म बौद्ध हुँ र पनि दसैं मनाउँछु
14-October-2016

भूमिका पाख्रिन

दसैं भन्नासाथ यो मुहारमा बेग्लै रौनकता छाउँछ। त्यसमा पनि घरबाट टाढा हुँदा त झन् कहिले दसैं आउला र घर जान पाइएला भनेर दिन गन्दै बस्दाको पल निकै प्रतिक्षित हुन्छ। यतिबेला दसैं हामी सबैको आँगनमै आइसकेको छ। विशेषतः दसैको माहौलले गाउँको मुहार नै फेरिएको हुन्छ।

घर सफा गर्नदेखि रंग लगाउन पनि दसैं नै कुर्ने परम्परा धेरै ठाउँमा अझै छँदैछ। नयाँ कपडा, निधारमा रातो टीका, कानमा जमरा लगाएर सामाजिक सञ्जालमा फोटो अपलोड गर्दाको रमाइलो त सायदै अरुमा नहोला।

मैले यसो भनिरहँदा धेरैलाई लाग्नसक्छ, यी शब्द कोर्ने पक्कै पनि हिन्दु धर्म मान्ने मानिस हो। तर, होइन। म बौद्ध धर्म मान्छु, गुम्बा जान्छु। मेरो परिवारको जन्मदेखि मृत्यु बौद्ध संस्कारले बाँधिएको छ। बौद्ध धर्ममा मलाई आस्था छ, गर्वका साथ भन्छु, म बौद्ध हुँ।

तर, पनि म दसैं, तिहार, छठलगायत पर्व मनाउँछु। म जनजाति समुदायकी हुँ। हाम्रो समुदायमा धेरैले दसैंको टीकालाई त्यति महत्व दिँदैनन्। उनीहरु भन्छन्, ‘दसैं हाम्रो चाड होइन, यो त ब्राह्मण, त्यसमा पनि हिन्दुहरुको चाड हो।’

समुदायले जे भनोस्, मेरो परिवारले भने दसैं मनाउँछ। जन्मेको दुई दशक नाघिसकेको छ। तथापि आजसम्म यी निधार खाली भएका छैनन्। यो पटक पनि दसैंको टीका लगाउँछु। साथीहरु, घरपरिवार र नातेदारसँग रमाएर दसैं मनाउँछु। त्यसैले पनि होला, दसैं हिन्दुहरुले मात्रै मनाउनुपर्छ भन्नेहरुको जमातले मलाई मनमनै पीडाबोध गर्छ।

दसैंमा हुने बलि प्रथाले हिंसालाई प्रोत्साहित गर्छ। मेरो बौद्ध धर्मले हिंसालाई गलत भन्छ। बौद्ध ग्रन्थमा दसैंको विषयमा कतै उल्लेख छैन, न त बलि दिने, काटमार गर्ने कुरा नै उल्लेख छ। गर्न नहुने भनेर कतै नलेखिएका कुराहरु गर्नलाई के को समस्या?

मैले मान्ने र श्रद्धा गर्ने गुम्बाका पुजारीसँग यो विषयमा चासो राखेकी थिएँ। बौद्ध धर्मावलम्बीहरुले ल्होसारलाई प्रमुखताका साथ राख्ने हुँदा बुद्धिष्टहरुले ल्होसार मान्छन्, हामी पनि मान्छौं। हामी दसैं, तिहार, छठजस्ता पर्व पनि मान्छौं। किनकि हाम्रो समाजमा यी चाडपर्व मनाउने मानिस पनि धेरै छन्। र, गुम्बाका पुजारी पनि भन्छन्, ‘एक अर्काको चाडपर्वलाई सम्मान गर्दै दसैं मनाउँदा केही फरक पर्दैन।’

हामीले दसैं तिहार मनाएको देखेर चासो राख्नेहरु अहिले यसलाई सामान्य रुपमा लिन्छन्। धेरै पहाडे बाहुनहरुले पनि तराईका थारुहरुसँग मिलेर छठ मनाउन थालेका छन्। क्रिसमसको अवसरमा सबैले शुभकामना आदानप्रदान गर्ने क्रम बढेको छ। अंग्रेजी नयाँ वर्षलाई पनि उत्सवका रुपमा मनाउने नेपालीहरु बढ्दैछन्। यो सबै सांस्कृतिक अन्तर्घुलन र स्वीकार्यताले हाम्रो नेपाली समाजलाई सभ्य र उन्नत बनाएको छ। जातीय, धार्मिक सद्भाव बढाएको मैले बुझेकी छु।

त्यसै पनि असत्यमाथि सत्यको जितको रुपमा दसैंलाई लिने गरेको पाइन्छ। अहिले त टाढा–टाढा छरिएर रहेका आफन्त मान्यजन तथा साथीभाइको जमघट गराउने अवसर पनि दसैं नै हो। त्यसैले दसैं संस्कृतिमात्र होइन, हाम्रो व्यवहार पनि हो। त्यसैले दसैंलाई हिन्दुहरुको होइन, नेपालीको महान पर्व भन्नु बढी सान्दर्भिक हुन्छ। धर्म निरपेक्ष राष्ट्र नेपालको सिमानाभित्र मनाइने हरेक चाड हामी नेपालीहरुकै हो भन्ने मेरो बुझाइ हो।

तर, दसैंमा बढ्दै आएका केही विकृतिलाई लिएर म चिन्तित छु। दसैंलाई रमाइलो गर्ने, आपसी भाइचारा र घनिष्ठता बढाउने भन्दा पनि देखासिकीको रुपमा मनाउने, अनावश्यक फजुल खर्च गर्ने प्रचलन बढ्दो छ। यस्ता विकृतिलाई छाड्दै यसलाई रमाइलो गर्ने, आफन्त तथा साथीभाइ भेटघाट गर्ने, दुःख–सुख साटासाट गर्ने, आफूभन्दा ठूलालाई आदर गर्ने, पुस्ताको अन्तर कम गर्ने अवसरको रुपमा लिनुपर्छ। महान चाड बडादसैंको उपलक्ष्यमा सबै नेपालीहरुमा धेरै–धेरै शुभकामना।

Events
Random Picks