छुन नसकिने तारा - थिन्ले लोन्डुप लामा ।
30-April-2016

वैशाख १८, २०७३- सन् १९९८ को एक मध्याह्न गायक अमृत गुरुङ हात्तीसारस्थित पुरानो जय नेपाल हल पुगेका थिए, फ्रान्सेली चलचित्रकर्मी एरिक भ्यालीको फिल्म ‘हिमालय क्याराभान’ हेर्न । फिल्म हेरिसकेपछि उनको प्रतिक्रिया थियो, ‘थोत्रो हलमा आज गज्जबको फिल्म हेरियो ।’

उनलाई यसो लाग्नुको मूल कारण अपर डोल्पोका मानिसको सास्तीपूर्ण जीवनशैली र संस्कृति समेटिएको कथा अनि त्यसलाई यथार्थपरक ढंगले अभिनयमा उतार्ने थिन्ले लोन्डुप लामा ।

यिनै थिन्लेको बौद्ध परम्पराअनुसार शुक्रबार बिहान टेकुघाटमा अन्तिम संस्कार भइरहेको बेला गायक अमृत निकै भावुक मुद्रामा जलिरहेको चिताछेउ उभिरहेका थिए ।

डोल्पा सदरमुकाम दुनैबाट माथिल्लो डोल्पाको आफ्नो थातथलो साल्दाङ फर्किरहेका बेला थिन्लेको गत आइतबार घोडाबाट लडेर मृत्यु भएपछि पोस्टमार्टमको लागि काठमाडौं ल्याइएको थियो र शुक्रबार बिहान बौद्ध परम्पराअनुसार टेकुको पचलीघाटमा उनको दाह संस्कार भइरहेको थियो ।

‘उहाँ हामी सबैले छुन मिल्ने कर्णालीको एउटा चम्किलो तारा हुनुहुन्थ्यो,’ थिन्लेसँग अन्तरंग संगत गरेका गायक अमृत भावुक बने, ‘अब छुन नसकिने आकाशका तारा बनेका छन् ।’

चौंरी चराउने मान्छे
७४ वर्षअघि अपर डोल्पोको विकट साल्दाङ गाउँको धावामा जन्मेका थिए थिन्ले । काठमाडौंमा जहानियाँ राणाशासन विरुद्ध भित्रभित्रै आगो बल्नलागेको बेला डोल्पाको अवस्था कस्तो थियो होला ? चौंरी र करु (जौं) बाहेक आय आर्जनको अन्य बाटो नभएको त्यो समय थिन्ले पनि चौंरी चराउँदै हुर्के ।

गाउँमा स्कुल हुने कुरै भएन । तर उनी गाउँका अरु दौंतरीभन्दा केही टाठो निस्किए । आमाबुबाका यी कान्छो छोराले एकसाँझ पढ्ने इच्छा जाहेर गरे ।

यसपछि थिन्लेलाई साम्भोटा (भोट) लिपिमा भए पनि पढ्न पठाउन आमाबाबु राजी भए । पढेर फर्किंदा यिनको दृष्टिकोण निकै फराकिलो भइसकेको थियो । यसपछि यिनले अविकास र पछौटेपनको गहिरो निद्रामा निदाइरहेको डोल्पोमा चेतनाको नयाँ बत्ती बाल्न थाले ।

विस्तारै यिनी राजनीतिमा सक्रिय भए । पञ्चायत (२०४५) मै यिनी प्रधानपञ्च भए । २०५४ मा एमालेबाट जिविस सदस्य बनेका यिनलाई २०६० मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको मन्त्रिपरिषदले फेरि जिविस सदस्य नियुक्त गरेको थियो ।

बौद्ध गुरु डोल्पो मास्टरका अनुसार जब फिल्म ‘हिमालय क्याराभान’ बन्यो, अपर डोल्पोको सात गाउँमा नयाँ युग सुरु भयो, यसको मुख्य कारक थिन्ले लोन्डुप नै थिए ।

फ्रान्सेली चलचित्रकर्मी एरिक भ्यालीले भने थिन्लेलाई कस्टकर हिमाली बाटो हुँदै तिब्बतबाट खच्चरमा नुन ओसारिरहेको बेला भेटेका थिए ।

‘मेरो लागि डोल्पोलाई नजिकबाट चिन्नेगरी ढोका खोलिदिने थिन्ले नै थिए’, एरिकले थिन्लेको निधन भएको सुनेपछि फेसबुकमा लेखेका छन्, ‘उनी भिजन र न्यानोपन भएका एकदमै निडर र जिज्ञासु व्यक्ति थिए ।’ सोझो र एकोहोरो स्वभावका भएकाले एरिकले उनलाई ‘रातो याक’ उपनाम नै दिएका थिए ।

