कथावाचनमा चुकेको रातो टिका निधारमा
29-September-2019

फिल्म समिक्षा 

सुरज हजारे दाहाल

दशैंको छेको पारेर शुक्रबारबाट चलचित्र रातो टिका निधारमा रिलिज भएको छ । अशोक शर्माले निर्देशन गरेको यस चलचित्रले बैदेशिक रोजगारीको समस्या र देशमा लुकेको अवसरको कथालाई पर्दामा उतारेको छ । आधुनिक युवतीको भूमिकामा मात्र देखिदै आएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह ‘दृष्टि’ यसपाली गाउँले युवतीको भूमिकामा देखिएकी छिन् । उनको जोडीको रुपमा निर्देशक अशोकका छोरा अंकित ‘आकाश’ले डेब्यु गरेका छन् । फिल्ममा साम्राज्ञी शाहको भन्दा अंकितको अभिनय  कच्चा देखिएको छ । रक्सीले टिल्ल परेको अभिनयमा चुकेका आकाशलाई दूधे बालक सरह  देखिन्छन् । बैदेशिक रोजगार व्यवसायमा एजेण्टको काम गर्ने भूमिका निभाएका आकाशले आफ्नै उमेरका कारण सो रोलमा न्याय दिन सकेका छैनन् ।  दृष्टिसँग एकोहोरो प्रेममा फसेका आकाशलाई त्यस बेला झट्का लाग्छ जब दृष्टिको भिषा अमेरिकाले स्विकार्छ । ग्रिनकार्ड होल्डरसँग बिहे गरेकी दृष्टिको श्रीमानको मृत्यु पश्चात उनले एकल महिलाको रुपमा अभिनय गरेकी छिन् । दृष्टिको पुनः विवाह हुन्छ वा हुँदैन अथवा आकाशसँग उनको जीवनको दोस्रो अध्याय अगाडि बढ्छ वा बढ्दैन, यो थाहा पाउन भने चलचित्र हेर्नैपर्ने हुन्छ ।

गाउँलेहरुलाई खाडी मुलुक पठाएर आएको कमिशनले आफू भने अष्ट्रेलिया जाने सोच गरिरहेका आकाशलाई आफ्नै काकाको लाश बाकसमा आएपछि झट्का लाग्छ । लाशलाई महिलाहरुले उचालेको दृश्यले संस्कृति परिवर्तनको खाँचो रहेको भान दिलाउँछ । यस्तै पतिको मृत्यु पछि पहेंलो टिका लगाउँदै आएकी दृष्टिले रातो टिका लगाए पछि फिल्मको नामले सार्थकता पाउँछ । 

उता दृष्टि भने नेपालमै केही गर्नुपर्छ भन्दै कृषि खेती तथा पशुपालनमा लाग्छिन् र गाउँलेहरुलाई बिदेश नजान सल्लाह दिन्छिन् । नेपालले प्रत्येक वर्ष चाइनाबाट रु १५ करोडको गुन्द्रुक आयात गर्दै आएको भन्ने दृृष्टिको डायलगले नेपालको कृषिको हालतलाई देखाउँछ ।  चलचित्रको सबल पक्ष भनेको यसको कथा नै हो । नेपालको वर्तमान अवस्थालाई मार्मिक ढंगले फिल्मले प्रस्तुत गर्ने जमर्को गरेको छ । यद्यपि कथावाचनमा चुकेको छ । 

नक्कली विवाह गराएर डिपेन्डेन्ट भिषामा युरोपियन मुलुक पठाउने धन्दादेखि रु ३०–४० हजारको लागि पनि ज्यान जोखिमा राखेर खाडी मुलुक जानुपर्ने नेपालीको अवस्थालाई फिल्मले उजागर गरेको छ । पहिलो हाफमा स्लो रहेको चलचित्रले दोस्रो हाफामा भने चाहिने भन्दा बढी गती लिन्छ । निर्देशकले फिल्मलाई अनावश्यक लम्बाएका छन् । पहिलो ३० मिनेट फिल्ममा जबरजस्ती कमेडी राखिएको छ । बसुन्धरा भुषालले सदाबहार परिपक्व भूमिका निर्वाह गरेर आफ्नो क्यारेक्टरलाई न्याय दिएकी छिन् । साम्राज्ञीलाई अति भद्दा मेकअपमा प्रस्तुत गराइएको छ । प्यान्ट लगाउँदाको आधुनिक युवतीमा होस् वा गोरु जोतीरहेको कृषकको भूमिकामा उनको अनुहारबाट मेकअप भने पटक्कै हट्दैन । बुद्धि तामाङ र रवीन्द्र झाको कमेडीले भने दर्शकलाई भरपुर हसाउँछ । ४० वर्षको उमेरमा पनि विवाह नभएका रवीन्द्र झा सेल्फी एडिक्टेट छन् । यसले नेपालीको फेसबुकमा सेल्फी क्रेजलाई प्रस्तुत गरेको छ ।  

राजाराम पौडलेले पनि दर्शकलाई छोटो भूमिकामा समेत हँसाउन सफल भएका छन् । यस अगाडि हिट् चलचित्र ‘अल्लारे’ निर्देशन गरेका अशोक शर्माले सोही फिल्मको चर्चित गीत ‘रातो टिका निधारमा’लाई रिमेक गरेर प्रस्तुत गरेका छन् । सो गीतमा प्रमोद खरेल र मेलिना राईले आवाज दिएका छन् । यस्तै  सोही फिल्मको शिर्ष गीतबाट नै यो फिल्मको नाम राखिएको हो । निर्देशक अशोकले यो चलचित्रबाट यति आशा राखेका छन् कि उनले यस फिल्मको अन्त्यमा कास्टिङ देखाउने क्रममा अल्लारे २ को प्रदर्शन २०७७ भनेर मिति नै तोकेका छन् ।


चलचित्रमा अन्य कलाकारमा नीता ढुंगाना, रवीन्द्र झा, बसुन्धरा भुषाल,  बुद्धि तामाङ, शिवहरि पौडेल, लक्ष्मी गिरी लगायतले अभिनय गरेका छन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका छन् भने लगानी कृति शर्माको रहेको छ । यस्तै शम्भुजित बास्कोटाले संगीत भरेका छन् । दोस्रो हप्तामा प्रवेश गरेको कबड्डी ३ को क्रेज अझै नघटेकोले व्यवसायिक रुपमा रातो टिका निधारमा सफल होला वा नहोला र दशैंको बेला कति दक्षिणा पाउला त्यो भने हेर्न बाँकी छ । 

Write a Comment

Events