कथा: अन्तिम मान्छे
21-April-2016

 

 

“ति मी मलाई छाडेर कसरी जान सक्छौ यसरी ? हामी जीवनको अन्तिम सँघारमा पुगिसकेका त छैनौँ ।”
सकिता कदाचित् आवेशमा थिइन । ऊ आफ्नो अनुनयलाई कृत्रिम आवरण दिइरहेकी थिई । आवाजमा न्यानो अनुरोधभन्दा औपचारिकता बढी मिसिएको थियो ।
मीनबहादुर चुपचाप उभियो ।
ऊ प्रतिरोध जनाउने परिस्थितिमा थिएन । ऊ जीवनको यो परिच्छेदलाई यहीँ छाडेर अगाडि बढ्न चाहिरहेको थियो । सायद सकिताको स्वच्छन्दता र अराजकताबाट पर अलग इतिहासको हिस्सा बन्न चाहन्थ्यो ।

“जीवन यात्राको कुरा गर्ने गथ्र्यौ नि तिमी ? अब आएर यात्रामा म रहन्न भनेर कसरी सम्झायौ तिमीले आफैँलाई ?” सकिता भावनालाई शब्दमा पोखिरहेकी थिई ।
अब फेरि पुरानो सम्झौताको प्रसंग सम्झाउनु जरुरी छ र ? उसको अनुहारमा विस्मयका भाव बेजोडले उत्रिँदै बिलाउँदै गरिरहेका थिए ।

“मसँग तिमीलाई दिने कुुनै जवाफ छैन । उत्तर दिन आवश्यक पनि ठान्दिनँ । तिमी मभित्र मक्किएका सम्झौताका उल्झन खडा गर्ने कोसिस नगर । एकतर्फी सम्झौताको के प्रसंग उठाउने अब ?”
मीनबहादुरको आवाजमा असीम आवेश मिसिएको थियो । सायद यो स्वाभाबिक थियो ।
“बस यहाँ आरामले । तिमीले भुल्यौ, आफ्ना अठोटहरू अनि ती वाचाहरू ?” फेरि प्रश्नहरूलाई जोड्ने प्रयास गरी सकिताले ।
ऊ चुपचाप पुरानो काठको मेचमा थचक्क बस्यो । लामो सुस्केरा निकाल्यो ।

“तिमी थाकेका त छैनौ, किन फेरि सुस्केरा ?” सकिता प्रश्नमाथि प्रश्न थोपर्न अभ्यस्त लाग्छे ।
ऊ सायद परिवर्तन चाहन्छ । आवाजमा तिक्तता झल्किन्छ । “तीन वर्षसम्म सँगै बस्दा हामीबीच कुनै त्यस्तो त भएन, जसले गर्दा आज तिमी मलाई रोक्न सक । हामीले एकअर्कालाई माया पनि त गरेनौँ सायद ।”

मीनबहादुरले आफ्नो आवाजलाई सुस्तरी ओकलेको छ । मानौँ ऊ अगाडि हिँड्न पर्ने बाटोहरूका लागि शक्तिको सञ्चय गर्न चाहिरहेको छ । सकिता चुपचाप उसलाई ताकेर हेरिरहेकी छे ।

“तिमीलाई स्वच्छन्द बाँच्नका लागि कतिसम्म म पर्दा हालिरहन सक्छु र ? तिम्रा भन्नेहरूबाट कहिले तिमी थाक्छौ होला र मेरो पालो आउला । तिमीलाई माया गर्न भनेर म कतिसम्म कुरिरहन सक्छु भन तिमी ?” मीनबहादुरको आवाजमा वेदना भरिएको सहजै अनुमान गर्न सकिन्छ ।
सकिता शब्दविहीन देखिन्छे । ऊ आँखाका परेलीभित्रबाट जवाफ हेर्न सक्दिन ।

“के म यति टाढाको पराइ भइसकेँ तिम्रा लागि ? जीवन भोगाइको परिवेश त फरक भएको होइन हाम्रो !”
“तिमीलाई माया गर्नेहरूको भीडमा म त पर्दिन नि हैन र ? एउटै छानोमुनि बस्दैमा एकअर्काप्रति समर्पणका भावहरू प्रकट हुनुु आवश्यक पनि त हुँदैन सायद ।”

“मैले तिमीलाई भन्ने हो कि तिमीले बुझेर गर्ने हो ?” सकिता आँखाभरि आँसु उभारेर शब्दहरू ओकल्न अभ्यस्तझैँ देखिन्छे ।

