अर्बपति शेष घलेको आमाले रुँदै भनिन्, ‘सबैभन्दा अभागी रहेछु’
11-June-2015

स्थलगत रिपोर्ट

- विश्वास खड्काथोकी / दैनिक नेपाल

घलेगाउँ (लमजुङ), २८ जेठ । उमेर ८६ वर्ष । दुबै आँखामा कचेरा छन् । देब्रे आँखामा फुलो परेको छ । चश्मा चाँहि हातमा । घरको आँगन । निलो प्लास्टिकको कुर्सीमा बसेर स्टीलको कप समाएकी छिन् । त्यसमा कालो कफी छ । बेला–बेला कफी मुख नजिक लैजान्छिन् ।

नबुझेझैँ सोधेँ, देब्रे आँखामा के भएको आमा ? बुढी भए पनि बोली तगडा छ । देवीमाया घलेले दैनिक नेपाल संवाददातासँग भनिन्, ‘देब्रे आँखाले देख्दिन, आँखामा फुलो परेछ । धेरै अस्पतालमा पनि गएँ, तर आँखा बिग्रन्छ भनेर अप्रेशन गरिन ।’

छोरा शेष घलेले विश्व अर्थतन्त्रमा धाबा बोल्दै छन् । आमा भने गाउँको घरलाई कुरेर बसेकी छिन् । जेठको महिना तर पनि घुँडासम्मै आउने मोजा उनेकी छिन् । २१ सय मिटरमा छ उनको घर, लमजुङको नायुमा । त्यही गाउँमा जन्मिए शेष घले । उनी अहिले अष्ट्रेलियाको सफल अर्बपतिमा गनिन्छन् ।

देवीमाया बिहानै उठ्छिन् र अगेनामा भएभरको दाउरा घुसार्छिन् । उनकै घरबाट धुवाँ निस्केर सबैभन्दा पहिला गाउँ रंगिन्छ । देवीमायाले भनिन्, ‘बिहान खाना खान्छु । बेलुकी खानै रुच्दैन । सात बजेनै सुत्छु, एक बजेबाट निद्रै लाग्दैन । मनमा के–के कुरा खेलिरहन्छ । मेरो दुःख मैसँग बाबु ।’

 

तपाईँ त खुशी हुनु पर्ने होइन र ? थपिन्, ‘मजस्तो अभागी संसारमा कोही छैन । एक हिसावले खुशी पनि छु ।’

शेष घलेको बा’ले चार बर्ष पहिले सबैलाई छाडेर गए । त्यसपछि देवीमाया एक्ली भएकी छिन् । कहिलेकाहीँ उनको जेठा ज्वाईँ बस्न आउँछन् । देवीमायाले आफ्नो श्रीमानलाई सम्झेर आँशु खसालिन्, ‘हिजो मात्र छोराले फोन गरेको थियो । बुवा भएको भए कति खुशी हुनुहन्थ्यो होला हगी भन्यो ।’ अघिल्लो दिन मात्र घलेका अन्तिम राजाको शालिक उद्घाटन गर्न उनी घले गाउँ पुगेकी थिइन् ।

बेसीशहरमा पनि उनको भव्य महल छ । त्यही महलमा केही समय बसेर उनी असोजमा गाउँ उक्लेकी थिइन् । तर उनलाई गाउँमै बस्न रहर लाग्छ । भन्छिन्, ‘गर्मी छैन, लामछुट्टे छैन, आफ्नो घर यहीँ बस्न मन लाग्छ ।’

शेष घलेको व्यक्तिगत ४० लाखको लगानीमा गाउँमा स्कुल बन्दैछ । दिउँसो त्यही स्कुलमा पुग्छिन्, चिया खुवाउँछिन् । कतै जानु पर्यो भने, बिहानै एकपटक स्कुल पुगेर फर्कन्छिन् । उनलाई आफ्नो भन्दा पनि स्कुलको माया लाग्छ ।

 

घरको आँगनमा पानीको ट्याङ्की छ । बिहान आफैले खाना पकाउने पानी भर्छिन् । र, खाना पकाउँछिन् । ‘मलाई त साह्रै दुःख छ बाबु । पैसा दिन्छुभन्दा पनि काम गर्ने मान्छे पाइँदैन । एक जना केटी पाँच वर्ष बसेर हिँडिहाली । सबै आफै गर्नुपर्छ’, देवीमायाले दुःख बिसाइन् ।

