तपाईं पनि राजनीतिमा ?
3-January-2019

महेश भण्डारी
पोखरा, पुस १९

‘तपाईं पनि राजनीतिमा रु’ यो प्रश्नले अघिल्ला केही महिना पूरै अलमल्यायो । किशोरवयमा गरेको जहानियाँ राजनीतिलाई बिर्सेर पूरापूर व्यवसायमा लागेको पनि निकै भएको थियो । प्रश्न नाजायज थिएनन् । बारम्बारका प्रश्नले घरिघरि यस्तो पनि लाग्थ्यो, कतै राजनीतिको मेलो समातेर मैले गलत त गरिनँ रु प्रश्नलाई माथ गर्न पनि प्रश्नै सोचेँ र आफैँलाई सोधेँ – के राजनीति सामान्य ‘कप अफ टी’ होइन र रु एक कप चियाका लागि किन तथानाम सोच्नुपर्छ मैले ?

मन–शान्तिका लागि कित्लीमा उमालेको केही कप चिया सकियो । तर चियासँगै उम्लिएको मन झन् अशान्त भएर आयो । अहँ, द्विविधा सकिएन । भन्छन्, मान्छेको जिन्दगी रोजाइहरुको फेहरिस्त मात्रै हो । मान्छे हरेक क्षण अनेकन विकल्पका अगाडि उभिएको हुन्छ । उसलाई कुन विकल्प रोज्ने भन्ने स्वतन्त्रता त हुन्छ तर कुनै पनि नरोज्ने स्वतन्त्रता हुँदैन किनकि कुनै नरोज्नु पनि एउटा विकल्प हो । फेरि द्विविधा मेट्छु, राजनीति नगर्नु पनि एउटा राजनीति नै हो । भोट नहाल्नु पनि एक प्रकारको मतदान नै हो । यसले पनि कुनै न कुनै व्यवस्था र दललाई फाइदा वा बेफाइदा पुर्याकएकै हुन्छ ।

कलेजकालीन दिनमा सोपेनहावरको यस्तै कुनै आशय पढेको थिएँ । सम्झेँ, जिन्दगीमा यसअघि लिएका यस्तै महत्त्वपूर्ण निर्णय । सम्झेँ, किनाराका साक्षी साथीहरुलाई । सम्झेँ, समाज, जसको काखमा म हुर्कें, जसलाई हुर्काउन सकिरहेको थिइनँ । जसले मलाई शिक्षित, समृद्ध र सुखी बनाएको थियो तर मैले उसलाई त्यही बनाउन सकिरहेको थिइनँ ।

समाजबाटै सिकेको हुँ– माता, मित्र र मातृभूमिको ऋण कहिल्यै तिर्न सकिँदैन । म ऋणमुक्त हुन राजनीति गरिरहेको पनि छैन । ऋणमोचनजस्तो अमूर्त र असम्भव कामको पछाडि कुद्ने मान्छे कदाचित होइन म । अखबारका पहिलो पाना पढ्दा–पढ्दा दिक्दार भएर आएको हुँ । खुबी नहुने तर आसन ओगट्नेहरुलाई झस्काउँदा मात्रै पनि मजा आउला भनेर उभिएको हुँ । मान्छेको अनुहारमा थोरै भए पनि मुस्कान जगाउन सकिन्छ लागेर राजनीतिमा होमिएको हुँ । आफ्नै तर्कले चित्त बुझ्यो । ढुक्क भएँ, मैले गलत गोरेटो समातेको छैन ।

‘तपाईं पनि राजनीतिमा रु’ सायद २० वर्षअघि पाकिस्तानमा इमरान खानलाई कैयौँ पटक सोधिए होलान् रु म एक ‘आम आदमी’ न हुँ । ‘तपाईं पनि राजनीतिमा रु’ पाँच वर्षअघि भुटानका लोते छिरिङलाई कति सोधियो होला रु म एक किसानको छोरा न हुँ ।

