भारतलाई घुँडा टेकाउने मौका यहि हो : सौरभ 'अन्तर्राष्ट्रिय अदालतमा भारतलाई उभ्याउनुपर्छ'
23-September-2015

चिरञ्जीवी पौडेल
प्रखर राष्ट्रवादी धारका लेखक हुन् सौरभ । राजनीतिदेखि कूटनीतिसम्म, विज्ञानदेखि अध्यात्मसम्म सौरभको ज्ञानले नभेटेका क्षेत्र सायदै होलान् । यद्यपि उनी कमै लेख्छन् । जब लेख्छन्, एक किसिमको तरंग ल्याइदिन्छन् । खोला कतातिर बगेको छ भन्नेतिर चासो दिँदैनन् । आफू त्यतै बग्छन्, जता उनलाई बग्नु छ ।

भारतले नेपालको संविधान निर्माणका विषयमा चेतावनीपूर्ण विज्ञप्ति जारी गरेपछि अन्तरवार्ताका लागि सौरभको घरमा पुगियो । उनी अखबारहरुबाट घेरिएर बसेका थिए । ‘नेताहरुले के गर्लान् त अब ?’ उत्तरको खोजीमा गएको पंतिकारलाई उल्टै प्रश्न सोधे । भारतविरोधी भनेर चिनिने सौरभ अन्तरवार्ताका क्रममा भारतीय शैलीको खरोरुपमा प्रस्तुत भए ।

छिमेकी देश भारत नेपालप्रति अहिले जून शैलीमा प्रस्तुत भइरहेको छ, तपाईंको दृष्टिमा यो कति प्रतिशत कूटनीतिक र कति प्रतिशत गैरकूटनीतिक हो ?

सत्प्रतिशत गैरकूटनीतिक र तुच्छ व्यवहार हो यो । कुनै पनि देशले संविधान बनाउँदा आफ्नो राष्ट्रिय हित र अखण्डतालाई विचार गर्छ । आफ्नो स्वविवेक, स्वनिर्णयमा संविधान बनाउने हो । संविधान यस्तो बनाउ, उस्तो बनाउ, फलानोसित वार्ता गर, ढिस्कानोलाई सहमतिमा ल्याउ भनेर आदेशको शैलीमा बोलिरहनु भारतको हेपाहा प्रवृत्ती हो । भारतको संविधान बन्दा नेपाल एक स्वतन्त्र देश थियो । तर, नयाँ बनिरहेको भारत नामक देशको संविधानमा यस्तो हुनुपर्छ र यस्तो हुँदैन भनेर नेपालले भनेको थियो र ?

यसो सोच्दा, नेपालको संविधानलाई भारतले खुला दिलले स्वागत गर्न नसकेको चाहिँ किन होला जस्तो लाग्छ ? यो नेपालका मधेसी जनताप्रति उसको मायाप्रेम मात्रै हो कि अरु पनि केहि हो ?

भारतले तराईमा बस्ने भारतीय मूलका नागरिकको चिन्ता लिएकोभन्दा पनि तराईंको उर्बर जमीनमा आँखा गाडेको हो जस्तो लाग्छ । चुरेभन्दा तलको भूभागमा आफ्नो वर्चश्व जमाउने उसको पहिलेदेखिकै मनशाय हो । नाम नेपालको भए पनि यस क्षेत्रमा नियन्त्रण आफ्नो होस् र त्यसमार्फत चुरेभन्दा माथिको भागलाई पनि अँचेटीराख्न सकियोस् भन्ने उसको अभिष्ट छर्लङ्गै छ । तराईको भूभागमा भारतले आँखा गाड्नुका धेरै कारण छन् । त्यहाँ पानी छ, रोडा, बालुवा छ । खेतियोग्य जमीन छ । पेट्रोलको सम्भावना छ । तराईमा खनिज पदार्थको सम्भावना केके छन् हामीलाई भन्दा उसलाई धेरै ज्ञान छ । उसित प्रविधि छ, पैसा छ । यो सबै उसलाई भोग गर्नुछ ।

 

तर, नेपालको संविधानमा पनि भारतका चासो र स्वार्थका विषयहरु होलान् नी ?