“एउटी जवान आईमाईले के चाहन्छे र कसरी चाहन्छे भन्ने कुरा तिमीले बुझ्न सक्दैनौ भन्ने लागेर नै अन्यत्र लागेकी हुँ । मैले धेरै प्रतीक्षा गरेकी थिएँ तिम्रा स्पर्शहरूको । यसमा मेरो केही पनि दोष छैन । मेरो तिर्सना मेट्न तिमी पानी लिएर आएनौ र म आफैँ पँधेरो धाउन थालेँ । एउटा जवान आईमाईलाई रोटी र कपडाले मात्र खुसी बनाउन सकिन्छ भनेर कसरी अनुमान लगायौ तिमीले ?” उसले आफ्नो कुरालाई सरासर राखी र आफ्नो मन हलुका बनाई ।

मीनबहादुर चुपचाप उभिएको छ ठिंग । किंकर्तव्यविमूढ छ । सकिताले उसको पुरुषत्वमाथि भयानक प्रहार गरेकी थिई सायद ।

आफ्ना विगतका सम्झौताहरूको परिवेशमा उसले आफूलाई उभ्याउन खोज्यो । उसले जसलाई इज्जत र आदर ठानेको थियो, त्यसलाई सकिताले कमजोरीको रूपमा लिएकी थिई । यो यथार्थ जानेर उसलाई दु:ख लाग्यो । यथार्थहरू पीडादायी नै हुन्छन् ।

एकअर्कालाई बुझ्ने र अपनाउने दृष्टिकोणमा भिन्नता देखिएको थियो । एउटा लोग्नेमान्छे र स्वास्नीमान्छेबीचमा यौन र भौतिक उपभोगको मात्र झिनो फासला हुन्छ भनेर सोचेको थिएन उसले । सम्बन्धहरूलाई परिभाषित गर्न नसक्दा यस्ता उल्झनहरू बेहोर्नुपर्ने अवस्था पैदा हुने रहेछ । आफूभन्दा अरूको ख्याल बढी गर्न थाल्यो भने उल्झनहरू बढ्ने रहेछन् जीवनमा ।

ऊ यथार्थको भुमरीमा पछारिएको थियो । समयले ल्याउने परिवर्तनहरू प्रिय मात्रै हुन्छन् भन्ने पनि त हँुदैन । आफूबाट समेटिन नसकेको जीवनलाई फर्केर यसो चिहाउन खोज्यो उसले । शून्यतामा बिलाउन सकेनन् ती यादहरू । उसको शालीनता र सदाचारले उसलाई चोखो देखाउन सकेको थिएन । जीवनका अवयवहरू छताछुल्ल पोखिएका छन् परिवेशभरि । ती अवयवहरूलाई सँगालेर आफ्नो परिभाषा निर्माण गर्न पनि सकेको छैन उसले ।

फकल्यान्डको लडाइँले निमिट्यान्न बनाउन नसकेको स्पर्शविहीन भावनाहरू चोटग्रस्त बनिरहने गरेका छन् । अनायास सुरु भएको थियो त्यो कहानी, जसलाई उसले कर्तव्य मानेको थियो, त्यो अन्यथा बनेर उभिएको छ । ऊ पीडादायी विगतलाई पछाडि छाडेर अगाडि बढ्न कटिबद्ध बनेको छ एकप्रकारले । ऊ भुल्न चाहन्छ त्यो कहालीलाग्दो विस्मयकारी विगतलाई ।

वातावरण चिसो छ । परिस्थिति उसको पक्षमा छैन सायद । ऊ लडाइँ जिते पनि जीवन हारेको मान्छे ठान्छ आफूलाई । उसका आफ्ना भन्ने मान्छेहरू छैनन् । जसलाई उसले आफ्नो ठानेको थियो, उ विद्रोही बनेकी थिई । ऊ जाओस् पनि कता ? जाने कुनै ठाउँ छैन । कुनै गन्तव्य छैन ।

ऊ लडाइँबाट बाँचेर घर फर्कियो । कुन प्रयोजनका लागि बाँच्यो ? त्यो उसैलाई थाहा छैन । उत्तरविहीन सोधाइहरूको शृंखलाहरू समेटेर ऊ अविछिन्न उभिएको मान्छे फगत मान्छे हुनु र उपयोगिता नहुनुको दोसाँधमा असरल्ल छ । ऊ बेजोडले परित्यक्त बनेको छ । जीवनले उसलाई यसरी अपरिभाषित प्रस्तुत गर्न आजसम्म सम्हालेर राखेको थियो भनेर विश्वास गरोस् पनि कसरी ?

