पाँच पियक्कड साहित्यकार, पत्रकार र कलाकारको पिउने शैली
7-October-2016

- राजकुमार बानियाँ

 

पार्टीमा पिउन छाडेको २० वर्ष भइसक्यो पाका पत्रकार किशोर नेपालले । किनभने, त्यहाँ ब्ल्याक लेबलको स्वागत पाइँदैन । कमसल लेबल उनको रोजाइमा पर्दैनन् । लाग्छ, यी कलमबाज रक्सीमा ब्ल्याक लेबल र चुरोटमा ५५५, ‘ब्रान्ड–कन्सस’ हुनु ‘पेग–कन्सस’ रणनीति हो । “मैले ब्ल्याक लेबलबाहेक नपिउने किरिया खाएको छैन । हितैषी मित्रहरूकहाँ जाँदा अरू पनि पिएको छु,” किशोर स्वीकार्छन्, “सबै ठाउँमा योगेश्वर अमात्यजस्तो ग्लेनफिड्च सिंगल माल्ट ह्वीस्की सर्भ हुने कुरा पनि होइन ।”

 

 

टुच्च लगाएपछि लेखनमा एकदमै जोसजाँगर आउँछ उनलाई । “रक्सी सम्पूर्णमा खराब चीज होइन,” रक्सी–जिन्दावाद शैली छ उनको, “कतिपयले खराब हिसाबले प्रयोग गरेका मात्र हुन् ।”

किशोरवयमै पशुपति, देवपतनका रैथाने दाजु पञ्चरत्नकहाँ जाँदा उनकी पत्नी बुइँगलको ठूलो घ्याम्पामा रक्सी बनाइरहेकी हुन्थिन् । एक दिन पञ्चरत्नले उनलाई सानो प्याला भरेर दिए । रन्थनिएर दुई घन्टा त्यहीँ सुते किशोर । ब्यूँझिँदा जीउ चंगा भइसकेको थियो । बिस्तारै उनी नौसादर हालेको घरबना रक्सीको नशामा लोभिए । गोरखापत्रमा रातीको ड्युटीमा त्यो मात्रा बढेर गयो । 

पिउने थुप्रै पत्रकार छन् सहरमा । कसैले रहरले पिएका छन्, कसैले देखासिकी गरेर । कतिपयलाई नपिई पत्रकार बनिन्न भन्ने भ्रम पनि छ । पत्रकारले पिउनुलाई त्यति ठूलो खबर मान्दैनन् किशोर । रोयटर्सको न्युजरुममै एक बोतल जे एन्ड बी स्कच ह्वीस्की राखेको देखे उनले । 

“०४५ सालको भूकम्पपछि रिपोर्टिङका लागि धरान गएको थिएँ । हैजा फैलिएको थियो । भात खान विराटनगर जानुपथ्र्यो,” उनी सम्झन्छन्, “एक बिर्को ह्वीस्की पिउँदा बेग्लै ऊर्जा आउँथ्यो ।” 

पत्रकारिता पढ्न अमेरिका गएपछि उनले ब्रान्ड बनाए, रेड लेबल । एक दिन कृष्णप्रसाद भट्टराई (किसुनजी)ले उनलाई ब्ल्याक लेबल चाख्न दिए घरमा । एकदमै स्वादिलो । “बूढाले ब्रान्ड चेन्ज गरिसकेछन् । किसुनजीलाई सोधेँ, ब्ल्याक राम्रो कि रेड ?” उनी कहानी सुनाउँछन्, “त्यसताका पाँच–सात सयमै पाइन्थ्यो ब्ल्याक लेबल । त्यसको विशेषता के भने साँझ तीन–चार पेग खायो, बिहान झुम्म लाग्छ ।”

प्लेटमा मासुको पहाड राखेर रक्सी पिउँदैनन् किशोर, बढीमा ड्राइफुड्ससित पिउँछन् । तीन जनाभन्दा बढीसित पिउँदैनन् पनि । “हतार हतार पिएर हल्ला गर्नेहरूसँग मेरो अर्को बसाइ हुन्न,” उनी ठाडै भन्छन्, “शान्त, भलादमी र पेग–कन्सस साथीसित पिउँदा रमाइलो हुन्छ ।” 