छन् । उसको सबैभन्दा ठूलो स्वार्थ संघीयता नै हो । नेपालमा संघीयता भित्र्याउने नै भारत हो । त्यतिबेला गिरिजाप्रसादले साना पार्टीसित तीन रामहरु

(रामवरण, रामचन्द्र र रामशरण)लाई छलफल गर्न लगाएका थिए । त्यो छलफलमा अहिलेका राष्ट्रपति राववरणले नै खुलासा गरेका थिए,

भारतले संघीयताका लागि थाम्नै नसक्ने दबाव दिइरहेको छ भन्ने कुरा ।

भारतले नेपाललाई संघीयतामा जान दबाव दिनुको मूल उद्देश्य तराईलाई स्वायत्त बनाउनु थियो । सप्तरीदेखि पर्सासम्मको क्षेत्रलाई स्वायत्त मधेस प्रदेश बनाउने र त्यहाँ आफ्नो पूर्ण वर्चश्व कायम गर्ने उसको योजना पूरा भएन । संविधानमा उसले चाहेको जस्तो संघीयता आइदिएन । त्यसैको झट्का लागेको होला भन्ने लाग्छ मलाई । उसको पहिलो विज्ञप्तिमै आशय प्रष्ट थियो । तर, नेपालीले बुझेनन् भनेर होला दोस्रो विज्ञप्ति जारी गरेर बुझ्ने भाषामा भनिदियो ।

 

रिसाएको भारतले अब के-के गर्न सक्छ भन्ने लाग्छ तपाईंलाई ?

प्रष्टै छ, अत्यावश्यक वस्तुहरुमा नाकाबन्दी गर्न सक्छ । उसले नाकाबन्दी घोषित रुपमा होइन, अघोषित रुपमा गर्ने छ । बिहारमा दुई-तीन हप्ताको चुनाव छ । चुनावको बेला नेपालको तर्फबाट अशान्ति हुन सक्छ भनेर बहाना बनाइरहेको त्यसैका लागि हो । जबसम्म नेपालले घुँडा टेकेर उसका कुरा मान्दैन, संविधानमा संशोधन गर्दैन, तबसम्म नाकाबन्दी जारी राख्न सक्छ ।

दोस्रो कुरा, अन्तर्राष्ट्रिय स्तरमा नेपालको कूटनीतिक पहुँच र उपस्थिति असाध्य कमजोर छ । यसको फाइदा उठाउँदै भारतले विश्वव्पापी रुपमा ‘डिप्लोम्याटिक म्यानुपुलेसन’ गरेर नेपाल नै अर्घेलो हो भन्ने दुष्प्रचार गर्न सक्छ । त्यसको डिफेन्स गर्न सक्ने शशक्त च्यानल नेपालसित छैन् । पाकिस्तानलाई त अप्ठेरो पारिरहेको छ ।

यदि भारतले नाकाबन्दी लगायो भने नेपाली कसरी बाँच्ने ?

इन्डियाले कूटनीति खेलेर खाना पकाउने ग्यासमा नेपाललाई आफूमाथि डिपेन्डेन्ट गरायो । नेपालमा जलविद्युत विकास गर्न नदिने पनि इन्डिया नै हो । तर, यसको अर्थ नाकाबन्दी गर्‍यो भने हामी बाच्दैनौं भन्ने होइन । सोलारले पकाउँछौं वा केले पकाउछौं हामी खाना पकाएरै खान्छौं । साइकल चढ्छौं वा पैदल हिँड्छौं हामी आफ्नो यात्रा जारी राख्छौं । पेट्रोल त हर्कुलस प्लेनमा हालेर बंगलादेशबाट ल्याउन पनि सकिन्छ । हर्कुलस प्लेनमा हालेर अमेरिकाले अलास्कामा पेट्रोल पुर्‍याउँछ । जून देशमा हिमाल छ, १३ वटा मौसम छ, साहसिक पर्यटनको यत्रो स्कोप छ भने, त्यो देशले आफैं बाँच्न किन सक्दैन ?

