‘स्टमक फ्लु’ यानेकि ग्यास्ट्रोएन्टेराइटिस के हो ? कति खतरनाक ? कसरि बच्ने ?
7-September-2016


 
मुलुकमा बर्सेनि करिब एक लाख व्यक्तिलाई प्रभावित गर्ने र सयको हाराहारीलाई मृत्युको मुखमा पुर्‍याउने ग्यास्ट्रोएन्टेराइटिसको समस्या अचेल मेचीदेखि महाकालीम्म फैलेको छ ।

‘स्टमक फ्लु’ र ‘खाद्य विषाक्तता’ समेत भनिने यो संक्रमण वैशाखदेखि सुरु भए पनि भदौको अन्त्यसम्म जारी रहने भएकाले यसबाट बाँच्न विशेष सतर्कता अपनाउनु आवश्यक पर्छ ।

मुख्य रूपमा प्रदूषित खाना र पानीका कारण वर्षेनी गर्मी/वर्षा याममा मुलुकमा यो संक्रमण देखिने गरेको इपिडिमियोलजी विभागका प्रमुख डा. गुणनिधि शर्मा बताउँछन् । उनका अनुसार ग्यास्ट्रोएन्टेराइटिसको मुख्य कारण खाद्य पदार्थ र पानी दिसाले संक्रमित हुनु हो ।

ग्यास्ट्रोएन्टेराइटिस भनेको भाइरस, ब्याक्टेरिया, परजीवी आदिले गर्दा आन्द्राको सतह सुन्निनु हो । ब्याक्टेरिया, भाइरस, तिनको विषाक्त पदार्थ, परजीवी, खाना वा औषधिमध्ये कुनै वस्तुको विपरीत प्रतिक्रियाका कारण हुन्छ यो संक्रमण । यति मात्र नभएर, नयाँ खानाको प्रतिक्रियास्वरूपसमेत यो समस्या देखिन सक्छ ।

सामान्य भाषामा भन्ने हो भने यो आन्द्रा, पेटको संक्रमण र सुन्नाइ रहेको वरिष्ठ पेट रोग विशेषज्ञ डा. प्रदीप यादव बताउँछन् । भाइरसबाट हुने ग्यास्ट्रोएन्टेराइटिस जाडो याममा बढी देखिन्छ ।

यादवका अनुसार हाल अमिबा, ब्याक्टेरिया लगायत कारणले हुने ग्यास्ट्रोएन्टेराइटिस नै बढी देखिने गरेको हो । अहिले देखिएको यो रोग हुनुको मुख्य कारण प्रदूषित खानपान नै हो ।

बढी गर्मी र वर्षा ग्यास्ट्रोएन्टेराइटिसको जीवाणु फस्टाउने अनुकूल समय हो । यसैले यो मौसममा यो संक्रमणको खतरा सबैभन्दा बढी हुन्छ ।

शरीरमा जीवाणु प्रवेश गरेको चार देखि ४८ घन्टाभित्र यो रोगको लक्षण देखिने उल्लेख गर्दै डा. यादव भन्छन्, ‘यसअन्तर्गत पखाला र वान्ताका माध्यमले शरीरमा लवण र खनिज पदार्थको कमी हुन्छ ।’

ग्यास्ट्रोएन्टेराइटिस उपचार नगर्दा स्वास्थ्य सम्बन्धी जटिलतासमेत देखिन सक्छ । कुनै–कुनै केसमा बिरामीलाई कडा डिहाइड्रेसन (पानीको कमी) भएर एक्युट रेनल फेल्योर (मृगौलाले काम गर्न छोड्नु) समेत हुन सक्ने स्थिति औंल्याउँदै डा. यादव भन्छन्, ‘यस्तो अवस्थामा बिरामीलाई डायलासिस गराउनुपर्ने अवस्थासमेत आउन सक्छ ।’

