भूइँचालोले देखाएको ऐना
21-May-2015

विजय कुमार 

 

‘जब आँधी तुफान सकिने छ,

तिमीलाई यो पनि याद हुने छैन

कसरी तिमी बाच्यौ!

शायद, तिमीलाई त यो पनि थाह नहुन सक्छ

तुफान,  गइ पनि सक्यो भनेर

तर एउटा कुरा पक्का

जब तिमी तुफानबाट बाहिर आउने छौ

तिमी त्यही पुरानो मानिस हुनै सक्दैनौं

जो आँधीबेहरीमा फसेको थियो!

हो , तुफान भनेकै , यहि त हो

कोहि उस्तै रहनै सक्दैन’    

-हारुकी मुराकामी

भूइँचालोले हामीलाई ऐना देखाइदिएको छ। ऐनाको काम देखाउनु हो। तर, देखाउँदैमा सबैले देख्दैनन्। आँखा चिम्म गरेर बस्नेलाई सिसाले पनि मुहार देखाउँन सक्दैन। बिउँझदा बिउँझदै निदाएको अभिनय गर्नेलाई दर्पणले उसको प्रतिबिम्ब देखाउन सक्ने कुरा पनि भएन।

भूइँचालोले हामीलाई हाम्रा कमजोरी र शक्तिको बिम्ब मात्र देखाएको छैन, प्रश्नपत्र पनि छोडेर गएको छ। यो पत्रमा सोधिएका जिज्ञासाको उत्तर एक समय सीमा भित्र हाम्रो राजनीति र समाजले दिएन भने, नेपाल एक यस्तो युगमा प्रवेश गर्ने छ-जो अहिलेभन्दा नितान्त भिन्न हुनेछ।    

आजको आलेख केहि मित्रलाई तिखो लाग्न सक्छ। त्यसो भएमा मलाई क्षमा गर्नुहोला। केस ‘सर्जिकल’ भएकाले छुरी नचलाइ भएकै छैन। करेलाको पात पेटमा दलेर दुखाई कम हुने खालको बेथा होइन यो। शल्यक्रिया अनिवार्य भएको अवस्था हो। कुशल सर्जन नभइ कामै नहुने अवस्था हो । बुँदागतरूपमा कुरा राख्दा बेश होला।

१. नेपालमा महाविनाश भएको हो। ‘महाभूकम्प’ आएको होइन।

हो, पक्कै पनि, जे आयो, त्यो हाम्रा निम्ती ‘महाभूकम्प’ नै सावित भयो। जापानमा भएको भए ७.८ रेक्टरलाई महाभूकम्पको श्रेणीमा दर्ता गर्न मुश्किल पर्छ। त्यहाँ यत्तिको स्केलले यति धेरै बरवादी मच्चाउने पनि थिएन।

प्रश्न यसपटक हाम्रो धर्ति कति हल्लियो भन्ने मात्र होइन, मूल कुरा त्यसले कति बरवादी ल्यायो  भन्ने  हो। देश भुगोल मात्र होइन, देश भनेको जनता पनि हो।

अब हाम्रो राजनिति, गरिबी, अज्ञानता र लोभको यही स्तर कायम रहने हो भने अहिलेको भन्दा सानो कम्पनले पनि हालको भन्दा बढी दुःख ल्याउन सक्छ।  

तर, हाम्रो सोचाइ, राजनीति , अर्थव्यवस्था र लोभको मात्रामा सुधार हुने हो भने, ठूलै भूइँचालोले पनि हाम्रो खासै बिगार गर्न सक्नेछैन, जसरी जापानमा गर्न सक्दैन।

मलाई विश्वास छ, परकम्पनहरू बिस्तारै कम हुँदै जानेछन्। तर धर्ति हल्लन बन्द भइसके पछि पनि नेपालको अर्थ, राजनीतिक, सामाजिक, सांस्कृतिक लगायत सबै क्षेत्रहरुमा यो भूकम्पले दिएको झट्का वर्षौसम्म तरङित भइरहने छ।

२. आजभोलि, एउटा ‘पट्टु छाप’ थेगो सुनिँदै छ-‘हरेक संकट अवसर हो।’  

थेगो गलत होइन, तर अपूर्ण हो। त्यसैले मैले पट्टु छाप भनेँ। मलाई अपूर्ण कुराहरू थोत्रा लाग्छन्, चाहे ती जतिसुकै चमकदार र सुविधाजनक किन नहोउन्।  

हरेक संकट अवसर त हो तर सबैका लागि होइन। भूकम्पपछि गुजरात त बन्यो तर अर्बौ डलरको विदेशी साहयताका बाबजुद हाइटी बनेन। तत्काल बन्नेवाला पनि छैन। हाइटीका केहि टाठाबाठा ठगहरू बने, बाँकि जनता बनेनन्।

गुजरातका लागि भूइँचालो पुननिर्माणको अवसर बन्यो। तर, हाइटीका लागि अवसानको दलदल।

३. नेपालले यी दुई मध्ये कुन बाटो लिन्छ?