विगतमा पनि त दुई-दुई पटक इन्डियाले नेपालमा नाकाबन्दी लगाएकै हो । सन् १९६९ मा राजबाबु भन्ने कूट्रनीतिज्ञ थिए नेपालमा । त्यतिबेला लगाइएको नाकाबन्दी अन्तमा भारत आफैंले वाध्य भएर खोलेको हो । नेपालीलाई आफूले सामान नदिँदा चीनबाट ल्याउला भनेर पछि हटेको हो । १९८९ मा पनि हामी दुई महिना अडेको भए इन्डियाले घुँडा टेक्ने स्थिति थियो ।

केहि दिन, केहि महिना र केहि वर्ष दुःख हुन सक्छ । दुःख झेल्नुपर्छ । त्यसपछि हामी स्वाबलम्बि बन्नेतर्फ लम्किन्छौं । विकल्पहरु खोज्छौं । देशभित्रै उद्योगधन्दाहरु निर्माण हुन्छन् । रोजगारी सिर्जना हुन्छन् । विदेशमा मजदुरी गर्न गएका नेपाली फर्किन्छन् । १० वर्ष, २० वर्षमा हामी त्यो ठाउँमा पुग्छौं कि भारतले हामीलाई हेर्न टाउको माथि उठाउनुपर्छ । म त भन्छु, नेपाली नेताहरुले अब आइन्दा विश्वको नक्शामा भारत भन्ने देशै छैन भनेर सम्झिए समस्या समाधान हुन्छ ।

 

भारतसित तनाव बढ्दा त्यहाँ रहेका लाखौं नेपालीहरुले दुःख पाउने दिन त आउँदैन ? सीमाक्षेत्रमा दैनिक आवतजावत् गर्ने नेपालीहरुमाथि ज्यादति अझै बढ्ने त होइन ?

त्यो खतरा छ । त्यसैले मैले बारम्बार वकालत गर्दै आएको छु कि नेपाल र भारतबीचको बोर्डर सँधैका लागि सिल गर्नुपर्छ ।

तर, नेपाल र भारतबीच रोटीबेटीको सम्वन्ध छ भन्ने गरिन्छ । धेरै ठाउँहरुमा नुनतेल किन्न पनि नेपालीहरु भारतको बजारमा जानुपर्ने अवस्था अझै छ । बोर्डर बन्द गर्दा नेपाललाई पनि त नोक्सान होला ?

हिजोको दिनसम्म डुमिनिकल रिपब्लिकका ५० हजार मान्छे सिजनमा हाइटीमा उखु काट्न जान्थे । तर, हाइटी र डुमिनिकाको बोर्डर बन्द छैन र ? अहिले नर्थ अफ्रिकाको सहारामा साल्ट रुट भन्ने छ ।

त्यो साल्ट रुट माथि नाइजरदेखि सुरु भएर मोरक्को ट्यूनिसियामा आएर टुंगिन्छ । कयौं देश पार गरेर त्यहाँ नूनका ढिक्का ल्याउँछन् । तर, मोरटानीया, मोरक्को, ट्यूनिशीया, लिबियाको बोर्डर बन्द छैन र ? सहारा मरुभूमिमा पनि बोर्डर बन्द छ । मंगोलिया पुरै मरुभूमि छ तर चीनबाट कति सामान लिएर जान्छ ? तर मंगोलिया र चाइनाको बोर्डर बन्द छैन र ?

संसारमा सीमा जोडिएका मुलुक नेपाल र भारत मात्रै हुन् त ? अरु कसैलाई खुला सीमा आवश्यक नपर्ने, हामीलाई मात्रै आवश्यक पर्ने किन ? यो त नेहरुले ‘इम्पोज’ गरेको न बोर्डर हो । बोर्डर बन्द गर्न नसक्नु नेपालको कमजोरी छ । उनीहरुलाई त खुला हुँदैमा स्वर्ग छ नी । तराईमा राज गर्न पाएका छन् । तर, नेपाललाई यसले हानी मात्रै गरेको छ ।

जहाँसम्म रोटीबेटीको सम्वन्धको कुरा छ, यो पनि भारतले जबरजस्ती थोपरेको हो । भौगोलिक रुपमा नजिक र संस्कृति पनि मिल्ने भएकाले बिहेबारी हुनु स्वभाविकै हो । तर समग्र भारतीय जनता नेपाली जनताप्रति सद्भावना राख्दैनन् । सीमाक्षेत्रका भारतीयको व्यवहार हेर्दा त नेपालीलाई दुःख दिनलाई नै जन्मेका हुन् कि भन्ने पनि लाग्छ । म फेरि पनि भन्छु, बोर्डर बन्द गरेको दिन नेपालका आधा समस्या हल हुन्छन् । विगतमा भारत र बंगलादेशको सिमाना खुला थियो । दुई देशबीच गोली हानाहान भएपछि काँढेतार लागेको हो ।

