सेती नदिको दोहन गर्ने मात्र होईन, संरक्षणको खाँचो
15-June-2015

रञ्जन अधिकारी पोखरा, २० जेठ / ‘पोखरा बनाउँछु, पोखरा बनाउनुपर्छ भन्नेहरु जो जो छन्, पोखरा बिगार्नलाई सबैभन्दा ठूलो भूमिका उनीहरुकै छ ।’– स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय महासचिव कमल पौडेल अथकले एक कार्यक्रममा यसो भनिरहँदा उपस्थित सहभागीहरुले गड्गडाहट ताली बजाए, उनी रोकिएनन् – ‘जोजो मापदण्ड बनाउने ठाउँमा छन्, मापदण्ड मिच्नेहरु उनीहरु नै हुन् । खाली गफ, बहस, अन्तक्र्रिया, भाषण मात्र छाँटेर हुँदैन, काम गर्नुपर्यो । पोखरा आएको १७ वर्षदेखि प्लटिङका कुरा मात्रै गरिरहे, अब कहाँ छ खाली जग्गा ?’
सेतीगंगा संरक्षण तथा व्यवस्थापन समितिले बुधबार आयोजना गरेको ‘सेतीगंगा संरक्षण र विकास’ विषयक अन्र्तक्रियामा वक्ताहरुको भाषण मात्रै भएपछि उनले कास्कीका स्थानीय विकास अधिकारी, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष लगायतसामु यस्तो आक्रोश पोखे । पोखरा वडा नं. ९ सचिव लोकदर्शन कोईरालाले पोखरेली आमा सेतीको अस्मिता लुट्ने पोखरामा बस्नेहरु नै भएको र त्यसैका कारण स्वच्छ पानी बगेर आउने सेती तल पुग्दा फोहोर हुन गएको उल्लेख गरे । ‘अब न्याय गर्नुपर्छ भन्दै प्रकृति नै जाग्यो कि क्या हो कुन्नि ? कहिले बेमौसमी बाढी आएर सचेत बनाउँछ, कहिले भुकम्पीय शासनले मापदण्डका कुरा उठाउन सजिलो बनाईदिएको छ ।’ उनले भावुक हुँदै भने – ‘फेरि काम हुँदैन, कार्यानवयन पक्ष त यस्तै हो । तर अब यसरी हुँदैन ।’
नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले खोला नै छेकेर बालुवा उत्खनन् गरेकोमा असन्तुष्टि जनाए । बौद्ध अर्घौ सदनका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले सम्बन्धित निकाय जिम्मेवार हुन नसकेको भन्दै विज्ञहरुले पनि खाली समस्या मात्र देखाउने समाधानका लागि भने केहि गर्न नसकेको भन्दै तीतो पोखे ।

कार्यक्रममा सहभागीहरुले सेती नदिको मापदण्ड वैज्ञानिक तबरले निर्धारण गरेर लागू गर्नुपर्नेमा जोड दिए । २०५८ सालमा पोखरा उपत्यका नगर विकास समितिले नदिको दायाँ र बायाँ ५०–५० मिटर क्षेत्रमा भौतिक संरचना निर्माण गर्न नपाउने गरी मापदण्ड तयार गरेपनि २०६१ मा ५ मिटरमा खुच्याईएको र त्यो ५ मिटर पनि कार्यान्वयन हुन नसक्दा क्षतिको जोखिम उच्च रहेको अवस्था छ । सेती गहिरिएकोमा सबैको चिन्ता थियो ।

पोखरा उपत्यका नगर विकास समितिका सदस्य सचिव सुरेन्द्र सिग्देलले पोखराको बजार क्षेत्रभित्र सेती नदिमा ढल, फोहोर, चर्पीको पाईप मिसाईने गरेकै कारण प्रदुषित बनेकोमा रुन मन लाग्ने भन्दै भावुक बने । ‘महेन्द्रपुल जस्तो ठाउँमा बस्नेहरु, जसले चर्पीको पाईप, फोहोर सिधै सेतीमा मिल्क्याउँछन् कति लाजमर्दो कुरा हेर्नुस् त ?– उनले भने – ‘कञ्चन पानीलाई प्रदुष्ण गर्ने नै पोखरेली हो ।’

कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले आगामी वर्ष जिविसले रामघाटमा तटबन्ध निर्माण गर्ने बजेट छुट्याउने जानकारी दिँदै यस वर्ष पनि पुर्वी क्षेत्रमा ५६ मिटर तारजाली सहित तटबन्ध गरेको बताए । सिंचाई विभागको २५ लाख सहयोगले तमु प्ये ल्हु संघले रड सहित पक्की तटबन्ध निर्माण गरेकोमा प्रशंसा गर्दै उनले सेती नदिको संरक्षण मात्र गर्न सकिने प्रकृतिको विकास गर्न नसकिने प्रष्टाए ।

प्रा.डा. कृष्ण केसीले सेतीबाट २०६९ वैशाख २३ जस्तो विपत्ति टार्न नसकिने तर यसबाट हुने क्षति न्युनिकरणका लागि सचेतना र पूर्व सतर्कता बाहेकको अरु विकल्प नभएको बताए । उनले पोखराका जोखिम स्थानहरु नक्सांकन भईसकेकाले त्यसै अनुरुप संरचना निर्माण गर्नुपर्ने बताए । सेतीनदिको मुहानमा अब खतराको अवस्था नरहेपनि सदैव सतर्क रहनुपर्ने र सेती नदिको प्रयोग व्यवस्थित ढंगले गर्नुपर्ने उनको सुझाव छ । उनले सेती नदि केहि ठाउँमा गहिरिएको र केहि ठाउँमा भने पुरिएको बताए ।

प्रा.डा. विश्व श्रेष्ठले प्राकृतिक सम्पदाको सही सदुपयोग गर्नुपर्नेमा जोड दिँदै रामघाटमा पनि एक महिना बालुवा निकाल्न दिएर ११ महिना बन्द गर्नुपर्ने बताए । ‘सेती नदिको कास्की र तनहुँ भागको २ हजार वर्ग किमि क्षेत्र संरक्षण गर्नुपर्नेमा अहिलेलाई पोखराका २८ वडा मध्ये छोएका १४ वडा भित्र मात्रै संरक्षण गर्न पाए पनि फोहोर हुने थिएन ।’ उनले भने ।

क्षेत्रीय प्रशासन कार्यालयका रामजीप्रसाद कोईराला, जिल्ला प्राविधिक प्रमुख नारयणप्रसाद श्रेष्ठले प्राकृतिक श्रोतको दोहन हुन नहुने तर संरक्षित प्रयोग गर्नुपर्नेमा जोड दिए । समाजसेवी सुन्दर गुरुङले सबै क्षेत्र समेटिएको संयन्त्र गठन गरी कार्यान्वयन पक्ष बलियो बनाउन सुझाव दिए भने समाजसेवी ले. ईन्द्रबहादुर गुरुङले पोखराको पूर्वी भाग भन्दा पश्चिमी भाग संवेदनशील भएको डा. हर्क गुरुङले भनेको स्मरण गर्दै त्यसै अनुसार सरंचना निर्माण गर्नुपर्नेमा उल्टो भईरहेको बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, रामघाट बालुवाखानी मजदुर समितिका कोषाध्यक्ष मनोज रसाईली लगायतले सेती संरक्षणमा सम्बन्धित निकाय लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका समितिका अध्यक्ष एवं पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले सेतीको संरक्षण गर्नुपर्ने र यसका लागि उचित मापदण्ड निर्माणमा अब ढिलाई गर्न नहुने बताए । उनले वृत्तचित्र समेत प्रस्तुत गरे । कार्यक्रमको संचालन महासचिव नारायण सुवेदीले गरेका थिए ।

Events
Random Picks