किन लाग्छ रक्सी ?
16-June-2015

अल्कोहल धेरै प्रकारका हुन्छन् | अन्न तथा फलफुलमा मर्चा अथवा मर्चाकै काम गर्ने यीस्ट(Yeast) नामक Fungus समुहको जीवाणु (Bacterial Organism) हालेर कुहाएर जाँड बनाई त्यसैबाट बनाइने हामीले पिउने रक्सीचाहिँ खासमा एथनल हो | ब्याक्टेरियल जीवाणु भन्नेबित्तिकै हानिकारकमात्र हुँदैनन, थुप्रै प्रकारका लाभदायक पनि हुन्छन् | दही जमाउने, सेल फुलाउने पनि यस्तै प्रकारका जीवाणु नै हुन् | हाम्रो ठुलो आन्द्रामा पनि करिब ४०० प्रकारका लाभदायक ब्याक्टेरिया हुन्छन् | अन्न तथा फलफुलमा चिनीतत्व पाहिन्छ, त्यही तत्व नै रासायनिक प्रतिक्रियाद्वारा रक्सी बन्दछ |

alcoholic man

रक्सी कति कडा भन्ने कुरा त्यसमा मिसिएको पानीको मात्रामा भर पर्छ | जाँड नउमालिकन बनाइने छ्यांङ, बियर, वाइन आदिमा बढीमा १५% सम्म अल्कोहलको मात्रा हुन सक्छ, बाँकी पानी हुन्छ | त्यो भन्दा बढी प्रतिशत अल्कोहल भएको रक्सी बनाउन परे जाँडलाई तताएर वाष्पीकरणको माध्यमले अल्कोहलमा पानीको मात्रा घटाउनु पर्छ र तताउंदा निस्केको बाफलाई कुनै माध्यमले पसिनाको रुपमा संकलन गर्नु पर्दछ |

घरपाला रक्सी पार्दा तताउँदै गरेको जाँडलाई माथि चिसो पानी भएको भाँडोले छोप्नुको कारण अल्कोहलरुपी बाफलाई चिसोमा ठोक्काएर तरल बनाई झार्नु हो | घरपाला रक्सी बनाउंदा १० पटकसम्म पानी फेरिन्छ | ३ पटकसम्मकोमा अल्कोहलकोमात्रा बढी हुने भएकोले ३ पाने रक्सी कडा भएको हो | पानी १०० डिग्री सेल्सियसमा वाष्पीकरणक हुन्छ भने अल्कोहल ७८.३ डिग्रीमा, तसर्थ ७८.३ डिग्री नजिकको रक्सी बढी कडा र १०० डिग्री नजिकको कम कडा हुन्छ | विज्ञानमा यसरी बनाइएका कडा रक्सीलाई (high concentration alcohol) भनिन्छ |

शुद्ध इथानोल २००% सम्म प्रूफ (Proof) हुन्छ तर बिशेष औधोगिक तरिकाबिना यो प्राप्त गर्न सकिन्न | हामीले खाने रक्सीको सिसीमा जति प्रतिशत (Proof) प्रूफ भनेर लेखेको हुन्छ, त्यसको ठिक आधा अल्कोहलको मात्रा र बाँकी पानीको मात्रा छ भन्ने बुझ्नु पर्छ | जस्तै भोड्कामा ७०% प्रुफ लेख्नुको अर्थ त्यसमा ३५% अल्कोहलको मात्रा छ भनेको हो |

हामीले खाने ठोस खाना पाचन भै मसिनो बनेर सानो आन्द्रा हुँदै शरीरमा पुग्न समय लाग्छ तर रक्सीलाई पच्नु पर्दैन | खाने बित्तिकै २०% जति आमासयले नै सोस्दछ, बाँकी तुरुन्तै सानो आन्द्रामा पुगी सोसिएर रगतमा मिसिन्छ र शरीरका सबै कोषमा पुगी प्रभाब पर्दछ | यही प्रभाब पार्नु भनेको नै रक्सी लग्नु भनेको हो |

सामान्यतया एक बयस्क मान्छेको कलेजोले १ घन्टामा २० मिलिलिटर जति भोड्का, ७० मिलिलिटर जति वाइन, अथवा २०० मिलिलिटर जति बियरमा भएको अल्कोहलको मात्रालाई   शुद्ध बनाउन सक्छ, त्यो भन्दा छिटो र बढी खाएको रक्सी सिधै रगतमा पुग्दछ | रगतमा हुने अल्कोहलको मात्रालाई Blood Alcohol Concentration (BAC) भनिन्छ | यदि BAC ०.०५% देखियो भने त्यसको अर्थ १०० मिलिलिटर रगतमा ५० मिलिग्राम अल्कोहल मिसिएको छ भन्ने हो | एक सानो ग्लास वाइन, एक पेग व्हिस्की. अथवा एक क्यान बियर खाँदा करिब BAC ०.०५% हुनजान्छ | उत्तरी अमेरिकाका कतिपय राज्यमा BAC ०.०५% सम्म भएमा गाडी चलाउन पाइने, ०.०५-०.०८% सम्म भएमा १२ घन्टासम्म गाडी चलाउन नपाइने तर लाइसन्स खारेज नहुने, र त्यो भन्दा बढी भए खारेज हुने नियम छ | जापानमा भने रुघाखोकीको औसधि खाएर समेत गाडी चलाउन नियमत बर्जित छ |

