्यासेज पठाएर 'फल्ट इन आवर स्टार' सिनेमाकी नायिका र उनको एउटै रोग हो कि? भनेर सोधेँ।

'हेजल ग्रेस (नायिका) लाई क्यान्सर भएको थियो। मेरो चाहिँ अटो इम्युन डिसअर्डर हो।' यस्तो अवस्थामा उनले लिने एन्टीबायोटिकले समेत झुक्किएर उल्टो स्वास्थ्य कोषमा आक्रमण गरिदिँदो रहेछ।

'मेरो शरीर भित्रभित्रै विस्तारै कडा र युजलेस बन्दै गइरहेको छ। मुटु, फोक्सो र पेट सबैतिर यसको दुष्प्रभाव विस्तार हुँदै गइरहेको छ। आई ह्याभ स्केलेरोडर्मा ह्विच इज सिस्टेमेटिक सिरोसिस्। साँच्चै भन्ने हो भने मेरो सम्पूर्ण शरीर नै एउटा ढुंगामा परिणत हुँदै गइरहेको छ।'

म अघिल्लो साँझको अनुभवलाई लिएर जिज्ञासु थिएँ।

'मैले उफ्रिनु त हुँदै हुँदैन। केही गर्नेबित्तिकै मेरो शरीरमा अक्सिजनको मात्रा स्वात्तै घटिहाल्छ। मुटु जोडले धड्किन थाल्छ। हिँड्दा वा जोडले बोल्दा पनि। एक मिनेट मैले केही काम गरेँ भने पाँच मिनेट आराम गर्नुपर्छ। तर त्यो सब छोडिदिनुस्। मलाई यति रमाइलो भयो कि मैले बिरामी छु भनेरै बिर्सें। पछिल्लो समय मेरो जीवनकै सबैभन्दा उत्तम क्षण त्यही कन्सर्ट थियो। मैले आफूलाई अरुजस्तै सामान्य मान्छे मात्र महशुस गरेँ। उनीहरुजत्तिकै म्युजिकको आनन्द लिएँ। म्युजिकले हरेकपल्ट मलाई दुखाइ कम गराउँछ।'

मैले चाहिँ पहिलोपटक कन्सर्ट भइरहेको बेला देख्दा त्यो अनुहारमा हेजल ग्रेस देखेको र दुवै जनाको अनुहार मेरो दिमागमा समानान्तर किसिमले घुमिरहेको बताएँ।

'यो कुरा मेरो निम्ति नौलो होइन। त्यो सिनेमा आउनेबित्तिकै धेरैले मलाई बाटोमा जता देखे पनि त्यसै हिसाबले कुरा गर्न आउँथे। अझ एकदुई जनाले त मलाई कुनै रोग नभएको र त्यो नायिकाको कपी गर्न खोजिरहेको हाँसउठ्दो कुरा समेत सुनाउन आए।'

हुन पनि हो कुनै सिनेमामा नायक र नायिकाको कपी गर्ने प्रभाव हामीकहाँ पनि उत्तिकै छ। हामी भर्खर कलेज पढ्दा त्यतिबेलाको 'साजन' सिनेमा हेरेर सद्दे खुट्टा भएका कतिपय तन्नेरी सञ्जय दत्तले जस्तै लठ्ठी टेकेर हिँडेका थिए। तर, यी बिचरीले यस्तो कुरामा हेजल ग्रेसको कपी गर्ने कुरै थिएन।

बाहिरबाट हेर्दा त उनी एकदमै सामान्य देखिन्छिन्। रोगले भित्रभित्रै खाइरहेको त्यो शरीरलाई अनुभूत नगर्नेहरुले त्यस्तो भन्ठान्नु त्यति अनौठो पनि थिएन।

'यस्ता सबै अनुभव अब मेरो जीवनको अविच्छिन्न अंग भइसकेको छ,' उनले भनिन्।

मैले युट्युबमा उनकी छोरीको पनि भिडियो देखेको बताएँ। त्यति राम्री छोरी र त्यस्ता असल श्रीमान् पाएकोमा बधाइ पनि दिएँ।

'यति माया गर्ने श्रीमान् पाएकोमा म असाध्यै भाग्यमानी महशुस गर्छु। उनको मायाले हारेरै उनैको इच्छामा मैले छोरी पनि पाइदिएकी हुँ। नत्र मेरो बच्चा बचाउने सोचाइ थिएन।'

श्रीमान् निकै पहिलेदेखि नेपथ्यको फ्यान रहेको र आफू नआइदिए श्रीमान् पनि हेर्न नजाने भएकै कारण त्यस बेलुकी धेरैले मनाही गर्दागर्दै कन्सर्टमा सरिक भएको उनले सुनाइन्।