नेपालका नेताहरुले हिम्मत देखाउनुपर्छ । भारतले मानेन भने यो इस्यूलाई अन्तर्राष्ट्रियकरण गर्न पनि हिच्किचाउनुहुन्न । नेपाले विगतमा अन्तर्राष्ट्रियकरण गर्न नसकेर धेरै ठाउँमा धोका पाएको छ । अन्तर्राष्ट्रिय जगत भारतलाई नंग्याउने किन हिच्किचाउने ? छुद्रसित सँधै भलाद्मी व्यवहार गरेर साध्य हुँदैन । भारतसित एक न एक दिन हामीले लडेरै जानुपर्छ । त्यो लडाई लड्का लागि अहिले उपयुक्त मौका छ ।

तपाईंले भनेजस्तो भारतसित नेपालले सोझै टक्कर लिन सम्भव छ ? उसको सामरिक क्षमताको हामीसित तुलनै हुँदैन । साढे र बाछोको लडाई जस्तो त नहोला ?

सुरुमै भौतिक लडाई लड्ने कुरा गरेको होइन मैले । कूटनीतिक रुपमा लड्ने हो । यो अत्यन्त सम्भव छ । एउटा उदाहरण हेर्नुस, रुस र जर्मनीले पोल्याण्डलाई काटाकाट गरेर बाँडेर लिए । आफ्नो भूभाग दिन्न भनेर सातपल्ट मुर्छा परे पोल्याण्डका प्रधानमन्त्री । आठौं पटकमा पानी छ्यापेर सहि गर्न लगाइयो । पछि पोल्याण्ड यसरी म्यापमा फर्केर आयो कि पहिले जर्मन एकिकरण गर्ने बेलामा सिलेसियन पार्टमा दावी गर्दिन भनेर कबुल गरेपछि मात्र पश्चिम जर्मनी पूर्वी जर्मनीसित मिल्न पायो ।

संसारमा साना देश थुप्रै छन्, जसले ठूला महाशक्तिसित नझुकिकन आफ्नो सम्प्रभूता रक्षा गरेका छन् । कूटनीतिक रुपमा लडेर आफूलाई जोगाएका छन् । नेपाल यूएनको सदस्य र यत्रो इतिहास भएको देश हो । विश्वकै पुरानो झण्डा भएको देश हो । इन्डिया त अस्ति भर्खर जन्मेको नेपालको कान्छो भाई होइन र ? उसित कति झुक्ने ? कति हेपिने ? कति लत्रिने ?

हाम्रा पुर्खाहरुले ठूला महाशक्तिहरुसित लडेर जोगाएको देशलाई हामीले यति सजिलै इन्डियाको पाउमा चढाउनु हुँदैन । आवश्यक पयो भने भौतिक लडाई पनि लड्नु पर्छ । भारतजस्तो सहमतिमा बनेको देश होइन हाम्रो । हामी त लडेरै बनेको देश हो । लडेर जोगाएको देश हो ।

नरेन्द्र मोदी नेपाल आउँदा निकै मिठा गफ गरेर नेपालीहरुको प्रशंसा लुटेका थिए । तीनै मोदीको पालामा भारत यसरी कठोर रुपमा प्रस्तुत भएको छ । तपाईंलाई के लाग्छ, मोदीलाई भारतको प्रशासनयन्त्रले नचाइरहेका हुन् कि मोदी स्वयम् कुटिल चरित्रका नेता हुन् ?

मोदी भनेको पनि एक भारतीय नै हुन् । उनी नेपाल आउँदाको भाषण भनेको पाठोको ज्यान लिन ब्वाँसोले मिठो बोली गरेजस्तो मात्रै हो । भारतको वैदेशिक नीति र व्यवहार राजनीतिक दल वा नेताले भन्दा सुरक्षा अंगहरुले निर्धारण गर्छन् । मोदी एक्लैले यसलाई परिवर्तन गर्न सक्ने कुरा थिएन । गोठालो फेरियो भन्दैमा गोरु गाइमा रुपान्तरण हुँदैन् ।

विश्वका शक्तिशाली भनिने देशहरु अझै पनि भारतको आँखाबाट नेपाललाई हेर्छन् भनिन्छ । के यो संविधानले अन्तर्राष्ट्रिय मान्यता पाउन कठिन छ ?