रक्सी खाएको मान्छेले कुनै दुर्घटना गरायो भने BAC ०.०४% सम्म भएमा दुर्घटना हुनुमा अल्कोहल कारक तत्व नहुने, BAC ०.०५% भए अल्कोहलको भूमिका १%, BAC ०.०८% भए २%, BAC ०.१२% भए ८% र एवं रीतले BAC ०.२२% भए ३०% हुने ताजा अध्ययनहरुले देखाएका छन् | BAC ०.५०% भएमा फोक्सो र मुटुले कामै नगरी मान्छे मर्न पनि सक्छ |

रक्सीले हामीलाई कसरी र कस्तो प्रकारको असर गर्छ भन्ने बुझ्नलाई मस्तिष्कको बनौट र काम गर्ने तरिका मोटामोटी बुझ्नु पर्ने हुन्छ |

मानव मस्तिष्कका मुख्य ३ भाग हुन्छन् | गर्दनमाथि मेरुदण्डसंग जोडिएको भागलाई हाइन्डब्रेन (Hindbrain), त्यसको ठीकमाथिको केही भागलाई मीडब्रेन (Midbrain) र त्यो बाहेक अगाडिसम्मको संपूर्ण भागलाई फोरब्रेन (Forebrain) भनिन्छ | तर कामको हिसाबले २० भन्दा बढी भाग हुन्छन् | मस्तिष्कलाई बिशेषज्ञहरुको समूह पनि भनिन्छ किनकी मस्तिष्कका हरेक भागले संगसंगै काम गर्दछन, फेरि हरेक भागको आफ्नै छुट्टै भूमिका पनि हुन्छ | जस्तै:- हाइन्डब्रेनमा हुने सेरिबलम (cerebellum) भन्ने भागले शरीरका अंगहरुको संयोजन र नियन्त्रण गर्दछ | त्यसरी नै मस्तिष्कका कुनै भागले गति, कुनैले दृश्य, कुनैले स्मरण, कुनैले छोएर अनुभब गर्ने कुरा, कुनैले गर्न हुने या नहुने कुरा छुट्याउने कुरासंग सम्बन्धित मूल काम गर्दछन | यी संपूर्ण खण्डमा हुने गिदीमा करिब १ खरब जति न्युरन (neuron) भन्ने स्नायुकोषहरु हुन्छन् | कुनै पनि काम राम्रोसंग सम्पादन हुनको लागी खासखास (neuron) हरुको बिचमासमेत बिद्धुतीय र रासायनिक संचार सम्पर्क हुनु पर्दछ |

जब बाहिरी संसारबाट प्रकास, आवाज, गन्ध, स्वाद, आनन्द आदिका संकेतहरु शरीरले थाहा पाउँछ, ती संकेतहरु रासायनिक तथा विद्दुतीय संकेतमा परिणत भै शरीरको एक भागबाट अर्को भागमा, र मस्तिष्कको एक भागबाट अर्को भागमा संचारित हुन्छन | जब यस्ता संकेतहरु मस्तिष्कको कुनै एक भागको मस्तिष्ककोष (neuron) मा आइपुग्छन, तिनीहरुले पुनः न्युरोट्रान्समिटर (neurotransmitters) भन्ने नयाँ संकेत सृजना गरी अन्य भागका मस्तिष्ककोषसँग नयाँ सम्पर्क स्थापना गरी नयाँ प्रतिक्रिया र आवश्यक कार्य गर्दछन् |

कस्तो हुन्छ त रक्सीको असर मस्तिष्कमा ? रक्सी खाने ब्यतिलाई रक्सीले मनोरन्जन दिइरहेको भान हुन्छ तर औषधी बिज्ञान अनुसार मानिसलाई डीप्रेस बनाउने एक प्रकारको (depressant) र लत लाग्न सक्ने लागु पदार्थ दुवै हो रक्सी | हाम्रो दिमागले सही काम गर्नु भनेको माथि भनिएझैँ मस्तिष्कका अनगिन्ति तन्तुहरुको बिचमा संचार स्थापना भै सही कार्यको लागी आवस्यक निर्णय गर्नु हो |

रक्सीले एकआपसमा सम्पर्क स्थापना गर्ने चाहाने कतिपय सूचना संकेतहरुलाई अबरोध पुर्याई केन्द्रीय स्नायु प्रणाली (Central Nerve System) को गति नै घटाइदिन्छ | जब केन्द्रीय स्नायु प्रणालीको गति कम हुन्छ, सम्पर्क हुनुपर्ने मस्तिष्ककोषहरुको बिचमा सम्पर्क नभई खासै सम्बन्ध हुनुनपर्ने मस्तिष्ककोषहरुको बिचमा सम्पर्क स्थापना हुन्छ | अनि त व्यक्तिको कुनै कुरालाई ग्रहण गर्ने तरिका, आवेग, भावना, चलमल गर्ने गति, श्रब्य तथा दृश्य आदि कुरा नै बदलिन्छन र नयाँ प्रकारका बन्दछन |