यो प्रश्नको उत्तर हामीले ऐनामा आफ्नो मुहार आँखा खोलेर हेर्छौ वा चिम्लेर? भन्ने प्रति-प्रश्नमाथि निर्भर हुनेछ।

सुन्दा, धेरैको अहंकारमा चोट पुग्ला। तर, वर्तमान बैश्ययुगको सन्दर्भमा नेपालको राजनीतिक लगायत लगभग हरक्षेत्रको नेतृत्व क्षमता ‘औसत’ मात्र हो। चाहे ती नेता हुन् या अभिनेता वा बुद्धिजिवी वा अर्थशास्त्री वा हामी मिडियाकर्मी वा ..... लगभग जो कोहि।   

होलान् एक्का दुक्का अपवाद, तर मूलतः लगभग हर क्षेत्रको नेतृत्वमा ‘औसत’ हरूकै बोलबाला भएको अवस्था हो। ठूला ठूला कुरा गर्‍यो, खुच्चिङ भन्यो, चाहिने नचाहिने कुरामा खितखित गर्‍यो ....जीवन चलेकै थियो।      

हामी सबै, जो कुनै न कुनै क्षेत्रमा अगाडि भनिएका छौ, बैश्ययुगको विश्वव्यापी र तिव्र मापदण्ड अनुसार चाहीँ  ‘औसत’ मात्र हौं। अथवा औसतभन्दा पनि तल ‘बिलो एभरेज’ हौं। त्यसैले चीन र भारत जस्तो आर्थिक बृद्धिदर भएका मुलुकको माँझमा बसेर पनि हामी गरिबी र अभावको खाडल मात्र साबित भएका छौं।

त्यतिले नपुगेर हाम्रै टाउकोमा भूइँचालो पनि ताण्डव नाच्न आइपुग्यो। 

हुन त ‘औसत’ हुनु कुनै अपराध होइन। औसत हुनुका धेरै फाइदा पनि छन्। कतिपय कालखण्डमा त्यस्ता औसत खाले नेतृत्वको ठूलो उपयोगिता पनि हुन्छ। त्यस्ता कालखण्डमा जब Non action is action (काम नगर्नू नै काम गर्नू हो) को सिद्धान्त हावी भएको अवस्था हुन्छ।

अब, त्यो अवस्था बाँकि रहेन। ‘औसत नेतृत्व, खुच्चिङे टिप्पणी र खितखिते प्रचारशैली’ को युग वैशाख १२ पछि सकिएको छ। विनासको आकार सानोतिनो भएको भए, त्यो युगलाई तानतुन गर्न पनि सकिन्थ्यो। तर विनास ठूलो भएको छ। विनास -हाम्रो औसत औकातभन्दा ठूलो भएको छ।    

संकटको समयमा साधारण क्षमता भएका नेतृत्वले असाधारण कृत्य गर्न सक्दैनन् भन्ने बुझ्नु नेपाल पुननिर्माणको पहिलो शर्त हो। अनिवार्य शर्त हो। 

वाक्य दोहोर्‍याउन चाहन्छु - संकटको समयमा साधारण क्षमता भएका मानिसले असाधारण कृत्य गर्न सक्दैनन् भन्ने बुझ्न नेपाल पुननिर्माणको पहिलो शर्त हो। अनिवार्य शर्त हो ।

अहिले नेपाल जसरी भत्किएको छ , त्यसलाई भौतिक र मानसिक रूपले ‘यथासक्य शिघ्र’ फेरि निर्माण गर्ने काम साधारण होइन। सजिलो पनि होइन। बिना नेतृत्व यो काम असम्भव छ।

सक्षम नेतृत्व मुनी बसेर काम गर्न पाए ‘औसत’ ले पनि असाधारण नतिजा दिन्छ। तर नेतृत्वको क्षमता ‘औसत’ भए ‘असाधारण’ सम्भावना बोकेको युवा पुस्ताले दिने नतिजा पनि ‘बिलो एभरेज’ हुन्छ। 

भैंचालो नआउँदै पनि हामी चर्किसकेका थियौं। भैंचालोले हामीलाई हल्लाउनुभन्दा अघि पनि नैतिक, राजनीतिक र आर्थिक रूपबाट हामी वाक्कदिक्क भइसकेका थियौ।

अब पनि हामी नचेत्ने हो भने, नेपालले ‘हाइटी’ जाने बाटो समात्ने छ। संकट अवसर त हो, तर सबैका लागि होइन ।

संकट अवसर त हो तर सक्षम नेतृत्व नभएका समाजको लागि होइन।

४.  हाइटी जस्तै नहुने हो र समाधानको खोज्ने हो भने कुरा चपाएर काम हुनेछैन। चिप्लामिठा र रमाइला कुरा गर्ने सदाबहार ‘राम्रा’ मानिसले विसौ वर्षदेखि अलापेको राग फेरि एक पटक बजाएर यस पटक चाही हामी कतै पुग्ने छैनौं।

