मिस्टर नेपाली’ बाट भुवनको केसीका फ्यान निरास
16-November-2019


फिल्म समिक्षा
सुरज हजारे दाहाल


बिदेशमा रहेका प्रवासी नेपालीहरुको नेपाल प्रति कतिको माया छ त भन्ने मूल कथामा निर्माण भएको चलचित्र मिस्टर नेपालीमा कुनै जमानका ब्लकबस्टर नायक भुवन केसीको दाहोरो अभिनय रहेको छ । बाउ र छोरा दुबैको भूमिकामा डबल पार्ट अभिनय गरेका भुवनको जोडीको रुपमा रिमा विश्वकर्माले साथ दिएका छिन् । साहिल श्रेष्ठ तथा कुसुम राउतले डेब्यु गरेको यस चलचित्रमा यि दुबै जम्न सकेका छैनन् । फिल्मको शुरुवात पट्यार लाग्दो छ नै अन्तिम १० मिनेट अनावश्यक खोक्रो राष्ट्रवादका संवाद राखिएको छ ।

  दोहोरोे अभिनय गरेका भुवन केसीले मदनको नामबाट जमिन्दार बाबुको भूमिकामा र विक्रमको नामबाट अल्लारे छोराको नाममा फितलो अभिनय गरेका छन् । कथामा बिदेशीएका पात्र साहिल श्रेष्ठ सानै हुँदा उनको आमाबाबुको घर मदनले हडपेका हुन्छन् । घर र जग्गा हड्प्नको लागि जमिन्दार मदनले प्रहरी बोलाएर घरमा भूतप्रेत भएकोले गाउँलेहरुको जीवन रक्षा गर्न घरलाई प्रहरीकै सहयोगमा शिलबन्दी गर्छन् । आश्चर्य त के छ भने नेपाल प्रहरीको बर्दी लगाएका फिल्मका प्रहरी पात्रले नै भूतप्रेत प्रति विश्वास गर्दै गाउँलेहरुलाई त्यस घरमा भूत तथा आत्मा रहेकोले त्यस घरमा कोही पस्न नहुने भन्दै डर देखाउँछन् ।  प्रहरीलाई त्यसरी अन्धविश्वासको भूमिकामा देखाउँदा समेत सेन्सरबोर्ड चुप बसेको छ जबकि बोर्डले अनावश्यक कुरामा भने चलचित्रहरुलाई दुःख दिदैँ आएको छ ।

  प्रहरीले भूतको नाममा घर कब्जा गरेपछि सानो उमेरका साहिललाई लिएर आमबाबु अमेरिका जान्छन् । ठूलो भएपछि साहिल गाउँ त फर्कछन् तर आफुलाई नेपाली भाषा नआउने अभिनय गर्छन् । अंग्रेजीका लवजहरु प्राय भद्दा र ब्रोकन इंग्लिश सुनिन्छन् । जमिन्दार भुवन केसीबाट गाउँवासीले मुक्ति कसरी पाउँछन् र साहिलले आफ्नो घर फिर्ता पाउँछन् वा पाउँदैनन् त्यो जान्नको लागि दर्शकले चलचित्र हेर्नपर्नेहुन्छ ।

   तर कुनै खास कथा नै नभएको, दमदार संवाद नभएको, गुणस्तरहीन पिक्चर क्वालेटी रहेको मिस्टर नेपाली हेरेर दर्शकले पैसा नफालेकै राम्रो हुन्छ । पोखराको मल्टीप्लेक्स मध्येको एक क्युएफएक्सले शुक्रबार ३ः३० बजेको बुकिङ खुलाएकोमा दर्शक नै नआएपछि पहिलो दिनको पहिलो शो नै रद्द भएको थियो । यस समिक्षक त्यसपछि श्रीकृष्ण हल जाँदा हलमा जम्मा ३ जना दर्शक मात्र थिए ।  प्रेमराज दाहालको लगानी रहेको ‘मिस्टर नेपाल’लाई देव भूषालले निर्देशन गरेका हुन् । यस चलचित्रमा पुराना नायक सरोज खनालको छोटो अभिनय रहेको छ । यस्तै रिमा विश्वकर्माले भुवन केसीको डबल पार्ट छोरा बिक्रमको जोडीको रुपमा अभिनय गरेकी छिन् । यि बाहेक रवि डंगोल, कमलमणी नेपाल, विष्णु सापकोटाले अभिनय गरेका छन् ।

निरज कँडेलको छायांकन रहेको यस फिल्ममा पिक्चर गुणस्तर छैन ।  बास्तवमा यो चलचित्र समय सान्दर्भिक नै छैन । पुराना चलचित्रमा जमिन्दारले गाउँलेलाई शोषण गर्ने स्वभाविकै थियो तर अहिलेको जमानाको प्लटमा नायक अमेरिकाबाट आउने तर गाउँमा भने मुखियाको हुकुम चल्ने प्रथा कति पनि मेल खाँदैन । बरु खाडी मुलुकबाट आएको भए शायद कथा समय सान्दर्भिक हुने थियो कि तर कथा मात्र समय सान्दर्भिक भएर होइन फिल्मको मेकिङ नै गतिलो हुनुपथ्र्यो । चलचित्रमा ‘डंक पिट्यो’ , ‘नाचौं छम्माछम्मा’ लगायतका गीत छन् जसमा संगीत दिपक शर्माले संगित भरेका छन् ।  यि दुबै गित पनि दर्शकको जिब्रोमा झण्डिने खालको छैन ।

   कुसुमे रुमाल, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति जस्ता चर्चित फिल्ममा अभिनय गरेका भुवन केसीले आफ्ना पुराना फ्यानलाई निराश मात्र होइन अन्याय नै गरेका छन् । राष्ट्रियताको विषयमा बनेको भनेर प्रचार गरिए पनि फिल्म एउटा भित्र अर्को कथा जबरजस्ती गाँसेर टेलिफिल्मको गंजागोल कथा जस्तो असरल्ल पारिएको छ ।  भुवन केसीको पोष्टरले मात्र फिल्म चल्ने जमाना अब नरहेको जवाफ दर्शकले उनलाई दिएका छन् । ‘नेपाली बाबु’ चलचित्रबाट सुपर हिट भएका चक्लेटी हिरो भुवन केसी ‘मिस्टर नेपाली’बाट अस्ताउँछन् अथवा अर्को चलचित्रमा देखापर्छन त्यो भविष्यले बताउला ।

               

Write a Comment

Events