संगते जायते फल:
6-January-2019

– महेश भण्डारी

‘तपाई अहिले क–कसको सँगतमा हुनुहुन्छ र के–कस्तो किताब पढ्नु हुन्छ त्यसले अब ५ वर्ष पछि तपाई कहाँ पुग्नु हुन्छ र के गर्नु हुन्छ भन्ने निधो गर्छ ।’

कुनै एक दार्शनिकले भनेको उपरोक्त कथनलाई सिरानी बनाएर विवेकशील साझाका केन्द्रीय सदस्य एवम् चर्चित मोटिभेसन स्पीकर अब्दुस मियाले हालै पोखरामा आयोजित ‘सफलताका आवाजहरु’ कार्यक्रममा आफ्नो सेसन सुरु गरेका थिए । अध्ययनशील अब्द्सलाई भिडियोभन्दा बाहिर प्रत्यक्ष सुन्न म पोखरा उद्योग वाणिज्य सँघको प्रेक्षालयमा पुगेको थिएँ । अबको ५ वर्षपछि कहाँ पुगिन्छ भन्ने हेक्का हर कोहीले लिएको राम्रो । राजनीति गर्नेको लागि चाहिँ अनिवार्य हेक्का हो यो । 

 

हाम्रा नेताहरुको दैनिकी एक पटक मागी हेरौँ त । सायद उनीहरुको हरेक बिहान अमिलो कागती चुसेर सुरु हुन्छ ह्याङ्गओभरबाट उत्रन । कार्यकर्ताको सेवा गर्दै सिँगो दिन सकिन्छ । व्यापारीको मेवा खाँदै झम्के साँझ सकिन्छ । बाँकी रह्यो निख्खर रात । अब सुत्ने कि देशको बारे चिन्ता लिने ? पढ्ने तालिका खोई ? विज्ञहरुसँग परामर्श लिने समय खोई ? असल मान्छे र भलो चाहने शुभचिन्तकसँग गर्नु पर्ने सत्सँग खोई ? इमान्दर विपक्षी, आलोचक समकक्षीका कुरा सुन्ने महौल खोई ?   

 

गण्डकी प्रदेशस्थित कास्कीका जनतामाझ लोकप्रिय नेता रवीन्द्र अधिकारी यतिखेर विवादित छन् । मन्त्री बनेपछि उनका दुईचार वटा सतही अन्तरवार्ता र हलुका सम्भाषण सुनेपछि म छट्पटिएको थिएँ । पर्यटकीय जिल्ला कास्कीका नेता पर्यटन मन्त्री भएपछि अब उनले रिसर्च गर्नु पर्छ, अब उनी गम्भीर हुनु पर्छ, कमसेकम ‘घुमफिर’ र ‘पर्यटन’ बीचको अन्तर बताउन सक्ने क्षमता उनीमा हुनु पर्छ भन्ने मलाई लाग्यो । टोल विकास समिती र आमा समूहका खादा र मालाले कमसेकम उनी अब छोपिनु हुँदैन । त्यसैले मैले उनलाई फेसबुकमार्फत् सार्वजनिक आग्रह नै गरेको थिएँ– ‘कमरेड, किताब पढ्नुस् । विज्ञहरुको सँगत गर्नुस् ।’ मेरो थप आग्रह थियो– ‘बरु बेगनासमा पुगेर माछा खानुस्, मल्टी प्लेक्समा मास्क लगाएर जानुस् र राम्रो सिनेमा हेर्नुस् ।’ अहिलेका रवीन्द्र अधिकारी उहिलेका रवीन्द्र अधिकारी होइनन् । उनी फरक रवीन्द्र अधिकारी हुन् । कुनै बेला पारस शाहकै जगजगी चलेको बेला उनी विरुद्ध लाखौँको हस्ताक्षर संकलनको अभियान चलाउने र चुनौतीपूर्ण सम्भाषण गर्ने रवीन्द्र अधिकारी हेर्दा हेर्दै ‘भई हाल्छ नि’, ‘यस्तो सानो कुरा नि गर्ने हो’ भन्दै हाट्हुट् र आलटाल गर्ने रवीन्द्र अधिकारीमा कसरी परिणत भए ?  

