जुनेलीमाथि अन्याय भयो - अमृत सुवेदी
22-April-2016

 

जुनेली-समीक्षा

अमृत सुवेदी

यसअघि 'यायावर' उपन्यासबाट प्रशस्त चर्चा कमाएका लेखक ब्रजेश यसैको सिक्वेल 'जुनेली' लिएर पाठकमाझ आएका छन्।

पुरातन समाजले दिएको सानो ठाउँ, सामाजिक बन्धनको ढक्कनभित्रबाट निस्कन नसकेकी गाउँले युवतीको पीडादायी कथा हो 'जुनेली'। सामाजिक घटना तथा यौन मनोविज्ञानमा जन्मिएको उपन्यास हो यो। गाउँले युवतीका पीडाहरूको अतिरञ्जना पनि हो 'जुनेली'। उपन्यासले सामाजिक तथा बाल यौन मनोविज्ञानको मुद्दा पनि उठान गरेको छ। जुनेली र जुनेलीहरूलाई सानो घेरामा राखेको समाजले जुनेलीहरूको अस्मितामाथि भने धावा बोल्छ। नारी अस्मिताकै कारण सम्बन्धमा आएको आँधीले जुनेलीको जीवनका सुन्दर रङहरू फुस्रा बनाइदिएको छ। लाग्छ यहाँ थुप्रै 'जुनेली'हरूले यो समाजमा यस्तै नियती भोगेका छन्।

'जुनेली' ब्रजेशको पहिलो उन्यास 'यायावर'को सिक्वेलका रूपमा देखा पर्छ।  मानसिक समस्याग्रस्त चिरागको पचासौं उपन्यास हो यो। ४८ वटा उपन्यास मगजमै लेख्दै मगजमै च्यात्दै गर्छ चिराग। प्रकाशित धेरैका कथा आफ्नै कथाबाट चोरिएको ठूलो गुनासो छ। ब्रजेश कथा लेख्छन् र चिकित्सक सेपालिकाको ल्यापटपले चिरागको इमेलमार्फत् जुनेलीको कथा बोल्छ। उपन्यासको भूमिका बाँध्न लेखकले सुरूका केही पाना खर्चेका छन्। कथा लम्ब्याउन र पाठकलाई बुझाउन नयाँ शैली प्रयोग गरेका लेखक सुरूका केही अध्यायमा पात्रभन्दा बढी हावी हुन्छन्। कथा सुरू गर्दादेखि नै जुनेली भेट्न आतुर पाठकलाई चिरागले घिसार्दै लगेजस्तो लाग्छ।

पात्रबीचको सम्बन्ध र कथा जोड्न लेखकले आफ्नो लेखनशील्प देखाएका छन्। लेखक स्वयम् फिल्मका पटकथाकार भएर होला, जुनेलीका कथा पनि फिल्मी शैलीमै छन्। पढ्दै जाँदा पात्रहरू मगजमा फनफनी घुम्छन्। जुनेलीको बालमनोविज्ञान, आफूमा देखिएका जवानीका रङ्गहरू, विवाह र विवाहपछिका आइपरेका अनेकौं पक्षलाई लेखकले राम्रैसँग केलाएका छन्।

 

उपन्यासमा चिरागको अतिरञ्जनाको मनोरोग पनि छ। नारीको दुखाइ पनि छ। पुरूष हुनुको घमन्ड पनि छ। स–साना सामाजिक घटना केलाएका पनि छन्। ठाउँ–ठाउँमा रमाइला किस्सा पनि छन्। गाउँको दुखान्त कथादेखि सहरमा डेरावाल हुँदै वैदैशिक रोजगारीले निम्त्याएका घटनासम्म यसका पात्रले स–साना कथा पनि बोलेका छन्। कथामा 'आइटम डान्स'जस्ता रोमान्टिक दृश्य पनि छन्। घटना र विषयलाई उपन्यासकारले सरल र सबैले बुझ्ने भाषामा कथा प्रस्तुत गरेका छन्। उपन्यास स–सना यस्ता वाक्य पनि छन्, जसले समाज, सामाजिक बन्धन र मान्छेको जीवन बुझाउन सहयोग गर्छ।

विवाहअघिको सेक्स बर्जित समाज। यही समाजकी सदस्य जुनेलीको कालो रामसँगको बाहिरी आकर्षण तर अनायासै भएको सहवासले जिन्दगीभर दुःख पाएकी छ। भौँतारिएकी छ। उसलाई कुन्ठा र पश्चातापले औडाह भएको छ। जुनेलीसँग फेरि 'रोमान्स' गर्ने हुटहुटीले कालोरामआफैंले तोडमोड गरी सोले फिल्म बनाएर सुरूमै राखेको बारम्बारको रेप सिन र जुनेलीको सच्चा प्रेमीमा उठेको विद्रोह उपन्यासका आधार घटना हो। यहि घटनाले जुनेलीको जीवनलाई अध्याँरोमा धकेलिदिएको छ। यहि घटनाले उसको विवाह बैकुण्ठसँग हुन्छ तर सुहागरातकै बेला अर्को गल्ती गर्छे।

