अस्ट्रेलियन लाइफ, नेपाली वाइफ
15-September-2019

 

 

 

जीवनको

सबभन्दा लामो सडक जाम फिलिपिन्सको मनिलामा पर्‍यो। तीन किलोमिटरको दूरी पार गर्न दुई घण्टा लाग्यो।

‘म्याडम ह्वेयर आर यू फ्रम?’ ट्याफिक जामबाट दिक्क भएको ट्याक्सी ड्राइभर ब्रोले मुन्टो फर्काउँदै मलाई सोध्नुभयो।

मैले आँखाबाट चस्मा निकाले र उहाँलाई मेरो अनुहार देखाएँ।

‘इण्डिया ?’

मलाई इण्डियन बनाउन उहाँलाई एक सेकेण्ड पनि लागेन।

मैले इण्डियन होइन तर छिमेकी देशकी हुँ भनेर अझ गेस गर्नुस् भने।

ब्रोले छिमेकी देशको नाम एकएक गर्दै लिनुभयो– बंगलादेश, पाकिस्तान, श्रीलंका हुँदै मेरो अनुहार माल्दिभ्ससम्म दाँज्न भ्याउनुभयो तर नेपाल भन्दै भन्नुभएन। 

अब चाइनिज चाहिँ नभनोस् नि भनेर डु यु नो नेपाल ? भनी सोधें।

‘ओ............. नपाल । एस् एस् नपाल, आइ नो नपाल’

उहाँले आँखा, नाक, ओठ सबै तन्काएर नेपालको नाम तीनचोटि लिनुभयो। सायद उहाँलाई म नेपाली हो भनेर पत्याउन गाह्रो भइरहेको थियो।

‘नेपालबाट घुम्न आउनुभएको?’, ब्रोले फेरि सोध्नुभयो।

‘होइन अष्ट्रेलियाबाट कामको शिलशिलामा आएको ब्रदर।’

‘ओ............. अस्ट्रेलिया ।’ ब्रो फेरि आँखा, नाक, ओठ सबै तन्काएर अस्ट्रेलियाको नाम लिँदै केही सोच्न थाल्नुभयो।

उहाँले सोच्दासोच्दै जाम पनि खुल्यो तर पाँच मिनेट गुडेपछि फेरि टिटिरटुटुको अर्को जाममा परिहालियो।

यतिखेर चाहिँ ब्रोले भ्यू मिररबाट मलाई हेरेर एउटा गजबको प्रश्न गर्नुभयो – ‘म्याडम अस्ट्रेलियामा तीन वटा डब्लयूको भर हुँदैन रे हो ?’

मैले थाहा नपाए जसरी यो तीन वटा डब्ल्यू भनेको चाहिँ के हो नि ब्रदर ? भनेर सोधेँ ।

‘वर्क, वेदर र वाइफ ।’

कसले भन्यो तपाईंलाई यस्तो कुरा?

‘मेरो पुरूष साथीहरूले भन्छन् नि म्याडम। त्यही जन्मेको केटीहरूको भर हुँदैन रे। धेरै पुरूषहरूसँग सम्पर्क गर्छन् रे। गर्लफेण्ड बनाउन चाहिँ ठिक छ तर वाइफ चाहिँ बनाउनु हुँदैन है भन्छन् नि।’

ब्रदरले अन्य दुई वटा डब्लयूको कुरै गर्नुभएन तर तेस्रो डब्ल्यूको चाहिँ कुरा खुब खुलेर गर्नुभयो। उनीहरू यस्ती हुन्छन्, उस्ती उस्ती हुन्छन् खै के के हो केके । एकसूरे ब्रो बोलेको बोल्यै। पछाडि सिटमा एउटा नारी बसिरहेकी छिन् उसैको अगाडि अर्को नारीको इज्जत यसरी लिलाम गर्नुहुँदैन भन्ने चेतना पनि भएन उहाँलाई।

उहाँको कुरा रोक्दै –‘ब्रो अस्ट्रेलियन जान मन पर्छ ?’ भनेर सोधे।

‘मन लाग्छ नि म्याडम तर पैसा धेरै लाग्छ।’

‘अनि अस्ट्रेलियन लाइफ पनि मन पर्छ ब्रो ?’

‘आई लभ इट म्याडम। रमाइलो हुन्छ नि। अवसर आयो भने त म हाँसीहाँसी सारा जीवन त्यहीँ बिताइदिन्थे।’

‘छोराछोरी पनि त्यहीँ पाउनुहुन्छ ?’

‘त्यहाँ जन्मनु त भाग्यको कुरा नि म्याडम। उनीहरूको भविष्य बन्छ। एउटा सफल जीवन पाउँछन्।’

‘ब्रो छोराछोरी पनि त्यहीँ पाउने र त्यहीँ हुर्काउने। आफू त्यो लाइफस्टाइल बाँच्न मरिहत्ते पनि गर्ने अनि त्यही लाइफस्टाइलमा हुर्केको, त्यहीँ लाइफस्टाइललाई अप्नाएको केटीहरूप्रति चाहिँ यतिधेरै नकारात्मक धारणा?