पाब्लोभ सिधान्त अनुसार ‘प्याराडाइम सिफ्ट’ भएको छ। अब नेपालमा समय र तिथीमितिको मापन दुई भागमा गरिने छ - वैशाख १२को  भूइँचालो अघि र भूइँचालो पछि।

आजको दिनमा कुरा चपाएर कुनै काम छैन। चाहिने नचाहिने, जायज नाजायज हर कुराको निम्ती ६०१ माथि खनिएर हामी सामाजिक सञ्जालमा मूतको न्यायो बगाउन त सक्छौ, यथार्थमा कतै पुग्दैनौं।

मलाइ बोक्रे कुरामा बिश्वास छैन। म परिधिमा अल्झन सक्दिनँ, म केन्द्रीय प्रश्न उठाउन चाहन्छु। एक छिन शान्त भएर, बुँदा नम्बर ५ पढन अनुरोध गर्छु।

५ . प्रधानमन्त्री सुशील कोइराला प्रति मेरो मनमा ठूलो आदर छ। आदर त मेरो मनमा हाम्रा सम्मानित कविज्यू प्रति पनि छ। तर, मलाई यो पनि थाहा छ कविवरका कविताको भरमा मात्र लडेको घर उठाउन सकिदैन।

हो, त्यसबाट भत्केका घर फेरि ठड्याउने प्रेरणा, जोश जाँगर हामीलाई अवश्य मिल्न सक्छ। तर, ढलेको घरलाई अक्षरको भरमा मात्र ठड्याउन चाही सकिन्नँ।

थोरबहुत अभिमान त मलाई आफ्नो लेखन वा टेलिभिजन शैलीमा पनि होला। तर, त्यो शैलीको तागतमा मात्र भवनका चिरा पुरिन सक्दैनन्। किनभने यी ‘माइन्ड र म्याटर’ का अलग अलग आयाम हुन्।

अहिले देश संकटमा भएकाले प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिँदा जिम्मेवारीबाट भागेको अर्थ नलाग्ने भएको भए म उहाँलाई स्वेच्छाले पद त्याग गर्ने सल्लाह दिने थिएँ।

पदका लागि खासै आशक्ति भएको मानिस पनि होइन उहाँ। आइलागेकोले खाइदिएको मात्र हो उहाँले प्रधानमन्त्रीको पद। तर, अहिलेको अवस्थामा उहाँको पद त्यागले समाधान होइन जटिलता थप्ने छ।

तर, सुशील’दा प्रति जतिसुकै आदर भए पनि, प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा मात्र पुननिर्माण कार्य सिघ्र सम्भव होला भनेर सोच्नु मुर्खता हुनेछ। भन्नु पनि -चाकरी हुनेछ।

त्यसैले यो पुननिर्माणको दायित्व पूरा गर्न प्रधानमन्त्री कोइरालासँग दुई बिकल्प छन्। पहिलो,  अधिकारसम्पन्न पुननिर्माण प्राधिकरण गठन गर्नू।

दोस्रो, क्याविनेट पुनर्गठन गरी उपप्रधानमन्त्री (पुननिर्माण) को पद थप्नु। एक यस्तो उपप्रधानमन्त्री, जो कुनै मन्त्रालय विशेषमा होइन, प्रधानमन्त्री कार्यालयमा रहने छ र जसले पुननिर्माणसँग सम्बन्धित सबै मन्त्रालय र एजेन्सीलाई आदेशात्मक समन्वय गर्नेछ।

नेपाल जस्तो राजनीतिक र प्रशासनिक ‘हावापानी’ भएको ठाउँमा म पुननिर्माण प्राधिकरणको पक्षमा त्यति छैन। प्राधिकरणको बाटोबाट हिड्दा, यत्रो धेरै रकम परिचालित हुने र यति धेरै अधिकार बोकेको संस्था एक प्रकारको समानान्तर शक्ति केन्द्र भएर खडा हुने खतरा रहन्छ।

संसारका अन्य भागमा प्राधिकरण मोडेल कतै सफल कतै असफल भएको छ। नेपाल जस्तो ‘अर्धनिर्मित राज्य’ मा यो मोडेल अपनाउँदा जटिलता  उत्पन्न हुन सक्छन।

तर यी दुई विकल्प मध्ये केही नगरि बस्ने दुस्साहस नगरियोस्। २०४५ सालमा भूकम्प आयो। २०४६ मा पञ्चायत व्यवस्था नै ढल्यो। भूकम्पको कुव्यबस्थापन र पञ्चायत व्यवस्थाको ढलाइ- दुबै घटनाको चश्मदिद् साक्षी हुँ म।

त्यसैले भन्दै छु-दुई मध्ये एक विकल्प पनि नरोज्ने दुस्साहस नगरियोस्। त्यो दुस्साहसको मूल्य थामी नसक्नु हुनेछ।

६. काग्रेस-एमाले गठबन्धनले यो कुराको निर्णय तत्काल गर्नुपर्छ- पुननिर्माणमा नेकपा एमाओवादीको भूमिका के हुने छ? के एमाओवादीलाई सरकार बाहिर राखेर पुननिर्माण सम्भव छ?

