' क्याप्टेन ' अनमोलको अफसाइड !
11-March-2019

फिल्म समीक्षा 

महेश भण्डारी 

घटना २ वर्ष अघिको हो । चे ग्वेभाराको टि–सर्ट लगाएर बैदामे तालको किनारै किनार ठाँटिएर फोटो खिचिरहेका तीन जना किशोरहरूलाई मैले सोधेको थिएँ, ’बाबुहरू, तँपाईलाई चे ग्वेभारा को हुन् थाहा छ?’ उनीहरूको उत्तर थियो, ’थाहा छैन !’

’अनुमान गर्नुस् त, उनी को होलान् ?’ मैले आग्रह गरेँ । एकछिन गम खाएर उनीहरूले उत्तर दिए, ’सायद एक रक गायक हुन् ।’

’ए, त्यस्तो है !’ खै के सोचेँ, मैले ती किशोरहरुलाई ग्वेभाराको बारेमा बताउने आँट गरिनँ । ग्वेभारा चिनाउने त्यो उपयुक्त समय पनि थिएन सायद ।

घर फर्किँदा गाडीमा १० वर्षकी छोरी मानुषीले सोधिन्, ’बाबा, चे ग्वेभारा को हुन् र ?’ मैले आफूले जाने बुझेको चिनारी उनले बुझ्ने भाषामा बताएँ । ग्वेभाराको क्रान्ति–चरित्रको सकुशल व्याख्या गर्न नसकेको हुँला तर अब मेरी छोरीले चे ग्वेभारालाई कम्तिमा कुनै एक रक गायक वा सिने नायक ठाग्ने छैन भन्नेमा ढुक्क भएँ ।

’उत्तर आधुनिक’ समाज, राजनीति र चेतना ट्रोल र टिसर्टमा जीवित छ । हाम्रो समयको संगीत, साहित्य र सिनेमा ’हाफ गर्लफ्रेण्ड’ जस्तो छ जसको पुस्तक पनि चल्छ, सिनेमा पनि चल्छ । चेतन भगतको चेतना र मोहित सुरीको सक्यता र दक्षतालाई विमर्श वा विवेचनाले होइन, बक्स अफिसको अंगगणित र युट्युब ’भ्युअर्स’ को संख्याले प्रभावित बनाउँछ । 

प्रकाशक र निर्माताको निधारमा गाँठो परोस् भनेर एउटा असल लेखक र निर्देशक पक्कै चाहँदैन ! हाम्रो समय निधारमा गाँठो नपार्ने मोलमोलाईको समय भएको छ । उपभोक्तावादको जगतमा पैसा नै कलाको परिचय भएको छ । 

सोच्छु, ’हाफ गर्लफ्रेण्ड’, ’नाइन्टी पर्सेन्ट ब्वोइफ्रेण्ड’, ’हण्ड्रेड पर्सेन्ट फादर’ यस्तै अनुपात, डिग्री सेल्सियस र फरेनहाइटमा युवाको चेतना उम्लिरहेको छ । संगीत, साहित्य र सिनेमा ताती रहेछ । घरिघरि त शरिर कमाउने ज्वरो आउँछ, तर पानीपट्टी गर्नु जो मनाही छ !

बजार बौलाहा छ । उसले आफ्ना ग्राहक र उपभोक्तासँग अन्तरवार्ता लिएर टिसर्ट बेच्दैन । कसैले चे ग्वेभारालाई चिन्नु र नचिन्नुसँग बजारको कुनै साइनो छैन । नाम चिन्नु मान्छे चिन्नु वा उसको चरित्र चिन्नु होइन भन्ने नजिर निकाल्न ग्वेभारा काफि बिम्ब हुन् । कसैले उनको क्रान्तिकारी छवीलाई सुको नचिने पनि दाह्रीवाल चे ग्वेभारा हाम्रो अनुज पुस्ताका स्टार हुन् । रक स्टार ।

‘हाफ गर्लफ्रेण्ड’को सम्बन्ध भनेको साथीभन्दा ज्यादा हो, प्रेमिकाभन्दा कम । तर, ठ्याक्कै हो के ? त्यता घोत्लिने फुर्सद छैन युवालाई । ट्रेन्डिङमा आएको भिडियो हेर्न छुट्यो भने पछी परिन्छ ! पछि नपर्नु युवाको एकमात्र उद्देश्य हो ।

