पैसामा अडिएको संसार र शरीर
26-September-2019


- सुरक्षा श्रेष्ठ 

लाग्छ, पैसाको विकल्प सायदै होला ! पैसाले के गर्न सक्दैन भन्ने प्रश्नको उत्तर धेरै कमले मात्र दिन सक्छन् होला ।

सोझो भाषामा भन्ने हो भने त यो संसार र हाम्रो शरीर पैसामा त अडिएको छ । पैसा छ त सबथोक छ, पैसा छैन केही पनि छैन । अहिलेको दुनियामा पैसा सबैभन्दा शक्तिशाली चीज  भएको छ । खुशी पनि पैसाले ल्याउँछ भने दुःख पनि पैसाले नै ल्याउँछ । पैसाबिना के हुन्छ ? कसैले जागिर खान्छन्, कसैले मजदूरी गर्छन्, कसैले व्यापार व्यवसाय गर्छन्, यी सब पैसा कै लागि त हो नि । मानिसहरू पैसाकै लागि आफ्नो परिवार, देश समेत छोडेर  परदेश लाग्छन् । 

पैसाले राम्रो काम र नराम्रो काम दुवै परिणाम निम्त्याउँछ । सही तरिकाले कमाइन्छ भने परिणाम राम्रो निम्त्याउँछ भने गलत तरिकाले कमाएको पैसाले गलत परिणाम निम्त्याउँछ । पैसा यस्तो वस्तु हो, जसले मानिसलाई चरम आनन्द दिन सक्छ । पैसाले कलह पनि निम्त्याउँछ । 

पैसा आफैमा ठूलो हो कि हामीले ठूलो बनाएका हौँ ? पैसाको सकारात्मक र नकारात्मक दुवै पक्षलाई नियाल्ने हो भने १९÷२० होला । कहिलेकाहीँ यस्तो लाग्छ, यो संसारमा पैसा भन्ने चीज नै नभइदिएको भए कति राम्रो हुन्थ्यो होला ! यसो गर पैसा, उसो गर पैसा । पैसाबिना त संसारै नचल्ने भइसक्यो ।

यतिसम्म कि कतै जाँदा प्यास लाग्दा जो कोहीसँग पनि पानी मागेर पिउन सकिन्छ तर खल्तीमा पैसा छैन भने पिसाव पनि गर्न पाइन्न । परिवारमा खुशी र आनन्द ल्याउन पैसाले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ भने त्यही पैसाले कलह, अशान्ति ल्याउँछ । पैसाले नै कसैलाई धनीको दर्जा दिएको छ भने कसैलाई गरीबको दर्जा दिएको छ । किन सबैसँग बराबरी पैसा नभएको होला ? सबैसँग बराबरी पैसा भइदिएको भए शायद धनी गरिब भन्ने नै हुने थिएन यो संसारमा ।

पैसा सबैभन्दा शक्तिशाली भएकै कारण मानिसलाई जसरी पनि पैसा कमाउनु छ । चोरेर हुन्छ कि, ठगेर, लुटेर, भ्रष्टाचार गरेर, कर छलेर,जसरी हुन्छ मानिसलाई पैसा नकमाइ भएको छैन, जसरी हुन्छ मान्छेलाई पैसा नभइभा’को छैन । पैसा कै लागि मानिसले मानिसको हत्या समेत गर्न पछि परेका छैनन् । मानिसलाई कति पैसा भयो भने पुग्छ होला ? संसारमा हेर्ने हो भने मानिसलाई पैसाले पुगेको घटना हामी कतै पनि सुन्न, पढ्न पाउँदैनौं । जति कमायो उति बढी कमाउँ–कमाउँ लाग्ने जादू हुने रहेछ पैसामा । पैसाले नजिकलाई टाढा र टाढालाई नजिक बनाउँछ । 

मानिसको जीवनयापन गर्ने माध्यम हो पैसा । पैसाले गाँस, बास, कपास उपलब्ध गराउँछ । त्यसबाहेक अन्य आवश्यकताहरू पूरा गर्ने काम पनि पैसाले गर्छ । मानिसको जन्मदेखि मरणसम्म पैसा चाहिन्छ । कसैकसैले भन्छन् पैसा सबथोक होइन, पैसाले सबैकुरा पाइँदैन । हो, यो कुरा सही हो । तर पैसा नभए केही पनि त गर्न सकिन्न नि ! 

आज संसारमा पैसा कै कारण हत्या, हिंसा, भ्रष्टाचार, लोभ लालच, पाप जस्ता घिन लाग्दा कुराहरू बढेर गएका छन् । मानिस असन्तुष्ट प्राणी हो । जे, जति भए पनि नपुग्ने । तर मानिस ज्ञानी पनि छ, विवेकी पनि छ, बुद्धिमान पनि छ । त्यसैले मानिसको जीवनमा सन्तुष्टी सबैभन्दा ठूलो कुरा हो । 

सन्तुष्टी छ भने ऊसँग जे छ, जति छ त्यसैमा ऊ खुशी भएर जिउन सक्छ तर सन्तुष्टी छैन भने जति भए पनि पुग्दैन । पैसा नभए केही पनि गर्न नसकिएजस्तै पैसाले नै सबैथोक किन्न सकिन्न । शान्ति, आनन्द, मेलमिलाप, मीठो निद्रा, आमा, बाबु आदि पैसाले किन्न सकिन्न । अहँ, कुनै हालतमा पनि सकिन्न । पैसाले सबैथोक किन्न सकिने भए आज संसारका कतिपय धनाढ्यहरूलाई सुत्नको लागि स्लिपिङ्ग ट्याबलेटको आवश्यकता पर्दैन थियो । 

कतिपय धनाढ्यहरू पैसाकै कारण आत्महत्या गर्न बाध्य भएका छन् भने कतिपय धनाढ्यहरू त्यही पैसा कै कारण विभिन्न लुटेरा समूह, डनहरूको नजरमा परेका छन् । सिद्धिएर जाने पैसालाई मान्छेले यति धेरै महत्व दिएर त्यसको लागी हरेक कुरा गर्न तयार हुन्छ भनेपछि त कुरै नगरम । पैसा नसिद्धिने भएको भए झन् मान्छेहरुले कति के के गर्ने थिए होला । हरेक कुराको सकरात्मक र नकरात्मक दुवै पक्ष हुन्छ भनेझैँ पैसाले नै फेरि प्राय सबैकुरा दिन्छ पनि ।  

त्यसैले सन्तुष्टीको जीवन जिऔं, आनन्दसँग बाँचौं, बाँच्न देऔं र पैसालाई सही सदुपयोग गर्न सिकौँ । 

 

Write a Comment