मेरो विवेकका आधारमा दुई नाम प्रस्तावित गर्छु। यी मध्ये जसलाई जिम्मा दिए पनि हुन्छ। डा.बाबुराम भट्टराराई अथवा महेश आचार्य।

मेरो वैकल्पिक चयनमा डा.रामशरण महत पर्नेछन्। देश संकटमा परेको बेला प्रधानमन्त्री भइसकेका डा. भट्टराईलाई ‘प्रोटोकल’ को प्रश्न यस विषयमा नउठाउन अनुरोध गर्छु।

साथै सबै खेमाका कांग्रेसजनहरूलाई महेशजीको नामप्रति आफ्ना निजी आग्रह-पूर्वाग्रह त्याग्न विनम्र अनुरोध गर्छु। बाबुरामजीको सन्दर्भमा पनि माओवादी मित्रहरूबाट त्यति अपेक्षा गर्छु।

धेरै सोचेर मैले उहाँहरूका यी नाम सुझाएको हुँ।

मैले सुझाएका नाम दोषमुक्त होइनन्। तर, हामी उपदेशशास्त्रमा दक्ष भए पनि जीवनका यथार्थमा ‘औसत’ क्षमताका मात्र हौ भन्ने बिर्सनु भएन।

यहाँ न मरेर गएका ली क्वान यु लाई स्वर्गबाट आएर पुननिर्माण गर्ने फुर्सत छ, न त ओवामा नै नेपाल बसेर पुननिर्माण गर्नेछन्।

७. नेपालमा ‘राम्रा’ भनेर प्रचारित मानिस वा चिप्लामिठा कुरा गर्ने मानिस वा पदमा छँदा सिन्को नभाच्ने तर, अवकाश पाएको भोलिपल्टदेखि मिडियामा उपदेश दिने पूर्वप्रशासक, विज्ञ आदिले पनि यो काममा सघाउन सक्छन्। तर,  यो जटिल काममा नेतृत्वदायी भूमिका खेल्न सक्दैनन्।

संकटको कठोर समयमा लुलो निर्णय गर्ने नेतृत्व र समाज धेरै टिक्न सक्दैन। त्यसैले त मुराकामीले भनेका छन- 

‘ हो , तुफान भनेकै, यही त हो

कोही उस्तै रहनै सक्दैन’

***

‘नेपालले यो संकटबाट कति चाँडो वा ढिलो पार पाउला विजय सर?’

प्रश्न सुनयनाले सोधेकी छिन्। म युवा पुस्ताका मित्रहरूलाई ईमान्दारी साथ उतर दिन रूचाउँछु। किनभने, उनीहरु खुला मष्तिष्कले सम्भावनाको खोजी गर्छन्। उनीहरू केहि ‘सिक्न’ लाई प्रश्न सोध्छन्।

सुनयनाले बडा गुरूत्वशाली प्रश्न सोधिकी छिन्। हलुका उत्तर दिएर पन्छन सकिन्नँ।

सुनयना-संकटबाट कति समयमा पार हुन्छ भन्ने प्रशनको उत्तर दुई कुरामा निर्भर हुनेछ। पहिलो, संकटमोचन अभियानको नेतृत्व नेपालमा कसले गर्छ भन्ने जवाफमा।

दोस्रो विदेशी सहयोग कति प्राप्त हुन्छ? भन्ने आँकडामा। नोक्सानको मात्रा असाधारण छ। असाधारण बिदेशी सहयोग बिना पुननिर्माण असम्भव छ।

सुनयना! तिमीलाई उतर दिन मैले भारतीय राजदूत रञ्जीत रेसँग समय मागेँ। अन्य विदेशी दातृनिकायको कुरा पनि क्रमशः बुझ्ने कोशिस गर्नेछु।

भारत र चीन, नेपालका निम्ति सर्वाधिक महत्वपूर्ण राष्ट्र हुँदै हुन्। विश्व समुदायका निम्ती पनि अब यीनको सहकार्य बिना धेरै टाढा जान सक्दैन।

हामीले भारतसँगका समबन्धमा पारदर्शिता र स्पष्टता ल्याउनै पर्छ। यो काम तिम्रो पुस्ताले गर्नैपर्छ। होइन भने तिम्रो पुस्ताको जीवन पनि खाडीको मरूभूमीमा नै बित्नेछ।