त्यस्तो पनि होइन । अन्तर्राष्टिय मान्यता त नपाउनुपर्ने कारण छैन । यद्यपि भारतलाई खुशी पार्न खोज्ने देशहरुले खुलेर समर्थन नगर्न सक्छन् । किनभने उनीहरुका लागि भारत एउटा ठूलो बजार पनि हो । भारतलाई चिढ्याउँदा उनीहरुलाई बेफाइदा हुन्छ । यतिबेला नेपालले अन्तर्राष्ट्रिय मञ्चहरु प्रयोग गरेर आफ्नो नयाँ संविधानलाई चाँडोभन्दा चाँडो स्थापित गर्न प्रयत्न गर्नुपर्छ । प्रधानमन्त्री आज यूएन जानुपर्थ्यो  र त्यहाँको मञ्च प्रयोग गरेर अन्तर्राष्ट्रिय समुदायको अगाडि भारतलाई नंग्याउनु पर्थ्यो ।

अहिले मधेसमा जारी आन्दोलनलाई कति स्वतस्फुर्त र कति प्रायोजित मान्नुहुन्छ ? के मधेसी जनताले नै यसरी हिंसात्मक प्रदर्शन गरिरहेका हुन् त ?

मेरो विचारमा १० प्रतिशत स्वतस्फुर्त र ९० प्रतिशत प्रायोजित आन्दोलन हो । तराई आन्दोलनको नेतृत्व नै पारीबाट आएका मान्छेले गरिरहेका छन् । राजेन्द्र महतोले २०२७ सालमा र उनका बाबुले २८ सालमा नेपाली नागरिकता लिएका हुन् कि होइनन् ? उनलाई कति नेपाली मान्ने ? उनले खुलेरै आफूलाई भारतवादी भन्ने गरेका छन् । भारतीय गृहमन्त्रीले सार्वजनिक रुपमै भने नेपालमा १ करोड भारतीय छन् । पछि विरोध आएपछि खण्डन गरे ।

खुल्ला बोर्डरबाट छिर्ने र नेपालको नागरिकता किन्ने अनि ठूलो मान्छे बन्नेहरु धेरै छन् । किनकी बिहारमा उनीहरुलाई कसैले गन्दैनन् । भारतमै भएको भए राजेन्द्र महतो बढिमा एउटा अड्डाको चप्रासी हुन्थे होला । नेपालमा इन्डियाको आड लिएर अवसर लुटेका छन्, पैसा कमाएका छन्, धाकधम्की गरेका छन् । मैले के सुनेको छु भने हिजो तस्करी गर्न नदिने प्रहरीलाई अहिले तराईमा छानिछानि मारिएको छ । व्यक्तिगत दागा धरेर गरिने हिंसा पनि कुनै आन्दोलन हो ? मेरो दृष्टिमा त यो आन्दोलन होइन अपराध मात्रै हो ।

खुला सीमाले गर्दा तराईमा को वारीको र को पारीको चिन्नै नसकिने अवस्था छ । इन्डियाले बोर्डर खुला राखेर चिन्नै दिँदैन । यसको बेफाइदा मधेसी जनतालाई नै भइरहेको छ । उनीहरुलाई पहिचानको संकट परेको पनि खुला सीमाले गर्दा नै हो । तर मधेसी दलहरु सीमा बन्द गरिदेउ भनेर कहिल्यै भन्दैनन् । यदी सीमा बन्द गरिदियो भने १० वर्षपछि तराईमा बसेका नागरिक सबै मुलधारमा मिसिन्छन् । उनीहरुलाई कसैले पनि भारतीय ठान्दैनन् । सबै नेपाली एकनास हुन्छन् ।

आन्दोलन उठाउन नसकेपछि मधेसवादी पार्टीले भारत गुहारेका हुन् । खुला सीमाबाट हजारौं भारतीयहरु नेपालभित्र पसेर मधेसी आवरण उपद्रव मच्चाइरहेका छन् । थारुहरुलाई पनि यसमा मिसाउने प्रयास गरिएको छ । विजय गच्छेदारको पार्टीभित्र जितेन्द्र देवलाई यसै घुसाइएको थिएन । तराईको विखण्डनको एकजना आर्किटेक्ट उनी हुन् ।

सद्भावना पार्टीको झण्डा हेर्नुस्, ठ्याक्कै भारतको राष्ट्रिय झण्डा जस्तो छ । यस्तो कुनै राष्ट्रवादी नेपालीले पचाउन सक्छ ? भारतको झण्डा बोकेर नेपालमा राजनीति गर्ने ?