किशोरका शब्दमा लेखपढ, नाचगान, नाट्य अभिनयको धन्दावाललाई प्रशस्त उत्प्रेरणा चाहिन्छ । तर, नेपाली समाज त्यति उदार भइसकेको छैन । अनि कवि, लेखक, कलाकार, पत्रकार आफ्नै उत्प्रेरणाका लागि पिउँछन् । अझ आफूलाई एक्ल्याउनका लागि ।

“आफूलाई अप्रिसिएट नगर्ने समाजसँग घुलमिल भएर के फाइदा ?” किशोर भन्छन्, “साथीसित पिए पनि पिउने मान्छे एक्लै हुन्छ । गफ, चिन्तन, मनन पिउनुको सामाजिक पक्ष हो भने वैयक्तिक पक्ष ऐकान्तिकताको खोजी ।”

रक्सीले मातेका ठूला लेखक उनले कति देखेका छन् कति ! उनैका शब्दमा, ट्राफिक पोस्टमा बसेर मोटरगाडीलाई हात दिने पोषण पाण्डे, एक ठाउँमा पिएको नपुगेर अर्को ठाउँको ढोका ढकढक्याउने मदन रेग्मी, बिहान अलिकति नखाई अघि बढ्नै नसक्ने विजय मल्ल । 

उनी अर्को उदाहरण दिन्छन्, रंगकर्मी सुनील पोखरेललाई । “नेपाली रंगमञ्चमा सुनीलभन्दा जान्ने नाट्यनिर्देशक मैले देखेको छैन,” उनी भन्छन्, “आरोहण गुरुकुल भत्किएपछि समाजले ओठेस्नेह मात्रै देखायो, त्यसको चोटमा यायावरजस्तो भड्किरहेको छ ।”

किशोरले भनेजस्तै अनामनगरतिर मायालु मुद्रामा भेटिन्छन्, सुनील पोखरेल । स्मरणीय के छ भने निशा शर्मासँग सुनीलको घरजम गराइदिने लमी पनि किशोर नै हुन् । बिहेको निम्तो कार्डमा लेखिएको थियो, प्रार्थी किशोर नेपाल । 

यस्तो लाग्छ, सुनील कहिलेकाहीँ पिउँदैनन् । कस्ता पियक्कड भने काम पनि गरिरहेका छन्, पिउन पनि छाडेका छैनन् । परिवार गोठालोसमेत लागेको छ । 

“अरू लुकेर पिउँछन्, म खुलेर पिउँछु । अरूको सुनाम छ, मेरो बदनाम,” उनी खुलेआम भन्छन्, “म तिनीहरूका लागि बाँचेको होइन । मेरो जीवनको मालिक मै हुँ ।”

आफ्नै अभिनय प्रशिक्षण दिने संस्था ‘ज्ञ’मा उनी पिएरै क्लास लिन्छन् । सबैले त्यही रूपमा स्वीकारेका पनि छन् । पिएका कारण इदमित्थम् नाटक दुई–तीन सो बिग्रियो । कतिपय डाइलग नै बिर्सिए । त्यसपछि निर्देशक सोमनाथ खनालले उनलाई दुई पेग टक्र्याए । “मैले फुर्ती लगाएको होइन, म आफ्नो काम जान्दछु । मलाई आफ्नो सीमा थाहा छ,” उनी भन्छन्, “म पिएका बेला आफूलाई चिन्छु । म कति छुद्र छु ? कति स्वार्थी छु ? कति जिद्दी छु ? कति फुस्केट छु ?”