काठमाडौंमा एकथरी छन्, भारत भन्ने बित्तिकै लम्पसार शरणागत हुन्छन्। अर्काथरी छन, नेपालमा घट्ने हर कुराको निम्ती भारतलाई मात्रै दोषि देख्छन्। पहिलाथरि भारतका ‘दास’ हुन भने अर्काथरी रातदिन भारतलाई टोक्न खोज्ने ‘मच्छड’ हुन्। यी दुबै थरी अतिवादी दृष्टठिकोणको बिचमा ‘सत्य’ कतै लुकेर बसेको छ।  

तेस्रा थरी, केहि दर्जन शहरीया टाठाबाठा चाही ‘व्यवसायिक’ हुन्। अस्ति टेलिभिजनमा देखेँ। एउटा वृद्धबालक एक भारतीय अधिकारीसँग दास मुद्रामा ‘है हजुर.. है हजुर’ गर्दै थियो।

यहि ढोंगी वृद्धबालक सामाजिक सञ्जालमा चाहीँ मच्छरको अभिनय गर्छ। क्या रमाइलो! 

म आशा गर्छु सुननयना, तिमीहरूको नयाँ पुस्ता विदेश मामिलामा न त कसैको दास हुनेछ, न मच्छर, न ढोङी जोकर! आम जनता चाहीँ भारतप्रति कुनै पूर्वाग्रह राख्दैनन्। भारतले राम्रो गरे राम्रो भन्छन्, खराब गरे खराब।

हालको निम्ति सबैले गहिरो तवरले बुझ्नुपर्छ-आजसम्म कहिलै नआएको धेरै ठूलो विदेशी सहयोगको नेपाललाई आवश्यकता छ। यिनै परिपेक्षमा नेपालका लागि भारतीय राजदूत रन्जीत रेसँग उहाको कार्यालयमा गरिएको कुराकानीका अंशहरू:  

 

भैंचालो आउँदा तपाईँ कहाँ हुनुहुन्थ्यो राजदूत महोदय?

-भैंचालो आउँदा म आफ्नो दुतावासमा रहेको आफ्नो निवासमै  थिएँ।

तपाईँले कुन बखत नयाँ दिल्लीमा भूकम्प बारे पहिलो सूचना दिनुभयो?

-पहिलो सूचना हामीले दिएनौ। प्रधानमंत्री मोदीजीले स्यम् थाहा पाउनुभएको रहेछ। त्यस बखत प्रधानमन्त्रीजी दिल्लीमा कतै जादै हुनुहुन्थ्यो।

भूकम्पको झट्का महसुस गरेपछि मोदीजीले त्यसको ‘इपीसेन्टर’ बारे जानकारी माग्नु भयो। तत्काल भारतीय क्याबिनेटको आपतकालिन बैठक बोलाउनुभयो। त्यसबखत बैङककमा रहेका प्रधानमन्त्री सुशील कोइरालासँग सम्पर्क गर्नुभयो। मेरो पनि कुरा भयो।

भूकम्प आएको ६ घन्टा नबित्दै पहिलो भारतीय बिमान काठमाडौं ओर्लिसकेको थियो। संकटको यस घडीमा केन्द्र सरकारको कुरा मात्र होइन, भारतको राज्य सरकार र सामान्यजन पनि भूकम्पको समाचार सुन्ने बितिकै सहयोग गर्न तत्काल सक्रिय भए।

नेपालको साटो कुनै अर्को छिमेकीमा यस्तै प्राकृतिक बिपत आएको भए भारतको प्रतिक्रिया यस्तै हुने थियो या भिन्न ? या यो प्रश्न नै फजुल हो ?

तपाइको प्रशन काल्पनिक हो । र , मेरो बिचारमा जायज प्रशन पनि होइन । नेपाल र भारत बिचको समबन्ध अतुलनिय  छ । ज्यादै नजिक र धनत्वपुर्ण छ । ‘छिमेकी पहिला’ भन्ने भारतको घोषित बिदेश निति छ । दक्षिण एसियामा हामी हाम्रो जिम्वारीका प्रति सचेत छौ । तर नेपाल सित हाम्रो समबन्ध बिशिष्ठ छ ।

के तपाईँको मनमा नेपाललाई सहयोग गर्दा गर्दै पनि त्यसो क्रेडिट नपाएको र अनाहक विवादमा तानिएको अनुभूति हुन्छ?

नेपाल र भारतबीच समबन्ध जति व्यापक स्तरमा छन्, त्यस्ता खाले सम्बन्धमा यस्ता प्रश्न यदाकदा उठ्दै नउठ्ने होइनन्। तर, मूख्य कुरा त्यो होइन। जब हामी नेपालमा कुनै सहयोग गर्छौ त्यसको क्रेडिट पाउनु हाम्रा निम्ती सबैभन्दा महत्वपूर्ण कुरा होइन। मानिसहरू सोध्छन- यो भूकम्प आएपछि, भारतले कति रकम बराबरको सहयोग गर्‍यो? 