तपाईँ पनि अष्ट्रेलियामा नै बसे हुँदैन ? दैनिक नेपालको प्रश्नले देवीमाया जंगिइन, ‘किन बस्ने अर्काको ठाउँमा ? मरिहालेँ भने के गर्ने ? त्यहाँ त जलाउने ठाउँ पनि पाइदैन रे । छोरालाई दुःख हुन्छ । मरे पनि आफ्नै देशमा मर्छु ।’

०६४ सालमा आमालाई शेषले अष्ट्रेलिया घुमाउन लगेका थिए । देवीमाया त्यहाँ तीन महिना बसेर फर्किइन् । उनलाई पटक्कै बस्न मन लागेन । भनिन्, ‘अर्काको मुलुक । हाम्रो कुरा पनि बुझ्देन, बोल्दा पनि बोल्दैनन् । त्यस्तो ठाउँमा बसेर के गर्ने ?’ दुई दिन शेषले छुट्टी लिएर आमालाई अष्ट्रेलिया घुमाइदिएछन् । आमा छक्क परिन्, ‘उसले पनि अफिसमा छुट्टी लिन पर्दोरहेछ ।’

 

आज छोराको विश्वमै चर्चा हुन्छ । छोरालाई हुर्काउन निकै गाह्रो भयो होला हगि ? देवीमाया दोस्रोपटक भक्कानिन्छिन् । रोकिदैँनिन्, आँशु पुछेरै बोल्छिन्, ‘मैले काम गर्ने, उसको बाबा खर्च बोक्ने । बाबा चामल, मिठो कुराउनी, कुखुराको फुल, रोटी बोकेर हिँडेरै बेशीशहर पुग्थे । उसले १४ मुरी धानको भात सकेको थियो । खुब दुःख गरेर पढायौँ । छोराछोरीको लागि नगरेको होइन ।’ शेषले दुई वर्ष बेशीशहरमा पढेर पहिलो श्रेणीमा एसएलसी उत्तिर्ण गरेका थिए । त्यसपछि छात्रवृत्तिमा पढ्न रसिया उँडे ।

 

पहिले दुईवटा दुहुना भैसी थियो रे । भेडीगोठमा भेडा । उनको श्रीमान मरेपछि, सबै भेडा मरेर तीन वटा मात्र बाँकी रहे । त्यतिबेला मेरो बुढाको सम्पत्ति सकियो भनेर देवी माया खुब रोइन । देवीमायाको मनमा उनको पतिमात्र छन्, ‘मेरो बुढाले त मर्नेबेला मेरो हातको एक थाल भात खाएर मरेको हो । किन यति धेरै खानुहुन्छ भन्दा, अब तेरो हातको भात खाने धेरै दिन छैन भन्थे । नभन्दै भोलिपल्ट….’

 

‘मलाई सम्झने त्यही एउटा छोरा छ । फोनमा आमा भन्छ । मैले भनेको सबै मान्छ । मैले यसो गर्दैछु भन्छ । आमा मैले गाउँको बाटो पिच गर्छु अब भन्छ । खान लाउन दुःख नकाट्नु भन्छ । के लगाउने, एउटा भोटोले जुग काट्छ । बिहान मात्र थोरै खान्छु, ६ महिना भयो बेलुकीमा खान छाडेको’, देवीमाया मजैले गफिइन ।

अझै कति बाँच्न मन छ ? देवीमाया खुल्छिन्, ‘मेरो लागि त भोलि मरे हुन्थ्योँ, छोराको लागि त बाँचिरहे हुन्थ्यो ।’

बोल्दाबोल्दै शेषको फोन आयो । देवीमायाले पत्रकारसँग कुरा गर्दैछु भनेको भाव मात्र बुझेँ । अरु केही बुझिन । उनीहरुको वार्ता, गुरुङ भाषामा थियो ।

शेषले आफू एनआरएनएको अध्यक्ष हुँदा आमालाई पनि काठमाडौँ लगेका थिए । छोरालाई माला लगाइदिएको आमाले देखिन् । पछि देवीमायाले भनिन्, ‘त्यो काम छोड्दे छोरा, सबैको आँखी भइन्छ ।’ शेषले जवाफ फर्काए, ‘हुँदैन आमा ! शुरु गरेको काम सकेर मात्र छोड्नुपर्छ ।’

Source:dainiknepal

http://dainiknepal.com/2015/67054.html