सानोमै विराटनगरको मेलामा जाँदा काकाले रक्सी चखाइदिएछन् उनलाई । पहिलोपटकमै मजाले माते । त्यसपछि संवेदनशील सुनीललाई बानी लागिहाल्यो । “म छुचो छु र ठाडो पनि । दुनियाँ जाओस् भाँँडमा,” उनी भन्छन्, “कुमार नगरकोटीको डायलग हु द हेल केयर मेरो पनि हो ।”

रक्सी किन पिउने ? यसको सोझो जवाफ उनी दिँदैनन् । “५० वर्ष नाघेपछि मैले श्रीमतीबाहेक अरूसित झूटो बोलेको छैन,” उनलाई थाहा छ, “रक्सीले मलाई पक्कै जीवनतिर डोहोर्‍याउँदैन । तर, नियतिले दिएको मृत्यु किन अस्वीकार गर्ने ?” 

रक्सी छाड्ने कुरा उनको कल्पनामा पनि छैन । बरू, प्रदीप गिरीसित फेरि धीत मारेर पिउन मन छ । रक्सी छाडेका उपेन्द्र सुब्बा र कुमार नगरकोटीसित पिउने रहर छ । मदनमणि दीक्षित र निशा शर्मासँग गिलास जुधाउन मन छ । 

किशोर नेपालको कित्ता छाडेर एकछिन महाराजगन्जमा कवि वियोगी बुढाथोकीलाई भेटौँ । जसलाई प्रिय छ, आफ्नो पियक्कड परिचय । पिएको फोटो फेसबुकमा टाँस्छन्, पिएकै प्रसंगमा कविता, गजल, मुक्तक लेख्छन्, सार्वजनिक कार्यक्रममा पोख्छन् । हरिभक्त कटुवाल, मोहन कोइराला, ईश्वरवल्लभजस्ता साहित्यिक महारथीहरूसित बसेर पिएका वियोगी अनुज पुस्तासित पनि उत्तिकै रमाइरहेका छन् ।

०३० मा महाराजगन्ज क्याम्पसको परीक्षा शाखामा काम गर्दा त्यसका हाकिम नवीनप्रकाशजंग शाह (त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवं पूर्वराजदूत)ले पिउने बानी लगाइदिएछन् उनलाई । उनी बालकृष्ण समका नाति शाहलाई नै मदिरा गुरु मान्छन् । 

तिनताका महाराजगन्जतिर रेस्टुराँँ थिएनन् । साँझपख लाजिम्पाट धाएर पियो अनि रातभरि काम गर्‍यो । ०४३ तिर सात मुलुक चहार्दा उनी बियरको स्वादमा रमाए । त्यसयता लगातार पिइरहेका छन् । 

बियर पिएर बहुलाउने होइन, छताछुल्ल भएर पोखिने स्वभाव छ उनको । पिउँदापिउँदै एक–दुई पंक्ति फुरिहाल्छन् । “सबै कविलेखकले पिउँछन् भन्ने छैन तर धेरैले पिउँछन्,” उनी भन्छन्, “पिएपछि मेरो अभिव्यक्तिको मार्गप्रशस्त हुन्छ ।” 

पिउने र नपिईकन लेख्ने दुवैथरी लेखक उनले देखेका छन् । ०४८ मा नेपाली कांग्रेसको कलबलगुडी (झापा) महाधिवेशनमा सिंगो बोतल रित्याएर लेख्ने ध्रुवचन्द्र गौतम अनि एक थोपा नपिई लेख्ने शिव अधिकारी । “आफू पनि नखाने, अरूलाई पनि नखुवाउनेहरूले बदनाम गराएको सुन्छु,” उनी भन्छन्, “म त्यसको चिन्ता गर्दिनँ ।”

बियरसित पापड भए पुग्छ उनलाई । समोसा, पकौडा, म:म आदि इत्यादि पोको पारेका परिकारलाई अगाडि ढिम्किनै दिँदैनन् । बरू पिइसकेपछि नाच्न थाल्छन् । कतिपटक रेस्टुराँमा नाचेर पुरस्कार पनि पाएका छन् । 