मलाइ यो प्रश्नको उत्तर दिन सजिलो छैन। किनभने यो कामका निम्ती भारतले कुनै रकम छुट्याएर राखिएको त थिएन नि। हामीसँग तत्काल जे जति थियो, सकिन्थ्यो, हामीले स्वःस्फूर्त पठायौ। पठाउँदैछौ। अहिलेसम्म हामीले कुनै हिसाब गरेका छैनौं।  

सरकारको कुरा मात्र होइन। भारतीय संस्थाहरू र साधारण नागरिकहरू पनि स्वःस्फूर्त रूपले यहाँ सहयोग गर्न आएका छन्। भारत सरकारलाई सोधेर आएका होइनन् तिनीहरू। सम्बन्ध जनस्तरमा भएकोले आएका हुन्।  

एकछिन मानौं, भारत सरकारलाई सहयोग वापत ‘जस’ चाहिएन रे। तर के तपाईँलाई यस्तो महशूस हुन्छ कि तपाईहरूको कामलाई नेपालमा ‘अप्रिसिएट’ गरिएन?

-यो पनि काल्पनिक प्रश्न हो। कसले ‘अप्रिसिएट’ गरेको छैन ? सरकार, राजनीतिक दल र  सामान्य जनता सबैले राम्रै भनेका छन्।

हो, भारतले पठाएका सामाग्रीहरूमा कतै पनि भारतको सहयोग भन्ने छाप लगाएर पठाइको छैन। नेपाल र भारतको संस्कृति पनि त्यो होइन।

कृपया बुझिदिनुस्, हामीले नेपालमा केहि गरेर गुन लगाएका होइनौ। हाम्रा सम्बन्ध नै यस्ता छन्, एक अर्कालाई सुखदुःखमा स्वःस्फूर्त सक्दो गर्नैपर्ने हुन्छ। हो, भारतले गरेको सहयोग बापत ‘जस’ हामीलाई दिइन्छ भने हामी सहर्ष स्वीकार्ने छौ। तर हामी जस पाउने आशयले मात्र नेपाललाई सहयोग दिँदैनौं। नेपाल प्रति भारतीय जनता र सरकारको ठूलो सहानुभूति छ।

हामीलाइ थाह छ, नेपालमा केहि सिमित व्यक्तिहरू हामीलाई सधैं केहि न केहि आलोचना गरि रहेका हुन्छन्। हामी उनीहरू प्रति पनि सहानुभूति राख्छौ। किनभने हामी बुझ्न सक्छौ तिनले त्यसो किन गर्छन भनेर।

राजदूत महोदय, के यस्तो हुन सक्दैन कि तपाईहरूले जानेर वा नजानेर गल्ती गरेको होस्, जसबारे आलोचना हुन्छ ?

जसले काम गर्छ, गल्ती पनि उसैले गर्छ। आलोचना पनि उसैको बढी हुन्छ। जसले कामै गरेन उसको आलोचना कहाँ हुन्छ र? हामीबाट गल्ती नै भएन भनेर हामी भन्न सक्दैनौ।

यत्रो ठूलो भूइँचालोको उद्धार कार्यमा तत्काल संलग्न हुँदा सुरूका केहि दिनहरुमा समन्वयको कमी भएको हुन सक्छ। तर, समय बित्दै जाँदा तिनमा सुधार पनि भयो। काम गर्दै जाँदा केहि गल्ती भएका हुन सक्छन्। हामी तिनको समिक्षा गर्ने छौ।

गल्ति भएको ठाउँमा भविष्यका लागि सिक्नेछौ। तर, यसबीचमा अनगिन्ती राम्रा काम पनि भएका छन् भन्ने भुल्नु हुँदैन।

भारतको आलोचनाको कुरा गर्दा आम जनस्तरमा भारत सरकारको भूमिका भन्दा भारतीय मिडिया, बिशेषगरि टेलिभिजन च्यानलहरुको व्यापक आलोचना भयो। स्यम् भारतका केहि बरिष्ठ पत्रकारहरुले समेत त्यो शैलीको बिरोध गरे। तपाई कुनै टिप्पणी गर्न चाहनुहुन्छ?

म यस विषयमा आम नेपाली जनताले गरेको आलोचनालाई जायज ठान्छु। भूइँचालोका कारण जनता यति धेरै पीडामा छन्। मिडिया कभरेजको नाममा पीडित मानिसहरूको आत्मसम्मानमाथि चोट पुर्‍याउन पाईँदैन।  

हो, पक्कै पनि, मिडियाको काम भइरहेका घटना र राहत कार्यबारे जानकारी दिनु हो। तर, त्यसो गर्दा पीडितको आत्मसम्मानमाथि चोट नलागोस् भन्ने बिषयमा संवेदनशिलता हुनै पर्छ। हामीले यस प्रकरणबाट पाठ सिक्नैपर्छ। 

अर्को कुरा, मिडिया चाहे भारतीय होस वा नेपाली आजभोलि अतिशयोक्तिपूर्ण ढंगले घटनाहरूलाई सेन्सेनलाइज गर्ने चलन आएको छ । कम से कम यस्तो ठूलो विपतको समयमा हामीले मानवीय संवेदनशिलताको ख्याल राख्नैपर्छ।  

अब तत्कालिन राहतको चरण लगभग सकिएको छ। अब भारत सरकारले सहयोग बारे के सोचिरहेको छ ?

