धन्न, मैले फोटो खिचिन !!
20-May-2019

काठमाण्डौँ, जेठ ६

छोरी मानिस चिच्याएको आवाज आयो । निकै आत्तिएर चिच्याउँदै थिइन् । आवाज आएतिर हेरें । एक युवती कहालिँदै दौड्दै आइरहेकी थिइन् । साँझ साढे सात बजेतिरको कुरा हो, काठमाडौंको कालोपुलमा हिँड्दै थिएँ, यो दृष्य देखें ।

वटुवा म मात्र थिइन, अरु पनि थिए । सबै वटुवा हिँड्दाहिँड्दै टक्क अडिएका थियौं । ती युवती भुइँमा लडिन् । दौडँदै गएँ । दौडँदै उनी भए ठाउँ पुग्ने शायद म दोस्रो या तेस्रो मानिस थिएँ । 

युवतीको शरीरमा रगत देखियो । भएको के हो बुझ्नै सकिएन । मानिसहरु भीड लागिहाले । भीडको बीचमा म छोपिएँ । असाध्यै आत्तिएको थिएँ । 

थाहा भइहाल्यो, युवतीमाथि एसिड छ्यापियो । म स्तब्ध भएँ । युवती कहालिँदै थिइन्, चिच्याउँदै थिइन् । उनलाई ट्याक्सीमा हालियो । अस्पताल पठाइयो । 

म तेह्रथुमबाट काठमाडौं आएको केही दिन मात्र भयो । सौभाग्यवश सनराइज खबरमा आवद्ध भएर पत्रकार बन्न पाएँ । पत्रकार बन्छु भन्ने कहिल्यै सोचेको थिइनँ । तर, यो सौभाग्य जुर्यो । पत्रकार बन्ने सौभाग्य जुरे लगत्तै यो दुर्भाग्यपूर्ण दृष्य पनि देख्न पर्यो ।

बालुवाटार स्थित सनराइज खबर कार्यालयबाट हिँड्दै कोठा जाँदै गर्दा यो दर्दनाक दृष्य देखेको थिएँ । 

घाइते युवतीकी बहिनी पनि त्यहाँ आइन् । ती बहिनी पनि रुँदै थिइन्, कहालिँदै थिइन् दिदीको हालत देखेर । उनी करिब १३÷१४ वर्षकी थिइन् होला । रोएर बेहाल थियो उनको । उनलाई मैले र अर्का एकजना मानिसले नजिकैको प्रहरी बीट लगिदियौं ।

त्यहाँ भीड लागेका मानिसहरु के गरौं, कसो गरौं, के गरेर सहयोग गर्न सकिन्छ भन्नेमा केन्द्रीत देखिन्थे । म पनि उनीहरुजस्तै एक मानिस थिएँ ।

प्रहरीमा पुगेपछि उनले दिदीको नाम जेनी खड्का भनिन् । घर दोलखाको तामाकोशी गाउँपालिका भनिन् ।

बहिनीका अनुसार जेनीलाई विष्णु भुजेलले फोन गरेर बाहिर बोलाए । जेनीको डेरा एसिड छ्यापिएको ठाउँ नजिकै हो । 

प्रहरीले कति चाँडो एक्शन लिएछ भने तत्कालै घटनास्थलबाट रक्सीको क्वार्टर बोतलमा राखिएको एसिडको बोतल प्रहरी बीटमा ल्याइसकेछ । 

अस्पतालमा जेनीको स्वास्थ खतरामुक्त रहेको खबर त्यहाँ आयो । ती बहिनीले दिदी भएको अस्पताल पुराइदिनु भन्न थालिन् । मसँगै रहेका मानिसले मोटरसाइकलमा ओम अस्पताल पुराइदिने भए । उनलाई मोटरसाइकलमा राखियो तर ढल्छिन् भन्ने डर भयो । उनी चिच्याउँदै कहालिँदै रुँदै थिइन् । 

त्यसपछि उनलाई समाल्न म पनि मोटरसाइकलमा बसें । उनलाई बीचमा च्यापेर राखियो ।

ओम अस्पताल पुगियो । अस्पतालको इमर्जेन्सी कक्षमा जेनीलाई राखिएको थियो । हामी पुग्दा बोल्दै थिइन् । उनले जे बोलिन्, सुनेर मेरो आश्चर्यको सीमा रहेन ।

हामीलाई जेनीले भनिन्– ‘एसिड छ्याप्ने विष्णु मेरो लोग्ने हो, यसो गरिहाल्यो, उसलाई कुनै कारवाही नगरिदिनु ।’

त्यसबेलै जेनीकी आमा पनि आइपुगिन् । उनले जेनी आफ्नो माहिली छोरी हो, जेठीको बिहे भइसक्यो, जेनी अविवाहित छे भनिन् ।