उनका पिउने अनौठा साथी छन्, निर्मल अर्याल । एकदुई गिलास पिलाउन गाह्रो, त्यसपछि २२ बोतल पिएको पनि पत्तै नपाउने । नगेन्द्रराज शर्माले उनको मित्रमण्डलीलाई नामकरणै गरिदिएका छन्, बियर बुढाथोकी, ह्वीस्कीबहादुर सिंह र जोनीवाकर पौडेल ।

बियोगी बियरमा कति बफादार छन् भने स्कटल्यान्डको आबर्डिन पुगेर पनि स्कचमा भुलेनन् । अझ रमाइलो त बाबुको मुख हेर्ने दिन नाति आदर्शजंग थापाले एक बोतल बियर अटाउने गिलास उपहार दिए । घरमा उनको स्वागत बियरबाटै हुन्छ, पर पनि बियरमै । 

साँझ नपिईकन घर पुग्दा परिवार पिरोलिन्छ । सन्चो छैन कि ? झगडा पर्‍यो कि ? पैसा भएन कि ? उनको कोटा तीन बोतल हो । तर, बाहिर चारै बोतल खाए पनि घरमा एउटा मात्र पिएको भनेर ढाँटिदिन्छन् । एक बोतल थप्छन् । 

यति लामो बियरयात्रामा बियोगीले एक ट्याब्लेट औषधि पनि खाएका छैनन् । बरू परिवारलाई भनिसकेका छन्, ‘आर्यघाटमा पनि मलाई बियरबाटै बिदा गरिदिनू ।’ 
‘रक्सी नखानोस्, यसले राम्रो गर्दैन ।’

अघिल्लो दिन जसलाई अर्तीउपदेश दिएका थिए, भोलिपल्ट उनैले कवि विप्लव प्रतीकलाई गिलास उठाइरहेको देखे । जीवनको कुनै एउटा ट्रेजेडीले यी चुल्ठे कविलाई मदिराको मायावी महलमा पुर्‍याइदियो । भलै ४० वर्ष पुरानो प्रसंग बताउँदा पनि विप्लव आफ्नो उमेर खुलाउँदैनन् ।

त्यो कस्तो रुमानी उमेर भने हिन्दी फिल्मका दिलीप कुमार–सायरा बानो, देवानन्द–वहिदा रहमान छुट्टिने हल्लाले पनि भावुक बनाइहाल्थ्यो । ६ बोतल जिन एक्लै पनि रित्याए उनले । गौतमरत्न तुलाधर, सम्राट सापकोटा साथी हुन्थे उनका । जीवनमा यस्तो मोड आयो, अब हरिभक्त कटुवाल हुने कि के गर्ने ? त्यस्तो स्थितिमा उनले एकडेढ वर्ष छुँदै छोएनन् । तर, मदिराको स्वादमा फसेको मान्छे त्यति सजिलै कसरी उम्किन्थ्यो र ?

हो, उनले मात्रा घटाए तर मदिरासित सम्बन्धविच्छेद गरेनन् । अब पिउनु, जिउनु मात्र होइन, सबथोक कला हो उनका लागि । “तीन पेगले मलाई पुग्छ भने अरूलाई पनि पुग्छ । त्यो ग्यारेन्टी म दिन्छु,” उनी भन्छन्, “यति बुझ्न मलाई पनि समय लाग्यो ।”

हुन पनि जीवनमा उनलाई कराउने कोही भएनन् । १६ वर्षको उमेरबाटै एक्लै बस्न थाले । त्यसैले आफैँलाई सचेत बनाउँछन् । पैसा तिरेर किन रसायन हालेको मदिरा पिउने भनेर उनले आफ्नो ब्रान्ड बनाएका छन्, सिंगल माल्ट ह्वीस्की, ल्याफ्रोइग । बडो फारु गरेर पिउँछन् । एक बोतल १२–१३ दिनसम्म । 