 मनसुन अघि र पछि दुबै समयमा हामीले गर्ने सहयोग बारे ‘होम वर्क’ सुरू भएको छ। यस विषयमा नेपाल सरकारसँग कुरा भइरहेको छ। दुःखको यस घडीमा भारत हर प्रकारले सहयोग गर्न तैयार छ।

 

राजदूत महोदय, धेरै देशहरूले सहयोगको आश्वासन दिएका छन्। सहयोग गर्न चाहेका छन्। यसमा कतै सहयोग दोहरिने, कतै नपुग्ने खतरा कति छ?

- मेरो विचारमा यो सब काम नेपाल सरकारको समन्वयमा हुनुपर्छ। किनभने कुन ठाउँमा के कति आवश्कत छ भनेर उसैलाई बढी थाहा हुन्छ। नेपालको योजना आयोग यस विषयमा सक्रिय पनि भइरहेको मैले पाएँ।

सहयोगका निम्ती नेपाल सरकारको ‘एकद्वार प्रणाली’ बारे विवाद सुनियो। तपाईँको धारणा के छ?

मेरो विचारमा नेपाल सरकारको ‘एकद्वार प्रणाली’ को कन्सेप्टलाई अनावश्क रूपले सुरूमा बदनाम गरियो। नेपाल सरकारले सबै काम आफै गर्छु भन्ने कुरा गरेकै थिएन। उसले त सहायतामा समन्वय हुनुपर्छ भन्ने मात्र भनेको थियो। अब बिस्तारै सबैले कुरा बुझ्दै जालान्।

नेपाल सहायता समूहको बैठकस्थल बारे दातृराष्ट्रहरूबिच कुनै प्रतिष्पर्धा छ?

यस विषयमा भारत सरकारलाई नेपाल सरकारको निर्णय मान्य हुनेछ। हामीलाई अनुरोध गरिए हामी पनि सो सम्मेलन नयाँ दिल्लीमा गराउन सहर्ष तयार छौ।

हालै चीन भम्रणको दौरानमा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा भारत र चीनका सैनिकले मिलेर काम गरेको बताउनु भएको छ। तत् समबन्धमा थप जानकारी दिनु हुन्छ कि?

हो, म केही उदाहरण दिन चाहन्छु। भारतीय सेनाको हेलिकप्टरमा चिनियाँ सैनिकहरूसँग मिलेर उद्धार कार्यहरू गरिए। र चिनियाँ युनिटमा मिसिएर भारतीय सैनिकले पनि उद्धार गर्न गए। यो क्रममा कयौं चिनियाँ र भारतीय पर्यटक र फसेका अन्य मानिसको पनि उद्धार गरियो। यो भूइँचालोले चीन र भारतबीचको सहकार्यलाई पनि नजिक ल्याएको छ।

भारत र चिनियाँ सैनिकबीच मात्र होइन, यहाँ कार्यरत सबै देशका सैनिकले मिलेर काम गरे। यो सब नेपाली सेनाका कारण सम्भव भएको हो, किनभने सबै सैनिक उद्धार कार्यको समन्वय नेपाली सेनाले नै गरेको थियो।

भारत र चीनबीच नेपालमा भएको यो सहकार्य अन्य क्षेत्रमा पनि बिस्तारित हुँदै जाने सम्भावना कति छ राजदूत महोदय?

भारत र चीनबिच सम्बन्ध धेरै मजबुत भएको छ। प्रधानमन्त्री मोदीजीको चीन भ्रमणका दौरानमा ठूलो धनरासीका सम्झौताहरू भएका छन्। चिनियाँ राष्ट्रपति सी जिङ पेनले पनि भारतको भम्रण गरिसक्नुभएको छ। भारत र चीनबीचको बढ्दो मित्रताको प्रभाव यो भूकम्पको दौरानमा पनि देखियो। मेरो विचारमा यो प्रकृयामा बढ्दै जाने छ।

काठमाडौंमा एक थरीलाई वर्षौदेखि लाग्छ कि भारत र चीनका स्वार्थ नेपालमा फरक फरक छन्। अतः नेपालमा प्रतिष्पर्धा गर्ने छन्। किनभने उनीहरूबीच तनाव धेरै छ। तर अब जसरी भारत-चीन समबन्धमा बद्लाव देखिदै छ त्यसको प्रभाव नेपालमा के पर्ला? के तपाइलाई लाग्छ कि आगामी दिनमा नेपालका बिषयमा भारत र चीनकाबिच छलफलमा वृद्धि हुनेछ? नेपालको स्थायित्व र प्रगतिका विषयमा द्विपक्षीय चर्चा हुनेछ?