दिमागमा ग्वेभारको इपिसोड उम्रिएको खास कारण ठुलो छैन । भर्खरै मात्र एक हप्ता अघिदेखि प्रदर्शन भईरहेको फिल्म ’क्याप्टेन’ हेरेको थिएँ । अनमोल केसी मेरा प्रिय नायक पनि भएकोले त्यसलाई ‘नहेरे पछी परिन्छ’ भनेर हलसम्म पुगेँ । त्यसो त मेरो प्रिय हुनु र नहुनुले अनमोलको बजारलाई खास अर्थ राख्दैन, न उनको पर्दाको परिचयलाई प्रभाव पार्छ । उनी आफैँ लाखौँ युवायुवतीका ढुकढुकी भैसकेका छन् ।

तै पनि म सोच्छु, अनमोल केसी चलेका नायक हुन् । त्यसैले ‘उनी अभिनित फिल्म दर्शकले किन हेर्ने ?’ भन्ने प्रश्नको प्रष्ट उत्तर अब उनीसँग हुनु जरुरी छ । यही र यस्तै प्रश्न चर्चित लेखक सलिम खानले आफ्नो छोरा सलमानलाई हरेक फिल्मको शुभ–मुहुर्तको बिहानीमा सोधेको हुनु पर्छ । सलमानलाई अभिनय आउँदैन, दुनियाँले भन्यो । सलिमले त्यही भनेको भए, सलमान सकिन्थे। यस्तो धर्मलाई भुवन केसीले पक्कै बुझ्छन् ।

फरक चकलेटी अनुहार, ड्रेसअप र स्टाइलमा कोरियन फ्लेबर, दुई–चार थान प्रेम संवाद र चुम्बन दृष्य . . . । अभिनेताका जिन्दगीका लागि यी स्थायी मसला होइनन् । उमेर छिप्पिदै जाँदा यी मसला उपभोक्तालाई खल्लो लाग्दै जान्छन् । उमेर कलाकारको मात्रै होइन, दर्शकको पनि छिप्पिँदै जान्छ ।

सिनेमाको मायावी संसारमा ’आफ्नो लाइन’ सजिलै स्थापित गर्न सकिने जिनिस चाहिँ होइन । नाम लिनेबित्तिक्कै प्रशंसकको दिल दिमागमा एउटा जबर्जस्त इमेज आउँछ । ब्याक टु ब्याक आधा दर्जन हिट फिल्म दिएका अनमोल केसीको नाम लिनासाथ तपाईँ हाम्रो दिमागमा आउने इमेज के हो ? सिनेमाको हिरोगिरीमा उनी केका लागि बनेका हुन् ? चकलेटी लभ व्वाई (’जेरी’, ’ड्रिम्स’)बाट एन्ग्री योङ व्वाई (’क्री’) हुँदै दुःख पाएको गरिब केटो (’क्याप्टेन’) सम्म आईपुग्दा अनमोलको आफ्नै लाइन क्लियर छैन ।

आफ्नो लिक छोडेको कलाकार हुन् आर्यन सिग्देल । अभिनय र अनुहार दुवै छ उनीसँग । उनको उल्टो दिन त्यही बेलाबाट सुरु भयो, जब उनले आफ्नो ’लभ–ब्वाइ’को रोल अरूलाई छाडे । एक्सन उनको गलत रोजाई थियो । आर्यन सिग्देललाई निखिल उप्रेती बन्नु जरुरी थिएन । उनी जे बन्न खोजे दर्शकले उनलाई त्यो बनाइदिएनन् ।

अग्रजको आग्रह आईरहन्छ । समीक्षकको सल्लाह मिलिरहन्छ । आलोचक गाली गरिरहन्छन् । तर, आफू स्थापित हुने लाइन के हो त्यसलाई फुत्कन नदिई अगाडि बढ्नु नै एउटा स्टारको एटिच्युड हो ।

अनमोलको स्टारडममा एउटा ताज्जुबको स्टन्ट भएको छ ’क्याप्टेन’ । खेल विधा (स्पोर्टस् जनरा) को फिल्म हो यो । यसअघि खेल विधामा नेपाली फिल्म नबनेका होइनन् । ’डमरुको दण्डीबियो’ नेपालको मौलिक खेल दण्डीबियोमा केन्द्रित फिल्म हो । यसैगरी क्रिकेट खेलसँग सम्बन्धित विषयवस्तुलाई लिएर ३ वर्षअघि ’च्याम्पियन’ नामक फिल्म बनेको थियो । तर ’च्याम्पियन’को त्यति चर्चा हुन सकेन । ’दण्डीबियो’को चर्चाचाहिँ भयो, तर व्यापार चर्चा अनुसारको भएन ।

