शाह बंशीय राजाहरूले प्रयोग गरेको श्रीपेचको मूल्य कति हो?
20-May-2015

मूल्य तय हुन नसक्दा नारायणहिटी दरबार संग्रहालयले बिमा गर्न सकेन

पूर्व राजाहरूले गद्धी आरोहणका समयमा पहिरिने श्रीपेचको मूल्य कति होला? देशमा राजतन्त्रको अन्त्य भएसँगै बन्द कोठामा सिमित शाह बंशीय राजाहरूले लगाएका श्रीपेचको मूल्य कति हो तय भएको छैन।

मूल्य तय हुन नसक्दा श्रीपेचको बिमा गर्ने काममा अवरोध आएको छ।

नारायणहिटी दरबार संग्राहलयले हालै श्रीपेचको बिमा गर्न प्रक्रिया अगाडि बढायो।

प्रिमियम तोक्न बिमा गर्न खोजिएको सामानको मूल्य तय हुनुपर्छ। ‘मूल्य तय हुन नसक्दा बिमा प्रक्रिया बिचमै रोक्नुपर्‍यो,’ नारायणहिटी दरबार संग्राहलयका प्रमुख रोहितकुमार ढुंगानाले सेतोपाटी सँग भने।

तीन वर्षअघि दरबार संग्रहालयका तत्कालिन पूर्व प्रमुख लेखबहादुर कार्कीले बिमाको प्रक्रिया सुरू गरेका थिए।

‘बिमा कम्पनीले यसको मूल्य तय गर्न भनेपछि यसलाई हामीले बहुमूल्य भएको बतायौं। तर, कति हो भन्न सकेनौ,’ दरबार संग्रहालयका प्रमुख ढुंगानाले भने।

‘यसमा समावेश गरिएका बस्तुहरूको मूल्य निकाल्न सकिएला तर त्यसले श्रीपेचको मूल्य प्रतिनिधित्व गर्न सक्दैन,’ ढुंगानाले भने। 

राष्ट्रिय बिमा कम्पनी लिमिटेड कुनै पनि वस्तुको मूल्य तय नभई त्यसको बिमा गर्न नसकिने बताउँछ। ‘मूल्य तय नभएको बस्तुको  बिमा गर्न सकिँदैन, त्यसैले श्रीपेचको मूल्य सोध्यौ उँहाहरूले बहुमुल्य भन्नुभयो तर, ठ्याकै तोक्न सक्नुभएन।’

नारायणहिटी दरबार संग्रहालयमा अहिले पूर्व राजाहरुले प्रयोग गर्ने बिभिन्न सामानहरू सार्वजनिक गरिएका छन्। तर श्रीपेच भने हालसम्म सार्वजनिक गरिएको छैन।

२०६५ साल जेठ २९ गते पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्ने बेलामा श्रीपेच तत्कालिन गृहमन्त्री कृष्ण सिटौलाको जिम्मा लगाएका थिए। हाल भने यो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, नारायणहिटी दरबार संग्रहालयका प्रमुख र नारायणहिटी बाहिनीका कर्णेलको संरक्षणमा बन्द कोठमा रहेको छ।

आर्थिक वर्ष २०६८/०६९ मा क्याविनेटको निर्णयलेनै यसलाई दरबार संग्रहालयको प्रदर्शनी कक्षमा राख्ने निर्णय गरेको थियो। प्रदर्शनिमा राख्ने भनेसँगै यसको जोखिम बढेकाले तत्कालिन समयमा बिमा प्रक्रिया अघि बढाएको संग्रहालयका प्रमुख ढुंगानाले जानकारी दिए।

उनले भने,‘अब बिमा पनि गर्न नसकिए पछि श्रीपेच प्रदर्शनीमा राख्ने कुरा पनि हाललाई रोकियो।’

श्रीपेचमा के के मूल्यवान बस्तु छन्?

सुन, मोति, हिरा, पन्ना, चाँदी जस्ता बहुमूल्य धातुले बनेको सो श्रीपेचमा संसारबाटै लोप हुन लागेको हुमायो चराको प्वाख राखिएको छ।

हुमायो चरा संसारबाटै लोप हुन लागेकाले श्रिपेचको पुनःनिर्माण असम्भव रहेको ढुंगानाको दाबी छ। ‘बिमा गर्ने भनेको क्षति पछि त्यसलाई पुनःनिर्माणको लागि हो, हुमायो संसारबाटै लोप हुने चरणमा छ जसका कारण यसको प्वाँख अब पाउन सकिँदैन। त्यसैले श्रीपेच फेरि बनाउन असम्भब छ।’

पुन बनाउन नसकिने भएकोले श्रीपेचको बिमा गर्न समेत आवश्यक नभएको तर्क उठेको ढुंगानाले बताए। 

यसलाई सुरक्षित राख्नको लागि मात्रै ध्यान पुर्‍याउनु पर्ने उनको भनाई छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, नारायणहिटी दरबार संग्रहालयका प्रमुख र नारायणहिटी बाहिनीका कर्णेलले अन्य मानिसहरुलाई समेत साक्षी राखेर अहिले वर्षको एक पटक बन्द कोठामा रहेको श्रीपेच निरीक्षण गर्ने गरिन्छ। साथै सोही समयमा यसको सरसफाई समेत गर्ने गरिन्छ।

यो श्रीपेच कुन राजाको पालामा निर्माण भएको हो र यसको डिजाइन कसले गरेको भन्ने भन्ने बारेमा कुनै कागजात नरहेको ढुंगानाको भनाई छ। ‘यो श्रीपेच त्रिभुवनको पालामा निर्माण भएको अनुमान लगाउन सक्छौ। तर, त्यसपछि प्रत्येक नयाँ राजाले यसमा आफू राजा बनेपछि यसमा बहुमूल्य धातु थप्दै गएका थिए।’

राजा पृथ्वीनारायण शाह आफैंले बनाउन लगाएको नुवाकोटमा रहेको उनको शालिकमा श्रीपेच लगाइएको छैन। नेपालमा कुन बेलादेखि यसको सुरूवात भयो भन्ने बारेृमा समेत इतिहासविदहरू एकमत देखिदैनन्।

श्रीपेच लगाउने रोमन संस्कृति कहिले नेपाल भित्रियो भन्ने बारेमा पनि यकिन छैन।

Source : Setopati.com