भोलि तपाईंका छोराछोरी पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा त्यहीँको संस्कार केही हदसम्म अप्नाउँछन् नै। अनि त्यतिखेर पनि त्यहाँको संस्कार र हुर्काइलाई भर हुँदैन भनेर टाउको ठोक्नुहुन्छ ब्रो?

कसैको संस्कार र लाइफस्टाइलको बारेमा टीकाटिप्पणी गर्दा धेरै विचार गर्नु पर्छ ब्रो। सबै व्यक्ति विशेष हुन्छन्। सबैको आआफ्नो स्वभाव हुन्छ। आआफ्नो बाँच्ने तरिका हुन्छन्। तपाईंलाई त्यो तरिका मन परेन भने अरूलाई पनि त्यही कुरा मन पर्नुहुँदैन भन्ने छैन। तपाईंलाई भर नलागेको व्यक्तिहरू अरू कसैलाई भर लागेको हुन सक्छ। तपाईंलाई सुहाएको मान्छे अरू कसैलाई नसुहाउन सक्छ।

तपाईंलाई हेर्न मन लागेको मान्छे अरू कसैलाई हेर्न मन नलागेको हुन सक्छ  अनि तपाईंलाई महत्व नलागेको मान्छे अरू कसैलाई महत्व लागेको हुनसक्छ,’तपाईंको सोचाइमा परिवर्तन आउनुपर्यो ब्रो।

‘संसारमा कति पुरूषहरु भरपर्दो छन् र भरपर्दो केटीहरू खोज्दै हिँड्ने?’

‘भरपर्दो र भर नपर्दो केटीहरू भनेको के हो ब्रो? यो तेस्रो डब्ल्यूको व्याख्या तिम्रा त्यही टपरटुइँया साथीहरूले नारीको अस्तित्वलाई उडाउन बनाएका हुन्’, यति भनेर म व्यंग्य हाँसो छोड्छु।

ऊ पनि खिसिक्क हाँस्छ।

‘अनि ब्रो तपाईंबाट एउटा अन्तिम कुरा सुनाउँ न त यहाँ कुन देशको केटीहरूको चाहिँ भर हुन्छन् भन्छन् त ?’

‘कोरियन वाइफहरूको चाहिँ भर हुन्छन् भन्छन् म्याडम’

‘तपाईंको बिहे भयो?’

‘छैन अब केटी हेर्दैछु म्याडम।’

‘तपाईं अब कोरियन केटी बिहे गर्ने ब्रो?’

‘होइन म्याडम बिहे त फिलिपिनोसँगै गर्ने हो।’

‘भरपर्नेसँग बिहे नगरेर ब्रो पनि,’ मैले व्यंग्य हान्छु

‘सहरको चाहिँ होइन तर गाउँको चाहिँ भरपर्दो हुन्छ। उनीहरू धेरै संस्कारी हुन्छन् नि म्याडम। उनीहरू आफ्नो श्रीमान् र बच्चाहरू भनेपछि हुरुक्क हुन्छन्। केटा मान्छेहरू विदेश काम गर्न गए पनि घर समालेर बस्छन् नि।’

उहाँको नजरमा घर समालेर बस्ने। निहुँरो मुन्टो न गरेर चौबिसौ घण्टा सेवा गर्ने वाइफहरू संस्कारी हुन्छन् रे।

ब्रोलाई त्यत्रो पुराण सुनाए सबै खेर गयो। अझै संस्कारी वाइफ’को शब्दको सीमित सोचमा गुटमुटिएर बसिरहेको रहेछ।

उहाँसँग धेरै वादविवाद गरिरहन जरूरी ठानिनँ। पितृसत्तात्मक संसारमा बाँचेको एउटा गजबको प्राणी हुनुहुन्थ्यो उहाँ।

***

संसारको महिलाहरूलाई तुलना गरेर, उनीहरूको संस्कारमा प्रश्न उठाउँदै, तौलिँदै, वस्तुकरण गर्दै उनीहरूको भर हुन्छ कि हुँदैन भनेर छलफलको विषय बनाउने स्वतन्त्रता आखिर कहिलेसम्म?

बेलुकी होटलमा आएपछि पनि यो कुराहरू दिमागमा खेलिरह्यो। त्यो घटना क्रमले मलाई तीन वर्ष अगाडिको अर्को घटना क्रममा पुर्यायो। ठ्याक्कै एउटै सोच भएको एउटा मान्छेसँग साक्षात्कार भएको थियो।

उहाँ अस्ट्रेलियन लाइफ विथ अस्ट्रेलियन वाइफसँग लामो समयसम्म बाँचेको एक नेपाली हुनुहुन्थ्यो। तर पछि उहाँहरूबीचमा असमझदारी बढेपछि डिभोर्स भएछ। डिभोर्स लगत्तै उहाँ नेपाली वाइफको खोजीमा लागिपर्नुभयो।