मन्दमन्द चिसोले काठमाडौँको वातावरणमा कठोरता भर्दै थियो । मीनबहादुरले झोलाभित्र जीवनका उल्झनहरूलाई थन्क्याइरहेको छ । जीवनले थुप्रै थकाइ दिएको छ उसलाई । विद्यालयदेखि गाउँ र बस्तीभरि ऊ एउटा पहिचानभन्दा पनि अरूको सहयोगीको भूमिकामा पोखिइरह्यो । बस्तीबाट बाहिरिएपछि ऊ एउटा सडकमा बाँच्ने अभ्यस्ततामा पुग्यो । गरिएका उपलब्धिहरूले कुनै रचनात्मक परिणाम नदिएपछि ऊ आफ्ना उपलब्धिविहीन यथार्थहरूलाई किल्लामा झुन्ड्याएर फुर्सद लिन हतारिएको पनि थिएन । ऊ सधँै अघि बढ्ने तरखरमा हुन्छ तर अगाडिको यात्राले उसलाई अड्काउने गर्छ । एउटा अथक् र पृथक् हिँडाइको अपेक्षा बोकेर ।

भीडमा आफ्नो भन्ने कोही छ कि भन्ने आशा पनि असमञ्जस्यतामा बदलिइरहेको हुन्छ । मान्छे, मान्छेहरूबाट किन भागिरहेका हुन्छन्, उसलाई थाहा छ्रैन । आफ्ना युद्धहरूसँग आफैँ लड्ने हो । अर्थहरूको डुंगुर लगाएर अनुमानको खेती उमार्नेे अभ्यास निस्तो लाग्छ ।

उन्मुक्तितिरको आवाज या एउटा सानो प्रतिरोध ऊ फरक आयाम अपनाउन चाहन्छ । ऊ उपलब्धिको भोको छ । पाउन नसकेका उपलब्धिहरूप्रति उस्तो आसक्त पनि छैन । उसको प्रयत्न जारी नै छ र निरन्तर छ । उसको आँखामा एउटा सपना थियो, जसको पछाडि हिँडेर मीनबहादुरले धेरै नै हन्डर खाएको छ । धेरै नै जोडले हार र उपेक्षाहरूबाट पिटिएको छ । तर, उत्साहहरूलाई मर्न दिएको छैन उसले । ऊ एक्लो यथार्थको परिधिमा बाँधिएर संकुचित बाँचिरहन सक्दैन ।

यस्तै सोचहरूलाई समेटेर नयाँ युगको आत्मसात् गर्ने परिकल्पना गरेर बिस्तारै पाइला बढाइरहेको थियो । बाटो सुनसान थियो । उसको गन्तव्य कतातिर थियो, उसलाई राम्ररी थाहा थिएन । ऊ बाटोले जहाँ पुर्‍याउँछ, त्यहीँ जान चाहिरहेको थियो । सकिता उसको बाटो छेक्न उभिएकी थिई वा हिजोका साथहरूको क्षतिपूर्तिको हिसाब खोजिरहेकी थिई, उसैलाई थाहा थिएन ।
“जाने नै भयौ त भन्या तिमी मीनबहादुर ?” उसले हतास प्रश्न तेस्र्याई ।

व्यवधानहरूबाट म भागेको होइन भनेर स्पष्टीकरण दिन चाहेन उसले सायद । “मेरो जानु र नजानुको बीचमा तिमी कुनै परिस्थिति निर्माण गर्न नखोज । म जान्छु या जान्न । त्यो अब सान्दर्भिक अर्थ राख्ने कुरा पनि भएन ।”
सकिताले अन्तिम प्रयास गर्न चाहिन सायद ।
“तिमी यहाँबाट गई हाल । त्यही नै ठीक होला मलाई ।” ऊ स्तब्ध पनि छैन ।
“नरहे बाँस न बजे बाँसुरी । तिमीबिनाको परिवेशले मलाई बढी स्वतन्त्रताको अनुभूति दिने छ भन्ने मलाई लाग्छ ।”
“तिमी यहाँबाट गैहाल र छिटो जाऊ । सकिता आवेशमा थिई ।”