सफल क्रिकेटर भए पनि इमरानलाई पत्रकारको बलशाली बलिङका अघिल्तिर तर्कको क्रिज सम्हाल्न कति गाह्रो भयो होला रु छिरिङ चल्तीका सर्जन थिए तर जतनसाथ प्रश्नको पोस्टमार्टम गर्न उनलाई कति गाह्रो भयो होला ?
म त सामान्य पेसाकर्मी हुँ । गरिखाने एउटा औसत कारिन्दा हुँ । मेरा दुस्ख साना हुन् । मेरा द्विविधा पनि सामान्य हुन् । राजनीतिका नाममा मैले गर्नुपर्ने त्याग पनि सामान्य हुन् । मेरो जिन्दगी नै एक सामान्य हो । अनि म सामान्य मान्छेका लागि राजनीतिमा होमिने निर्णय कसरी असामान्य हुन्छ रु कसरी असजिलो हुन्छ रु कसरी परिवार, साथीभाइका लागि विरक्तिलो हुन्छ रु म पूरापूर निष्कर्षमा पुगेँ कि राजनीति भनेको खासमा एक कप चिया नै हो । सामान्य काम । मनको तर्कनाले चित्तको बाटो समातेपछि ढुक्क भएँ ।

मान्छेको स्वभाव पनि अचम्मकै हुन्छ । कहिलेकाहीँ आफूले विशेष काम गर्दैछु भनेर सोच्दा ढुक्क हुन्छ । कहिलेकाहीँ आफ्नो कामलाई सामान्य ठान्दा पनि ढुक्क हुन्छ ।
राजनीति गर्नुको एउटा खास्साको काम भनेको समयसँग आफू अपडेट हुनु हो । समाजलाई अपडेट गराउन प्रेरित गर्नु हो । देशको हालमा त लगभग अपडेट नै थिएँ । गएका केही साता भारतका पछिल्ला राजनीतिक गति र गणितलाई हेर्न बसेँ ।

धेरै भएको रहेछ, भारत नपढेको । भूकम्पले आजित नेपालमाथि लगाइएको अमानवीय नाकाबन्दीपछि भारतीय जनता पार्टीको राजनीतिलाई ‘फलो’ गर्नै छाडिदिएको थिएँ । अहिले त्यसैबारे अपडेट भई बहस गर्न खोज्दा ठूलै अन्तराल महसुस भयो । नेपाली शब्द ‘अन्तराल’ बडो मीठो सुनिन्छ तर त्यसलाई अंग्रेजीमा जब हामी ‘ग्याप’ भन्छौँ, तब अत्यासलाग्दो लाग्छ त्यो ।

अर्थ एउटै हुँदैमा शब्दको मिठास र महिमा उस्तै हुँदो रहेनछ । राजनीति पनि त्यस्तै त हो । युरोप, अमेरिका, इमरान, डा छिरिङ, मोदी, राहुल गान्धी र नेपालका राजनीतिज्ञ अनि म बबुरो महेशको राजनीति । मलाई थाहा छ, अर्थ एउटै भए पनि यी राजनीतिको मिठास र महिमामा फरक छ ।  यसलाई ‘अन्तराल’ जस्तो सुन्दर बनाउने कि ‘ग्याप’ जस्तो विद्रुप रु त्यो मेरो हातमा छ ।

‘नाथुराम गोड्से मुर्दावाद’ भन्न नसक्ने ‘आरएसएस’ बाट सुरु भएको मूलधारको राजनीति ‘समृद्ध गुजरात’ हुँदै ‘किसानले आत्महत्या गर्ने देश’ सम्म भारत पुगिसकेको छ । ऋणको असाध्य भारीले थिचिएर दसौँ हजार भारतीय किसानले गरेको आत्महत्याको खबर उहिले त पढिन्थ्यो–पढिन्थ्यो, अहिले पनि त्यो खबरको सिलसिला जस्ताको तस्तै पो रहेछ । ऋणले किचेर आत्महत्या नै गर्नुपर्ने स्थिति देखेर मुटु नकपाउने र आँखा नरसाउने मान्छे को होला ?