एकदिन यस्तै अचानक भेटमा सिटीको एउटा क्याफेमा कफी खान गयौं।

यदि कोही सोझी नेपाली केटी छ भने खोजी दिनुपर्‍यो प्लीज भनेर उहाँले मलाई एउटा सुशिल केटी खोजिदिन आग्रह पनि गर्नुभयो। 

उहाँको नजरमा कस्ती सोझी र सुशिल नेपाली केटी भनेर मैले बुझ्न चाहेँ ।

उहाँको विचारमा सोझी केटी भनेको गाउँको केटी रहेछ। धेरै तडकभडक नजानेको, कोहीसँग धेरै नबोल्ने। भनेको मान्ने, ज्ञानी खालको। रुपरंग, अग्लो होचो खासै फरक नपर्ने तर घरको काम सबै जान्ने आदि इत्यादि खालको केटी भन्नुभयो।

उहाँ बोल्दै हुनुहुन्थ्यो, ‘बिहे गरेर उनलाई यहाँ ल्याउने हो। म जहाँ जान्छु उनलाई पनि मेरै साथमा लिएर हिँड्छु। मेरो तलब राम्रो छँदैछ। उनले यहाँ आएर काम गर्नुपर्दैन। बालबच्चा जन्माएर घरपरिवार समाले मात्रै पुगिहाल्यो मलाई। उनलाई भरपूर माया पनि दिन्छु। खर्च पनि दिन्छु । अनि खुसी पनि दिन्छु। मैले जति त्यो अस्ट्रेलियन केटीलाई माया गरे त्यो भन्दा बढी उनलाई माया गरेर देखाउनेछु।’

मैले ठाडै आई एम सरी भनेँ।

उहाँले एउटा कठपुतली वाइफ खोजिरहनुभएको थियो। उहाँलाई एउटा असल जीवनसंगिनी चाहिएकै थिएन। मेरो बुझाइमा उहाँलाई त वस श्रीमतीको रूपमा एउटा दासी चाहिएको थियो जसले उहाँको हरेक जरूरत पूरा गरोस् र श्रीमानको जी हजुरीमा जीवन बिताओस् ।

मलाई त्यहाँ बस्न गाह्रो भइसकेको थियो। उहाँको गफ सुनेर एक गुड्की कफी निल्न पनि गाह्रो भइरहेको थियो। भित्र उकुसमुकुस भएर आयो र प्वाक्क भनिहाले, ‘आई थिङ्ग तपाईंजस्तो सोच भएको मानिसले बिहे नगरेकै जाती। यदि बिहे गर्न चाहनुहुन्छ भने तपाईंको सोचमा धेरै परिवर्तन आउन जरूरी देखियो। आफ्नो मात्रै होइन बिहे गर्ने केटीको खुसी पनि सोच्नुपर्यो। उनी पनि के चाहन्छिन् भन्ने कुरा उत्तिकै प्राथमिकतामा राख्नुपर्यो। सोझी र सुशिलको ट्याग मात्रै खोज्दै हिँड्नुभयो भने मृगतृष्णा होला है। अनि अन्तिममा, मेरो नजरमा तपाईंको लागि दासी बनिदिने केटी कोही छैन भनेर हात मिलाउँदै, ढिला भयो भनेर बहाना गर्दै, मिठै मुस्कानमा आधाकप कफी छोडेर नै म त्यहाँबाट हिँडेँ।

यी नेपाली दाजु र ती फिलिपिनो ब्रो को सोचाइ काटीकुटी एउटै थियो। दुवैप्रति आक्रोश भन्दा पनि दया लागेर आयो।

संसारमा अझै पनि यस्तो सोच भएको व्यक्तिहरूको हालिमुलि छ भनेर दिक्क पनि लाग्यो।

जीवन जीउन अमेरिकन, युरोपियन, अस्ट्रेलियन लाइफस्टाइल मन पराउँछन् तर जीवन काँट्न कोरियन, जापनिज फिलिपिनो र नेपाली वाइफको आर्दश बोक्दै हिँड्छन्।

वाइफहरूको क्याटाग्रोरी छुटाइदिएर समाजमा एउटा भ्रमको खेती गरिरहेका छन् मानिसहरू। वाइफ शब्दलाई सस्तो बनाएर, बजारीकरण गर्दै हिँडिरहेका छन्। वाइफ शब्दलाई उखान टुक्का बनाएर खिल्ली उडाइएको छ।

हरेक गल्ली गल्ली र भट्टि भट्टिमा वाइफको शीर्षकमा मज्जा लिइरहेका छन्। यो संस्कारी, ऊ कुसंस्कारी भनेर तराजुमा राखेर उनीहरूको अस्तित्वलाई जोख्ने काम भइरहेको छ।

लाइफ स्टाइलहरू मोर्डन तर वाइफहरू क्यालिसक र वान पिस खोज्छन् विभिन्न उखान बनाएर।

विदेशी लाइफ, फिलिपिनो वाइफ ।

अमेरिकन लाइफ, जापनिज वाइफ ।

युरोपियन लाइफ, कोरियन वाइफ ।

अस्ट्रेलियन लाइफ, नेपाली वाइफ 

साभार सेतोपाटी

Write a Comment

Events
Random Picks