राजनीतिमा सुशीलका सात दशक
9-February-2016

सादगी सुशील कोइराला ६ दाजुभाइ र ६ दिदीवहिनीको परिवारमा हुर्किए। तर उनी आफैंले भने परिवारको संख्या बढाएनन्। उनले अविवाहित जीवन नै रुचाए।

 

पारिवारिक थातथलो नेपालगञ्ज भएपनि सुशील विराटनगरमा जन्मिए। अध्ययन गर्न वीरगञ्ज पुगे। त्यहाँस्थित ठाकुरराम हाइस्कुलमा अध्ययन गर्ने क्रममा उनी २००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनबाट राजनीतिमा लागे। त्यसयता उनले राजनीतिबाट कहिल्यै विराम लिएनन्। पिता बोधप्रसाद सरकारी डी एफ ओ भएकाले उनी कहिले नवलपरासी पुगे, कहिले पाल्पा पुगे।

 

तर जहाँ पुगे त्यहाँ पार्टीको संगठन विस्तारमा लागे। काँग्रेसका संस्थापक नेता विपी कोइरालाको संगतबाट पार्टी काममा लाग्न हौसिए। तर २०१७ सालमा तत्कालीन राजा महेन्द्रले १० वर्षे प्रजातन्त्रलाई अपदस्थ गरेपछि सुशील मुलुकको राजनीतिक अवस्थाबारे पार्टी नेता सुवर्ण शमशेरलाई जानकारी गराउन भारत गए। र, भारतमा २० वर्ष निर्वासित जीवन विताए। भारतमै रहँदा उनी विमान अपहरण काण्डमा संलग्न भए। त्यसवापत उनी तीन वर्ष जेल परे।

 

तत्कालीन राजा महेन्द्रले २०३७ सालमा जनमत संग्रहको घोषणा गरेर आममाफी दिएसँगै उनी गिरिजाप्रसाद कोइरालासँगै स्वदेश फर्किए। स्वदेश फर्किनासाथ वहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न लागे। तर वहुदलीय व्यवस्था भने उनी स्वदेश फर्किएको ९ वर्षपछि मात्र आयो। २०४६ सालमा वहुदलीय व्यवस्था आउनु पहिले नै उनले पार्टीको केन्द्रीय सदस्य तथा विदेश विभागको प्रमुखको जिम्मेवारी पाइसकेका थिए।

 

प्रजातन्त्र पुर्नबहालीपछि भएको पहिलो संसदीय निर्वाचनमा उनी आफ्नो गृहजिल्ला बाँकेबाट विजयी भए। नेपाली काँग्रेसको एकल नेतृत्वमा वहुमतीय सरकार गठन भएपनि सुशिल सरकारमा सहभागी भएनन्। सरकारमा सहभागी पार्टीका नेताहरु भ्रष्टाचारमा मुछिए। त्यसकै परिणाम २०५१ सालको मध्यावधि निर्वाचनमा काँग्रेस दोस्रो दलमा खुम्चियो, सुशीलले पनि पराजय व्यहोरे। मध्यावधि निर्वाचनमा पराजित उनी पार्टीको नवौं महाधिवेशनबाट महामन्त्री बने। २ वर्षमै पार्टी उपसभापतिमा बढुवा भएका उनी २०५६ सालको निर्वाचनमा सांसद् पदमा विजयी भए। काँग्रेसको एकल नेतृत्वमा फेरि पनि वहुमतीय सरकार गठन हुँदा सुशील सरकारबाट बाहिरै बसे।  

 

प्रजातन्त्र पुर्नबहालीदेखि  गणतन्त्र स्थापना हुनुअघिको अवधिमा काँग्रेसले सात पटक सरकारको नेतत्व ग¥यो। तर पार्टीको प्रवावशाली नेता भएर पनि सुशीलले सरकारमा जान आशक्ति देखाएनन्। बरु तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले उपप्रधानमन्त्रीसहित मन्त्री बन्न गरेको प्रस्तावलाई अस्वीकार गरे। त्यागको राजनीति गरेका सुशील २०६७ सालमा सभापति चुनिए। उनकै सभापतित्वमा कांग्रेसले पहिलो संविधानसभाको हार विर्साइ दोस्रो संविधानसभामा २५ लाख १८ हजार ७ सय ३० मतसहित  १ सय ९६ सीट हासिल ग¥यो, उनी आफैं पनि चितवन ४ र बाँके ३ बाट निर्वाचित भए।

 

पार्टीलाई सबैभन्दा ठूलो दलको रुपमा उभ्याएको परिणाम पार्टीभित्र उनको वाहवाही भयो। र, वरिष्ठ नेता शेरबहादुर देउवाको चुनौती चिर्दै संसदीय दलको नेता हुँदै २०७२ साल माघ २७ गते उनी मुलुकको कार्यकारी प्रमुख बने। कार्यकारी प्रमुख बनेकै दिन उनले भने–एक वर्षभित्र संवधान जारी गरी संविधान जारी भएको भोलिपल्ट पद त्याग गर्छु। तर एक वर्षभित्र संविधान जारी हुन सकेन। संविधान नआएपछि सुशील सत्तामै रहे।

 

सत्तामा रहँदा सुशीलले पार्टीबाट सोचे अनुरुपको सहयोग पाउन सकेनन्। वरिष्ठ नेता शेरबहादुर देउवाले भागबण्डा खोजिरहे। सत्ता साझेदारी गरेको दोस्रो ठूलो दल नेकपा एमालेलाई पनि चित्त बुझाउनुपर्ने वाध्यता थियो। तर वाध्यताका बीच पनि क्यान्सर रोगबाट पीडित सुशिलले हार खाएनन्। अमेरिका गएर उपचार गराए। क्यान्सरलाई पराजित गरे। उनले सल्लाहकारको समूह गतिलो नहुँदा तथा संयुक्त सरकारको सीमा रेखामा सीमित हुनुपर्ने अवस्थाले सरकारलाई प्रभावकारी बनाउन सकेनन् तर संविधानमा सबैजसो दललाई सहमत गराए। र, असोज ३ गते नेपाली जनताको सात दशक लामो चाहना पूरा गरेर देखाए। इमान्दार, सरल जीवन शैली भएका र त्यागी नेताको छविका सुशीलले संविधान जारी गरेर आफ्नो उचाइ अझ बढाए।

 

यद्यपि, सानो समूह बनाएर रणनीति बनाउने स्वभाव नत्यागेको तथा संविधान जारी भएपछि प्रधानमन्त्री पद्मा पुनः उम्मेद्वारी दिएको विषयलाई लिएर भने उनको आलोचना हुने गरेको छ। पार्टीको १३ औं महाधिवेशनबाट सभापतिमा फेरि दोहोरिने आशयका अभिव्यक्ति दिदै आएका सुशिल महाधिवेशन आउन २४ दिन बाँकी रहँदा संसारबाटै बिदा भए। उनको निधनमा सिंगो मुलुक शोकमा डुबे पनि ओछ्यान नपरी, कसैलाई सास्ती नदिइ मृत्युवरण गर्नुलाई भने इमान्दारी, निष्ठा र सादगी जीवनको प्रतिफलका रुपमा लिइएको छ।