मीनबहादुरले फर्किएर सकितातर्फ हेरेन । बाटोमा सन्नाटा व्याप्त छ । ऊ बाटोमा मिसिएको छ । बाटोले उसलाई आफ्नो ठानेको पनि छैन सायद । अलिकति हिँडेपछि पाइलाहरू बोझिल भएजस्तो महसुस गर्‍यो उसले । सायद सकिताले बढाएको उल्झन र उसले पुर्‍याएको चोटलाई भुल्न चाहन्छ ऊ ।
ऊ बस स्टपमा पुगेर उभियो । बस चढेर अब कहाँ जान्छ, उसैलाई थाहा छैन । एउटा झोला छ अनि ऊ छ । ऊ लामो सुस्केरा हालेर नजिकैको बेन्चमा थचक्क बस्यो । दुइटा हत्केलाले अनुहार छोप्यो र लामो लामो श्वास फेर्‍यो । मान्छेहरूको भीडमा उसले आफूलाई एक्लो महसुस गर्‍यो ।

अनायास कुममा कसैले घचघचायो उसलाई । उसले टाउको उठाएर हेर्‍यो । सकिता आँखाभरि आँसु भरेर उसको अगाडि उभिएकी थिई ।
“तिमीबिना म बाँच्ने कुरा भएन । तिमी फर्किंदैनौ भने म पनि बाँच्दिन अब । सायद आँधीखोलामा हामफालेर मर्छु म ।” उ हुँक्क हुँक्क गरेर रुन थाली ।

सकिताको आँखाबाट झरेका आँसुका बुँदहरू मीनबहादुरको कमिजको फेरमा तप्किरहेका थिए । उसका आँसुहरूले मीनबहादुरको मन रुझाइरहेको अनुभूति गहन बनिरहेको थियो ।
सकिताले उसको हात समातेर उठाई र अघि बढ्न थाली । ऊ बालकझैँ सकिताका औँला पक्डेर पछि पछि हिँड्न थाल्यो ।

बाटोमा कुनै अवरोध छैन । सकिता सुँक्कसुँक्क रोइरहेकी थिई । उसले केही प्रतिक्रिया जनाएन । घरनजिक पुगेर उसले आफूलाई फरक महसुस गर्‍यो ।

“अब भित्र हिँड । मलाई नाम देऊ तिमी । भोलि मन्दिर गएर मलाई विवाह गर । म आजैबाट प्रतिज्ञा गर्छु, तिम्रो मात्र रहने छु । हिजोसम्मको मेरो जिन्दगीको आजबाट अन्त गर्दैछु म । मलाई यौन होइन, माया चाहिन्छ । मलाई अस्थायी ग्राहक होइन, स्थायी जीवन चाहिन्छ । आऊ मलाई अपनाऊ । म तिम्रो जीवनमा नयाँ वसन्त बनेर छाउने छु । तिमीलाई जीवनका हरेक मोडमा साथ दिनेछु । म आफ्नो पवित्रतालाई पुन: प्रमाणित गरेर मात्र मर्न चाहन्छु । हिजोका पीडा र अस्तव्यस्तताहरूले अनि अभाव र बाध्यताहरूले मलाई जहाँजहाँबाट गुज्रिन लगायो, त्यो यात्रालाई म बिसाउने छु । यो जीवनको बाँकी यात्रा म तिमीबाट सुरु गरेर तिमीमै अन्त गर्न चाहन्छु । म आफूलाई सडकभन्दा भिन्न परिचयमा प्रस्तुत गर्न चाहन्छु ।”

सकिताको मनभित्र आँधी चलिरहेको थियो । ऊ निस्वार्थ र साँचो आवाज बोलिरहेकी थिई । घरबाहिर ती पुराना अनुहारहरू जम्मा भएका थिए । ऊ फटाफट भित्र पसी । “पख म नुहाएर मन्दिर पुगेर पवित्र भएर आउँछु । एक चिम्टी सिन्दुर भरिदिनु मेरो सिउँदोमा । बस् तिमी मात्र मेरो जीवनको अन्तिम मान्छे हुनेछौ ।”

घरभित्रबाट उसको आवाज हुर्रिंदै बाहिरसम्म आइपुग्यो । बाहिर जम्मा भएका अनुहारका भावहरू बिस्तारै फेरिइरहेको थियो ।

मीनबहादुरभित्र पनि सकिताप्रति माया भरिएर आयो । लामो श्वास निकालेर ऊ पिँढीको डिलमा थचक्क बस्यो । पर कतै क्षितिजमा सानो गन्तव्यको आकृति उसको आँखासम्म ठोक्किरह्यो ।