अब तिमी कहाँ बस्छौ भगवान?
15-June-2015

भगवान !
लौकिक छौ या अलौकिक  
तिमीले कुन पापको सजाय दिँदै छौ मानवजातीलाई  
यतिबेला खासगरी नेपाल र नेपालीलाई  
तिमीले नै सृजना गरेको यो सुन्दर प्रकृतिलाई  
तिमीले नै रचना गरेको यो प्राणी जगतलाई  
सबलाई शोकमा डुबाएर कुन रुपमा उत्रियौ    
 आफ्नै सृष्टिमा  किन रौद्र रुप प्रकट गर्यौ?
मनावजातीलाई  संसारिक धागोमा गाँसेर किन चुडाल्न खोज्यौ
बाबु-आमा, छोरा-छोरी, भाइ-बहिनी र नातागोतामा
गाँसिदिएर आज फेरि फुटाउन चुडाउन खोज्यौ
मानव बस्तीहरुमा तान्डव मच्चायौं
तिमीले आफै बस्ने मन पनि चुडायौं
मन्दिर र चर्च पनि भत्कायौं  
गुम्बा र मस्जिद पनि फुटायौं  
तिमी आफैं भन अब
कहाँ बस्छौ भगवान?
 
तिम्रो उग्ररुप देखेर
आकाश रोयो पाताल रोयो
जमिन फाटेर ध्वस्त भयो
हजारौ हजार प्राणीको प्राणपखेरू
किचेर, थिचेर अनि मिचेर लियौं   
त्राही त्राही भएर बाँचेकालाई पनि
जन्म जन्मको असह्य पीँडा दियौ
मान्छेका जीवनहरू क्षतबिक्षत पार्‍यौं
तिमी राम हौ कि रावण!
कृष्ण हौ कि कंश!
अझ भनौं
भगवान हौ कि यमराज!
म अनभिज्ञ छु
मानव विकासको गति रोक्न खोज्यौ  
आफै बस्ने घर मान्छेको मन मसानघाट बनायौं  
तिमीले आफै भन अब  
कहाँ बस्छौ भगवान?
 
संसारिक प्रेमको नाटक गरेर
नातागोता र इस्टमित्रमा बाँधिदियौ  
आज तिमीले भयंकर रुपधारण गर्दा
जीवनहरू टुटेर  फुटेर
रगतको आहाल बन्यो  
हेर्दा हेर्दै तिम्रो प्रकृति बौलायो
धरहरा ढल्यो, दरबारहरु ढले
ऐतिहासिक सम्पदाहरू ढले
क्षणभर मै बसन्तपुर अनि गोरखा दरबार
भग्नावशेषमा परिणत भए
दक्षको यज्ञमा जस्तै
मान्छेहरुलाई त्राहिमाम त्राहिमाम पारी
पलभरमा मेरो नेपाल शोकाकुल गरायौं  
स्तब्ध छौं निशब्द छौं
हामी नेपाली शोकमा डुबेका छौं  
विश्व सामु बिचरा भयौ
मानव प्रति आक्रोसित छौ भने
हर प्राणी प्रति घृणा छ भने
यो सृष्टिलाई  किन बचाई राख्छौ
बरु धर्तीलाई नै आगोको डल्लो बनाउ
एकैचोटी खरानी बनाउ अथवा
पानी पानीको महासागर बनाउ
मलाई गुनासो छैन
तर यसरी
खण्ड खण्ड गरेर विखण्डित पारेर
बाँच्नेहरुलाई असैह्य कहालीलाग्दो पींडा दिएर
चिर्दै दुखाउँदै मरेतुल्य नपार
तिम्रो आस्थामा मान्छेहरुले के के गरेनन्
फूल, प्रसाद अनि पैसा चढाए
हतियार चढाए बलि चढाए
जुन जुन रुप धारण गर्यौ
त्यहि त्यहि रुपमा पुजा गरे
कसैले तिमीलाई  मनमा पाए
कसैले मन्दिरमा पाए
कसैले सन्त महात्मामा देखे
कसैले सत्संगमा पाए
कसैले मानव सेवामा देखे  
कोहि चारधाम धाए
तिमीले नै दिएको विवेक अनुसार
कोहि राम भए कोहि रावण स्वभावका भए
महाबिनास महाविपतमा प्रकट भएर
हामी र हाम्रो बस्तीलाई धुलाम्य बनायौ
तिम्रो बासस्थान कहाँ छ?
तिमीले आफै भन अब
कहाँ बस्छौ भगवान?
१४ जुन २०१५
रेडिंग, बेलायत

Events
Random Picks