हेर्छु, अहिले छिमेकका सबै अनलाइन पोर्टल भारतीय संसद्अगाडि ताँतीबद्ध हजारौँ किसानको रातो रंगले रंगिएको छ । गम्छु, भन्नेहरु ‘ग्रे पोलिटिक्स’ भन्छन् तर राजनीतिका सबै रंग फिक्का हुँदैनन् । राजनीतिलाई हेर्ने आँखामा ‘कलर ब्लाइन्डनेस’ छैन भने स्वाभाविक रुपमा देखिन्छ, यो त कहिले निख्खर कालो, कहिले गाढा रातो, कहिले अचाक्ली गेरु वा असाध्यै सेतो भएर गुज्रेको हुन्छ ।

हेर्छु, हेरेको छु, होस गुमाएको भारतीय समाजमा जोसिला युवाहरु म्याराथनमा सामेल छन् । उनीहरुको ‘भिडियो–भ्युअर्स’ मा जोडिँदो अंकले केजरीलाललाई माथ गर्दैछ । कनैया कुमार, सुभ्रस्था र सहेला रसेदका स्टेटमेन्ट र स्टाइल ट्रेन्डिङमा छन् ।

लोकप्रिय शिक्षालय जेएनयूका उत्पादन कनैयाको लालसलाम किस्सा मज्जाको सुनिन्छ । तर बिहारको गाउँदेखि तिहाडको जेलसम्म उनले गरेको राजनीतिक यात्राको रंग खैरो देखिन्छ । भारतीय युवा पुस्ता र प्रहरी प्रशासन भलै त्यसलाई खाँटी रातो रंगको देख्छ । उनको राजनीतिले दुई तिहाइको सरकारलाई हल्लाउँछ– केही भय, केही विस्मयमा राखिदिन्छ मोदीको मनलाई । जब भावले राजनीति समात्छ, तब भूत लाग्छ । तर जब विचारले समात्छ, भूत होइन वर्तमान लाग्छ । भाव र विचार दुवै ब्यानर बोकी हिँड्ने कनैया, सुभ्रस्था र सहेलाहरु वर्तमान हुन् कि भूत ? यसको फैसला किसानका फाँट, रेलका स्टेसन र चियाका अड्डामा अवश्य भइरहेका छन् ।

यता नेपाली राजनीतिमा विप्लव जारी नै छ । प्रचण्डका तस्बिर यतिखेर छापाका फ्रेमबाहिर छन् । फ्रेमभित्र प्रकाण्ड घुस्दै छन् । खिच्ने क्यामेराम्यान फरक हुन् कि तस्बिरका लागि तकदिर बदल्न मोर्चामा उभिने व्यक्तिले आसन बदलेका हुन्, यसै भन्न सकिन्न । फ्रेमबाहिर देखिने प्रचण्डले आफन्त गुमाउनुको पीडा र आँसुको मूल्य बिस्तारै बुझ्दै गएको प्रतीत हुन्छ । उनलाई देउरालीको फूलसँगै महादेवकी प्रेमिका सतीदेवीको गला पतन भएको कुनै अमुक मन्दिरमा भेटिँदा पनि समाजले अन्यथा मानेको छैन । भुँडी डुबाउने कुण्डमा स्नान लिँदा पनि अनौठो मानेको छैन ।

यस्तो लाग्छ, माक्र्सवादी मथुरामा जन्मेका उनी एउटा अवतार हुन्, जसले अझै धेरै लीला रचाउन बाँकी नै छ । त्यही कृष्ण कुनै बेला दही चोर्छ, स्त्रीका कपडा चोर्छ, उसैले गोवद्र्धन पर्वत उचालेर लोकको रक्षा गर्छ । मुलुकको पछिल्लो राजनीतिलाई आफ्नै औँलामा अड्याउन र घुमाउनमा अभ्यस्त हुने कृष्ण र उनका अनुयायी छोटा–कृष्णहरुको लस्कर छ राजनीतिमा । कृष्णका सबै लीला रोचक छन् । त्यसो त, कोरा रोचकता एउटा कम्युनिस्टले छाड्ने विम्ब होइन भन्ने कुरा प्रचण्डलाई झनै थाहा होला ।