तपाईँको प्रश्नको उत्तरका लागि भारतको नेपालमा रणनीतिक उद्धेश्य बुझ्न जरुरी छ। भारत एक शान्त, स्थीर र सम्पन्न नेपाल देख्न चाहन्छ। यही नै हाम्रो रणनीतिक उद्धेश्य हो। यो रणनीतिमा हाम्रो आफ्नै स्वार्थ छ। हामीलाई लाग्छ, यदि हाम्रो छिमेकमा शान्ति, स्थिरता र विकास भएन भने त्यसले हाम्रो आफ्नै विकास प्रकृयालाई पुरापूर विकसित हुन सघाउ पुर्‍याउँदैन।

मलाई लाग्छ चीनको पनि त्यही नीती हो। अशान्त नेपाल, न चीनको हितमा छ, न त भारतको। त्यो दृष्टिकोण राखेर हेर्ने हो भने, नेपालका विषय चीन र भारत एकै दृष्टिकोण राख्छन्। 

त्यसैले आगामी दिनहरूमा चीन र भारतबीच सहकार्यको मौका फेरि आउला भन्ने मलाई लाग्छ, जसरी यसपटक भूकम्पको दौरानमा आयो। 

प्रधानमन्त्री मोदीको चीन भ्रमणको नेपालमा कस्तो प्रभाव पर्ने आंकलन गर्न हुन्छ?

हामी कुनै एक राष्ट्रसँग आफ्ना सम्बन्धलाई अर्को कुनै देशको सम्बन्धको आधारबाट हेर्दैनौ। तर पनि,  भारत जस्तै चीन पनि नेपालको छिमेकी भएको यथार्थताको सन्दर्भमा हेर्दा, अहिले भारत-चीन सम्बन्ध जसरी विकसित भइरहेका छन्, त्यसका सकारात्मक परिणाम नेपालका निम्ति पनि हुन सक्छन्, यदि नेपालले अवसरको फाइदा लिन जान्यो भने।

 

यदि नेपालले अवसरको फाइदा लिन जान्यो भने, राजदूत महोदय?

हो।

तपाईको विचारमा यो भूकम्पको नेपालमा राजनीतिक र अन्य  के कस्तो अन्य प्रभावहरू पर्लान्?

अहिले नै आंकलन गर्न मुस्किल छ। तर संकटको यस घडीमा नेपाली जनता र  राजनीतिक नेतृत्व पनि जसरी एकसाथ खडा भएका छन्, त्यसले बाँकि राजनीतिक विषयमा पनि सकारात्मक प्रभाव पर्ला जस्तो लाग्छ।

संकटले कुनै देशका निम्ती अवसर ल्याउँछ र कसैको लागि बिग्रह र बरवादी। नेपालका निम्ति के ल्याउला?

म आशावादी छु यसले अवसर ल्याउने छ। नेपाल बढी ऐक्यताबद्द हुनेछ। स्थिरता र विकासको नयाँ अध्याय सुरू नेपालमा हुनेछ। नेपाली जनताले जुन साहस र धैर्यका साथ यो विपत्तिको सामना गरेका छन्, गर्दै छन्, त्यो हेर्दा मलाई नेपाली जनताले एक नयाँ युगको थालनी गर्नेछन् भन्ने पूरा विश्वास छ।

त्यो काममा भारत र अन्य देशहरुको साथ कस्तो रहला राजदूत महोदय?

संकटको यस घडीमा भारतलाई नेपाली जनताले आफ्नो साथ पाउने छन्। मलाई बिश्वास छ, अन्तर्राष्ट्रिय समूदाय पनि आफ्नो जिम्मेवारीबाट पन्छिने छैन।

***

सुनयना! आशा गर्छु, बुझ्यौ होला, पुननिर्माणको लागि समय कति लाग्छ भन्ने कुरा के के मा निर्भर गर्छ भनेर।

आदरणिय प्रधानमन्त्री सुशील कोइरालाज्यू-देशको पुननिर्माण, वर्तमान राजनीतिक प्रणाली र तपाईँको आफ्नै राजनीतिक भविष्यको परीक्षा घडि आएको छ।

बीपीले भने झै एक मुठी माटो हातमा उठाउनुस्। पार्टीगत, गुटगत भावनाभन्दा माथि उठ्नुस र निर्णय गर्नुहोस्। समय धेरै छैन।

हामी सबै ‘औसत’ क्षमतावान मात्र हौ। तर, मिलेर काम गरे हामीले नै असाधारण नतिजा दिनेछौं।

 

source-setopati

 

 

http://setopati.com/bichar/28417/

Related Images