म रनभुल्लमा परें ।

जेनीकी आमाले यो घटना मिडियालाई खबर नगरिदिनु पनि भनिन् ।

त्यहाँबाट बाहिर निस्किएपछि मैले डराई डराई सम्पादकलाई फोन गरें । डराउनुको कारण थियो– घटनास्थलमै भएर पनि मैले फोटो खिचेको थिइनँ । पत्रकारितामा नयाँ भए पनि केही दिनभित्र थाहा पाइसकेको थिएँ, यस्ता घटनाको फोटो आवश्यक पर्छ । यस्तो ठूलो घटना हुँदा घटना स्थलमै उपस्थित भएकाले मैले फोटो खिच्नै पथ्र्यो ।

सम्पादक राजकुमार रेग्मीले सबैभन्दा पहिले फोटो सोध्छन् भन्ने मेरो विश्वास थियो । उनले अर्कै प्रश्न सोधे– ‘ती युवतीको स्वास्थ्य कस्तो छ रु’

मैले खतरामुक्त छिन् भनें । रेग्मीले अन्य विवरण पनि सोधे तर फोटोको कुरै गरेनन् । मलाई अनौठो लाग्यो । उनले फेरि जोड दिएर सोधे– ‘ती युवतीको स्वास्थ्य अवस्थाबारे थप बुझ्नुस् । यो कुरामा ध्यान दिनुस् ।’

अहँ, रेग्मीले फोटो बारे सोधेनन् । कतिबेला फोटोको कुरा सोध्छन् र मैले खप्की खानुपर्छ भन्ने ग्लानी भइरह्यो । त्यो विभत्स घटना, ती युवतीको चिच्याहट अनि उनकी बहिनीको विलौनाले मेरो मनोदशा विग्रिएको थियो । टाउको दुखिरहेको थियो, दिमाग फनफनी घुमिरहेको थियो ।

यति ठूलो घटनाको साक्षी जस्तै हुँदा पनि फोटो खिच्न सकिनँ, म पत्रकार नबन्ने रहेछु भन्ने लाग्यो । यो भावनाले म झन विचलित भएको थिएँ । 

मैले नै भनें– ‘सर, मैले फोटो चाहिँ खिच्न सकिन । सरी । मलाई फोटो खिच्ने होस नै भएन ।’

रेग्मीले भने– ‘फोटो नखिचेर ठिक गर्नुभयो । त्यस्तो घटनामा पहिले मानिस बन्नुपर्छ, अनि मात्र पत्रकार बन्नुपर्छ ।’

कानलाई विश्वास नै लागेन यो वाक्य सुन्दा । 

जेनी र विष्णुको सम्बन्ध के लेख्ने रु रेग्मीले मसँग छलफल गरे । मैले प्रत्यक्ष विवरण सुनाएँ । रेग्मीले निर्णय सुनाए– ‘उनीहरु पतिपत्नी हुन् कि होइनन् भन्ने बारे नलेखौं, उनीहरुको परिवारलाई केही असर पर्ने भएकैले आमाले अविवाहित भनेकी होलान् ।’

मैले भने– ‘तर, जेनीले त विष्णु मेरो लोग्ने हो भनिन् मसँग ।’

रेग्मीले भने– ‘अस्पतालको इमर्जेन्सी वार्डमा उपचार गराइरहेको घाइतेले भनेको कुरालाई प्राथमिकता दिन हुन्न । उनकी आमाले भनेको कुरालाई मान्यता दिनुपर्छ ।’ 

त्यसपछि सनराइज खबरमा ‘ब्रेकिङ न्यूज’ प्रकाशित भयो । खबरमा जेनी र विष्णुको ‘घनिष्ठ सम्बन्ध’ रहेको लेखियो ।

राति नै मैले यो दर्दनाक घटनाको साक्षी बन्नपरेको पीडा साथीभाई तथा आफन्तलाई सुनाएँ । सबैको एकमात्र प्रश्न थियो– अनि फोटो नखिचेको ?

मैले ‘खिचिन’ भनें । प्राय सबैजनाले त्यस्तो मौकाको फोटो खिच्नुपथ्र्यो भने । मलाई मौका गुमाइस् भने । भाइरल फोटो हुन्थ्यो भने ।

तर, मलाई भने फोटो खिच्न बिर्सिएकोमा लागिरहेको पछुतो गर्वमा परिणत भइसकेको थियो । उद्दारमा लाग्न छाडेर फोटो खिचेको थिएँ भने मैले जीवनभर आफूलाई धिक्कार्ने रहेछु । 

धन्न, मैले फोटो खिचिन !!!

साभार : सनराइज खबर डटकम

Write a Comment