विपद्‌मा नयाँ सरकारको लुछाँचुडी घातक
21-May-2015

दील नीसानी मगर 

केपी ओलीको विकल्प देखिँदैन


एक टेलिभिजन पत्रकार महोदयले बडो हस्याँङ-फस्याँङ्साथ रीपोर्टिङ् गर्दै थीए- ‘मैले दोलखामा सेना, प्रहरी र सिडिओसा’ब मात्र खटिएको देखेँ, सरकारको उपस्थिति कहीँ कतै पनि देखिनँ।’ 

यी नेपाली पत्रकारको प्रस्तूति देखेर हामीले ‘घर फिर्ता होउ’ भनेर तथानाम गाली गरेका भारतीय मीडीयाप्रति अचानक दयाभाव जाग्यो। 

सरकारको उपस्थिति भनेको के हो? चिरा चिरा परेको सिंहदरबार जुरूक्क उठेर नेपालका गाँउ-गाँउ घुम्नु पर्ने हो वा प्रधानमन्त्रीले जादुको छडी उचालेर फु मन्तर की बाचा गर्नुपर्ने हो?

सेना, प्रहरी, कर्मचारी अनि जिल्लामा रहेका सिडिओ नै सरकारको प्रमुख संयन्त्र तथा अङ्ग हुन् भनेर नजानेका कठै ती पत्रकार!

मानौं सेना सरकारको अङ्ग होइन। स्वयम् प्रधानमन्त्री सुशील कोईराला चामल, नुन,  तेल, बेसार र अदुवा उचालेर दोलखा जानु पर्‍यो।
हेलिकप्टरबाट होइन कि गृहमन्त्री बामदेव गौतमले काँधमा पाल, कपडा, खाद्यान्न औषधि अनि जस्तापाता बोकेर भूइँचालो पीडितको घर-घर उपस्थित हुनै पर्‍यो।

सरकारको उपस्थित राज्य संयन्त्रमा हुन्छ। संयन्त्रको संयोजक मन्त्रिमण्डलका अगुवा हुन्छन्। 

यहि राज्य मातहातका सेना अनि प्रहरीको काम देखेर सलाम गर्न तयार हुने केहि मानिसले सरकारमा रहेका व्यक्तिको भूमिका सहन नसकेर राष्ट्रिय सरकार गठन गर्नुपर्ने माग राख्दा उदेक लाग्छ। 

दिल्लीका ९०% मानिस घरबाहिर निस्के भने अरविन्द केजरीवालको हालत समेत बामदेव गौतमकोभन्दा खराब हुनेछ। जस्तो कि अस्ट्रेलिया सरकारले जंगल मा लागेको आगो उतिखेरै निभाउन किन सकेन? अमेरिकामा हिमपातले पुरीएका

मानिसको खोजी तथा उद्धार कार्य एकै दिनमा किन सम्भव भएन? त्यसैले सरकारलाई मात्र दोष देखाएर राष्ट्रिय विपत्तिसँग सामना गर्न सकिँदैन।

केहि मानिसका लागि आफू सरकारमा रहेको बखत त्यो सरकार राष्ट्रिय हुन्छ अनि आफू सरकारबाट हटेको दिनदेखि अन्तर्राष्ट्रिय हुन्छ। 

के नेपालमा अहिले अन्तर्रास्ट्रीय सरकार छ र? यदि छैन भने राष्ट्रिय सरकार भनेको के हो? सर्वदलीय सरकार हो? 

कुनै दिन एमाले अध्यक्ष केपी ओलीको मानसिक सन्तुलन ठीक नभएको भन्दै दस्तावेजीकरण गर्न पछि नपरेका दल अहिले उनैसँग राष्ट्रिय सरकारको लागि छलफलमा ब्यस्त रहनेहरूको कदम नीकै हाँस् उठ्दो देखिन्छ। 

यो दुःखदायी स्थिति पार लगाउने जादुको छडी कसको खल्तीमा छ? के भूइँचालो पीडितले राहत नपाउनुको अन्तिम कारण सुशील कोईराला मात्र हुन्? वा नेकपा एमाले हो?  

यस्तो ठूलो संकटमा पनि दलहरू आफ्नो सरकार नभइ पीडितको सेवा गर्न नसक्ने निचोडमा पुगेका छन्। यो सरासर गलत छ। अहिले नयाँ सरकारको लुछाँचुडी घातक छ। 

यो सरकारले भुइँचालो पीडितलाई राहत दिन सकेन भन्ने बाहानामा राजनीतिक स्वार्थ हासिल गर्न धमिलो खोलामा माछा मार्ने प्रयास भइराखेका छन्, यो गलत छ। यो  नयाँ सरकार बनाउने समय हुँदै होइन। प्रधानमन्त्री आफैले राजीनामा दिए भने उनी राष्ट्रिय कर्तव्यबाट भागेको ठहरिने छ। 