यति मात्र नभएर कहिलेकाहीं रक्तचापमा कमी आएर मृत्युसमेत हुन सक्छ । राजधानीमा समेत ग्यास्ट्रोएन्टेराइटिसका बिरामीहरूमा पनि समयमै अस्पताल नपुगेपछि डायलासिस गराउनुपर्ने, रक्तचापको कमीले मृत्यु लगायत जटिल समस्या देखिने गरेको औंल्याउँदै यादव भन्छन्, ‘सहजै अनुमान गर्नुस्, दुर्गम क्षेत्रमा ग्यास्ट्रोएन्टेराइटिसले गर्दा कतिसम्म असहज स्थिति देखिने गरिएको होला ।’

चिकित्साकर्मीले ग्यास्ट्रोएन्टेराइटिसको प्रकार पत्ता लगाउन दिसा परीक्षण गर्छन् । यसको उपचार यो संक्रमण हुने कारणमा निर्भर गर्छ ।

तर यसको उपचार अन्तर्गत तरल पदार्थको अत्यधिक उपयोगसँगै ओरल रिहाइड्रेसन साल्ट (ओआरएस) को सेवन गर्नुपर्ने डा. यादव बताउँछन् । ओआरएसलाई बोलचालको भाषामा जीवन–जलसमेत भनिन्छ ।

उपचार अन्तर्गत ओआरएसले बनाइएको पानी खुवाइन्छ, वान्तासमेत हुनेहरूमा नसाबाट माध्यमले पानी चढाइन्छ । यस्तै यसको स्वरूप हेरेर एन्टिबायोटिक आदि औषधिसमेत दिने गरिन्छ ।
ग्यास्ट्रोएन्टेराइटिसले पखाला हुन थाले सामान्यत: चिकित्सकलाई जँचाउन जानुभन्दा अघिदेखि नै ओआरएस सेवन सुरु गर्दा बिरामीलाई फाइदा नै हुने गर्छ । यसले शरीरमा पानीको कमी भएर हुने मृत्यु लगायतका अन्य जटिल समस्या हुने जोखिम कम हुन्छ ।

कडा ग्यास्ट्रोएन्टेराइटिस प्राणघातक हुन्छ । कहिलेकाहीं सामान्य समस्या गराउने खालको यो संक्रमण आफैं निको हुनेसमेत हुन्छ । तर यो समस्या कडा रूपमा देखिए वा बूढापाका, मधुमेही, दीर्घरोगी, बालबालिकामा भए जोखिम नलिएर तुरुन्त अस्पताल पुग्नु नै उपयुक्त हुन्छ ।

संक्रमणको आशंका भए :

    शरीरमा पानीको कमी हुन नदिन प्रशस्त तरल पदार्थ सेवन गर्नुस्
    पेटलाई व्यवस्थित हुन दिन केही घन्टाका लागि खाना बन्द गर्नुस्
    सजिलै पच्ने खाद्य पदार्थ सेवन गर्नुस्
    दूध वा दुग्ध उत्पादन उपयोग नगर्नुस्
    कफी, रक्सी, सुर्ती, बोसो भएका पच्न गार्‍हो हुने पदार्थ उपगोग नगर्नुस्
    काँचो फल र सब्जी नखानुस्
    पर्याप्त आराम गर्नुस्
चिकित्सककहाँ कतिखेर जाने ?

    ज्वरो १०१ डिग्रीभन्दा बढी आए
    उभिँदा बेहोसीजस्तै अनुभव भए
    पेट एकदमै दुखे
    मतिभ्रमको स्थिति देखिए
    दुई दिनभन्दा बढी समय वान्ता भए
    पखालामा रगत आए
बचाउ

    स्वच्छ खाना मात्र खानुस्
    सडकछेउका असुरक्षित खाद्य पदार्थ नखानुस्
    उमालेको, क्लोरिन वा आयोडिनले शुद्घ पारिएको पानी मात्र खानुस्
    नियमित व्यायाम गर्नुस्
    पोषक तत्त्व सेवन गर्नुस्
    नियमित रुपमा साबुनपानीले हात धुनुस्


लक्षण

पेट दुख्नु
दिसा पातलो हुनु
वाकवाकी/वान्ता हुनु
जीउ गल्नु
कमजोरी हुनु
रिँगटा लाग्नु

साभार: ईकान्तिपुर

Events
Random Picks