मेरो कुमारित्व भङ्ग भएको बैकुण्ठले थाहा पायो भने के होला भन्ने सोचेर जुनेलीले विषसेवन गर्छे तर मर्दिन। जुनेलीको ज्यान त बच्यो र विषय सेवनको कारण पनि खुल्यो। जुनेली त बाँचिन् तर, त्यही दिन घर छाडेर हिँडेको बैकुन्ठ नफर्केपछि प्रत्येक पल पीडादायी बन्यो। लेखकले विष पिएर पनि बाँचेकी जुनेलीलाई बचाएर नयाँ जीवन दिन खोजेका छन् तर नयाँ जीवन पाउँदिन। बरु त्यसपछिका प्रत्येक पल उसको दुःख र छटपटहाटमा बित्छ। तर, जति नै दुःख पाएर पनि मान्छे बाँच्छ भन्ने सन्देश पनि दिएका छन्। 

मुल पात्रमा एकै खालको विचार प्रवाह हुँदैन। लेखकले कथामा जुनेलीलाई कहिले अबोध र निर्दोष बनाइदिएका छन्। कहिले क्रान्तिकारी बनाइदिएका छन् त कहिले ढोंगी। जुनेली प्रमुख पात्र भए पनि कथाले चिरागलाई जबरजस्ती प्रमुख पात्रको बोझ बोकाएजस्तै लाग्छ। त्यस्तै प्रताप वा छविलाल इस्सपेक्टर, डा. सेपालिका, डा. शरद, जुनेलीका आमाबाबु र भाइ, कालो राम, सेतो राम, लाहुरे, गुरुहरू, स्वास्नीले छोडेर हिँडेपछि छिल्लिएका जगत काकालगायतका पात्रलाई जोड्न लेखकले मिहिनेत गरेका छन्।

जीवनमा हण्डर र ठक्कर खाएकी जुनेली अन्तिमसम्म पनि आफूले कालो रामलाई सुम्पिएको पाँच मिनेट, विवाहपछिको विष खाने छोटो निर्णयको पश्चातापकैबीच बैकुण्ठको प्रतिक्षा र जीवन फूलाउने आशाको त्यान्द्रोले उनलाई धामी झाँक्रीदेखि मठमन्दिर घुमाएको छ।

लेखक जुनेली पात्रलाई स्थापित गर्न असफल भएझैं लाग्छ जसरी चिराग र बैकुण्ठको रूपमा सफल देखिएका छन्। नारीको अस्मिता र संवेदनालाई लेखकले बुझ्ने प्रयास गरेको भए पनि सफल देखिँदैनन्। यायावरमा भेटेको तथा त्यसमा न्याय नपाएकी जुनेलीले यसमा पनि न्याय पाउँदिन।

कतै कतै कथा अवरुद्ध भएको भान हुन्छ। लेखकले उपन्यास अर्गानिक बनाउन राम्रै मिहिनेत गरेका छन्। तर, अर्गानिक हुने मनोरोग नेपाली साहित्यको दुर्भाग्य हो। त्योभन्दा लाजलाग्दो दुर्भाग्य अर्गानिक हुने नाममा भौगोलिक र जातीय लवजको भाषाको लाचार प्रयोग गर्नु हो। लेखकले कथा राम्रो बनाउन लागे र पुगेसम्म शब्दहरू जोडे, ठोकठाक गरे, तुखारे। कतिपय शब्दहरु पढ्दा यस्तो लाग्छ, उनले शब्दहरूलाई कोरीबाटी गरे, सिंगारपटार गरे, जेजे लगाइदिँदा जुनेली सुन्दर देखिन्छे त्यहीत्यही गरे। तर, अन्तिममा जामा लगाइदिनै बिर्से।

लोग्नेको अगाडि नवदुलही कुमारी र अक्षत नै हुनुपर्ने परम्परागत पितृसत्तात्मक सोचलाई जुनेलीका माध्यमबाट बोल्न लगाएका छन् लेखकले। जुनेलीको समग्र जीवनको मियो यही एउटा कुराको वरपर घुम्नु र उनको आत्मग्लानीको पराकाष्ठाले महिलालाई भोगको विषयवस्तुभन्दा माथिको केही हुँदै होइन भन्ने जिकीर गरेको ठहर्छ। जुनेलीकाप्रति उसको लोग्नेको उपेक्षाले यही कुराको पुष्टी गर्दछ।

एउटा लोग्नेमान्छेको अहम् तृप्त गर्न ब्रजेशले एउटी महिलाको नाम प्रयोग बाहेक अरु केही गरेनन्। जुनेलीको आफ्नो जीवनको केन्द्रमा जुनेली नहुनु र जुनेली समग्र उपन्यासको नायक हुँदाहुँदै सह–नायक वा सह–नायिकाको चरित्र बाँच्नु जुनेलीप्रति अन्याय हो।

उपन्यासले भन्छ, 'यहाँ सबैथोक गुमाइसकेको मानिसलाई ज्यूँदो रहुन्जेल कुनै दिन फेरि केही पाइएला भन्ने लोभ बाँकी रहँदो रहेछ।' हामीलाई पनि त्यस्तै लोभ र भोक उपन्यासले जगाइदिएको छ। सिक्वेल लेखनको खम्बा गाडेका उपन्यासकार खनालको तेस्रो उपन्यास अझै सशक्त र इतिहास रच्ने गरी आउने छ। यायावर हुँदै जुनेलीको ह्याङओभर काट्ने गरी आओस्। शुभकामना!

 

Events
Random Picks