‘प्लस टु’ पछि चाइनिज भाषा : यस्ता छन् फाईदाहरु
31-July-2019

अकृजा पोखरेल

पाेखरा । प्लस टु सकिएपछि विद्यार्थीहरुको यात्रा विश्वविद्यालयतर्फ हुन्छ ।

विद्यार्थीहरुले आफ्नो करिअरको लागि सबैभन्दा बढी सोँच्ने र केही गर्ने बेला पनि यही हो । पढाईलाई निरन्तरता दिँदै आफ्नो करिअरका लागि सही बाटो पहिल्याउने यो बेलामा विद्यार्थीहरु अल्मलिन सक्ने अवस्था पनि रहन्छ । विश्वविद्यालयको पढाईसँगै अब के गर्ने ? भन्ने प्रश्नले पक्कै पनि अहिले प्लस टु सकाएका विद्यार्थीहरुको मनमा डेरा जमाएको हुनुपर्छ । विश्वविद्यालयको अध्ययन गर्ने भैसकेपछि आफ्ना छोराछोरीले केही गरुन् भन्ने हरेक अभिभावकको मनमा पनि हुने गर्छ । त्यसैले यो बेलामा विद्यार्थीहरुलाई पनि केही गर्ने दबाब महसुस हुन्छ ।

त्यसो त अहिले विद्यार्थी र उनीहरुको भविष्यका लागि भन्दै धेरै वटा विकल्पहरु अगाडि तेर्सिन्छन् । शैक्षिक अध्ययनका लागि विदेश जाने एउटा विकल्प हुन सक्छ । त्यो बाहेक नेपालमै विभिन्न प्रयोगात्मक शिक्षाहरु लिने अर्को विकल्प पनि छँदैछ । बजारमा यस्ता विकल्पहरु धेरै भेटिन्छन् । तर विद्यार्थीहरुले आफ्नो सोँच, रहर र सहजताको हिसाबले के गर्ने ? भन्ने कुरा भने छुट्याउन सक्नुपर्छ ।

चाइनिज भाषा सिक्ने विकल्प :

प्लस टु सकाएका विद्यार्थीहरुका लागि एउटा गतिलो विकल्प चाइनिज भाषा पनि हुन सक्छ । विश्वमै सबैभन्दा धेरै मानिसहरुले एकसाथ बोल्ने भाषा चाइनिज नेपालमा सिकेर के फाइदा ? भन्ने पनि हुन सक्छ । हामीले यसको चर्चा गर्नेछौँ ।

चाइनिज टुरिस्ट गाइड हुने मौका :

सन् २०१८ को सरकारी तथ्याङ्क हेर्ने हो भने करिब २ लाख भन्दा बढि चाइनिज पर्यटकहरु नेपालमा घुमघामका लागि आएको देखिन्छ र, यो तथ्याङ्क वर्षेनी बढ्ने क्रममा छ । नेपाल आउने चाइनिज पर्यटकहरु अधिकांश पोखरा आउने गरेका छन् ।

तर नेपालमा आउने चाइनिज पर्यटकका लागि सबैभन्दा चुनौती भनेको भाषाकै हो । चाइनिज पर्यटकले चाइनिज भाषा जान्ने गाइड खोजेपनि भेट्न मुश्किल छ । यहाँका टुरिस्ट गाइड सप्लायर्सहरु पनि चाइनिज भाषा जान्ने गाइडको खोजीमा सधैँ भौँतारिरहेका हुन्छन् । चर्को मूल्य अफर गर्दा पनि हाल भैरहेका केही चाइनिज टुरिस्ट गाइडहरु समय नमिल्ने भएपछि काम छोड्न बाध्य छन् । यस्तो अवस्थामा चाइनिज भाषा अध्ययन गरेर चाइनिज टुरिस्ट गाइड बन्ने र मनग्ये पैसा कमाउने अवसर विद्यार्थीहरुलाई छ । चाइनिज टुरिस्ट गाइड भएरै महिनाको १ लाख रुपैयाँसम्म कमाउन सकिने हाल कार्यरत गाइडहरु बताउँछन् ।

चाइनिज रेस्टुरेन्टमा काम गर्ने मौका :

नेपालमा चाइनिज पर्यटक बढेसँगै चाइनिज रेस्टुरेन्ट, होटल र विभिन्न खालका पसलहरु खुल्ने क्रम पनि बढ्दो छ । यद्यपि नेपाली बजारमा व्यवसाय गरिरहँदा चाइनिज व्यवसायीहरुलाई भाषाको समस्या हुँदै आएको छ ।