केही अघि पत्रकारसँगको भेटघाटमा थिन्लेले चौंरीमा नुन र खाद्यान्न ओसारिरहेको बेला एरिकलाई भेटेको र त्यही समयदेखि आफूले अन्तर्राष्ट्रिय नाम पाएको बताएका थिए ।

यिनको खास पुख्र्यौली पेसा भने चौंरीपालन हो । ५ हजार मिटर अग्लो हिमचुचुरा नाघेर अपर डोल्पोमा नुन र खाद्यान्न ओसारपसार गर्नुपर्ने बाध्यता थियो, त्यो बेला । सदरमुकामबाट त अझै पनि हिँडेर सात दिन लाग्छ, साल्दाङ पुग्न ।

यसरी हिमाली अक्कर, खोँच र अप्ठ्यारा बाटाहरू हुँदै खाद्यान्न ओसार्नुपर्ने कष्टपूर्ण जीवन भोगिरहेकाहरूकै कथाव्यथा समातेर एरिकले सन् १९९८ मा ‘हिमालय क्याराभान’ बनाएका थिए । ‘एरिकले दाम कमाए, मैले नाम’ एक वर्षअघि उनले सञ्चारकर्मीसँग भनेका थिए, ‘एरिकसित भेट नभएको भए अझै पनि म हिउँ पहिरोमा चौंरी धपाइरहेका हुन्थेंँ ।’

क्याराभानले खोलेको बाटो
१३ सेप्टेम्बर १९९९ मा अमेरिकाबाट रिलिज भएको फिल्म ‘हिमालय क्याराभान’ले नेपालको हिमाली समाजको ‘युनिक फेस’मात्रै हैन, त्यहाँको संस्कृतिसँगै कष्टकर जीवन र दु:खका अनेक आयामलाई अन्तर्राष्ट्रियकरण गर्‍यो ।

ओस्कार अवार्डको ७२ औं संस्करणमा ‘बेष्ट फरेन ल्याङग्वेज’ अन्तर्गत मनोनयनमा समेत परेको यो फिल्मसँगै एकाएक चर्चामा आए थिन्ले । विकासको मूलधारबाट सधैं टाढा रहेको अपर डोल्पोको त्यो समाज र दु:खप्रति संसारभरका मान्छेको चासो बढ्यो ।

‘पहिले—पहिले वर्षमा ५/६ सय पर्यटक पुग्थे अपर डोल्पोमा’, डोल्पो समाजका व्यवस्थापक तेम्मा वाङछे गुरुङले भने, ‘थिन्लेको फिल्मपछि त्यो संख्या बढेर ३ हजार पुग्यो ।’

यसरी ह्वात्तै बढेको पर्यटक आवागमनले अपर डोल्पोको मुहार फेर्न सघायो । फिल्मकै कारण सरकारले सन् २००० मा यो अपर डोल्पोलाई पर्यटन क्षेत्र घोषणा गर्‍यो । कुनै समय पिउने पानीको लागि घन्टौं हिँड्दा बाटैमा तिर्खाले काकाकुल बन्नुपरेको यहाँ खानेपानी र सिंचाइको व्यवस्था भयो ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) मा समेत काम गरेका थिन्लेले आफ्नै नाममा फाउन्डेसन नै बनाए ।

अपर डोल्पोका तिन्जे, धो, फोक्सुन्डो, भिजेर, साल्दाङ, छार्का र मुकोट गरी सातैवटा गाविसमा स्वास्थ्यचौकी पुग्यो । हरेक गाविसमा स्कुल स्थापना भए । गोरेटो बाटो, खानेपानीदेखि सोलार जडानसम्मका काम भए । अमेरिकामा रहेकी थिन्लेकी जेठी छोरी, गाउँमै रहेका दुई छोरा र एकछोरीले पनि उनको अभियानमा साथ दिए ।

गत चैत पहिलो सातामात्रै पनि यिनै थिन्ले गाउँको समस्या लिएर प्रधानमन्त्री केपी ओली भेट्न आएका थिए, बालुवाटारमा । प्रधानमन्त्रीसँग गाउँका युवा विदेश पलायन भएको र वन्यजन्तुले दु:ख दिएकोसम्म समस्या सुनाएका थिए,, उनले । ‘डोल्पोको विकास र परिवर्तनमा उहाँको योगदान मुख्य रह्यो’, डोल्पो समाजका कोषाध्यक्ष मेल्ला थुन्जे गुरुङले भने ।