तराईमा जारी तनावलाई चाहिँ कसरी हल गर्ने ?

आफ्नो सुविधा अनुसार, सोचअनुसार र नीति अनुसार हल गर्ने हो । भारतले दवाव दियो भन्दैमा मधेसी नेताहरुका घरघरमा चहारेर रोइकराई गर्नुपर्ने केही थिएन । नेताहरु चिप्लिदाचिप्लिदै एउटा विन्दूमा टक्क अडेका छन् । संयोगले अडिएका पनि हुन सक्छन् । तर, यति नअडेको भए संविधान कदापि बन्दैनथ्यो । अब फेरि चिप्लिएर रसातलमा पुग्ने कि यहि बिन्दूमा अडिएर बस्ने भन्ने प्रश्न छ । यो हाम्रा नेताहरुको गम्भीर परिक्षाको घडी हो । जनताको पनि परिक्षाको घडी हो ।

तैपनि, देशमा शान्ति आउँछ र भारतसित सम्वन्ध पनि सुध्रिन्छ भने आन्दोलनकारीका माग पूरा गर्नमै कल्याण छ कि त ?

यो माग पूरा गर्ने नगर्ने भन्दा पनि देश रहने वा नरहने भन्ने प्रश्न हो । यदि नेपाल भन्ने देश भाडमा जाओस् भन्ने हो भने जसका जे-जे माग पूरा गरिदिँदा पनि भयो । नेताहरु अहिलेको कुरामा अडेनन् भने संविधानलाई रद्दीको टोकरीमा फ्याकिदए हुन्छ ।

झापादेखि कञ्चनपूरसम्म एक मधेस नदिएर दलहरुले राम्रो गरेका छन् । यसबाट पछि हट्नै हुँदैन । राडीमा पिठो नमुछ्नु मुछेपछि खान नहिच्किचाउनु भनेजस्तै हो । पाकिसकेको संविधान खान हिच्किचाए भने अहिलेको नेतृत्वपंक्ति रहँदैन् । थारुहरु पनि त थरुहट मागेका थिए । तर, बिस्तारै चित्त बुझाइरहेका छन् । मधेसी जनतालाई सम्झाउनुपर्‍यो । आयातितहरुलाई लखेट्नुपर्‍यो ।

तपाईं यसो भन्नुहुन्छ, तर अहिले त तराईमा खटिएका सेना फिर्ता गर्नुपर्छ समेत भन्दैछ त भारतले ?

सरकारले सेना फिर्ता गर्नुपर्छ भन्ने कुरा वाहियात हो । अहिले राज्यले फौजी परिचालन गरेको होइन । सिडिओको अधिकारभित्रै पर्छ सेनालाई खटाउने कार्य । प्रहरीले शान्ति कायम गर्न सकेन भने सिडिओले सेना परिचालन गर्न पाउछ । यो माओवादीको युद्धमा परिचालन गरिएको जस्तो होइन ।

‘तैंले तेरो देशमा जनधनको सुरक्षा गर्न पाउँदैनस्, हाम्रा मान्छेले उपद्रव गर्न पाउनुपर्छ भन्ने कस्तो खालको माग हो ? अनि सरकारले त्यसलाई मान्ने ? एम्बुलेन्सबाट निहत्था प्रहरीलाई थुतेर मार्नेलाई सरकारले पदक दिने ? आफ्नो देशका जनतालाई सुरक्षा दिउँ कि नदिउँ भनेर भारतलाई सोध्न जाने ?

तैपनि, छिमेकीसित सम्वन्ध बिगार्नुभन्दा अलिकति लचिलो भएर सुधार्नतिरै जोड दिँदा राम्रो हो कि ?