मदिरालाई उनी ‘भीसी’ भन्छन् अर्थात् भिटामिन चोर । त्यसका कारण रम पिउँदा कागती र सुन्तलाको जुस खोज्छन् । ह्वीस्कीसँगै प्रशस्त पानी पिउँछन् । कहिलेकाहीँ त भिटामिनको क्याप्सुल नै खान्छन् । 
उनका पिताका साथी थिए हरिभक्त कटुवाल । “हरिभक्तले मिसबिहेभ गरेको फिल भयो मलाई । त्यहाँदेखि मलाई मातेका मान्छे मन परेनन्,” उनी भन्छन्, “पिएर मात्तिने हो भने कसैले पनि नपिएको राम्रो ।”

दु:ख, पीडा र अभावका बीच पनि विप्लवले सम्हालिएरै पिए । अम्बर गुरुङ, दीप श्रेष्ठ, वसन्त थापा, ओमविक्रम विष्टसित बसेका छन् । बिहान–बिहान ब्याडमिन्टन खेल्छन् । धेरैजसो खेल्ने साथी दीप श्रेष्ठ नै हुन्छन् । 

सिर्जनासँग मदिराको कुनै साइनो देख्दैनन् विप्लव । मदिराको मातमा उनी गीत–कविता सुनाउँछन् तर गीत–कविता लेख्दैनन् । कम्तीमा साहित्यको मर्यादाका निम्ति । “कवि, लेखक, कलाकारलाई छड्के नजरले हेर्नु जरुरी छैन । यहाँ धेरैले पिउन जानेका छैनन्,” उनी भन्छन्, “बिहान रेस्टुराँ खोल्नेबित्तिकै पिउन बस्छन्, अगाडि खसी र बँदेलका फिला–ह्याकुलाको सेकुवा हुन्छ ।” 

मदिरा आफैँमा खराब लाग्दैन उनलाई । नत्र जमिनमा ताडीको बोट किन उम्रन्थ्यो ? “म त मदिराको पुजारी हुँ । मदिराको प्यालामा जून टुप्लुक्क खसेको जस्तो अनुभव हुन्छ,” उनको आफ्नै भाषा छ, “म सुँघेर, फिल गरेर चाखेर त्यसलाई सम्मान गर्छु ।”

रेलको लाउन्जमा बसेर सिंगल माल्ट ह्वीस्की पिउँदै यात्रा गर्न चाहने यी कविलाई एकपटक केदारभक्त माथेमासित बसेर पिउन मन छ । मिल्यो भने चाल्र्स बोन्सन, क्लिन्ट स्टुड, केनी रोजर्ससित पनि । उनको मदिरा–मीमांसा गरिएको गीतमा लजालु संगीतकार न्ह्यू बज्राचार्यले धुन भरेका छन् ।
‘जब पिउन जानेँ मैले
तब जिउन जानेँ मैले ।’ 

खासमा ह्वीस्की लभर हुन्, गायक योगेश्वर अमात्य । गाउँदा मन लागुन्जेल गाउने, पिउँदा धीत मरुन्जेल पिउने छवि छ उनको । गाउँदा पिएको हिसाब गर्दैनन्, पिउँदा गाएको गणना गर्दैनन् । 

सिंगल माल्ट ह्वीस्कीले जिन्दगीमा बुट्टा हालिदिएजस्तो लाग्छ उनलाई । उनको थेगो छ, स्कच अन द रक्स । स्कटल्यान्ड पुगेर उनले ह्वीस्कीसम्बन्धी तालिम लिएका छन् । ककटेल, मकटेल बनाउँछन् । यस अर्थमा पिउने कलाका प्रशिक्षकै हुन सक्छन् । 

आफूलाई योगी भन्न रुचाउने उनी सोह्रैआना भोगी हुन् । “ह्वीस्कीमा कृपया आइस नहाल्नु होला, आइसमा कृपया ह्वीस्की नहाल्नु होला,” योगी सिकाइहाल्छन्, “ह्वीस्कीमा हाल्ने पानीको मात्रा तीन थोपादेखि आठ थोपासम्म हो । तिनै थोपाले ह्वीस्कीमा फ्लेबर (स्वाद) दिन्छन्, ब्लोसम (बहार) ल्याउँछन् ।”