 

पोखरामा हुने सार्वजनिक सरोकारका प्रेस मिटबारे एउटा कुनामै बसेर अपडेट लिने पुरानो बानी अझै छुटेको छैन । गत मंसीर १० गते पोखरामा आयोजित एक प्रेस मिटमा पत्रकारहरु केशवशरण लामिछाने र भरत कोइरालाले सोधेका समय सान्दर्भिक प्रश्नमा उनेको उत्तर सुनेर सायद सबै कस्केली पत्रकार उदास र उदेक भए । वाइडबडी विमान खरिद अनियमिततामाथि मन्त्रीको मुखबाट ‘ब्लाक एण्ड ह्वाइट’ उत्तरको अपेक्षासहित सोधिएका प्रश्न थिए त्यहाँ । अक्सर आफ्नै जन्मभूमि उभिँदा नेताहरु साँचो र गाँठी बोल्लान् भन्ने अपेक्षा रहने गर्छ । बीपी र जीपीबाट पनि विराटनगरका पत्रकारले त्यही अपेक्षा गर्थे र सत्य ओकल्न लगाउँथे । तर ‘मैले टिमलाई अध्ययन गर्न लगाएको छु । उहाँहरुले अध्ययन गरेर मलाई बताउनु हुनेछ’ जस्तो कारिन्दा जवाफ मिल्यो एउटा जिम्मेवार मन्त्रीबाट । एउटा जनप्रतिनिधीले, एउटा जिम्मेवार मन्त्रीले सम्बन्धीत विषय आँफैले अध्ययन गरेको हुनु पर्छ । त्यसमाथि आफू विवादमा तानिएको विषयको अन्तरवस्तुबारे अरुलाई अध्ययन गर्न लगाउनु र प्राप्त सेकेण्ड हेण्ड सूचनाका आधारमा निर्णय ठोक्नु– सोच्नुस् त अनि नतिजा के निस्कन्छ ? निस्केको नतिजा हामी सबै सामु छर्लङ्गै छ । उपसमीतिको प्रतिवेदनका हरेक अक्षर, कमा र फुलस्टपले उनको चित्र र चरित्र कोर्दिएको छ ।  

 

मन्त्री बन्नुअघिसम्म उनी आफ्नो छवि निर्माणमा कस्सिएरै लागी परे । जुन छवि उनले समाज र मिडीयाका सामू बनाए, त्यही छविकै कारण कस्केली जनताले उनलाई ह्याट्रीक जीत दिलाए । पटके जीतअनुसार उनले पटके काम गर्न सकेनन् । उल्लेखनिय काम गर्न नसक्दा नसक्दै पनि उनको छवि हेरेर नै जनताले उनलाई जीतको निरन्तरता दिए । विद्यार्थी कालामा उनले पारस शाहविरुद्ध गरेको हस्ताक्षर अभियानले उनलाई एउटा आँटिलो र हक्की नेताको छवि निर्माणमा संजीवनीको काम गर्यो । अहिले लाग्छ त्यसको ब्याज उनलाई अपच हुने गरी प्राप्त भयो । चौतर्फी चर्चा पाए पनि बीचमा उनको मनमा भने एउटा गुनासो रह्यो– पार्टीले मलाई वास्ता गरेन । दुई तिहाई बहुमतको सरकारमा मन्त्री बनेपछि उनको त्यो गुनासो पनि बाँकी रहेन । विश्व इतिहासकै सबैभन्दा शक्तिशाली कम्युनिष्ट सरकार मध्येको एक सरकारमा पर्यटन मन्त्री भएर उनी जाँदा कास्कीस्थित उनका मतदाता सम्भवतः सबैभन्दा खुशी भए । 

 

वास्तविक राजनीति बल्ल सुरु हुँदै थियो । उनले गरेर देखाउने मौका र चुनौती बल्ल भेटेका थिए । स्थानीय बजेटमा सरकारी योजनामा भएका विकास निर्माणका झिनामसिना काम देखाएर जस लिने बानी परेका उनलाई अब देशको सिंगो पर्यटन क्षेत्र बनाउनु पर्ने अभिभारा काँधमा आएको थियो । मन्त्री बनेको १ वर्ष नपुग्दै उनको राजनीति अहिले धरापमा छ । एनसेल र तारागाउँ प्रकरण हुँदै वाइडबडी विमान खरिद अनियमिततासम्म आई पुग्दा रवीन्द्रको छबी धमिलो भएको छ । 

 