सकसको समय
आफ्नो सेलिब्रिटी व्यक्तित्वलाई डोल्पोको विकासमा लाएका थिन्लेलाई सात वर्षअघि पेटको क्यान्सर भयो । उपचारक्रममा उनले दुनैमा रहेका आफ्नो घर रामकृष्ण रेग्मीलाई बेचे ।

सहर आए, उपचारका लागि अनेक प्रयत्न गरे । थिन्लेका ती अत्यन्त सकसपूर्ण दिन थिए । अन्तत: उनलाई एरिक भ्यालीले फ्रान्स लगे ।

दुनैको घर बेच्नुपरे पनि घरबेटी रेग्मीले थिन्लेको सम्मानमा एउटा कोठा दिएका थिए । थिन्ले हिउँद छल्न साल्दाङको आफ्नो घरबाट यहीँ आउँथे ।

 ‘हिउँ पग्लियो, वर्षा लाग्न थाल्यो, अब गाउँ जानुपर्छ’ भन्दै उनी आइतबार घोडा चढेर साल्दाङतिर अघि बढेका थिए । ‘केही अघि दुनैबाट फोन गर्दै थिन्लेले गाउँ जाने कुरा गरेका थिए’, निर्देशक एरिकले फेसबुकमा लेखेका छन्, ‘उनको स्वर एकदमै स्पष्ट र बलियो थियो ।’

तर कमजोर र साँघुरो हिमाली बाटोमा थिन्ले खच्चरबाट घचेटिए । उनको यो मृत्यु फिल्म ‘हिमालय क्याराभान’ एउटा दृश्यजस्तै बन्यो ।

फिल्ममा उनको छोराको भूमिका गर्ने लाक्पाको भीरबाट खसेर मृत्यु हुन्छ । दुई दशकअघि बनेको फिल्मको दृश्यसँग अहिलेको दु:खदायी यथार्थ मिल्न जानु संयोगमात्रै हैन, डोल्पो समाजको स्थायी पीडा पनि हो ।

कहिले बन्छ बाटो ?
पुरानो जयनेपाल हलमा फिल्म हेरेदेखि नै गायक अमृत गुरुङलाई थिन्ले भेट्ने मन भएको थियो । यो अवसर जुर्‍यो, सन् २००३ मा ।

नेपालयले भर्खरै सार्वजनिक गरेको गीत ‘सा कर्णाली...’को म्युजिक भिडियो बनाउने क्रममा नेपालयका किरणकृष्ण श्रेष्ठ, नगेन्द्र बुढाथोकीसँगै निर्देशक भूषण दाहालसित जुफाल उत्रेका थिए, गायक अमृत । यो टोलीलाई स्वागत गर्न थिन्ले घोढा चढेर आएका थिए ।

‘पहिलो भेटमै निकै चिनारुजस्तै व्यवहार गर्नुभएको थियो’, शुक्रबार पचली घाटबाट फर्केपछि गायक अमृतले सुनाए, ‘उहाँ एकदमै निडर, नेत्तृत्वकारी र ठट्यौलो स्वभावको हुनुहुन्थ्यो । अरुको एकदमै केयर गर्ने स्वभाव पनि उहाँमा थियो । सुटिङको बेला बख्खु र कपालमा रिबन बाँध्न उहाँले नै सिकाइदिनुभएको थियो ।’

सुटिङ क्रममै काका-भतिजको साइनोमा बाँधिएका थिन्ले-अमृत निकै झ्याम्मिए । जुफालमै रहँदा एकदिन अमृतले आफ्नो गीतको क्यासेट दिए । भोलिपल्ट भेट्दा बजारबाट भर्खरै किनेर ल्याएको नयाँ टेपरेकर्डरमा थिन्ले गीत सुन्दै थिए ।

‘भेट्ने बित्तिकै सुन्ने सामानमात्रै हैन, भाँडो पनि दिएको भए हुन्थ्यो भन्दै ठट्टा गर्नुभयो’, अमृतले सम्झे । गएको असोजमा अमृत घुम्दै थिन्लेको गाउँ साल्दाङ पुगे । ‘सात दिन हिँडेर आउनुभयो, अब भन्नुस् यो बाटो कहिले बन्छ होला ?’ थिन्लेले अमृतलाई सोधे ।

 अमृतले जवाफ दिए, ‘यस्तै पाराले त बीस वर्ष ।’ तर थिन्ले निराश भए, ‘पिचत्तर (७५) वर्ष लाग्नै थाल्यो । जिउँदो छँदै बाटो बनेको हेर्ने मन थियो । अब त सय वर्ष नै लाग्ला जस्तो छ ।’

त्यही बाटोले थिन्लेलाई सदाको लागि खोस्यो ।

 

Write a Comment