अहिले प्राप्त अन्तर्राष्ट्रिय सहयोग पनि त्यसै प्राप्त भएको होईन। दाताले दिने रकम सही प्रयोग हुन्छ वा हुँदैन भन्नेमा उनीहरुको चासो छ। हाईटीमा भूइँचालो जाँदा त्यहाँ भएको डरलाग्दो आर्थिक हिनामिना (भ्रष्टाचार) बारे जानकार दाता आँखा चिम्लेर आउँदैनन्। सरकारको विश्सनियता ख्याल गर्छन्।

महाभूकम्पले ल्याएको संकट आंशिक रूपमा हल नगरी दलीय सहमतिको साझा सरकार उपयोगी देखिदैन। सर्वदलीय राष्ट्रिय सरकारले भुइँचालो पीडित पनि दलीय भागमा बिभाजीत गरिदिने खतरा पनि उत्तीकै छ। तत्कालै भौतिक  निर्माणका राष्ट्रिय योजना लागू गर्न सम्भव छैन। सामान्य राहत वितरण, अस्थायी बसोबासको व्यवस्था, उपचार लगायत काम गर्न यहि सरकार सक्षम छ।

अमुक व्यक्तिलाई 'असक्षम'को ट्याग लगाएर संकटको घडी पार गर्न सकिदैन। जनसेवाका लागि सत्ता चाहिन्न भन्ने शिक्षा शेष घलेबाट किन नलिने? 

राष्ट्रिय पीडामा  हाम्रा सिपाहीको साहस ऐतिहासिक छ। सिपाहीको संगठन र तिनको नेतृत्वकर्ता पनि यो राष्ट्रका स्थायी सरकार हुन्।

यहाँनेर सामान्य जस्तो लाग्ने सिपाही शब्द प्रयोग गरेर मैले विभिन्न सुरक्षा संगठनमा कार्यरत राष्ट्रसेवक सदस्यको महत्त्वपूर्ण सेवा, भूमीकालाई खुम्चाउन खोजेको वा मानमर्दन गर्न चाहेको चाहिँ अबश्य पनि होइन। 

सामान्य अवस्थामा पनि  चुनाव गराउन नसकेर कर्मचारीको साहारा लिने राजनीतिक दलहरूले असमान्य अवस्थामा राष्ट्रिय सरकारको खोजी गर्दा यो ठट्टा हो कि गम्भीर विषय हो भेद खुलाउन सकीदैन।  

सपनामा सपनाको कुरा हुन्छ, बिपनामा बिपनाको। कुनै पार्टीलाई ऋण लागेको छ भनेर नयाँ सरकार गठन गर्न कहाँ पाईन्छ?

दलले जनसेवामा कसरी काम गर्छन्? यसपाली छर्लङ भयो। कहाँ गए ती लाखौँ वाईसीएल? जो अजङ पहाड बोकी हिड्न राजी थिए। ती खेतीपाती गर्न व्यस्त छन् वा रानिवनमा बाँसुरी बजाउँदैछन् थाहाँ छैन। 

म चाहन्छु कि, कानेगुजी भरिएका असङ्ख्य कपूतहरुको कानभित्र एउटा सिपाहीको जीवनले देखाएको साहसिक सन्देश पुगोस्। तिनले शरम मानेर खास्टोले मुख छोपुन् र मुहारमा कहिल्यै नमेटीने कालो दाग लागोस्। 

नागरिकका पहरेदार सीपाहीमाथि ढुंगामुढा गर्ने, दलका कार्यकर्तालाई १०/२०/५० किलोको फूलमाला लगाउनेलाई यसपाली शरम लाग्यो होला। 

वैशाख १२ यता उद्धारकर्ममा सिपाहीका निधारबाट पसिना होइन रगत निस्केको छ। यो रगत नेपाल आमाको हो। 

मानिसहरूलाई के परेको छ भने माओवादी झगडा मात्र गर्छन्। एक अर्काबीच कुटाकुट मात्र गर्छन्। त्यसैले कालो भए पनि कांग्रेस, गोरो भए पनि त्यही कांग्रेस। डन पार्टी भए पनि एमाले, धन पार्टी भए पनि त्यही एमाले। अहिले यी दुई पार्टी सरकारमा छन्।

अब सरकारको नेतृत्व गर्न बाँकि नेता कोहि छ जस्तो मलाई लाग्दैन। फेसबुकको चुनावमा त युवा नेता गगन थापा प्रधानमन्त्री बनीसके तर कांग्रेबाट प्रधानमन्त्री बन्न न्यूनतम् ६० वर्ष नाघ्नैपर्ने जस्तो देखिन्छ। 

नयाँ सरकार बनेमा एमाले अध्यक्ष केपी ओलीको बिकल्प देखीदैन।

source-setopati

 

http://setopati.com/bichar/28446/

Events
Random Picks