जाम भएको गीतको क्यासेट बजाउँदा गीत अचम्मको सुनिन्छ नि, त्यस्तै | रक्सीको असरले केन्द्रीय स्नायु प्रणालीको गती नै कम हुने भएकोले यसरी परिवर्तित ब्यबहारहरु कमजोर प्रकारका र अस्वाभाविक हुन्छन | थोरै खाँदा थोरै प्रभाब हुने भएकोले आनौठो, रमाइलो प्रकारको, थकाइ, पीर, चिन्ता बिर्सेजस्तो अनुभब र महसुस हुन्छ, तर बढी सेवन गर्दा शरीर नै विषाक्त बनी शरीर तथा मष्तिस्क दुबैमा बिशाल नकारात्मक प्रभाब पर्दछ | सामाजिक पक्ष त अझ छुटै कुरा हो जसलाई यो लेखमा समेटिएको छैन |

हाम्रो शरीरले खाएको २०-२५% तत्व मस्तिष्कले प्रयोग गर्ने भएकोले रक्सीको मात्रा पनि मस्तिष्कले बढी प्रयोग गर्ने नै भयो, अनि स्वभावैले रक्सीको असर पनि मस्तिष्कमा बढी पर्ने नै भयो | मस्तिष्कले नै सारा शरीरलाई निर्देशन र नियन्त्रण गर्ने भएकोले मस्तिष्क बढी प्रभावित हुँदा शरीर र शरीरका अंगहरु पनि बढी प्रभावित हुने नै भए |

रक्सी खाएको व्यक्ति धंगधंगाउनु, बोली लार्बराउंनु, ध्यान नपुर्याउनु, अलमल पर्नु आदि मस्तिष्क प्रभावित हुनुका परिणाम हुँ | त्यसको अलावा रक्सी खाएको बेलामा बढी गफ गर्ने, हल्ला गर्ने, जोसिने, रिसाउने, अपराध गर्न समेत सुरिने, कपडामै पिसाब गर्ने आदि परिणामहरु पनि मस्तिष्ककले सही गतिमा सही सूचना दिन नसक्नुका नौला र अस्वाभाविक परिणाम हुन |

परिणामहरु पनि नसाको असर अनुसार फरक हुँदै जान्छन् | शुरुमा रमाइलो गरिरहेको मान्छेले झगडा गर्न थाल्नु त्यस्तै कारण हो | रक्सी लागेको मान्छेले गाडी चलाउन सक्छु भन्नु पनि अस्वाभाविक अबस्थामा स्वाभाविक क्रिया गर्न सक्छु भन्ने रक्सी प्रभावित भाबना हो | बास्तबिकतामा उसले नखाएको बेलामा झैं गरी चलाउन सक्दै सक्दैन |

अत्यधिक रक्सी सेवन गर्यो भने त alcohol poisoning नै हुन्छ | बान्ता गर्नु, निद्रा नलाग्नु, बिहोस वा अचेत हुनु, रगतमा चिनीको मात्र एकदम घट्नु या बढ्नु, शरीरको तापक्रम एकदम घट्नु र कुनैकुनै बेला रक्सी लागेकै अवस्थामा मृतु हुनु alcohol poisoning का परिणाम हुन |

एक बयस्क व्यक्तिले दिनमा ७.५ देखि ८ घण्टा सुत्नु जरुरि हुन्छ | पुरा सुताइ चार अवस्थामा बाडिएको हुन्छ | पहिलो र दोश्रो अवस्थामा दिमागको गति छिटो हुन्छ तर तेस्रो र चौथोमा एकदम ढिलो हुन्छ | पछिल्ला दुई अवस्थामा मात्र व्यक्ति मस्त निद्रामा परी ताजकी प्राप्त गर्दछ | तर रगतमा BAC बढी भएको बेला दिमागको गति द्रुत नै हुन्छ र सुते पनि व्यक्तिको निद्रा पुगेको हुँदैन |

रक्सीको कारण निद्रा नपुग्दा दृश्य कम हुन्छ, टाउको दुक्छ अनि सारा शरीर नै मानसिक तथा शारीरिक रुपले शक्तिहीन र थकित हुन्छ |

अन्तमा रक्सीले जस्तोसुकै असर गर्ने भए पनि मान्छेले खान छाड्दैन किनकी यो समाजको अभिन्न अंग भैसकेको छ | अर्को कुरा रक्सी खाने मान्छेले खान थालेपछि नलागुन्जेल नखाई छाड्दैन | त्यसैले खाँदै नखानु सर्बोत्तम प्रतिज्ञा, कहिले काहीं र थोरै खानु धेरै खानुभन्दा उत्तम प्रतिज्ञा, र सुरक्षित ठाउँमा खानु अनि खाएको बेला जोखिमपूर्ण काम किमार्थ नगर्नु बाँच र बचाऊको भीष्म प्रतिज्ञा हो |

 

 source:http://www.ratopati.com/2015/06/06/238659.html

Events
Random Picks