’क्याप्टेन’को चर्चा पनि भयो, कमाई पनि भयो । फिल्मका वितरक मनोज राठी यदि गलत छैनन् भने ’क्याप्टेन’ले सुरुको तीन दिनमा दुई करोड चालिस लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । फिल्म अझै देशभरका हलमा संचालन भईरहेको छ । पछिल्लो ग्रस कलेक्सनबारे मिडिया मौन छ ।

फिल्म प्राविधिक रूपमा कमजोर छ । पाश्र्व ध्वनी, डबिङ र भिएफएक्स झुर छ । तैपनि कथाले दर्शकलाई कर्कश बनाउँदैन । सुनिल थापा, सरोज खनाल, सूर्यमाला शर्मा, राजाराम पौडेल र प्रशान्त ताम्रकारजस्ता चलेका अनुहारले दर्शकको सेन्टीमेन्टलाई पकड्छन् ।

कथामा के छ ? संघर्षको कथा छ । गरिबी, आमाको विपरित ईच्छा र प्रतिकूल परिस्थितीसँग लड्छ, इसान खड्का (अनमोल केसी) । उसको डिएनएमा छ फुटबल । फुटबलप्रतिको प्यासन र आफ्नो बिरामी बुबाको आशिर्वादले उसलाई दृढ निश्चयी बनाउँछ । तर, परिवारको खुशी र आमाको मायाका लागि उसले आफ्नो रहरसँग सम्झौता पनि गर्छ । कथाको सेरेफेरो यसैमा कुदेको छ ।

कथा सुखान्तक छ । इसानले उद्देश्य हाँसिल गरेरै छाड्छ । धन–दौलत, मान–सम्मान, माया–प्रेम सबै पाउँछ। झापाको एउटा सामान्य परिवारको ठिटो आफ्नै मिहिनेत र प्रतिभाका कारण स्टार बन्छ । प्रेमिकाको साथ, साथीभाई र कोच लगायत टिमको विश्वासले उसलाई सफलता मिल्छ । कथा यही हो । प्रेम छ, वियोग छ । पारिवारिक बाध्यता र परिस्थीतिजन्य अबरोध छ । तर, इसानको प्यासन सबैभन्दा माथी छ ।

अनमोल केसी फुटबलर होइनन् । अभिनयका अलावा बरु उनी गायक हुन् । तर, आफ्नो छैटौँ फिल्मका लागि एउटा फुटबलरको कथा रोज्नु उनको दुस्साहस हो । राम्ररी फुटबल नखेलेको कलाकार ’हरि खड्का’ बनेर फिल्मको लागि मैदानमा उत्रँदा सामान्य मिहिनेतले पुग्दैन । यो काम कुनै कलाकार एउटा वकिल, नेता वा व्यापारी बनेर खेलेजस्तो सजिलो काम होइन । १८ वर्षको उमेरमा फिल्म इण्डस्ट्रीमा छिरेका अनमोल अहिले २४ वर्षका नायक हुन् । यो छोटो अवधीमा उनले खेलेका ६ चलचित्रमध्ये ’क्री’ मा फाइटर बन्नु र लगत्तै ’क्याप्टेन’मा फुटबलर बन्नु भनेको फिल्ममा केही फरक गरेर देखाउँछु भन्ने उनको कमिटमेन्ट र कन्फिडेन्स हो ।

खेल ’जनरा’मा सफल फिल्म बनाउनु गाह्रो काम हो । आफैँमा फुटबलर हुन् जोन अब्राहम । तर, उनी अभिनित ’द गोल’ एउटा काम चलाऊ मुभीमात्रै बन्यो । घाटामा गएन, तर चर्चा पनि पाएन । अनमोल फुटबलर होइनन्, एउटा खेलाडीको रोलमा उनी मैदानमा भिड्दा उनलाई भएको सकस अनुमान गर्न सकिन्छ । तथापि दुश्साहस प्रशंसनीय छ ।

अब कुरा आउँछ, अघि मैले माथी उल्लेख गरेजस्तै स्थापित लाइनको । कलाकारले सबै चरित्रमा अभ्यास गर्नु सुन्दा राम्रो सुनिए पनि व्यवहारत यो कठिन काम हो । आफूलाई स्थापित गर्नु भनेको आफ्नो नामलाई होइन, चरित्रलाई स्थापित गर्नु हो । आफ्नो इमेज र एटिच्युडलाई स्थापित गर्नु हो । 

अनमोल केसी टिसर्टको ’चे ग्वेभारा’ झैँ सबैको छातीमा सजिने तर उनको परिचय स्वयम् सजाउनेहरूलाई थाहा नहुने ’बिम्ब’ नबनून् !

महेश भण्डारीलाई फलो गर्नुस : https://twitter.com/maheshhbhandari

Write a Comment

Events
Random Picks