त्यसो त योगी नियमित ह्वीस्की पिउँदैनन् । एक दिन पिए तीन दिन वास्तै गर्दैनन् । चौथो दिन घाँटी चिलाउन थालिहाल्छ । कहिले बच्चु कैलाशका निम्ति पिइदिन्छन्, कहिले सिर्फ आफ्नै निम्ति । “एक पेग अमृत, दुई पेग औषधि, तीन पेग विष हो,” उनी भन्छन्, “तर, कलाकारको भने कुनै चीजमा कोटा हुने रहेनछ ।” 

भनिहालूँ, योगी नजन्मिँदै उनको घरमा बार जन्मिएको रहेछ । सुप्रसिद्ध इन्टेरियर डिजाइनर गौरी घोषलाई झिकाएर उनका रियल स्टेट व्यवसायी पिताले बार बनाएछन् । घरमा क्लासिक बार बनाउन उनले विभिन्न आकारका डिक्यान्तरका साथमा ह्वीस्की, ब्रान्डी, भोड्का, स्याम्पेन, वाइन, टकिलाका निम्ति छुट्टाछुट्टै क्रिस्टल गिलास पनि जुटाएका छन् । उदेकलाग्दो के भने योगी बारमा राम्रा रक्सीको कलेक्सन उतिसाह्रो रहन्न । उनको सामुन्ने कुनै पनि बोतलले छाती फुलाएर बस्नै सक्दैन । 

१९ वर्षको उमेरमा अमेरिका गएका थिए योगी । २१ वर्षमा पिउन थालिहाले । “एक दिन चित्त दुखेकै कारण बोतल निकालेँ,” उनी पहिलो अनुभव सुनाउँछन्, “आफ्नो दुखाइ अरूलाई किन बाँड्ने बेकारमा भनेर एक्लै पिएँ ।” 

बियरले उनको मनलाई शीतल बनाइदिन्छ । तीतो तर मीठो जिनिसलाई उनले प्रेमपत्रजस्तै चुमेका छन् पटकपटक । “म बियरको प्रियपात्र, बियर मेरो प्रियपात्र,” उनी प्रेम जताउँछन्, “म शाकाहारी हुँ । बियर पनि शाकाहार हो । हाम्रो डिभोर्स हुनै सक्दैन ।”

योगी घरी छाड्छन्, घरी पिउँछन् । योगीले रक्सी छाडेको चार महिना भइसकेको थियो । डा साफल्य अमात्य दम्पती निम्त्याइएका थिए घरमा । योगीले मीठो ह्वीस्की निकाले । पाहुनाले एक्लै पिउनुपर्ने भयो । पत्नी मंगलाले नै कर गरिन्, ‘तिमी पनि खाऊ ।’ अनि, अतिथि देवो भव:को मन्त्रलाई मनैबाट मान्यता दिएर उनले फेरि सुरु गरिहाले ।

रक्सीका यस्ता अनेक किस्सा छन् उनीसित । साथीहरूसित पिउन साह्रै मज्जा आउँछ उनलाई । खास गरी काठमाडौँमा सुशील श्रेष्ठ, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, भूषण दाहाल, लन्डनमा प्रसिद्ध प्रधान, विपिन जोशी, कृष्ण शाह, किशोर श्रेष्ठ, महन्त श्रेष्ठ ।

अबको धोको महिला नै महिलाको बीचमा मस्तराम भएर पिउने छ । अझ गार्डेनमा घुमीघुमी पिउने । एउटै कुर्सी वा एउटै टेबलमा नबस्ने । आखिर कवि, लेखक, पत्रकार, कलाकारले किन पिउँछन् यसरी ? “आफूलाई चोखो धरातलमा पुर्‍याउन नै त हो पिउने,” योगीको जवाफ हाजिर छ, “मदिरारूपी भगवान्हरू हामीलाई खुसी र सुखी देख्न चाहन्छन् ।” 

Source : Nepal Weekly 


 

Events
Random Picks