सम्वन्ध बिगार्नै पर्छ भनेर म भनिरहेको छैन । मेरो भनाई ‘टिट फर ट्याट’ गर्नुपर्छ भन्ने हो । नेपाल र भारतको द्विपक्षीय सम्वन्ध समानताका आधारमा हुनुपर्छ भन्ने मान्यता हो । उसले चित्त दुखाउला, नराम्रो मान्ला वा रिसाउला भनेर हामी कहिलेसम्म निरिह बनिरहने ? कहिलेसम्म उसको गोडा मिचिरहने ? अलि दिन, रिसाउला, फन्किएला तर, अन्तमा खुइयय गर्दै मित्रताको हात लम्काउन बाध्य हुनेछ । वाध्य पार्नुपर्छ । क्यूवा जति ओरालो लागे पनि अमेरिका र क्यूवाको दौत्य सम्वन्ध बराबरीकै आधारमा हुने हो । नर्थ कोरिया र अमेरिकाको जति झगडा परे पनि अमेरिकाले यूएन जान लागेको नर्थ कोरियन डेलिगेसनलाई अन्तर्राष्ट्रिय मान्यता अनुसार नै सानफ्रान्सिस्कोमा ओराल्ने हो । देश ठूलो-सानो वा बलियो-कमजोर जे भए पनि बराबरीकै आधारमा सम्वन्ध राख्नुपर्छ ।

कत्तिको आशावादी हुनुहुन्छ नेतृत्वले अहिलेको भारतीय दवाव झेल्न सक्लान् भन्ने ?

कमै आशा छ । तर, यदि अडे भने सुखद आश्चर्य हुने छ । त्यसपछि हामी सुल्टो बाटो लाग्छौं ।

भारतको दवावमा आफ्नो सल्लाहरकारलाई राजीनामा दिन लगाउने, भारतले विज्ञप्ति जारी गर्नासाथ दौडेर महन्थ ठाकुरकहाँ पुग्ने सुशील कोइरालाबाट चाहिँ केहि आशा छैन ।

भावी प्रधानमन्त्रीको रुपमा चर्चामा आएका ओलीले सक्लान् त ?

ओलीको स्वभाव अडिने देखिन्छ । तर, उनको अघिपछि र दायाँबायाँ को छन् त्यो पनि हेर्नुपर्छ ? दाइने गोडामा छिर्के हान्न माधव नेपाल तयार छन्, देब्रेमा छिर्के हान्न देउवा तयार छन् । त्यसकारण सम्भावना कम देख्छु ।

के अब भारतले नेपालमा नयाँ संविधान लागू हुन देला त ? लक्षण त खराब देखियो ।

दबावलाई झेलेर, आन्दोलनलाई दवाएर जान नसक्ने हो भने संविधान कार्यान्वयनमा चुनौतिपूर्ण हुने देख्छु । यो एकदमै संवेदनशील समय हो । नेताहरुले भारतीय दबावसित झुकेर, लत्रिएर उसले भनेजस्तो, चाहेजस्तो गरी मधेसवादीसित सम्झौता गरे भने यो संविधानलाई रद्दीको टोकरीमा फ्याँकिदिए हुन्छ । राष्ट्रिय अखण्डताविरुद्ध हुने कुनै सम्झौतालाई जनताले मान्दैनन् ।

भारतले हेप्नुमा नेपाली नेता र राजनीतिक दलको कमजोरी केहि देख्नुहुन्न ?

नेताहरुले कमजोरीले त यो अवस्था आएको हो । नेताहरु मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री हुनलाई पनि विदेशी शक्तिकहाँ धाउँछन् । नेताहरुलाई मात्रै के भन्ने, मुख्यसिचिव, सचिव हुँदै सिडिओ, एसपी, डिएसपी, प्राध्यापक, डिपार्टमेन्ट चिफ हुन समेत भारतको गुलामी गर्नेहरु छन् ।

कुन देशका राष्ट्रपति साँझ बिहान बिदेशी कूटनीतिज्ञहरुबाट घेरिएर बस्छन् बताइदिनुस् त ? भारतबाट आएको एउटा उपसचिव स्तरको कर्मचारी सोझै शीतल निवास छिर्छ र राष्ट्रपतिलाई आदेश दिन्छ । राष्ट्रपति आदेश शिरोपर गर्दै तुरुन्त वक्तव्य जारी गर्छन् । जब राष्ट्रपति नै दास मानसिकतामा छन् भने अरुले के गरुन् ?

बरु राजतन्त्रकालमा भारत एउटा सीमामा बस्थ्यो । भारतीय राजदूत सोझै नारायणहिटी छिरेर राजालाई हप्काउने हिम्मत गर्दैनथे । अहिले त तराई मुलको राष्ट्रपति भारतलाई घरकी मुर्गी दाल बराबर भएको छ । राष्ट्रपति आफ्नो हैसियतमा बसेको भए यसरी हेप्न सक्ने थिएन ।

source:onlinekhabar

 

http://www.onlinekhabar.com/2015/09/330145/