बाँदरको भविष्यवाणी ; राष्ट्रपतिको चुनाव ट्रम्पले जित्छन
8-November-2016

फुटबल प्रतियोगिता, मौसम तथा वर्षात् तथा चिट्ठाका विषयमा विभिन्न जिवजन्तुहरुले भविष्यवाणी गर्ने गरेको त सुनिएको थियो । तर यो पटक भने एउटा बाँदरले दुनियाकै सबैभन्दा शक्तिशाली देशको राष्ट्रपतिका बारेमा नै भविष्यवाणी गरिदिएको छ ।

बाँदरको उक्त भविष्यवाणीको विषयमा मानिसहरु सोसल मिडियामा बहस गरिरहेका छन् ।

उक्त बाँदरले अमेरिकी राष्ट्रपतिय चुनावमा हिलारी क्लिन्टनलाई हराउँदै डोनाल्ड ट्रम्प विजयी हुने र राष्ट्रपति पदको बागडोर डोनाल्ड ट्रम्पको हातमा आउने भविष्यवाणी गरेको छ ।

अमेरिकी राष्ट्रपति चुनावको बारेमा भविष्यवाणी गर्ने उक्त बाँदरको नाम गेडा हो । स्मरण रहोस् गेडाले यहीँ वर्ष भएको युरोकप फुटबलको बारेमा समेत सही भविष्यवाणी गरेका थियो ।

चीनको सिन्हुवा इकोलोजिकल पार्कमा आयोजित एक कार्यक्रममा उक्त बाँदरले ट्रम्प नै अमेरिकाको आगामी राष्ट्रपति बन्ने भविष्यवाणी गरेको हो ।

समारोहस्थलमा ट्रम्प र हिलारीका एक एक वटा शालिक राखिएको थियो । त्यसपछि पहेँलो रंगको टिसर्ट लगाएको उक्त ज्योतिषी बाँदरलाई कसले चुनाव जित्दछन् भनी छनोट गर्न लगाइयो । बाँदरले सबैलाई चकित पार्दै डोनाल्ड ट्रम्पको शालिकतिर गयो र ट्रम्पको शालिकको अनुहारमा  चुम्बन पनि गर्यो ।

स्मरण रहोस् गेडा बाँदरले गएको युरोकप फुटबल अन्तरगत फ्रान्स र पोर्चुगलबीचको खेलको भविष्यवाणी गर्दै खेल पोर्चुगलले जित्ने भविष्यवाणी गरेको थियो ।