यस्तोमा उनीहरुले चाइनिज भाषा जान्ने नेपाली युवायुवतीलाई जागिरमा राख्न खोज्छन्, जसले गर्दा व्यवसाय चलाउन सजिलो होस् । तर, नेपालमा चाइनिज भाषा जान्ने जनशक्तिको अभावले उनीहरुलाई मर्कामा पार्दै आएको छ । चाइनिज रेस्टुरेन्टसँग अन्य चाइनिज व्यवसायमा पनि भाषा जान्ने जनशक्ति पाएको खण्डमा राम्रो दरमा भुक्तानी दिने गरिन्छ । भाषा जानेकै आधारमा सामान्य पदका जागिरेले पनि मासिक ५० हजार रुपैयाँसम्म तलब बुझ्न सक्छन् । विश्वविद्यालय अध्ययन गर्ने विद्यार्थीहरुले यो लेभलको पैसा कमाउन सके उनीहरु आफ्नै खर्चमा अध्ययन गर्न पनि सक्छन् र, सँगसँगै अभिभावकलाई पनि छोराछोरी पढाउने आर्थिक भार कम हुन सक्छ ।

चाइनिज प्रोजेक्टमा अनुवादकको काम :

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा पाएको चाइनिज कम्पनीले केही समय अगाडि चाइनिज–नेपाली भाषा अनुवादक चाहिएको कुरा पत्रपत्रिकामार्फत आह्वान ग¥यो । यद्यपि उसले जति संख्यामा अनुवादक मागेको थियो, त्यो संख्या पुग्नै सकेन । चाइनिजको भाषा नेपाली कामदारले नबुझ्ने र नेपाली कामदारका कुरा कम्पनीका इन्जिनियर र ठुला कर्मचारीले नबुझ्ने भएपछि कतिपय अवस्थामा काम गर्न समस्या आएकोले उसले यसो गरेको थियो । यद्यपि चाइनिज भाषा जान्ने नेपाली जनशक्तिको अभावमा उसले चाहेजति अनुवादक पाएन ।

त्यसो त यो परियोजनामा मात्रै चाइनिजलाई यस्तो समस्या आएको होईन । नेपालमा थुप्रै राष्ट्रिय गौरवका भनिएका परियोजनाहरुमा चाइनिज कम्पनीले काम गरिरहेको छ । तर भाषिक समस्याले भनेजस्तो काम गराउन उनीहरुलाई समस्या पर्दै आएको छ । यस्तोमा उनीहरुले प्रशस्तै चाइनिज–नेपाली भाषा अनुवादक खोज्ने गरेका छन् । मासिक राम्रो तलबको अफर गर्दा पनि यस्ता अनुवादक नपाईँदा उनीहरुले हैरानी खेपिरहेका छन् । त्यसैले भाषा अध्ययनपश्चात यस्ता प्रोजेक्टहरुमा पनि विद्यार्थीहरुले काम गर्न सक्छन् ।

एक्स्पोर्ट इम्पोर्ट व्यवसायीसँग काम गर्ने मौका : 

त्यसो त भाषा अनुवादक नेपाल–चीन व्यापार गर्ने व्यवसायीहरुलाई पनि सँधै चाहिएको हुन्छ । बोर्डरमा पुगेर होस् वा चीनका विभिन्न शहरमा पुगेर नेपाल सामान ल्याउने व्यवसायीहरुले चाइनिज भाषा जान्ने नेपाली अनुवादक होस् भन्ने चाहन्छन् । तर यस्तो काममा पनि सहज रुपमा अनुवादक पाईदैन । यो पनि चाइनिज भाषा जान्नेहरुको लागि ठुलो मौका हुनसक्छ ।

अनुवाद गरेकै भरमा मोटो रकम पाईने, चीनका विभिन्न शहरहरु घुम्न पाईने, त्यहाँको सँस्कृति र विकासको अध्ययन गर्न पाईने मौका पनि सँगै जोडिएको हुन्छ । त्यसैले चाइनिज भाषामा दख्खलता राख्न सके हरेक युवायुवतीले यो मौका पनि पाउन सक्छन् ।

त्यो बाहेक नेपाल र चीनबीचको कुटनीतिक सम्बन्धका कारण यहाँ सरकारी र विभिन्न गैरसरकारी संस्थाहरु थुप्रै क्षेत्रमा कार्यरत छन् । यस्ता संघसंस्थाहरुले पनि चाइनिज भाषा जान्ने नेपाली जनशक्ति खोजिरहेका हुन्छन् । त्यसैले प्लस टु सकाएर विश्वविद्यालय अध्ययन गर्ने सोँच बनाएका विद्यार्थीहरुले पढाईसँगै चाइनिज भाषा पनि सिकेको खण्डमा राम्रा अवसरहरु पाउन सक्छन् । यसो गर्दा विद्यार्थीहरुले बहुभाषिक र बहुसाँस्कृतिक कुराहरु पनि अझै बढि सिक्न सक्छन् । जसले उनीहरुको करिअर बनाउनमा निकै सहयोग पु¥याउँछ ।

(लेखक ज्ञान करिअर इन्स्टिच्युट प्रालिका सञ्चालक हुन् ।)

Write a Comment