भोजनमा मिसाइने मरीच भारतबाट नेपाली भान्सामा आउँछ । प्रचण्ड आयातीत होइनन् भन्ने अहिलेसम्मको विश्वास छ मलाई । तर मरीच आयातीत होस् वा रैथाने, आफ्नै रापले खुम्चनु मरीचको स्वभाव हो । मरीच जतासुकैको होस्, तिनको स्वाद पनि लगभग उस्तै हुन्छ । अर्गानिक मसला खान बानी परेका थोरै जिब्रोवाजलाई मात्र फरक लाग्न सक्छ स्वाद । आम जिब्रोका लागि रैथाने र आयातीत मरीचको स्वाद उस्तै हुन्छ । कुरा स्वादको होइन, संरचनाको हो । नेपालको वामपन्थी राजनीतिको अर्गानिक स्वाद चाउरिँदै गएको छ भन्नेमा सायदै कसैले शंका गर्ला ।

फ्रेमभित्र घुसेका प्रकाण्ड अलिकति भूत, अलिकति वर्तमान बोकी हिँडेका छन् । उनी कम बेवास्ता, आकर्षण र चयनमा छैनन् यतिखेर । अस्थिरता जतासुकै छ, आकर्षण पनि जतासुकै छ । आम आदमीमा अलमल छ । विचार उत्तिकै बलिया छन्, भूत फेरि उत्तिकै कमजोर पनि । जिन्दगी विचारले जिउने कि भूतले रु जनता सोध्दैनन् । चुनावमा आफैँ उत्तर दिन्छन्, दिए र दिइरहेका छन् । फेरि दिनेछन् ।

मैले प्रेम गरेर पढेको देङ स्याओ पिङको ब्लू प्रिन्ट  धमिलो भएछ, सी जिन पिङको माओ ब्रान्डको नक्सामा । सी जिन पिङप्रति हिमालजस्तै विश्वास राख्ने चिनियाँ युवाले माओलाई म्युजियममा मात्रै सम्झन्छन् । हिजोका देङ स्याओ पिङलाई बिर्सेझैँ गर्छन् । सम्झँदा कुनै स्वार्थ छैन, डर पनि छैन, प्रेम पनि छैन । भयरहित स्मृति–यात्रामा प्रेम हुँदैन । किलोमिटर र माइल मात्रै हुन्छ । ल्यान्डमार्क र डेस्टिनेसन हुन्छ । प्रेमरहित त्यही यात्राले विश्वको पहिलो अर्थतन्त्रमा चीनलाई लग्दैछ । यो कुरा दिइकोनोमिस्टको कभर कथाले भनेको हो ।

गंगामा पानी यति धेरै बगेछ कि अहिले त्यही पानी खाएर हुर्केको भारतीय कम्युनिस्ट पार्टी माओवादीले चिनियाँ सरकारलाई ठाडै गाली गर्दो रहेछ, जसरी नेपालका प्रचण्डले कुनै बेला अमेरिकालाई गर्थे । यो कुरा नपचे पनि पचाउनैपर्छ । भारतीय कम्युनिस्टका लागि चीन गलत छ । तर माओ गलत छैनन् । चीनले देङ स्याओ पिङलाई समेत सही भन्न छाड्यो । सी जिन पिङले अब जित्ने अमेरिकालाई हो । हार्न कसैसँग पर्दैन । माओको देशले अमेरिकालाई जितेपछि त्यो जितमा हाम्रा मोहनविक्रम सिंह र मोहनचन्द्र अधिकारीको फुटनोट के होला रु नेपाली माओवाद निश्चित छैन ।

‘तपाईं पनि राजनीतिमा रु’ धेरै जवानलाई अझ धेरैले सोधिरहने राष्ट्रिय प्रश्न बन्दैछ यो । प्रश्नमा शक्ति छ । यही प्रश्नले भुटान र पाकिस्तानभन्दा अगाडि लैजान्छ देशलाई ।

Write a Comment

Events
Random Picks