कारण अनेक छन् । मुख्य कारणमा जाँदा प्रष्ट देखिने दुई कारण हुन्– सँगत र अध्ययनको कमी । उनलाई अध्ययनशील मान्नेको जमात कम्युनिष्टमय नेपालमा ठूलो होला । तर पछिल्ला दिनमा उनले लेखेको पढ्ने पाठक र बोलेको सुन्ने श्रोता उनका कार्यकर्ता र शुभचिन्तक मात्रै हुन् । उनकै किताबलाई सरासर ३ पृष्ठ पढेपछि र उनको सम्भाषण जम्माजम्मी ५ मिनेट सुनेपछि जोकोही गहिराईमा होइन, सतहमा उत्रन्छ । एउटा नेताले बडो सकसमा जोरजाम गरी बनाएको क्रेज, कठीन समयमा खुइलेर जान्छ । अहिले भएको त्यही संकट हो । आफू मुछिएका प्रकरणबारे उनले दिएका टेलिभिजन अन्तरवार्तामा उनको प्रस्तुती वडास्तरको युवा नेताको भन्दा कमजोर देखियो । सायद कस्केली जनतालाई लाज लाग्यो, स्वयम् नेकपा पंक्तीलाई बेस्वाद । रवीन्द्रलाई लागेको हुनसक्छ, अघिल्ला दुई सरकार नै संलग्न भइसकेको वाइडबडी विमान प्रकरणबारे म त्यति गम्भिर बन्नुपर्ने छैन । गम्भीरताको अभावले सबै बिगार्यो । अध्ययन, अनुभव, कल्पनाशीलताले नै मान्छेलाई गम्भीर बनाउँछ । छापाका हेडलाइन, सम्झौता र मिटीङ्गका डेढलाइनको मात्रै अध्ययन, आमा समूह र बाल क्लबको उद्घाटनको अल्लारे अनुभव र प्राकृतिक शहरको मध्येभागमा अन्तराष्ट्रीय विमानस्थल बनाउँछु भन्ने अव्यवहारिक कल्पनाशिलताले राजनीतिलाई साथ होइन, घात गर्छ । 

 

वाइडबडी बिमान खरिद अनिमिततासँग जोडिएका अघिल्ला सरकारका किस्सा र अब रवीन्द्र अधिकारीले गर्नै पर्ने त्यागबारे मैले फेसबुक र ट्वीटरमा आफ्ना विचार प्रष्टसँग राखेको छु । त्यही कुरा दोहोर्याएर प्रिय पाठकको समय बर्बाद गर्न चाहन्न ।  

 

जाँदाजाँदै विवेकशील साझा पार्टीका एक संयोजक उज्ज्वल थापाले आफ्नो फेसबुकवालमा हालै सेयर गर्नु भएको ‘सँगत’ शीर्षकको एउटा दन्त्य कथा यहाँनेर राख्छु । ‘राम्रो गर्छु भन्ने मान्छेले कसरी बाटो बिराउन सक्छ वा फेरि कसरी आँफूलाई सच्याउन सक्छ’ भन्ने सारको कथा यस्तो छ–

 

एकादेशमा एउटा "राज-हात्ती" थियो- सुन्दर, शुशील, आज्ञाकारी । केहि दिनदेखि त्यो राजहात्ती एकदमै सन्किन लाग्यो । जसलाई पनि लात हान्ने, राजालाई पनि चढ्न नदिने । 

 

राजाको एक विवेकी मन्त्री रहेछन्। उसले के भएछ हात्तीलाई भनेर अनुसन्धान गर्दा पत्ता लागेछ कि हरेक रात त्यो हात्तीको बासस्थानको ठ्याक्क बाहिर दुई चोर आएर आगो ताप्दै बस्दा रहेछन् । अनि खासखुस कुरा गर्दा रहेछन् जुन हात्तीले सुन्दो रहेछ । बिहान भएपछि ती चोरहरू टाप कस्ने, फेरि बेलुकी आउने । अनि यता बिहानदेखि हात्तीको फेरि त्यहि उच्छृङ्खल ताल ।

 

यो देखेपछि मन्त्रीले जुक्ती गर्यो। ती दुई चोरलाई च्याप्प समातेर जेल हाल्यो। अनि त्यसको सट्टा उसले दुई सन्त-साधुलाई ल्याएर हरेक रात त्यहीँ हात्तीको छेँउमा राखेछ। 

 

अनि केहि हप्तासम्म हात्तीले साधुको गफ सुन्ने मौका पायो । त्यसपछि त हात्ती फेरि सुन्दर, शुशील, आज्ञाकारी, कर्मठ बन्न थालेछ। 

 

किन यस्तो परिवर्तन भयो भनेर सबैले सोध्दा मन्त्रीले एकै शब्दको उत्तर दिए: 'संगत'

 

कथाको सार : संगतले ने सबै फरक पर्छ। संगत/संगत मिलेरै संस्कार बन्छ । त्यहि भएर कुनै पनि संस्था, दल, सरकार, समाज बनाउदाँ पनि संगतले धेरै फरक पर्दछ।

 

(लेखक महेश भण्डारी विवेकशील साझा पार्टीका गण्डकी प्रदेश संयोजक हुन्।)

Mahesh Bhandari  https://twitter.com/MaheshhBhandari

https://www.facebook.com/MaheshBhandari.BS/

Write a Comment

Events
Random Picks