'मैले मेरो जीवनको त्यो तीन घन्टा असाध्यै सुखद क्षण भोग्न पाएँ,' उनले लेखिन्, 'म र मेरा श्रीमान् असाध्यै खुसी छौं।'

हाम्रो च्याट निरन्तर चलिरहेको थियो। उनले फेरि सन्देश पठाइन्, 'दाई, कार्यक्रममा त्यसरी मसँग बोल्न आइदिनुभएकोमा तपाईंलाई धन्यवाद,' उनले भनिन्, 'प्रायः मान्छे मलाई वास्ता गरेर दुःखी हुन चाहँदैनन्। त्यसैले इग्नोर गर्छन्।'

मैले जिस्किएर 'तिमी पनि त हेजल ग्रेस जत्तिकै आकर्षक थियौ नि त' भनेँ।

उनले 'धन्यवाद' मात्र भनिन्।

मैले फेरि लेखेँ, 'हेजल ग्रेसले खेलेको सिनेमा फल्ट इन आवर स्टार भएजस्तै तिमी पनि हाम्रो शो को रियल स्टार हौ।'

उनले कुनै प्रतिक्रिया जनाइनन्।

हामी फेसबुकमा निरन्तर च्याट गरिरहेका थियौं। त्यसै क्रममा उनले एउटा असाध्यै मार्मिक लाइन लेखिन्, 'हेजल र मजस्ता पात्र समाजमा धेरै छन्। हाम्रो समाजले त्यस्तालाई घरभित्र थुप्रिएर बाँच्नेबाहेक समाजका विविध गतिविधिका अंगको रुपमा स्वीकार्न चाहँदैन,' उनले भनिन्, 'म मेरो शरीरको अवस्था जेजस्तो भए पनि जीवनलाई सामान्य मान्छेले जस्तै बाँच्न चाहन्छु। म थुप्रै सम्झना निर्माण गर्न चाहन्छु। मेरो जीवनलाई म रहे पनि नरहे पनि सबैका निम्ति एउटा यादगार सम्झनाको संगालो बनाउन चाहन्छु। म गएपछि बाँकी रहने पनि त्यही न हो।'

कसैगरी फोक्सोको प्रत्यारोपण भयो भने अझै पनि आफू सामान्य बन्न सक्ने आस उनमा रहेछ।

'त्यसो भए उनको योजना के छ?'

'म सद्दे भएँ भने आफूजस्तै बिरामीको सेवा गर्न चाहन्छु।'

न्यूयोर्कको पोलिटेक्निक स्कुलमा पढिरहेकी उनले स्कुल जान छाडेकी रहिछन्। फेरि गएर पढ्ने सपना पनि उनले सुनाइन्।

'बिरामी भएपछि मैले धेरै कुरा सिक्ने मौका पाएँ। आफू उपचाररत अस्पतालमै एउटा सानो सपोर्ट ग्रुप पनि खोलेको छु। म नेपाल त जान सक्दिनँ। डाक्टरले नै दिँदैनन्। तर, देशको निम्ति पनि केही गर्ने प्रयास गर्नेछु।'

मैले उनको फेसबुक खोलेर हेरेँ। त्यस्तो अवस्थाका बाबजुद उनले मुलुकका निम्ति केही न केही गरिरहेकै रहिछन्।

खुसी भन्ने संस्थामार्फत् गोरखाका स्कुलमा सौर्य बत्ती, मनाङका निम्ति सहयोग जुटाउन कप केक बनाएर न्यूयोर्कको सडकमा बेच्नेदेखि लिएर अस्ति भुइँचालो आउँदा पनि काठमाडौं विश्वविद्यालयका विद्यार्थीमार्फत् औषधि सहयोगसम्म। मैले जीवनमा धेरै कन्सर्ट हेरेँ। नेपथ्यसँग धेरै हिँडे। यति सबै गर्दाखेरि दर्शकको विविधता पनि उत्तिकै नियाल्न पाएँ। द्वन्द्वकालमा एक किसिमका दर्शक भेटिन्थे। पीडितहरु...। शान्तिका लागि शिक्षामा काम गर्दा स्कुले बच्चाहरुसँगको अनुभव अर्कै थियो।

यसरी सांगीतिक कार्यक्रम लिएर गएको बेला हाम्रो कामै विभिन्न अवस्थामा रहेका दर्शकलाई खुसी बनाउनु नै हो। तर, त्यस दिन प्रशालाई खुसी बनाउन पाएकोमा जति सन्तुष्टि मलाई अरुबेला कहिल्यै मिलेन। उनी एक्लैको खुसीमा मैले हाम्रो सिंगो न्यूयोर्क कार्यक्रमकै भव्य सफलता महशुस गरेँ।

धन्यवाद प्रशा...  

Events
Random Picks